Thursday, June 18, 2009

Being Me हेरेपछि

यसपल्ट खुल्ला सडकमा बसेर being me नामक चलचित्र हेरियो । किर्तिपूरको नयाँ बजारमा पर्दा राखेर यो चलचित्र देखाइएको थियो । यसरी खुल्ला सडक बिचमा चलचित्र हेर्न पाउँदा मन नै रोमाञ्चित भइरहेको थियो । यो चलचित्र हर्के फिल्मस् र डकुमेन्ट्रि ओपन स्कूलले संयुक्त रुपमा बनाएको रहेछ । चलचित्र प्रदर्शन गर्नु अघि ‘ के बारेको चलचित्र हो यो ? ’ भन्ने प्रश्नमा यसका निर्देशक क्षितिज अधिराजले यसरी उद्घोषण गरेका थिए — “यो चलचित्र तपाइँहरूको बारेमा बनेको छ ।” “सामान्यतयाः चलचित्रले के कुरा भन्छ ? चलचित्र सकिएपछि थाहा हुन्छ र अझ धेरै जसो त सकिएपछि केही कुरा पनि आउँदैन । हेरिसकेर आ–आफ्नो बाटो लागे पछि यसको प्रभाव पनि सकिन्छ । तर हामी चलचित्र भनेको यति मात्र होइन, यो त तपाइँ सँग बोल्ने(संवाद गर्ने) हुनुपर्छ भन्ने मान्यता राख्छौँ । त्यसैले प्रस्तुत चलचित्र पनि हेरिसके पछि आफ्नो प्रतिक्रिया दिनुहोस् । हेरिसकेपछि तपाइँको मनमा जे कुरा आयो त्यही नै हो यो चलचित्रको थिम (चलचित्रले भन्न खोजेको कुरा ) । हामी चलचित्र सकेपछि बाहिरीने होइन, बहसको सुरुवात होस् , छलफल होस् भन्ने चाहन्छौँ । अर्थात् चलचित्र यति गह्रुगोँ चिज हो , जसले तपाइँलाई पनि बोल्ने बनाउँछ । यो सस्तो चिज लाग्दैन हामीलाई । त्यसैले यो हेरेपछि जस्तो लाग्यो त्यस्तै कुरा यहाँ लेखेर व्यक्त गर्नुहोला ।”

अनि सुरु हुन्छ चलचित्र प्रदर्शन । चलचित्रमा सुत्रधार बोल्छन् – ‘ यो कथा कल्पनाको होइन , यो त हाम्रै गाउँठाउँको कथा हो । हामी सबै शान्ति चाहन्छौँ, सुख चाहन्छौँ । यसको मतलब यो कथा युद्ध सकेर शान्तिकाल आयो भन्ने पनि होइन । ’

घटना (दृश्य) – १ दाङमा एउटा ज्योतिष÷झाँक्री को मा आउनेहरूको हूल महसुस हुन्छ । एक युवा आफ्नी आमासँग आएका छन् । झाँक्री तिनलाई हेर्छन् । ग्रहदशा भन्छन् अनि एउटा पात जस्तो (मैले प्रष्ट ठम्याउन सकिन) दिन्छन् र दुईऔंलाले माड्न लगाउँछन् । त्यसपछि आफ्नो हातमा केही छैन भन्दै हात देखाएर दुइवटा हात माड्छन् र टिका लगाइदिन्छन् ती युवाको निधारमा । तिनलाई ऐनामा हेर्न लगाउँछन् , अनि दंग पर्छन् केही नभएको हातले टिका लगाइदिँदा । क्यामरासँग तिनी आफुलाई यस्तोमा विश्वास नभएको केवल आमाको सन्तुष्टिको ÷ शान्तिको लागि यहाँ आएको बताउँछन् ।

घटना (दृश्य) – २ कर्णाली जिल्लाको एक विकट गाउँमा एक तपस्वी जमिन मूनि छिर्छन् र (सायद) केही दिनपछि निस्कन्छन् । त्यसपछि जमिनमूनि बाट निस्कीएका उनलाई भगवान् मानेर पूज्न थाल्छन् गाउँलेहरू । तिनको सहयोगी उनलाई भगवान् त होइन तर महामानव चाहीँ भएको जिकिर गर्छन् ।

घटना (दृश्य) – ३ एक युवती आफ्नो भान्छामा बँदेलको मासु पकाउँछिन् । पाक शिक्षा दिए जस्तै गरि प्याज भूट्ने, खुर्सानी हाल्ने, मासु हाल्ने, मसला हाल्ने देखि खाना सँग पस्कनेसम्म देखाइन्छन् । उनी विदेशमा काम गरेर फर्केकी । अरबमा जाँदा अनौठो अनुभव भएको बताउँछिन् । आइमाई मान्छेले बाहिर फेर हिँड्न नहुने । लुगाले मूख बाहेक सबै ढाक्नुपर्ने । आपूmले पनि त्यसै गरिन् । पछि मालिकको छोराले दुर्व्यवाहार गरेपछि आमाचाहीँलाई भन्दा उल्टै गाली खाइन् । यति मात्र कहाँ हो र ? त्यसमाथि मालिकले पनि पिट्यो । कहिलेकाहीँ उनलाई नारी भएर बेकार जन्मिइएछ भन्ने लाग्छ । यो सबै कुरा क्यामरालाई बताउँछिन् ।

घटना (दृश्य) – ४ तराईको दृश्य, म्यानपावर कम्पनीमा युवाको भिड । ल्याप्चे हान्दै आफ्नो नागरीकता बुझाएको देखिन्छ । म्यानपावर कम्पनीको मान्छे उनीहरुलाई काम सम्झाउँछन्– ‘ त्यहाँ गएर गाडी चलाउने हो , २४ पाङ्ग्राको गाडि । १२०० सय आउँछ । उस्तै परे १६०० सम्म कमाइ हुन्छ । फेरी खान, बस्न पैसा लाग्दैन । ’ युवा सहमत हुन्छन् । पछि भिड बीचमा नाम बोलाउँदै पासपोर्ट बाँडिन्छ । यहि बीचमा सडकमा रिक्सामा हिन्दी चलचित्रको प्रचार अनि हल सम्मको यात्रा देखाइन्छ । यो भने बुझ्न सकिंन ।

घटना (दृश्य) – ५ एक युवती , अनुहार देखाइन्न । तर पछाडिबाट खिचिन्छ , उनी हामीलाई आफ्नो डायरी भन्छे – ‘ म बारमा काम गर्छु । छ बजे देखि ६,७,८,९,१० बजे सम्म, बारमा मेरो काम सर्भिस दिने हो । ग्राहकहरू धेरै चिज पाउन चाहन्छन्, त्यो कुरा दिनुपर्छ हामीले ’ यसरी बोलिरहेकी महिलाको पछि लाग्दै क्यामरा बार सम्म जान्छ । तर कसैको मूख देखाइँदैन ,केवल खुट्टामात्र खिचिएको छ । सबै दृश्य सँगै युवतीले आफ्ना कुरा बताइरहेकी नै हुन्छे । लहरै तिन चार जना केटीहरू बसेका छन् । “के दिन खोज्या होला ?” भन्दै मूख छोपेकी एक महिला स्वाभाविक हाँसो हाँस्छिन् । उनलाइ अचम्म पनि लागेको छ । आफूले काम गरेको ठाउँमा के गर्न खोजेका हुन् ? आफूलाई त सबै नर्मल छ तर के देखेका होलान् यिनले ? यस्तै भाव देखिन्छ उनको हाँसोमा ।

घटना (दृश्य) – ६ पशुपति मन्दिर परिसरमा धार्मिक प्रवचन÷अनुष्ठान चल्दैछ । जहाँ भजन गाइँदैछ । नदी छेउ लासहरू जलाइरहेको देखिन्छ , सँगै अर्को दृश्य : एउटा कुखुरा क्यामरा नजिक देखिन्छ । अर्को कुखुरालाई पूजाको निम्ति काटिँदैछ । जसलाई काटिएको, भूत्ल्याइएको, सफा गरेको र निर्जीव शरिर तुल्याइएको सम्म देखाइन्छ । यो दृश्य र भजन किर्तनको दृश्य एक र अर्को गरी पालैपालो देखाइँदै गरिएको छ ।
अन्त्यमा, गित घन्किन्छ
“चिङकाङसाङ हो यो विश्वक्रान्तिको, आधारकिल्ला हो यो जनक्रान्तिको
हाम्रो नेपाल, प्यारो नेपाल,विरहरूको नेपाल,विरहरूको नेपाल”
यो गित बजाइँदै गर्दा पर्दामा नेपालीहरूको तस्वीरहरू देखाइन्छन् । कसैको हातमा बियरको शिशि हुन्छ । कोही महिलाका अनुहार चाउरिएका छन् र सिद्धिन्छ being me । चलचित्र हेरिसकेपछि मनमा एक प्रकारको अलमल पो पैदा भयो । टुक्रा टाक्रीहरु जोडेर बनाइएको रहेछ यो चलचित्र । त्यसमाथि एउटै घटना पनि सिधा पूरा नहुने ÷सिलसिलाबद्ध नहुने । एकपटक ,एउटा घटनाको दृश्य अनि अर्को पल्ट अर्कै घटनाको दृश्य त्यो पनि अपूर्ण । मैले माथि उल्लेख गरेका प्रत्येक घटना झण्डै तिनपल्ट देखाएपछिमात्र पूरा हुन्छ ।

यस्तै प्रस्तुती शैलीको चलचित्र babel हेरेको थिएँ करीब एक वर्ष अघि । मलाइ लाग्छ कम्तिमा एउटा घटना पनि सूरु देखि अन्त्य सम्म बिना अबरोध हेर्न पाए अझ चलचित्र बुझ्न सजिलो हुने थियो की । मैले त्यहाँ उपस्थित प्रायः सबै दर्शकको पनि यस्तै अलमलको मनस्थिति पाएँ । यहाँ अन्त्यमा कुखुरा काटिएको र भजन किर्तनको दृश्य पालैपालो देखाइयो । के पंक्षी हत्या धर्म विपरित छ भन्न खोजिएको हो ? भन्ने प्रश्नमा निर्देशक क्षितिजले यसो भने –“होइन , यो चलचित्रको कुरा यतिमा सिमित छैन । यो चलचित्रमा देखाइएको पहिलो दृश्य र अन्तिम दृश्य अन्तरसम्बन्धित छ । यसलाई तपाईँले आफ्नो कथा सम्झीनुभयो की भएन ? मूख्य कुरा त्यही हो ,। आफूलाई यहाँ भित्र कतै पाउनुभयो की भएन ? बस्, तपाइँ यहाँ देखिनुभयो भने हामी सफल भयौँ । ” बल्ल पो अलिअलि चलचित्र बुझेजस्तो भयो । अनि लाग्यो अब फेरी एक पल्ट हेर्नपाइयो भने चाहिँ अझ गाढा सँग बुझिने थियो भनेर । आयोजकहरू भन्ने थिए – ‘ व्यावसायिक चलचित्र होइन यो , अनि हाम्रो उद्देश्य पनि पैसा कमाउने होइन । हामी त टोल–टोलमा यस्ता सामाजिक कुरामाथि बहस सिर्जना गर्न चाहन्छौँ चलचित्रको माध्यमबाट । ’ चलचित्रलाई केवल मनोरञ्जनको सस्तो साधनमात्रै मानिआएको नेपाली बजारमा यो तहको ओजपूर्ण विचार लिएर आएकोले यो वास्तवमै प्रसंसनिय कार्य हो । यसरी टोलटोलमा देखाइने चलचित्रहरु अझ सरल भइदिउन् , आयोजकहरू आफ्नो उद्देश्य प्राप्तीमा अघि बढून् ।