Tuesday, March 24, 2009

छुट्टिए युवराज घिमिरे नागरीकबाट

वरिष्ठ पत्रकार युवराज घिमिरे अन्ततः रिपब्लिका पब्लिकेसनबाट अलग्गिएका छन्। कान्तिपूर दैनिकबाट विनोद ज्ञवाली समूह अलग भएपछि पत्रकारको तानातान र लगानीकर्ताहरू बीचका कहिले जोडिने कहिले फूट्ने क्रम जारी रहेकै अवस्थामा उनी छिट्टै प्रकाशन हुन लागेको नागरिक दैनिक बाट अलग भएका हुन्।

पत्रकार घिमिरे कान्तिपूर राष्ट्रिय दैनिकका पूर्व सम्पादक पनि हुन्। यस अघि समय साप्ताहिक का सम्पादक रहेका उनले आफ्नै लगानीमा newsfront साप्ताहिक पनि प्रकाशन गर्दै आएका थिए। कान्तिपूरका लगानीकर्ताहरू कैलाश सिरोहिया र विनोद ज्ञवालीहरू बीच मतभेद भएपछि ज्ञवाली समूह त्यसबाट अलग भए लगतै उनले अर्को राष्ट्रिय दैनिक पत्रिका निकाल्ने घोषणा गरिसकेका थिए। विनोद ज्ञवाली सँगै कान्तिपुर बाट तत्कालिन सम्पादक नारायण वाग्ले पनि आएका थिए। तर पत्रकार नारायण वाग्ले र विनोद ज्ञवाली समूह बीच पनि प्रकाशनको सेयरमा कुरा नमिले पछि वाग्लेले हरि श्रेष्ठ सँग मिली धुम्बाराही प्रकाशन खोले, जसले नेपालीमा दैनिकी र अंग्रेजीमा republica निकाल्ने तयारी गरे। यता ज्ञवाली समूहले भने समय साप्ताहिकको पत्रकारको सम्पूर्ण समूहलाई लिइ नागरिक दैनिक र यसअघि नै प्रकाशन भैरहेको newsfront साप्ताहिकलाई अंग्रेजी दैनिक बनाइ निकाल्ने घोषणा गरे। यस पछि सुरु भयो पत्रकार तानातानको खेल। खास गरी दुवै प्रकाशनले आफ्नो पहिलो तारो बनाए कान्तिपुर दैनिकलाई। त्यहाँका पत्रकारलाई धेरै सूविधा देखाउँदै दुवै प्रकाशनले आफूतिर तान्न कोशिस गरे र दुवैमा नाम चलेका पत्रकारहरू बढ्न पुगे।

यसरी नेपाली पाठकले चारवटा नयाँ राष्ट्रिय दैनिक आउने हल्ला बजारमा पाइएको थियो तर नाटकीय रुपमा करिब दुई साता अगाडि यी दुवै प्रकाशनका लगानीकर्ताहरू बीच एकिकरण भयो। यो एकिकरणले गर्दा पत्रकारिता क्षेत्रमा एउटा तरङ्ग नै फैलियो। अहिले सम्मकै बलियो टिमको रुपमा देखियो यो प्रकाशन अर्थात् रिपब्लिक पब्लिकेसन। तर कुरा यतिमा सिमित भएन। पत्रकार युवराज घिमिरे पुनः छुट्टिए यो समूहबाट। आफूलाई कुनै जानकारी नदिई दुई प्रकाशन एक भएकोले तथा आफैले प्रकाशित गरिरहेको newsfront पत्रिका पनि त्यहाँबाट प्रकाशन नहुने भएपछि उनी त्यहाँ बाट अलग भएका हून। विश्वस्त श्रोतका अनुसार त्यहाँ भित्र पत्रकार नारायण वाग्ले र युवराज घिमिरे बीच वरिष्ठता र वरियता क्रममा विवाद भएकोले पनि उनी त्यसबाट अलग्गिएका हुन्। अब पत्रकार घिमिरे आफ्नो पत्रिका newsfront साप्ताहिक प्रकाशन गर्न नयाँ लगानीकर्ताको खोजीमा रहेको र छिट्टै नै त्यसलाई निरन्तरता दिने सोचमा रहेको बताइन्छ।

Friday, March 20, 2009

चुनाव स्थगित भएपछि ....

'ओहो ६ बजिसकेछ , आज त स्ववियू चूनाव । झन् पो ढिलो उठिएछ । तै पनि ठिकै छ सात बजे मात्र चुनाव सुरु हुने त हो नि । ' मनमा यस्तै हतारो लिएर क्याम्पसतिर हान्निएको थिएँ म । खसिबजार पुगेपछि एक जना परिचित दाईलाई भेटेँ । कहाँ जाँदैछौ भनेर सोध्नुभएपछि ' आज हाम्रो क्याम्पसमा त चुनाव छ नि स्ववियूको ! भोट खसाल्न हिँडेको हो म त ! ' भनिहालेँ । उहाँले “लौ तिम्लाई थाहा छैन चूनाव स्थगित भयो त तिम्रो क्याम्पसमा। सबै बन्द छ नगए हुन्छ त्यतातिर ” भन्नुभयो । त्यसपछि म त छक्क परेँ । किन स्थगित भयो त आर.आर.मा चूनाव ? ल क्याम्पसमा त हिजो विद्यार्थीहरूबीच झडप भएको थियो तर हाम्रोमा त त्यस्तो कुरा पनि त भएको थिएन । हिजो राति निर्वाचन कार्यालयमा आगलागि भए पनि “चुनावी कागजात सुरक्षित छ त्यसैले भोली चुनाव हुन्छ, भोली ढुक्कसँग भोट खसाल्न आउनुहोस ” भनेर त हाम्रै अगाडि क्याम्पस प्रमूखले भनेका थिए नि । तै पनि अचानक यो किन रोकियो ? मोडल अस्पताल अगाडि केही एमाले निकट अनेरास्ववियुका साथिहरू एकले अर्कोलाई सम्झाउँदै थिए –' त्यता (क्याम्पस तिर देखाउँदै) नजाउँ है साथि खतरा छ ।' हँ के को खतरा ? कस्तो खतरा ? मेरो मनमा भने प्रश्न उठ्यो। तर ती साथि त केही नसोधि फरक्कै फर्की पो हाले त ।

म भने मनमा अनेक प्रश्न खेलाउँदै क्याम्पस अगाडि पुगेँ । म भन्दा अघि नै थुप्रै साथिहरू आइरहेका थिए । अखिल क्रान्तिकारीका उमेद्वारहरू पनि उपस्थित थिए त्यहाँ । सबै भन्दा पहिले सूचना नै पढौँ न भनि यसो क्याम्पस गेटमा हेरेँ ।
क्याम्पस प्रमूख गोपालचन्द्र पोखरेलले शान्तिपूर्ण र भयमुक्त वातावरणमा चुनाव सम्पन्न हुने स्थिति नदेखिएकोले पठनपाठन र चूनाव राम्रो वातावरण नबनेसम्मको लागि स्थगित गरिएको सूचना जारी गरेका रहेछन् । हिजो दिउँसोसम्म सामान्य नै थियो क्याम्पसको वातावरण तर राती क्याम्पस प्रमूखले एकतर्फी रुपमा यो सूचना जारी गरे । नजिकै ल क्याम्पसको पनि गेटमा सूचना पढियो । त्यहाँ निर्वाचन अधिकृत र क्याम्पस प्रमूखबीच भएको छलफल पछि चूनाव स्थगित गरीएको भनी दुवैको हस्ताक्षर सहित सूचना टाँसिएको थियो । त्यो क्याम्पसमा त स्थिति तनावपूर्ण नै थियो रे हिजो ।


यता अखिल क्रान्तिकारी निकट विद्यार्थीहरूले यो चुनाव भाँड्ने षडयन्त्र भएको छ भने । यो षडयन्त्रमा क्याम्पस प्रमूख आफैँ संलग्न भएको आरोप पनि लगाए उनिहरूले । उनीहरू भन्दै थिए “ अखिल क्रान्तिकारीले चुनाव जित्ने निश्चित भएपछि अघिल्लो रात १२ बजे क्याम्पसमा आगो लगाए । सो आगलागीका बाबजुद पनि चुनाव हुने भएपछि एमाले अखिल आत्तिए । अनि क्याम्पस प्रमुखलाई नै प्रयोग गरे उनीहरुले । यो क्याम्पस प्रमुख एमालेले नियुक्त गरेको मान्छे हो । यसले पनि हाम्रो विजय भएको देख्न चाहँदैन । त्यसैले विनाकारण आज चुनाव स्थगित गरेको हो । अघिल्लो रात नै पनि बाहिरबाट गेट बन्द हुन्छ तर रातको १२ बजे क्याम्पसको अन्य कोठामा होइन, निर्वाचन कार्यालयबाट आगो लाग्छ ।
यहाँ क्याम्पस प्रशासनकै मिलेमतो छ। ” भोट खसाल्न भनी आएका विद्यार्थीहरु एकाएक भएको चुनाव स्थगनपछि अखिल क्रान्तिकारीको कोणसभाका दर्शक बन्न पुगे । अनि त्यहाँबाट नारा गुन्जिन थाल्यो – ' नालायक क्याम्पस प्रमुख राजिनामा दे ।' अखिल क्रान्तिकारी आर.आर.का अध्यक्ष के.पि. खनालले सोही सभामा उम्मेद्वारी मनोनयन दर्तासँगै पुरानो स्ववियु खारेज भएकोले अब चुनाव स्थगित भएको बेलामा त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने कुरा बताइरहेका थिए । उनी भन्दैथिए–“ अब हामी स्ववियु कब्जा गर्नेछौं । हामी कहिल्यै नहार्ने चुनावमा सामेल भएका छौं । हाम्रो विजय भएको छ । ” त्यसपछि आएका सबै विद्यार्थीहरु त्यही ' विजय ' जुलुसमा जान तम्तयार भए ।म भने वरिपरि हेर्दै थिएँ । त्यहाँ केही प्राध्यापकहरु पनि छेउमा उभिएर के भएको यो ? भन्दै चिन्तित र आश्चार्य मुद्रा बनाएर गफिरहेका थिए । त्यसपछि म जुलुससँगै राष्ट्रिय सभागृह अगाडी पुगेर केही तस्वीर लिएपछि क्याम्पसतिरै फर्कन लाग्दै थिएँ । प्रहरीले रोके, ' चुनाव नै स्थगित भैसक्यो, तपाईहरु किन फेरि आइराख्नु भएको छ , यार ? ' झिन्झ्याट लाग्दो भाषामा उनीहरुले क्याम्पस जान लागेका विद्यार्थीहरुलाई यसो भन्दै फर्काए । त्यसपछि आज भोट खसाल्ने उत्साहले बिहानैक्याम्पस आएको म, त्यसै फकिएँ ।घर आउँदै गर्दा बाटैमा पर्छ विश्वविद्यालय क्याम्पस किर्तिपुर । आफ्नो क्याम्पसमा चुनाव देख्न नपाएपनि कस्तो रहेछ त यहाँको रौनक, मन हौसियो । त्यसपछि बिचबाटै चुनाव भएको ठाउँतिर दोरिएँ । त्यहाँ सोचे जस्तै रौनकता थियो, विद्यार्थीको लामो लाइन अनि आफ्नो प्रतिनिधि चुन्न आतुर ती मनहरु, अघिल्तिर अन्तिम चुनाव प्रचार गर्ने प्रयासमा विद्यार्थी उम्मेदवारहरु, अनि सुरक्षा चेकजाँच गरिरेहका सुरक्षाकर्मीहरु ।
टि.यु.मा दुइवटा बुथमा दुई दुई लागेर उभीएका विद्यार्थीहरुलाई हेरें । दुवैतिर उत्तिकै लामो लाइन थियो । यो उत्साह र रमाइलो हेरेरै भएपनि आफुले भोट खसाल्ने तिर्सना मेटिरहेको थिएँ म ।

दिउँसो नयाँ नेपाल प्रेसमा आफ्ना साथीहरुलाई चुनावी अनुभव बताउँदै थिएँ । त्यही बेलामा भित्रबाटै अपरिचित स्वर सुनियो, 'के भन्दैछौ भाइ ? वरिपरि हेर्नु पर्दैन ? निर्वाचन अधिकृत त यहीँ छन् । तिमीले केही बताउनै पर्दैन । सब थाहा छ हामीलाई ।' उनको कुरा सुनेर यस्सो बाहिर हेरेँ । एक जना अधबैँसे उमेरका मानिस प्रेसबाट भर्खर छापिएको पत्रिका पढ्दै थिए । तैपनि मैले आफ्नो कुरा सुनाउन जारी राखेँ, “हेर्नूस्, ल क्याम्पसमा त भीडन्त भएकोले निर्वाचन अधिकृत र क्याम्पस प्रमुख दुवैको सल्लाह र सहमतिमा संयुक्त सूचना निकालेर चुनाव स्थगित गरे । तर हाम्रो क्याम्पसमा त क्याम्पस प्रमुखको एक्लो निर्णयले स्थगित भयो चुनाव । त्यो पनि मिति नै फागुन ५ लेखिएको छ, तर हिजो त चैत्र ५ पो हो ।” मेरो कुरा जारी रहँदा कतिखेर ती अधबैँसे व्यक्ति नजिक आइपुगेछन् पत्तै भएन । उनले ' तिमी आर आरको विद्यार्थी हौ ? ' भनी सोधे । ' हो, बि.ए. दोश्रो वर्षमा पढिरहेछु । ' उनले भने “ त्यहाँ त एमाले अखिलले हार्ला भनेर नै चुनाव स्थगित गरिएको हो । हिजो आगलागी भएको निहूँ बनाउन खोजेका थिए क्याम्पस प्रमुखले । तर क्याम्पस प्रमुखलाई नै थाहा रहेनछ कि दिउँसो उसको घर्रामा रहेका निर्वाचनका कागजातहरू राति अन्तै राखिँदा रहेछन् । त्यसैले दराजचाहिँ जल्यो तर सबै कागजात बचेछन् । अनि आज चुनावको निम्ति सबै तयारी सिद्धिसकेको थियो । तर हिजो बेलुका क्याम्पस प्रमुखले चुनाव नगर्ने नै रट लगाइरहे भन्या ।” यति सुनिसकेपछि ' तपाईँ आर आरमै कार्यरत हो सर ? ' मैले प्रश्न गरेँ । तर उनी त अक्मकाउन पो थाले । उनले हो पनि भनेनन्, होइन पनि भनेनन् । “अब चुनाव अनिश्चित हुने भयो आर आरमा” यसो भन्दै उनी अपरिचित दाजुसँग हिँडे प्रेसबाट । ला! मैले त्यसरी ठाडै प्रश्न गर्न नहुने पो थियो कि ? उनी त हिँडि पो हाले त । यदि साँच्चै निर्वाचनमा खटिएका थिए भने त उनलाई भित्री कुरा थाहा हुन्छ । आफूले सोधेको एउटै प्रश्नले थकथकी लागिरह्यो मलाई ।

नारावाजी

Thursday, March 12, 2009

पानी हो जिन्दगानी

किर्तिपुरको समलमा देखिएको पानीको अभाव (फोटो र भिडियोमा)
















पानी जात्रा






कहिले आउला मेरो पालो






पर्खाइमा वितिरहेका विहानहरू






गन्तव्य





लाइनको लम्बाइ






पानी विवाद