Friday, September 25, 2009

कलियुगमा खराउ यात्रा

कालिमाटीमा हिँड्दै थिएँ । टक टक आवाज निकाल्दै नजिकै हिँडीरहेको एक जनामा मानिसको गोडा निकै छिटो छिटो बढिरहेको देखेँ । गोडामा हेरेँ उनि त काठको खराउ पो लगाएरर हिँडिरहेका रहेछन् । ओहो, कलियुगमा खराउ लगाएर यात्रा ! अनि त्यो मानिसलाई रोकेरै तस्वीर खिचिहालेँ ।

भारतको विहार राज्यको बेतिया जिल्लाका उनको नाम रहेछ पं.श्रीकान्त चौवे । उमेर ५८ वर्ष । उनि ज्यतिष एवं पण्डित रहेछन् । खास गरि कालिमाटी देखि कुलेश्वर ,बल्खू सम्म रहेका भारतिय मूलका फलफूल व्यवसायिका प्रमूख ब्राम्हण रहेछन् उनी । उनीहरुको जन्म देखि मृत्यू सम्मका सबै संस्कारमा उनको उपस्थिति अनिवार्य हुन्छ रे । आफ्नो काम सँगै आफ्ना जजमानहरु अमेरिका सम्म पनि छन् भनेर गफ दिन भ्याइहाले उनले । तर मेरो उदेश्य भने खराउ संवाद गर्नुमात्र थियो , उनको जजमान पौरख सुन्नु थिएन । त्यसैले सिधै सोधेँ किन खराउ लगाउनु भएको ? यो लगाएर हिँड्न अप्ठ्यारो हुँदैन ? उनको जवाफ थियो – “हेर्नुस् भाइ यो एकदम शुद्ध हुन्छ । पूजाकोठामा पनि यहि लगाइ हिँडे हुन्छ । छालाको जुत्ता लगाइ मन्दिर जानुहुँदैन तर हेर्नुस् यो जहाँ गए पनि फुकाल्नु पर्दैन । ” यसको फाइदा यहि शुद्धता मात्र हो की अरु पनि छन् त ? उनी धारा प्रवाह खराउको महिमागानमा उत्रिए – “यो खराउ लगाएर हिँडेपछि रक्तचाप बढ्दैन्, तपाइँको आँखा पनि सँधै स्वस्थ हुन्छ । मैले यो लगाएर हिँडेपछि कहिले पनि बिरामी परेको छैन ।” कति भयो यो लगाउनु भएको ? “अठार वर्ष देखि लगातार यसैमा हिँडिरहेको छु । हिँड्ने मात्र होइन, साइकल चलाउँदा, मोटरसाइकल चलाउँदा पनि यहि लगाउँछु । मसँग अरु जुत्ता नै छैन । ”

उनको दुवै गोडाका औँला हेरेँ । केवल बुढी औँला र चोर औँलाले च्यापेको भरमा उनी सजिलै हिँड्दा रहेछन् । काठको सानो ठोस्काको भरमा सिँगो खराउ उचाल्दा दुख्दैनन् त औँला ? “ दुख्दैन । अहिले त बानि नै परिसक्यो नि । ” देखेँ, उनको दुवै गोडाका औँला किसानको हातमा कोदालो चलाउँदा उठेका ठेला जस्तै कहिल्यै नदुख्ने गरी साह्रो भइसकेका थिए । कसले सिकायो त यो लगाउन ? “ अयोध्यामा वैदिक शास्त्र पढ्दा देखिनै सुरु गरेको हो यो लगाउन । म गुरुकुलमा पढेको मान्छे हूँ । त्यहाँ सबैले चाहेर पनि नचाहेर पनि यहि लगाउनु पर्ने बाध्यता थियो । बिचमा केहि समय लगाइन तर अहिले यहि नै सजिलो छ मलाइ त ।” कति रुपैयाँमा पाइन्छ त यो ? “ यो बजारमा किन्न त कहाँ पाउनु नि । सिकर्मीलाई अर्डर दिएर बनाउन लगाएको हो । एक जोडीलाई पाँच सय रुपैँयाँ पर्छ । तर नेपालको सडकमा यो तीन महिना भन्दा बढी टिक्दैन । घाम पानी त्यसमाथि सडकमा खाल्टा खल्टीमा जमेका पानी , यसले गर्दा यो धेरै टिक्दैन ।”

पाइतला टेक्ने काठको,औँलाले च्याप्ने ठोस्को पनि काठकै अनि तलको सोल पनि काठकै,त्यसमाथि हिँड्दा पनि छालाको ड्यामबुट लगाए भन्दा ठूलो टक टक आवाज । गज्जब छैन त खराउ !

Wednesday, September 9, 2009

महिलाका लागि छुट्टै बस

किर्तिपुर–रत्नपार्क चल्ने हाइस (माइक्रोबस)ले महिलाका लागि मात्र छुट्टै बसको व्यवस्था गरेको छ । व्यावसायी संघले हाल परिक्षणको रुपमा बिहान ९ देखि ११ र साँझ ४ देखि ७ बजेसम्मका लागि बस संचालन गरेको जनाएको छ ।