Monday, December 28, 2009

सभ्य पत्रकार


शायद क्याम्सका शौचालयका भित्तामा जथाभावी कुराहरू लेखिनु नौलो कुरा होइन । गएको साता संयोग परेर भनौँ की हतार भएर एउटा राष्ट्रिय दैनिक पत्रिकाको कार्यालयको शौचालयमा पसियो । हुन त शौचालय प्रयोग गरिसकेपछि पानी भएको ठाउँमा सबैले पानी खन्याउँछन् जस्तो लाग्छ तै पनि त्यहाँ शौचालय प्रयोग गरिसकेपछि पानीले सफा गर्नको लागि अंग्रेजीमा सूचना टाँसिएको थियो । तर अचम्म, टाँसिएको प्रत्येक सूचनालाई हस्तलिखित अक्षरमा जवाफ पो लेखिएको रहेछ । "म अंग्रेजी बुझ्दिन कृपया नेपालीमा लेख्नुहोस्" भन्ने देखि "टाइम पनि त हुनु पर्‍यो नि" भन्ने सम्मका जवाफ त्यहाँ थिए । पत्रकारितालाई मर्यादित पेसा भनिन्छ , तर नेपालका कति पत्रकार कुन स्तरले सभ्य छन् ? यो प्रश्न उठाउन पाइन्छ कि पाइँदैन मलाई थाहा छैन । अधिकांश पत्रकारले मात्र प्रयोग गर्ने त्यो शौचालयको सूचना र जवाफले म त छक्क परेँ अनि गरिहालेँ क्लिक क्लिक

Sunday, December 6, 2009

गोली चल्दैछ



देश जनताको हो । जनता देशका मालिक हुन् । अनि राज्य र सरकार जनताका अभिभावक हुन् । परिवारमा साना छोरा छोरी लाइ बौद्धिक र शारिरिक जुनसुकै कुराको विकास गराउन आमाबाबुले हरतरहले उनीहरुका आवश्यकता पूरा गर्दछन् । यो कुरा कुनै आमा बाबुलाइ सिकाइराख्नु पर्दैन । यस्तै कुरा देशमा पनि लागु हुन्छ । जनतालाइ बाँच्नको लागि आवश्यक पर्ने गाँस, बास र कपासको आवश्यकता पूर्ति गर्नु राज्यको दायित्व हो । यहाँ कर्णालीपारीका जनता राज्यले दिएको कुहिसकेको चामल खान विवश छन् ,तराइमा एकसरो लुगाले वर्षौँ सम्म पुर्‍याउनुपर्छ, शितलहरले प्रत्येक वर्ष उनीहरूको जीवन खोस्छ । अनि वास वस्नको लागि एककठ्ठा जमीन र ओत लाग्ने छानो यिनीहरूसँग छैन ।

चिसो बाट जोगिन अनि आफ्नो टाउको छानोमूनि राख्न कैलालीमा सुकुम्बासी जनताले जंगलका रुखकाटेर छाप्रो बनाएको एकहप्ता मात्र भएको थियो । ति घरहरू हृदयहीन कठोर मानिसहरूले जलाइदिए । उनिहरूसँग भएको लुगाफाटो, भाँडावर्तन सबै सबै खरानी बनाइए । निहत्था महिला, बालबालिकाको भागदौड मच्चियो । कुनै चलचित्रका खलनायकले निभाउने भूमिका प्रशासनले निभाइरहेको थियो । यि दृश्यले जो कसैको मुटुमा चसक्क छुन्छ । आफूसँग अब बाँकी केही नभए पछि उनिहरू बदलाको भावमा आए अनि लाठिबोकेर आफू बसेको ठाउँ नछोड्ने अठोट लिए । त्यसरी उभिनेहरू गोलीका शिकार भए । हिजोका दिनमा पनि आतंककारीको नाममा रुकूम, रोल्पा का गाउँ–घरहरू यसरी नै जलाइएका थिए । त्यो बेला मुलुक चरम द्वन्दमा फसेको थियो । आज मुलुकमा तानाशाही शासन समाप्त भइ लोकतन्त्र र गणतन्त्र नै आइसक्यो । तर तिनै युद्धकालिन दृश्यहरू सम्झाउने गरि बन्द भइसकेको घाउको पाप्रा उक्काउन किन उद्दत छ यो सरकार अनि प्रशासन ?

राज्यले उपलब्ध गराउनुपर्ने जग्गा उपलब्ध नगराएपछि आफ्नै बलबुताले निर्माण गरेको छाप्रोलाई पनि नसहने यो कसको सरकार हो ? आफ्नो दायित्व पूरा गर्नु त कता हो कता उल्टै अतिक्रमणकारी भन्दै लखेट्ने ? उनिहरूलाइ कतै सुरक्षित ठाउँमा स्थानान्तरण गराएको भए सबैले चाहेको कुरा पुरा हुन्थ्यो , राज्य पनि त उत्तरदायी देखिन्थ्यो । देशको भूमिमा विदेशीले परेड खेल्दा चुँ सम्म पनि बोल्न नसक्ने, आफ्नो देशको आकाशमा विदेशी सेनाले गस्ति गर्दा हेरेर बस्ने यो सरकारले गरिबमाथि यो प्रहार किन गरिरहेछ ? लाग्छ सरकारले आफ्नो विवेक गुमाइसक्यो । उ केवल देशको ढुकुटी रित्याउन मात्र बनेको छ , जनतालाई अभिभावकत्व प्रदान गर्न होइन ।
कैलालीका यि दृश्य देखे पछि मैले जीवन शर्माको गित सम्झन पुगेँ

“देशको बेहाल के सुनाउँ साथी, यो छाती पोल्दैछ
फेरी पनि हुकुमी शासन चल्दैछ , गोली चल्दैछ ।
‘बस्ने ठाउँ छैन, टेक्ने ठाउँ छैन, थाँतबास देखाइ दे ।
किनि नसक्नु बजारको मूल्य महँगी घटाइ दे । ’
भनेर ताँती लाउनेलाइ सरकार संगीनले ढाल्दैछ ,
के बताउँ खबर यो देश बेच्ने कुचाल चल्दैछ
फेरि पनि हुकुमी शासन चल्दैछ, गोली चल्दैछ ।”

Wednesday, December 2, 2009

फोहोरमा जीवनको खोजि र अरू तस्वीरहरू

सर्टकर्ट बाटोबाट बल्खु पुग्न बाग्मतीको किनारै किनार जाँदै थिएँ । ललितपुर उपमहानगरपालिका भित्रको सम्पूर्ण फोहोर अचेल त्यहीँ फ्याँकिने गरेको रहेछ । फोहोरको गाडी आएको मात्र के थियो फोहोरको लुछाचुँडी गर्न तँछाडमछाड गर्दै मानिसहरूको भिड लागिहाल्यो । जसले बढि प्लास्टिक संकलन गर्न सक्यो उसैले धेरै कमाउने । त्यसैले कोही कोही त फोहोर खसाल्दै गरेको ट्रिपरमै चढेको पनि देखेँ । अनि क्यामरा निकालेर क्लिक गरिहालेँ ।
"ए,भाइ के गरिरहेको ? " पछाडिबाट कसैले बोलाएको थियो । "फोहोरमा झुम्मिएको मान्छेको भिड देखेर फोटो खिचेको दाइ ।" उनले फेरी बोले - "त्यसो नगर्नु ।" म अलमलमा परेँ । किन र दाइ ? यहाँको फोटो खिच्न मिल्दैन र ? उनी केही बोलेनन् बरू घुरेर हेरिरहे । मैले दुइ चार वटा फोटो लिएर गइहाल्छु भनेँ । उनी चुपचाप थिए । एकै छिनमा उनी त साइडमा रहेको ट्रेन चलाएर फोहोरलाइ नदीमा झार्न पो थाले । यो काम दिनदिनै हुने रहेछ । सायद नदीमा फोहोर फ्याँक्ने यो कामबारे कतै ठूलै मिडियामा छापिने त होइन भन्ने डरले उनले मलाइ रोकेका रहेछन् । उनले मुखले त यो कुरा भनेनन् तर मैले व्यवहारबाट यस्तै चाल पाएँ । ल हेर्नुहोस् त कसरी फोहोर खसालिँदै छ नदीतिर ।




अनि यो वस्ती चाहिँ बाग्मती किनारकै नेपाली स्लमनगर ।

आन्दोलनको तस्वीर होइन यो । त्यही बाग्मती किनारकै छेउमा भएको कवाडीमा रहेको बसको अस्थि हो ।


घर जान टि.यू.बाट हिँड्दै गर्दा फूलैफूल भएको यो बाटोले पनि मलाइ तानिहाल्यो अनि यो पनि जोडिदिएँ ।