Saturday, July 25, 2009

त्यो भाडाको साइकल


बुबा मलाई देखाउँदै भन्नुहुन्थ्यो – ′ एल्लाइ साइकल चढ्न कत्रो रहर ? हाम्लाई याँ साइकल चलाउनै नपरे हुन्थ्यो भन्ने लाग्छ । ′ तिनताक म बुबाको साइकल लिएर काठमाडौँ चक्रपथ नाप्ने गर्थेँ । मलाई भने अचम्म लाग्थ्यो - ′ साइकल चढ्न पनि दिक्क लाग्छ र कहीँ ? ′ तर अचेल कहिलेकाहीँ बिहान चार बजे देखि बेलुकी आठ बजे सम्म लगातार साइकल चलाएर लखतरान भइ घर पुग्दा मलाई पनि त्यस्तै लाग्न थालेको छ ।

यहाँ म आफ्नो साइकल चढ्नुपर्दाको दिक्दारीको कुरा गर्न गइरहेको छैन । म त बाल्यकालको साइकल रहर पो बताइरहेको छु । त्यतिबेला म ७,८ वर्षको थिएँ । त्यसबेला गुच्चा, चुंगि, अनि साथिहरूसँग चप्पल फुकालेर नाप्दै उफ्रने खेल, टायर गुडाउने खेल खेलिन्थ्यो । पैसा हुनेहरू भने साइकल चलाउँथे भाडाको । हामी बसेको ठाउँ भन्दा अलि माथि स -साना साइकलहरू भाडामा दिइन्थ्यो । साइकल अवस्था हेरी भाडा फरक–फरक थियो । त्यहाँ ब्रेक, घण्टी केही पनि नभएको साइकल समेत थियो । ब्रेक नभएको साइकल एक रुपैयाँमा पौने एक घण्टा चलाउन पाइन्थ्यो भने ब्रेक भएकोलाइ तिन रुपैयाँ तिर्नुपर्थ्यो।

एक दिन मैले बाटोमा एक रुपैयाँ भेट्टाएँ, त्यसपछि म पनि अरु साथिभन्दा स्ट्याण्डर्ड हुन साइकल लिन गएँ भाडामा । त्यस दिन राम्ररी घाम लागेको थिएन । आकाशमा बादल लागिरहेको थियो । पानी परीहालेको पनि थिएन । साइकल लगुँ की नलगुँ केही बेर दुविधा भयो । तर बल्ल तल्ल एक रुपैयाँ हात लागेको छ , यही मौका हो साइकल चढ्ने भनेर साइकल लिएँ । त्यहाँ न घण्टी थियो न त दुबै पाङ्ग्राको ब्रेक नै । सानो साइकल अनि सानो म । भुइँमा छुने हुँदा खुट्टाले नै ब्रेकको काम गर्थ्यो । साइकल लिएर चलाउन थालेको केही समय मात्र भएको थियो , पानी पर्न थालिहाल्यो । अब के गर्ने ? पैसा दिएर साइकल ल्याइ नै सकेँ समय नसिद्धिँदै फिर्ता लगेर आफ्नो पैसा फिर्ता पाइने होइन । चलाउन भनेर ल्याएको साइकल कतै थन्क्याउने कुरा पनि त भएन । अरु सबै साथीहरू गइसकेका थिए म भने यस्तै सोचेर पानी मै साइकल चलाइरहेँ । स्पीड बढि भएछ की के हो साइकल मोड्न लाग्दा बेस्सरी पछारीन पुगेँ । साइकल एकातिर ढल्यो म बाटोमा घिस्रिन पुगेँ । त्यसपछि त केही नसोचि तुरुन्तै साइकल फिर्ता गर्न गएँ र कोठामा लागेँ । कोठामा जाँदा जाँदै टाउको पनि भाउन्न भए जस्तो भयो । कोठा पुगेपछि पो देखियो लुगा पुरै पानी र हिलोले भिजेको । जिउको एकापट्टिको भाग पुरै खुट्टा देखि हात अनि अनुहारको गालासम्म नै पिलपिल रगत पो आइरहेको रहेछ । साइकलबाट लड्दा घिस्रिएर गएकोले पाइन्ट पनि च्यातिएको थियो । तर मलाई त्यसबेला लडेर भएको पिडा भन्दा पनि बल्ल तल्ल भेट्टाएको पैसाले पनि पुरै समय साइकल चलाउन नपाएको पिडा ठूलो थियो । आमा बुबा र दाइहरु क–कसले के के भने मलाइ याद छैन । तर त्यो घटना पछाडि भाडामा साइकल खेल्ने काम पुरै बन्द भयो ।

अचेल स–साना भाइ बैनीहरू साना साइकल वरीपरि झुम्दै खेलिरहेको देख्दा मलाई पानीमा रुज्दै साइकल चलाएको त्यो क्षण याद आइहाल्छ ।