Wednesday, January 28, 2009

देशबासीको नाममा सम्बोधन = .....सम्बोधन ?


माघ १२ गते प्रधानमन्त्री 'प्रचण्ड'ले देशबासीका नाममा सम्बोधन गरे। सो सम्बोधन हुने खबर बिहानै थाहा पाएको थिएँ। त्यसैले दिनभरी जो जतिलाई भेटेँ सबैलाई 'आज बेलुका ७ बजे प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् है नछुटाउनुहोला' भन्दै हिडेँ। तर धेरैले 'लोडसेडिङले गर्दा के सुनिन्छ र? के हेरिन्छ र? ' भन्ने जवाफ पाएँ र नतमस्तक हुन पुगेँ।

मनमा भने अनेक तर्कनाका छालहरू उठ्दै बस्दै उर्लिरहेका थिए। शहर बजारमा फरक–फरक मानिसका फरक–फरक अनुमानहरू अगाडि आइरहेका थिए। 'कतै असफल भएँ भन्दै सरकार छोडेको घोषणा पो गर्ने हुन् की?' 'कतै अधिनायकवाद लागु गर्ने गरी कडा घोषणा गर्ने पो हो की?' मेरो अनुमान भने विलकुल भिन्न थियो। केही समय अघि 'जनआस्था' मा पढेको थिएँ की नयाँ सरकारले उपल्धीमूलक काम गर्न नसक्नुका कारणहरू/अप्ठ्याराहरू, बाह्य वा देश भित्र पनि भएका विभिन्न दबाबहरू बारे स्वेतपत्र जारी गर्ने तयारी यो सरकारले गर्दैछ भनेर। त्यसैले मैले त्यस्तै अपेक्षा पनि गरेको थिएँ। निकै व्यग्रताकासाथ बेलुकीको सात बजेलाई कुरेँ। सात बजेको रेडियो नेपालको समाचार पछि मात्र प्रधानमन्त्रीको सम्बोधन सुरु भयो ―“आदरणीय आमाबुबा, दिदिबहिनी तथा दाजुभाइहरू......।”

सुरुवातमै उनले आफू 'नागरिकको हैसियतले पनि आफ्ना कुरा व्यक्त गर्न गैरहेको छु' भनेपछि म एकछिन पुलकित पनि भएँ। उनले भने―“आज सरकार सञ्चालनको पाँच महिनाको अनुभवपछि मैले स्पष्टसँग भन्नुपर्दर्छ राज्यसत्ताको पूरानो स्वरुप, संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव हुँदो रहेनछ।” उनले लोडसेडिङको समस्या, सामाजिक विभेद, बेरोजगारी समस्या सबैको कुरा उठाए। करिब पौने एक घण्टाको यो सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले झण्डै आधा समय त यस्तै अनुभवहरू सुनाए। यि सुनिरहँदा लाग्थ्यो 'ए यिनले त हाम्रा समस्या बुझेका रहेछन् नि गाँठे'।

सम्बोधनको बिचमा उनले नेपालमा एक हप्ताभित्र दाइजो प्रथा रोक्ने र छोरीलाई छोरा सरह अंश दिनुपर्ने घोषणा समेत गरे। दलित शहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति स्थापना गर्ने भने। त्यसपछि उनले कर्मचारीतन्त्रलाई आफ्नो कार्यशैलीमा सुधार ल्याउन मौखिक झापड दिए। कुनै पनि सरकारी कार्यालयमा टोकनप्रथा लागु गरि क्रमैसँग काम गरिदिनुपर्ने, एक दिनमा हुनुपर्ने कुनै काम किन सम्पन्न हुन सकेन भनि सम्बन्धित जनतालाई लिखित जवाफ दिनुपर्नेछ भन्ने घोषणा गरे। यस अघि घुस लिने कर्मचारीलाई मात्र भ्रस्टाचारी भनिन्थ्यो भने अबबाट घुस दिएर काम गराउन खोज्ने व्यक्ति पनि भ्रस्टाचारी घोषित भई कारबाहीको भागिदार हुने भए। यसैगरि मन्त्रीहरूले कार्यक्रमतिर भाषण गर्न छाडेर दश बजेदेखि पाँच बजे सम्म कार्यालयमै रहनुपर्ने, बिहान वा बेलुकी अरु समयमा आउने मानिसहरूले चाकडी गर्ने, अनावश्यक समस्या बनाइदिने जस्ता कार्य गर्ने भएकोले भेट्न आउने मानिसहरूलाई सोहि समयमा मात्रै भेट्नुपर्ने घोषणा गरे।

सोहि सम्बोधनमा प्रधानमन्त्रीले बन्द,हड्ताल जस्ता कुरामा सरकारले कडा निति लिने पनि घोषणा गरे भने यसरी समय बर्बाद गर्ने युवावर्ग अनि भट्टी पसलमा रक्सी खाँदै देश विकास नहुनुको दोष सरकारलाई दिइरहने मानिस प्रति असन्तुष्टी व्यक्त गरे। अनि अचम्मको कुरा उद्योगि व्यापारी
समूदायलाई “अस्पताल,सडक, पुलनिर्माण जस्ता सेवाका काममा पनि तपाईंहरूको नाम आउने कहिले?” भन्ने भावुक कुरा पनि व्यक्त गरे (स्वयंकर घोषणा कार्यक्रमको त विरोध गर्ने नाफामूखि उद्योगि व्यापारीलाई सेवा र त्यागको कुरा?)। मिडियालाई सकारात्मक कुरामात्र लेखेर देश विकासमा योगदान दिन पनि अनुनय विनय गरे प्रधानमन्त्रीले। सम्बोधनको अन्त्य सम्म नै भावुक र यस्तै घोषणा गरीरहे उनले।

यो सम्बोधन भइरहँदा मेरो बुबाको पहिलो प्रतिक्रिया आयो–“ बोल्न चाहिँ कस्तो जानेका छन् त हे यिनले, काम चाहिँ केही गर्ने होइन ”। सम्बोधन सकिएपछि म पनि अलमलमा परेँ। मेरो अपेक्षा के थियो ? सम्बोधनमा के आयो ? यहाँ सम्मकी “हामी सँग सत्ता सञ्चालनको अनुभव पनि त थिएन ” सम्म भनियो। न त्यहाँ बजेट कार्यान्वयन गर्न नसक्नुका पछाडि भएका अदृश्य दबाबको कुरा गरियो न त सरकारको निति तथा कार्यक्रम लागु गर्न नसक्नुका कारण नै खोलियो। बरु फेरी एक पटक पुरानै निति तथा कार्यक्रमको पुनःप्रशारण जस्तो पो भइदियो नयाँ सम्बोधन।

नेपालका अन्तिम राजा ज्ञानेन्द्रले असोज १८ बाट सम्बोधनको नियमित श्रृङ्खला जस्तै चलाएका थिए। उनले नारायणहिटी छोड्ने बेलासम्म धेरै पटक देशबासीको नाममा सम्बोधन गरेका थिए। प्रत्येक पटक सम्बोधन हुने बेला के भन्न लागे त भनेर कान ठाडा हुन्थे , आँखा चनाखा हुन्थे हाम्रा तर सम्बोधन पछि ' फेरी उस्तै कुरा ' भन्दै आ–आफ्नो काममा जान्थ्यौँ। अहिले प्रधानमन्त्री प्रचण्डको देशबासीको नाममा दोस्रो सम्बोधन आयो , झण्डै त्यस्तै प्रतिक्रिया आयो अधिकांश जनताहरूको। आखिर कति भिन्न छ त यी दुई सम्बोधनमा ? ज्ञानेन्द्रले सम्बोधन गर्दा लोडसेडिङ यति विध्न थिएन। मलाई लाग्छ त्यतिखेर अहिले भन्दा धेरैले प्रत्यक्ष सुनेका हेरेका थिए – देशबासीको नामको सम्बोधन। अहिले सात समूहमा बाँडीएको लोडसेडिङ क्षेत्र अनुसार केवल एउटा समूहले मात्र अर्थात् १/७ जनताले मात्र यो सम्बोधन सुने। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा ' लोडसेडिङको यो समस्या तत्काल हल गर्न सकिने कुरा होइन ' भनिरहँदा उनलाई मत दिएर त्यहाँ सम्म पुर्‍याउने मतदाताहरू लोडसेडिङको अँध्यारोमा कतै हराउँदै/विलाउँदै गएको जस्तो लाग्न थालेको छ।

यो सम्बोधन पछि ' फेरी आश्वासनको अर्को पोको आयो ' भन्ने कुराले मन नै गरुङ्गो हुन पुग्यो। राजतन्त्रात्मक नेपालको सबैभन्दा अलोकप्रिय राजा र गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई यसरी दाँज्नु सही या गलत के हो? थाहा छैन। नयाँ सरकारको क्रियाकलाप र देशको दुर्गतीले गर्दा यहि गर्न पुगेँ। अनि मलाई लाग्छ अबको छ महिना पछि फेरि यस्तै भावुक, मन छुने सरल भाषा लिएर प्रधानमन्त्री देशबासीको नाममा सम्बोधन भने गर्ने छन् ,उही आश्वासन र दोषारोपनको भारी विसाउन। मेरो चाहना छ अब अर्को सम्बोधन नआओस् , काम भएर जाओस्। हाम्रा समस्या समाधान हुँदै जाउन्। हाम्रो जीवन सरल बनेर जाओस्। यसो भए कति राम्रो हुन्थ्यो।

Saturday, January 24, 2009

' निश्पक्ष हुँदैन पत्रकारिता '


पत्रकारिताको कक्षा चलिरहेको थियो । प्राध्यापक एवं पत्रकार उज्ज्वल प्रजापती हामीलाइ आमसंचार अनुसन्धान पढाउनुहुन्छ । यसको प्रक्रियाबारे बताउँदै हुनुहुन्थ्यो – 'सबै भन्दा पहिले आमसंचार मात्र नभइ कुनै पनि विषयमा अनुसन्धान गर्दा यो कुनै निश्चित दर्शनमा आधारित ( wihin a framework of a set of philosophy) भइ गरिनुपर्दछ । अनुसन्धानमा संकलन गरिएको तथ्याङ्क सहि हुनुपर्छ । अनि यो अनुसन्धान गर्दा निश्पक्ष रहनुपर्दछ । ' एउटै पाठमा पढाइएका कुराबाट मेरो मनमा प्रश्न उठ्यो– कुनै दर्शनमा आधारित भैसकेपछि यो कसरि निश्पक्ष हुनसक्छ ?

सरले मेरो प्रश्नको उत्तर यसरी दिनुभयो –' तपाइँहरू के लाइ समाचार भन्नु हुन्छ ? रिपोर्टर्स क्लबमा एकजना वक्ताले बोलेको कुरा भोलिपल्ट कुनै पनि मिडियामा आउँदा किन फरक फरक समाचार बनेर आउँछ किन एउटै हेडलाइन हुँदैन सबैको ? ल तपाइँहरू नै भन्नुहोस् त । ' विध्यार्थीबाट धेरै उत्तरहरू आए ' मिडियाको झुकावले गरेर ' 'पत्रकारको बुझाइ फरक फरक भएर ' 'पत्रकारको पूर्वाग्रहले गरेर' आदी । त्यसपछि सरले भन्नुभयो ' हजुर,सानो समाचार एउटा तयार हुँदा नै यसरी एउटै घटनालाइ फरक फरक पत्रकारले विभिन्न ढंगले व्याख्या गर्छ र समाचार पनि भिन्न बन्न पुग्छ । 'हिमाल' मिडियामा आक्रमण भइरहँदा एउटाले 'मजदुर नाम बदनाम' लेख्छ अर्कोले 'मालिक नाम बदनाम' लेख्छ । त्यसैले मेरो अनुभवले भन्छ समाचार भनेको दृश्टिकोण हो ( news is an angle ) । त्यसैले सिद्दान्तत यो निश्पक्ष हुनुपर्छ तर व्यवहारिक रूपमा त्यो असम्भव छ । ' तर यो त पूर्ण रूपमा निश्पक्ष हुनुपर्छ नि होइन र ? उहाँको प्रतिप्रश्न थियो –'हुन त के के पर्थ्यो पर्थ्यो नि के सबै हुनुपर्ने कुरा मात्र संसारमा भैरहेको छ त '

सो कक्षा सकेपछि मेरो मनमा एउटा गम्भिर,नमिठो तर भन्नैपर्ने निश्कर्ष निस्क्यो – ' निश्पक्ष हुँदैन पत्रकारिता '

Thursday, January 22, 2009

उदाहरणीय बन्दैछन् हाम्रा राष्ट्रपति


करिब एक महिना अघिको कुरा हो , वीर अस्पताल अगाडि पत्रिका बेच्ने बज्यैले मलाई
साउतिको भाकामा भनेकी थिइन् − "आज यहाँ राष्ट्रपति आए नि।" "किन आएका रहेछन् त बज्यै ? " भनेर सोध्दा उनले भनिन् "आँखा जचाउन आ'का र'छन् ।" हिजो फेरि तिनै राष्ट्रपति दुखेको दाँतको उपचार गराउन वीर अस्पताल गए । पहिले पनि उनी महाराजगंज स्थित शिक्षण अस्पताल गएको कुरा समाचारमा सुनेको थिएँ ।

हाम्रा ठूला नेता विरामी पर्दा सहरका ठूला नर्सिङहोम वा विदेशी अस्पतालमा जान्छन् । तर हाम्रा राष्ट्रपति आफ्नो स्वास्थ जाँच गर्न सरकारी अस्पताल नै रोज्छन् । उनको यो कदमले गरिब नेपाली जनतालाई सरकारी अस्पतालमा ठूला मान्छे पनि आउँदा रहेछन् भन्ने राम्रो सन्देश दिएको छ । अधिकांश नेपालीमा सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा छ । तर ठूला व्यक्ति नै सरकारी अस्पतालमा आएपछि 'हामी गरीब मात्र जाने अस्पताल' भनी हीन भावना राख्ने नेपालीको सोचाइमा परिवर्तन ल्याउन मद्दत गर्नेछ भन्ने मलाई लाग्छ। उनको यो कदमलाई मेरो सलाम छ ।

Wednesday, January 14, 2009

सडकमा हामी



करिब दुइ साता अगाडिको कुरा हो । म नारायणगोपाल चोक, महाराजगंज पुगेको थिएँ । त्यहाँ यस्तो दृश्य देखियो – नेपाल यातायातको एउटा बस र एउटा मोटरसाइकल दुवै वसुन्धारातिर बाट आउँदै थिए । मोटरसाइकल सडकमा दायाँबायाँ नाच्दै आइरहेको थियो । त्यहाँ दुइजना युवाहरू चढेका थिए । एक्कासी नेपाल यातायातको बसले सो मोटरसाइकल लाइ धक्का दिन पुग्यो । तर मोटरसाइकल ढल्न भने पाएन् । बरू मोटरसाइकल साइडमा रोकि हेलमेट फुकालेर ति युवाहरूले हेलमेटले नै भकाभक बसका चालक हान्न पो थाले । यति हुँदासम्म सडक जाम भइसकेको थियो भने एकैछिनमा ट्राफिक पनि आइपुगे । बसका चालक पनि के कम उनले गालि गर्न थाले 'ए मलाइ चिनेको छस् तिमीहरूले तैंले के खोजेको हँ साला, आफैं नचाउँदै हिँड्ने अनि मलाइ दोष दिने । आइज साला राँड........... ' त्यसपछि बर्सिन थाले अस्लिल गालीहरू ।

आजभोली सडकमा छिसिक्क केही भयो की सडक जाम भइहाल्छ । माथि मैले देखेको जस्तो दृश्य त सामान्य भैसक्यो अचेल सडकमा । सडकमा यात्रा गर्ने यात्रु , साइकल, मोटरसाइकल,मोटर सबैसबै आफैं नै ठूलो बनेर हिँडिरहेका हुन्छन् । लाग्छ आत्मियताको कुनै बूँद पनि छैन हामीसँग । जानी जानी या अन्जानमा चाहे साइकलले कसैको गाडिमा छोओस् , चाहे यात्रुलाइ छोओस् , चाहे मोटरसाइकलले यात्रुलाइ धक्का दिएरै जाओस् , चाहे यात्रुले जथाभावी बाटो काटोस् सबै सबै जना एकले अर्कोलाइ आँखा तर्ने, अनि अस्लिल गाली गर्ने र सडक जाम गर्ने गरिरहेका पाउँछौँ हामी । हामी हामी बीच यत्रोविधि घृणा किन जागिरहेछ ?

जब हामी हामी बिच प्रेम, स्नेह र आदर हुन्छ तब कसैले कसैलाइ धक्का दिने घटना या दुर्घटना हुँदैन । एकले अर्कोको आदर गर्ने भएपछि पहिले अरूलाइ सडक छोडौँ, त्यसपछि मात्र म जाउँला भन्ने भावना आउँछ । 'मै पहिले जान्छु ' भन्ने स्वार्थी भावना त्याग्न सके पो दिनदिनै भइरहने सडक दुर्घटना रोक्न सक्छौँ हामी । हामी हामी बीचको यो स्वार्थी पर्खाल कहिले ढल्ने र प्रेमपुर्वक बाँच्ने हामीले ?

Saturday, January 10, 2009

'मलाइ "पत्रिका" भनेर डाक्छन्'

मेरो नाम अजय मगर हो। म अठार वर्षको भएँ। तिनजना दाजुभाई मध्ये म माइलो छोरो हुँ। बुबा सानैमा बित्नुभयो। आमाले साहुको घरमा लुगा धुने, भाँडा माझ्ने काम गरेर हामीलाई हुर्काउनु भयो। हाल म पत्रिका बेच्ने काम गर्छु।

मैले कक्षा छ सम्म पढेको छु। झोछेँमा रहेको विद्दोदय स्कुल बाट मैले पढेको हुँ। त्यसताका स्कूलमा हाफटाइममा खाजा खानको लागि म केही पनि पाउँदिनथेँ। अरुले खाएको हेरेर बस्थेँ। मेरो स्कूल नजीकै ‘महानगर’ पत्रिकाको वितरण गरिन्थ्यो। हाफटाइममा त्यहाँ गएर अरुले पत्रिका बेच्न हिँडेको र पैसा कमाएको देखेपछि मलाई पनि त्यहि काम गर्न मन लाग्यो। यसबाट खाजा खर्च पनि हुन्थ्यो। वितरक दाइहरूले मलाई माया गरेर बाँकी (क्रेडिट) मा नै पत्रिका दिनु भयो। त्यस पछि पत्रिका लिएर एकछिन वरीपरि डुल्थेँ। पत्रिका सबै बिक्रि हुन्थ्यो। आफ्नो नाफा कटाएर बाँकी पैसा वितरकलाई दिन्थेँ र होटल गएर खाजा खान्थेँ अनि फेरी स्कुल जान्थेँ।

यसरी पत्रिका बेच्ने काम सुरु गरिएको थियो। पछि पछि भने पत्रिका बेचेर बढि पैसा कमाउनमा लोभ बढ्दै गयो। अनि त पढाइसढाइलाई गोलि मारी पत्रिका बेच्न मात्र दौडिन थालेँ। यो काम गरेको सात वर्ष भैसक्यो । यसरी पत्रिका बेच्दा – बेच्दा मलाई मान्छेले बोलाउने नाम नै कतिखेर कसरी ‘महानगर’ बन्न पुग्यो थाहै छैन। तपाइँहरू त पत्रकार मान्छे पढेर ठूला हुनुभयो। म पनि कहिलेकाँहीँ सोच्छु ‘मैले पनि सरासर पढेर गएको भए त केही राम्रै काम गर्न सक्ने हुन्थेँ होला।’ मलाई मेरो नामले डाक्दैनन् कसैले पनि, सबैले ‘ए पत्रिका! ’भनेर बोलाउँछन्। फेरी कतिपयले पत्रिका माग्छन् हेर्‍यो,हेर्‍यो लास्टमा केही पनि समाचार नै रैनछ भन्दै फिर्ता गर्छन्। अचेल त यो काम गर्दा गर्दा दिक्क लाग्न थालेको छ मलाई। लौन दाई हामीले गर्न सक्ने कुनै राम्रो काम पाईदैन भन्या तपाईको प्रेसतिर।
(कुराकानीमा आधारित)

Sunday, January 4, 2009

एक्लो म

म स्कुल पढ्दा सोच्ने गर्थेँ ' क्याम्पस भनेको स्कुल भन्दा धेरै ठूलो हुन्छ। त्यहाँ,यहाँभन्दा घेरै मिल्ने साथीहरु हुनेछन्। उनिहरुसँग मेरो सम्बन्ध राम्रो हुनेछ। म उनीहरूसँग खुलेर कुरा गर्न सक्नेछु । आफूले जानेको सिकाउनेछु र नजानेको सिक्नेछु। 'तर आज आएर त्यो सोचाइ गलत पाएको छु।

म आर.आर.मा पढ्दै छु। क्याम्पसमा पढ्न थाले देखि नै झन बढि एक्लो महसुस गर्न पुगेको छु। त्यहाँ ७५ जिल्लाका विद्यार्थीहरू पढ्छन्। प्रत्येक दिन नयाँ साथीहरू सँग हात मिलाई परिचय गरिन्छ , भोलिपल्ट विर्सिइन्छ। कतिपय एउटै जिल्ला र एउटै स्कूलदेखि धेरै साथीहरू आएका हुन्छन् उनीहरूको बेग्लै जमात हुन्छ। अझ कतिपयले त जिल्ला बासीको पुनर्मिलन स्थान नै क्याम्पसलाई बनाएको जस्तो भान पो पर्छ। म सबै जिल्लाका विद्यार्थीलाई साथी बनाउन खोज्ने तर साथीहरू सुरुमै जिल्ला सोधेर क्षेत्रीय पर्खाल लगाउन थालिहाल्ने। बेग्ला बेग्लै जिल्लाको छुट्टाछुट्टै झुण्ड। म परेँ आधा मकवानपुरे आधा काठमाडौँले, म कता जाने आफ्नो झुण्ड खोज्न ? काठमाडौंको झुण्डमा गए तिमी बाहिरका जस्ता छौ भन्ने। मकवानपुरको झुण्डमा गए तिमी त जिल्लाबासी होइन जस्ता छौ भन्ने। कुरा के भने मेरो जन्म मकवानपुर जिल्लामा भए पनि पढाइ भने सुरुवात देखि नै काठमाडौंकै। म आफ्नो जिल्ला सदरमुकाम अहिले सम्म नगएको मान्छे त्यसमाथि कक्षाका सबै लाई साथी बनाउन खोज्ने तर मेरो नजिक कोहि आउन नचाहने।

स्कुल पढ्दा सिमित साथी हुन्थे। आफुले नजानेको साथीलाई सोध्ने , साथीले नजानेको आफुले बताउने गरिन्थ्यो। क्यामपसमा कहिलेकाहीँ कक्षामा उपस्थित हुन सकिएन भने बर्बाद। एउटा साथीलाई 'गुरुले त्यसदिन के पढाउनुभयो? कुनै नोट छ?' भनेर नोट माग्दा 'खै म पनि आएको थिइन हिजो' भन्ने। अनि अर्कोलाई सोध्दा 'ला मेरो कपि त अर्को साथीले लगिरहेको छ, नत्र त तपाईंलाई नै दिन्थेँ म ' भन्ने। त्यसपछि अमिलो मन लिएर एक्लै टोलाउने। न मेरो कोही शत्रु छन् नत मिल्ने मित्र नै। साह्रै एक्लो पो भइयो त हो अहिले त।

Saturday, January 3, 2009

रोगी जीवनका भावनाहरू

बनेपाका महेश्वर थापा पक्षघातका रोगी हुन्। उनको शरीरको बायाँतर्फका कुनै पनि अंग चल्दैन। उपचारको क्रममा उनी वीर, शिक्षण, मोडल लगायतका अस्पतालमा पुगे तर ठीक हुने छाँट देखिएन। अहिले अकुपञ्चर गराइरहेका हुन्छन्। केही कम हुँदै गएको छ। उनी भोटाहिटीमा जुत्ताको व्यापार गर्दै आएका थिए। सात महिनाअघि थला परेका उनी हालसम्म काममा फर्कन सकेका छैनन्।
'बिरामी भएदेखि काम गर्न सकिएको छैन, काम नगरीकन आराम गरेर बसिरहँदा अरुको बोझ मात्र भइरहेको छुजस्तो लाग्छ' निराश हुँदै उनी भन्छन् र लामो सुस्केरा हाल्छन्, 'योभन्दा अर्को उपाय पनि त छैन।'

दावा लामा गोरखाको विद्यालयमा अध्यापन गर्छन्। केही महिना पहिलेदेखि उनी बिरामी परे। उनको फोक्सोमा पानी जमेको छ। परिवारमा उनी बाहेक कसैको आयस्रोत छैन। हाल वीर अस्पतालमा उपचाररत उनको दैनिक रु.५०० बराबरको खर्च भइरहेको छ। एकातिर खराब स्वास्थ्य, अर्कोतर्फ आफ्नो काम, पारिवारिक जिम्मेवारी, दैनिक उपचार खर्च यी सबै सम्झंदा यो जीवन अत्यास लागेर आउँछ। 'कहिले अस्पतालबाट ठीक भएर गाउँ जाने र आफ्नो काम सुचारु गर्ने?' एउटा हतारो उनको मनमा सधैँ भइरहन्छ।

रामेछापका हरि खड्का पत्रिका बिक्री गरेर आफ्नो र परिवारको गुजारा चलाउँथे। अहिले उनी छारे रोगबाट पीडित छन्। टाउकोको सिटीस्क्यान गर्न लाइनमा बसिरहेका उनी निकै निराश देखिन्थे। निराशाको कारण सोध्दा उनले जवाफ दिए, 'पत्रिका बेच्न दिनहूँ तीन घण्टा हिँडेर रत्नपार्कबाट जोरपाटीसम्म पुग्थेँ। छोरे रोग लागिसकेपछि जहाँ पनि बेहोस हुन सक्ने भएकोले डाक्टरले कम्तिमा दुई महिना घरबाट बाहिर ननिस्किकन आराम गर्नू भनेका छन्।' 'के यो रोग निको होला त? अझ कति समय त्यत्तिकै बस्नुपर्ने हो?' प्रत्येक क्षण यस्ता कुराले उनको मन भारी हुन्छ।

यस्तै बिरामीहरूसँगको भलाकुसारीकै क्रममा भेटिइन् कोटेश्वरकी विमला श्रेष्ठ। बिरामी हुनुको उनको कथा छ। नेपालमै भूगोल (zoology)मा स्नातकोत्तर सिध्याई इजरायलमा इकोलोजी (ecology) पढेकी उनले नेपाल फर्केपछि विभिन्न परियोजनामा भाग लिने योजना बनाएकी थिइन्। तर अहिले उनको योजना अवरुद्ध भयो। विदेशमा छँदा केबल पढाइमा धेरै घोटिइएकोले आजभोलि किताब वा पत्रपत्रिका राम्ररी अध्ययन गर्न सक्दिनन्। अक्षर हेरिरहँदा आँखा धमिलो भएर जान्छ, रिँगटा लागेजस्तो, रन्थनिएजस्तो हुन्छ। कुनै मानसिक समस्या भने छैन। उपचारको अतिरिक्त उनको काम केबल आराम गर्नु मात्र भएको छ अहिले।

'आफूलाई यस किसिमको रोगी भएकोमा कस्तो महसुस गरिरहनुभएको छ?' भन्ने प्रश्नमा निकै बेरको शून्यतापछि आएको उनको जवाफ यस्तो थियो–'मानिस दुई किसिमका हुन्छन्। कोही मानिस सामान्य रुघाखोकी लाग्दा वा ज्वरो आउँदा नै 'अब सकिने भइयो' भनेर आत्तिने हुन्छन्, रोइकराइ गर्छन्। अर्कोथरि भने बिरामी हुनुलाई जीवनको कुनै बिन्दुमा हुने सामान्य उतारचढावको रूपमा लिन्छन्, निडर भई उपचारमा ध्यान दिन्छन् र आफ्नो कर्तव्यमा पनि लागीरहन्छन्। म आफूलाई यीमध्ये दोस्रो वर्गमा राख्छु।'

रोग लागिसकेपछि उपचार गर्नुपर्छ। उपचारको लागि खर्च चाहिन्छ। अनि दिनभर काम गरेर पनि दुई छाक टार्न मुस्किल पर्नेहरूको लागि यस्तो अवस्थामा विमलाले भनेजस्तै रोगलाई सामान्य ढंगमा लिन सकिन्छ त? रामेछापका हरि, बनेपाका महेश्वरको लागि त यो रोग ठूलो पहाड बनेर उभिएको छैन र? कुराकानीकै क्रममा अन्तमा विमलाले भनिन्–'म त चाहन्छु सबै मानिस निरोगी भई बाँच्न पाऊन्। स्वास्थ्य रहे जीवन रहन्छ। जीवन रहे जे पनि गर्न सकिन्छ। आत्तिएर मात्र रोग निको हुने हो र? स्वास्थ्य खराब हुँदा आत्तिने होइन, संवेदनशील भएर उपचारमा ध्यान दिऔँ न। सधैँ काम, पैसा र अध्ययनको लागि मात्र कति कुद्ने, स्वस्थ रहन आराम चाहिन्छ भने आराम पनि गरौँ न। अनि पो सुखद भविष्यको कामना सफल हुन्छ, होइन र?'

Friday, January 2, 2009

हकरदाइको कथा व्यथा

पुरुषोत्तम कट्टेलको घर उदयपुरमा हो । उनी हाल आर.आर.क्याम्पसमा अध्ययनरत छन् । घरमा बा आमा बस्छन् । त्यहाँको खेतको आम्दानीले उनको र भाइको पढाई खर्च पनि धान्दैन । त्यसैले विगत चार वर्षदेखि उनी पत्रिका बिक्री गर्ने काम गर्दै आएका छन् । उनी बिहान ४बजे उठ्छन् र भूगोलपार्क गई दैनिक एवं साप्ताहिक पत्रिका लिई आफ्ना ग्राहकलाई बाँड्छन् । यो कामले गर्दा उनी आफूलाई यहाँ बसी पढ्न सहज नै भएको कुरा व्यक्त गर्छन् ।

बाङ्गेमुढामा बस्दै आएका दिपक कुमार बराल बिहान उठ्ने बित्तिकै नेपाल समाचार पत्रको कार्यालय पुग्छन् र पत्रिका लिएर वार्षिक ग्राहकका घर-घरमा पुर्याउँछन् । उनको काम ८,९ बजेसम्ममा सकिन्छ । उनी यसरी पत्रिका बाँडेबापद मासिक तलब पाउँछन् ।

हाम्रो समाजमा हकरहरुलाई हेयको दृष्टिकोणले हेरिन्छ । सबै कामको आ–आफ्नै महत्व हुन्छ र सबै पेशाकर्मीको उतिकै इज्जत । कहिलेकाहिँ ठूला र धनी हेर्दा प्रतिस्ठित देखिने मानिसहरू नै आफूलाइ हेपेर पत्रिकाको लेखिएको मूल्य नदिने गरेको कुरा व्यक्त गर्छन् चावहिलका केशव सिलवाल । केशव सन्ध्याकालिन पत्रिकाका बिक्रेता हुन् । कतिपय ठाउँमा सुरूमा पत्रिका छोड्न लगाउने तर महिना मरेपछि पैसा दिन आनाकानी गर्ने ग्राहकहरू समेत हुन्छन् । यिनीहरूले गर्दा बिक्रेताले घाटा व्यहोर्नुपर्छ ।

एउटै प्रकाशनसँग मात्र सम्बद्द भएका पत्रिका वितरकहरूलाइ भने कहिले समयमा तलब नपाइने, भनेको बेला बिदा पाउन कठिन, जाडो वर्षा नभनी सधैँ एउटै समयमा पत्रिका बाँड्न जानुपर्ने, प्रत्येक महिनामा निश्चित संख्यामा ग्राहक बनाउनुपर्ने बाध्यता जस्ता समस्याहरू पर्छन् । बिहान जाडोमा हिँड्नुपर्ने भएकोले चिसोले रोग लाग्ने सम्भावना पनि उतिकै हुन्छ।

केही पत्रिका बिक्रेतामा भने आम्दानी राम्रै भए पनि जीवनस्तर माथि उठ्न नसक्नु अर्को समस्या हो । दिउँसो निस्कने पत्रिका बेचेर मासिक चार हजार कमाउने जुजुमान स्थापित हप्तै पिच्छे सिनेमा घर धाउँछन् । उनका साथिहरू भने प्रत्येक दिन कमाएको पैसा तास खेलेरै उडाउँछन् । यस्ता बानीले गर्दा आर्जन भएका पैसाको राम्रो सदुपयोग नभएर धेरै पत्रिका विक्रेताहरू विचलित भएका घटना पनि प्रशस्त छन् । असनका महेश विगत तिन वर्ष देखि यहि पेशा अपनाउँदै आएका छन् । तर उनी दिउँसै देखि भट्टि पसल चाहार्छन् । रक्सीले गर्दा राम्ररी बोल्न पनि सक्दैनन् । उनका साथिहरू भन्छन्–‘पाँच छ वटा पत्रिका बेच्छ फेरि त्यसपछि भट्टी पस्छ । फेरि केहि पत्रिका बेच्छ फेरि भट्टी पस्छ । हामीले सम्झाउँदा भोलिदेखि खान्न भन्छ तर भोलिपल्ट फेरि उस्तै ।’

सबै पेशाकर्मीको पेशागत र पारिवारिक दायित्व हुन्छ । कतिपय पत्रिका विक्रेताहरू यहि कामले सम्पूर्ण घर खर्च चलाउन सक्षम भएका पनि छन् । सबैको आ आफ्नै परिवार छन् । कोहि आफ्नो पढाइ खर्चको लागि यो काम गरीरहेका भेटाइन्छन् त कति परिवार पाल्न । अहिलेको पुस्ताले दुख पाए पनि उनीहरूको भविस्यलाइ कसरी सुरक्षित पार्ने ? वर्तमान सबैको जसोतसो गइरहेको हुन्छ । वर्तमानलाइ सुधार्दै भविष्य सुनिश्चित गर्न पनि त सोच्नुपर्यो नि । होइन र ? यो प्रश्नले यि हकर दाजुभाइलाइ सधैं पिरोलिरहन्छ ।

उद्देश्य


त्यो निस्पट्ट अँध्यारोमा हिँडिरहेछु म
लाग्छ, कुनै उद्देश्य छैन मेरो
अनि कुनै सिमाना छैन मेरो यात्राको
त्यसैले हिँडिरहेछु
म अँध्यारो निस्पट्ट अँध्यारोमा


हँ त्यहाँ पर एउटा सानो उज्यालो प्रकाश देखियो
त्यो उज्यालो भित्री मनको प्रकाश थियो
कहिल्यै ननिभ्ने ।

त्यहि प्रकाशलाई भेट्ने कौतुहलता जाग्यो ममा
यहाँ त्यसलाई ल्याउन सके अँध्यारो झुप्रा र वस्तीहरू
उज्यालो हुने थिए ।
जाडोले काँपीरहेका पाखुरीमा न्यानो राप दिन्थे
अब त्यहि प्रकाशलाई ल्याउने नै मेरो उद्देश्य हुनेछ ।

त्यहि विश्व नै चम्काउने सानो प्रकाश ल्याउन
फेरी कालरात्रीमा हिँडिरहेछु
तर मेरो गन्तव्य उज्यालो छ
त्यहि उज्यालो प्रकाश ल्याउन
हिँडिरहेछु यो अँध्यारो निष्पट्ट अँध्यारोमा
निरन्तर, निरन्तर....।