Wednesday, February 11, 2009

आखिर के छ त्यो पर्खालभित्र ?



जे कुरा लुकाइन्छ, त्यो के हो ? सबैको चासो पनि बढ्छ। यो मानवीय स्वभाव नै हो। महाराजगंज चक्रपथ नजिक करिब एक वर्ष पहिलेदेखि एउटा पर्खाल लगाउने काम सुरु भयो। त्यहाँ भित्र के गरिँदै थियो ? कसैलाई थाहा थिएन तर महाराजगंज चक्रपथ वरिपरिको वस्तीलाइ नै थर्काउने गरी भव्य भवनको निर्माण गरिएको कुरा पछि थाहा भयो। यसरी पूरै जमिन थर्काउँदा सो क्षेत्रमा ध्वनी प्रदुषणको त कुरै छोडौं धेरैका घर नै चर्किनेसम्म भएको समाचार बाहिर आयो। त्यहाँका वासिन्दाका गुनासा कतिले सुने त्यो भने थाहा छैन। त्यो पर्खाल अगाडि कसैलाई उभिन दिइँदैन। गाडी रोकेर चढ्ने त झन् कुरै भएन। हजुर, तपाईले अनुमान लगाउनु भइसक्नुभो होला। त्यस पर्खालभित्र छ, विश्वकै सर्वशक्तिमान ह्वाइट हाउसको नेपालस्थित प्रतिनिधि घर अर्थात् अमेरिकी राजदूतावास। करिब दुई वर्षअगाडि फोहरा दरबारमा रहेको अमेरिकी राजदूतावासको पर्खालको फोटो खिचेपछि एक जापानी पर्यटक पक्राउ परेका थिए। यहाँको पर्खालमा पनि त्यसैगरि फोटो खिच्न मनाही लेखिएको छ।

अमेरिका जान भिषा लगाउन जाने नेपालीहरू त्यस दूतावासभित्र जान त पाउँछन् तर अन्तर्वार्ता दिने ठाउँसम्म पुग्न तीन पटक कडा सुरक्षा जाँच दिनुपर्छ। त्यहाँ जाँदा पानीको बोतल लिएर जान पनि मनाही छ। अन्तर्वार्ता दिने कोठामा रेडियोको स्टुडियोमा जस्तो सिसाले बारिएको छ। अन्तर्वार्ता लिने मान्छे सिसा पारी र दिने मान्छे वारी हुन्छ। उनीहरुबीच माइक्रोफोन र स्पिकरको सहयोगले कुराकानी हुन्छ।

त्यस दूतावासको कर्मचारी छिर्ने ढोका भने अलग हुन्छ। त्यहाँ पस्न सबैभन्दा पहिले कर्मचारीले आफ्नो परिचय पत्र (Id card) मेसिनमा छिराउँछन्। त्यसपछि screen मा सो कर्मचारीको जन्ममिति देखि सबै विवरण देखिन्छ। अनि विभिन्न कोड नं. थिचेपछि मात्र ढोका खुल्दछ। यस्तो कुरा बाहिर देशमा मात्र छ भन्ने कुरा सुनेको थिएँ तर अमेरिकी राजदूतावासमै रहेछ।


अमेरिकी राजदूतावासमा करिब डेढ सय कर्मचारी त सुरक्षाकै निम्ति खटिएका हुन्छन्। अर्को कुरा बाहिर (मूल गेटमा) बसेका सुरक्षाकर्मीलाई त भित्रको संसार कस्तो हुन्छ, थाहै हुँदैन। तर भित्रबाट भने क्यामेराको मद्दतले झण्डै निर्मल निवाससम्मको दूरीको सबै गतिविधिको निरिक्षण र रेकर्ड भइरहेको हुन्छ। एक पटक एक जना रातको समयमा खटिएका कर्मचारीले वाकीटकीमा तुरुन्तै जवाफ नफर्काएको निहूँमा जागिरबाटै हात धुनुपर्‍यो रे ड्यूटीको समयमा सुतेको भनेर। अमेरिकन राजदूतावासमा करारमा रहेका सुरक्षाकर्मीदेखि लिएर स्थायी नियुक्ति पाएका प्रशासन प्रमुख, राजदूत लगायतका सबैले आफ्नो काममा साना वा ठूला गल्ती गरे भने तत्काल वर्खास्त हुन सक्ने प्रावधान छ। तर बढी जसो सुरक्षाको मामिलामा यस्तो हुने गर्छ।

अर्को रोचक कुरा त्यहाँभित्र बेला बेलामा अप्रत्याशित रुपमा एक प्रकारको साइरन बज्छ। यो बज्नासाथ सबै कर्मचारीहरु जो जुन ठाउँमा भए पनि एक भूइँमा घोप्टो पर्ने गर्छन्। यहाँसम्म कि चर्पीमा रहेकालाई समेत बाहिर निकाली घोप्टो पारेर सुत्न लगाइन्छ। सबैलाई बाह्य आक्रमणबाट सतर्क राख्न यो अभ्यास गरिन्छ। यो कुराले मलाई इतिहासका जंगबहादुरको याद दिलाउँछ, जो त्यसबेला नेपालका सबैभन्दा शक्तिशाली व्यक्ति थिए, तर उनी सुत्ने बेला आफ्नो सिरानीमुनि तरवार राखेर सुत्ने गर्थे रे। किनकी बलियो भएकैले पनि उनका धेरै शत्रुहरू थिए रे।

शक्तिसँगै डर र सुरक्षा पनि गाँसिएर आउँछ भन्ने कुराको यो एउटा उदाहरण हो।