Monday, April 20, 2009

आयो 'नागरिक'


बहुप्रतिक्षित 'नागरिक' दैनिकको प्रथम नमूना अंक आज नेपाली बजारमा आएको छ भने नियमित रुपमा चाहिँ वैशाख ११ गते, लोकतन्त्र दिवसको दिनदेखि आउने भएको छ । यो पत्रिका महँगा पत्रकारहरुको दरिलो समूहको रुपमा प्रचारित नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित भएको हो । नेपाली दैनिक नागरिकका साथै अंग्रेजी दैनिक Republica को नमुना अंक पनि आजै प्रकाशित भएको छ । धेरैतिरका नाम चलेका पत्रकारहरुलाई जम्मा पारिएकोले यो पत्रिकाले नेपाली पत्रकारिता जगतमा राम्रै तहल्का मच्चाउने आशा गरिएको छ ।

Tuesday, April 14, 2009

इन्टरनेटबाट विछोड

करिब एकहप्ता इन्टरनेटबाट टाढा हुनुपरेको थियो , चाहाना होइन बाध्यताले गर्दा। नेपाल टेलिकमको प्रशारण लाइनमा समस्या आएको रहेछ। दुइदिन सम्म त कीर्तिपूरमा टेलिफोन पनि बन्द भएको थियो। तेस्रो दिन देखि टेलिफोन बने पनि इन्टरनेट भने आएन। पछि नेपाल टेलिकममा फोन गर्दा ‘ अप्टिकल फाइबरको लाइन बिग्रिएको छ बनाउने प्रयास जारी छ, कहिले सम्म बन्ने हो ? ठेगान छैन ’ भन्ने जवाफ आयो।

समाचार थाहा पाउन त अनेक माध्यम भएकाले समस्या भएन तर साथिहरुका ब्लगमा यसहप्ता के के लेखिसके होलान्। मनमा कौतुहलता भइरहन्थ्यो, अरुका ब्लग चिहाउने बेचैनि पनि भइरहन्थ्यो। अनि आफ्नो ब्लगमा राख्न नपाए पनि समाचार प्रतिको रुचिले गर्दा नयाँ कुरा देखियो की त्यतैतिर लाग्ने बानी भने जारी थियो। बल्ल आज बाट इन्टरनेट सञ्चालन भयो यहाँ। त्यसैले नयाँ कुरा चाहिँ केही राख्न पाएको छैन। अहिलेको लागि कुलेश्वरमा अप्टिकल फाइबरको लाइन पूनर्निर्माण भएको तस्वीरमात्र राखेको छु।

जमिनमूनि इन्टरनेट सञ्जाल


कुलेश्वरमा अप्टिकल फाइबर मर्मत गरिँदै




यसपल्ट मैले नयाँ वर्षको उपहारस्वरूप एकहप्ता देखि अवरूद्द इन्टरनेट सुविधा पाएँ । नयाँ वर्षले सबैका आशा, चाहना पूरा गरोस् । नयाँ नेपाल कल्पनामा होइन वास्तविकतामा परिणत होओस् । नववर्ष २०६६ को सबैलाइ शुभकामना ।

Tuesday, April 7, 2009

‘अन्नपूर्णपोष्टः गजब छ’

केही समयदेखि अन्नपूर्णपोष्ट पत्रिकाले ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्दै आफ्नो विज्ञापन तिव्र बनाइरहेकैबेला त्यही पत्रिकाको विज्ञापनमा अर्को ‘गजब’ कुरा देख्न पाइएको छ । अन्नपूर्णपोष्टको गजब छ भन्ने विज्ञापनमै झन्डै एक चौथाइ जति भागमा ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं’ भनेर लेखिएको देखियो । कसले किन र केका लागि बहिष्कार ?




जुनबेला भर्खर–भर्खर यो पत्रिका प्रकाशन शुरुवात भएको थियो, त्यतिखेर पनि अरु प्रतिस्पर्धी यो पत्रिका बहिष्कार गर्न पाठकहरुलाई प्रेरित गरिरहेका थिए । त्यसमाथि मिडियामा विदेशीको लागानी भनेर पनि ठाडै विरोध भएको थियो यसको । यी त पुराना कुरा भए । तर अहिलेको यो बहिष्कार किन त ? (हेर्नुहोस् तस्वीर)

यसपल्ट अन्नपूर्णपोष्टको प्रकाशन संस्था आप्का हाउसमा मजदुर आन्दोलन सुरु भएको रहेछ र उनीहरुको आन्दोलनको पहिलो स्वरुप नै ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं, नबेचौ, नकिनौं र नपढौं’ भन्दै प्रचार गर्नु रहेछ । पहिला पनि धेरै पटक आप्कामा मजदुर आन्दोलन भएका थिए ।

‘वार्ता गरी सहमती गरेर आन्दोलन तुहाउने, तर कहिल्यै सहमती पालना नगर्ने भएकोले फेरि आन्दोलन गर्नुपरेको’ बताउँछन् त्यहाँका मजदुर आन्दोलनका सहभागी मजदुरहरू । मजदुर युनियनमा सक्रिय भई लागेकैले कर्मचारी माथि विना कुनै कारण निलम्बन गरेको बताउँछन् उनीहरू । पछिल्लो पटक वितरण विभागका बलराम श्रेष्ठ र हरि आचार्य यसगरी निलम्बनमा परे ।

‘आफै कार्यरत पत्रिका बहिष्कार भएमा तपाईहरुको रोजगारी त छुट्ने नै भयो नि हैन?’ भन्ने प्रश्नको जवाफमा दुर्गा नामका एक मजदुर ले भने ‘हेर्नुस, हामीले यहाँ परिश्रम अनुसारको सेवा सुविधा पाएका छैनौं, हामीमाथि शोषण भएको छ । शोषित हुनुभन्दा त बरु बन्दै होस् ।’ कि गर्ने त बहिष्कार अन्नपूर्णलाई ? फ्लेक्समा कारणहरु छनः
१.यो राष्ट्रियता विरोधी छ ।
२.यो मजदुरमारा र उत्पीडक छ ।
३.यो गैर कानुनी ढंगले संचालित छ ।
४.यो मजदुरको आँशु र रगतले लतपतिएको छ ।

यी कारणहरुको प्रमाण दिँदै ती मजदुरहरु भन्छन् ‘ नेपालको कानुन अनुसार संचारमा विदेशी लगानी गर्न पाइन्न तर यो विदेशी लगानीको पत्रिका हो, यहाँको कार्यकारी अधिकृत नै भारतीय नागरिक हुन् । श्रम अदालतले हामी मजदुरको पक्षमा निर्णय गरी संगठन खोल्न पाउँछ भन्छ तर यो प्रशासन विभिन्न बहाना बनाउँदै हामीलाई यो अधिकार दिन चाहँदैन अनि अर्को कुरा यो पत्रिकाले गौतम बुद्ध भारतमा जन्मेको भनेर लेखेको थियो’ उनले पत्रिकाको मिती दिए November 21, 2003 ।

आफ्नो आन्दोलनको स्वरुपबारे बयान गर्दै उनीहरु भन्दैथिएँ ‘पहिले पहिले पत्रिका बाँड्ने साथीहरुले आन्दोलन गर्दा काम बहिष्कार गर्ने गरिएको थियो । जसले गर्दा पाठकले पत्रिका समयमा पढ्न पाउँदैनथे । अनि मजदुरले प्रेस स्वतन्त्रता हनन गर्‍यो भनेर आप्काले प्रचार गर्ने गरेकोले यसपल्ट चाहिँ आफ्नो कामलाई जारी नै राखेर पनि आन्दोलन गर्न सकिन्छ भनेर बहिष्कारको प्रचार गरेका हौं । यो सबैभन्दा शिष्ट आन्दोलन हो । तर यो तरिकाले पनि उनीहरु सहमति पालना गर्दैनन् भने हामी अनसन बस्छौं, आमरण अनसन ।’




आप्का हाउसमा मजदुर र प्रशासनबीच दुरी बढ्दै गएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा जो अन्नपूर्णपोष्टसँग सम्बद्ध पनि छन्, उनले मध्यस्तकर्ता बनी वार्ताको पहल गरिरहेकाछन् तर सम्झौता हुन सकेको छैन । आन्दोलन र वार्ताबारे जिज्ञासा राख्दा उनले ‘यो आन्तरिक कुरा हो’ भनेर पन्छिन खोजे पनि ‘आन्दोलनको अधिकार सबैमा हुन्छ तर उहाँहरुले यसो नगरी अरु नै तरिका अपनाउनुभएको भए राम्रो हुन्थ्यो ।’ भने ।

तर ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्ने विज्ञापनमै ‘अन्नपूर्णपोष्टः बहिष्कार गरौं भन्ने सुचना देखेर चाहिँ सर्वसाधारण निकै गजब मानिरहेकाछन् ।

Friday, April 3, 2009

‘पढेकाहरू स्वार्थी हुन्छन् ।’

रिक्सा चालकको जीवन कति सहज छ ? कति अप्ठ्यारा छन् यो काममा ? मानिसहरू कस्तो व्यवहार गर्छन् उनीहरूमाथि ? यीनै कुरा बुझ्ने क्रममा गएको शनिबार भेटिए काभ्रेका खड्ग बहादुर मगर, जो वसन्तपूरमा फूर्सदिलो भई यात्रु कुरीरहेका थिए । प्रस्तुत छ पेसागत कुनाको लागि यसपल्ट उनै रिक्सा चालकसँग गरिएको कुराकानी ।


के हो दाई आज शनिबार भएर खाली बस्नुभएको हो की अरुबेला पनि यतिकै सुख्खा हो ?
हामीलाई के शनिबार के को आइतबार नि यस्तै त हो नि कहिले टिप हुन्छ कहिले हुँदैन । फेरी टिप पाए पनि चलाएको चलै त कहाँ गर्न सकिन्छ र यो रिक्सा । एक दुई टिप गरेपछि त आराम गर्नु परिहाल्यो नि ।
आज कति टिप गर्नु भयो त ?
एक टिप मात्र भयो । एउटा कुइरेलाई भिमसेनथान देखि बाङ्गेमूढा सम्म लगियो ।
कति दुरीको कति लिने फिक्स छ की ?
त्यो त मान्छे हेरेर, बोक्नुपर्ने सामान हेरेर हुन्छ । यति नै लिने भन्ने छैन । अलि बुढा बुढि गरिब जस्ता लागे भने २०/३० रुपैयाँ मै पनि लगिन्छ। नभए त सकेसम्म बढि लिइन्छ ।
कति कमाउनु हुन्छ तपाईँ ?
कुनै ठेगान नै हुँदैन भाइ, उस्तै भाग्य पर्यो भने एकै टिपमा पाँच सय पनि हुन्छ । कहिले दिन भरी गर्दा पनि पचास सय पनि हात लाग्दैन । प्रायः कुहिरेहरूलाई उनीहरूको अफिस (ट्राभल एजेन्सी) ले नै यहाँ देखि यहाँ सम्म जाँदा यति डलर तिर्नु भनेर सिकाएका हुन्छन् । तै पनि धेरै जसोले पछि टिप्स पनि दिन्छ । कसैले सय रुपैयाँ, कसैले दुइ तिन सय पनि दिन्छन् । आज एउटा कुइरेले एक डलर र पचास रुपैयाँ दिएर गयो । पचास रुपैयाँ बढि कमाई भयो आज । फेरी लगातार टिप आइराखे पनि राम्रै कमाई हुन्छ । कमल भन्ने एक जना साथि छ , छाउनी बस्ने । उ हरेक दिन बिहान चार बजे रिक्सा निकालेकै हुन्छ । चारबजे कालिमाटिबाट एउटाको तरकारी पसलमा टिप गर्छ । त्यसपछि दुईवटा मासुपसलमा भ्याउँछ । एउटा चुरोट पसलको टिप पनि भ्याउँछ । दिउँसो फेरी सेल्समा लैजान्छ । दिनभरी त्यही गर्छ । अनि बेलुका फेरी ठमेल तिर जान्छ । हामी त की राती मात्र रिक्सा चलाउँछौँ की त दिनमा मात्र , उ त चार बजे निकालेदेखि राती सम्मै चलाउँछ । त्यसरी काम गरियो भने त मरिन्छ ।
कति कमाई हुन्छ त उसको ?
उल्ले महिनामा २० हजार जति त जोगाउँछ होला । हामी जस्तो खाली पनि बस्दैन, लगातार चलाउँछ त्यो । तर हामी बीचमै कोही साथि भने अफिस टाइममा मात्रै काम गर्ने पनि छन् । कोही चाहीँ हातमा एक दुई सय भयो की आज लाई कमाई पुग्यो भनेर काम नगर्नेहरू पनि छन् । मैले चाहीँ डेल्ली दुइसय रुपैयाँ फाइनान्समा राख्ने गरेको छु ।
भने पछि गर्न सक्नेले त राम्रै कमाई गर्दोरहेछन् नि । तपाईलाई थाहा छ दाजु आजभोली पसलमा काम गर्न बस्ने केटालाई महिनामा पच्चिस सय , तिन हजार तलब दिइन्छ । तिनीहरू हेरी त तपाईहरूको कमाई राम्रै हुँदोरहेछ होइन त ?
खै तिनिहरू के खान्छन् , कसरी खान्छन् ? मलाई पनि अचम्म लाग्छ । कसरी पुर्यािउँछन् उनीहरू? खाजा खाने भनेर एक कप चिया खालान् र त्यतिले पुर्याउलान् । आफ्नो त जस्तै थोरै कमाई भएको दिन पनि राँगाकै मासु भए पनि छुट्दैन कुनै छाकमा । फेरी खाजा खान होटल पस्यो डेढ दुई सय त सकिहाल्छ । हुन त पसलमा काम गर्नेको सजिलो छ । दिनभरी एकैठाउँ बस्ने त हो नि । त्यसो भएपछि भोक पनि नलाग्ने हो की ?
यो काम कति गाह्रो छ त दाजु ?
काम त सबै गाह्रै हुन्छ नि । यो पनि त्यस्तै हो ।
पहिला–पहिला तपाईँहरूलाई इन्द्रचोक भित्र रिक्सा लान दिइँदैनथ्यो होइन, वान वे भनेर ?
पहिला–पहिला त के–के हुन्थ्यो, हुन्थ्यो नि । हाम्रो संघ नहुन्जेल त ट्राफिकले टायरको भ्याल्टु निकालेर हावा फूस्काउने, नगर प्रहरी आएर रिक्सा लगेर थानामा हाल्ने , पाँच सय तिरेपछि बल्ल छोड्ने , यता जा यता नजा भनेर दुःख दिने के–के गर्थ्यो । तर अहिले त हामी कमजोर छैनौ भाइ । धेरैलाई तह लगाई सकेका छौँ । ठमेलतिरको मै हूँ भन्ने कति गुण्डालाई त संघमै लगेर धुलाई गरिसकेका छौँ । जनसेवा प्रहरीलाई त हामीले घेरी घेरी नै दोहोलो काढ्या छौँ । सोह्रखुट्टेमा नयाँ इन्सपेक्टर आएको छ । अलि निउँ खोज्ने गरेको छ रे कुन दिन त्यल्ले पनि भेट्छ ।
रिक्सा चालक संघमा सबै रिक्सा चलाउनेहरू छन् त ?
किन नहुनु ? हामी सबै छौँ । हामी दैनिक दश रुपैयाँ वा महिनामा एकै चोटि तिनसय रुपैयाँ दिने गरि लेवि तिरिरहेका हुन्छौँ । प्रत्येक हप्ता मिटिङ हुन्छ । नयाँ रिक्सा चलाउनेहरूलाई प्रत्येक शनिबार संघले प्रशिक्षण दिन्छ ।
किन लिइन्छ त्यो पैसा ?
संघको मान्छे दिनभरी हाम्रै निम्ति खट्छ । जहाँ जे आइपर्योा त्यहाँ उ आइपुगेकै हुन्छ । उनीहरूलाई पनि खानुपर्छ, लाउनुपर्छ नि । वास्तवमा पैसा भएन भने संघ पनि त चल्दैन ।

भनेपछि संघ चाहीँ दरिलै बनेको छ ?
हेर्नुस् भाई अहिले कुनै ठाउँमा रिक्सा चढ्ने मान्छे, बाटोमा चढ्ने मोटरसाइकल, ट्राफिकले नचाहिने कुरामा दुःख दिने भयो भने पुरै काठमाडौं ठप्प हुन्छ । हिजो हामी साहूलाई रिक्साको भाडा दैनिक सय रुपैयाँ तिर्न बाध्य थियौँ । संघले आन्दोलन गरेर आज हामीले पैँसाठ्ठी रुपैयाँ मात्र दिए पुग्ने भएको छ । यस्तो महंगीमा संघले साथ नदिएको भए कसरी बाँच्ने ?
रिक्सा साहूको कुरा आइहाल्यो। एकजना साहूको कति वटा रिक्सा हुन्छ ?
दुइवटा हुने देखि २०/३० वटा सम्म हुने साहूहरू पनि छन् । दैनिक पैँसाठ्ठी रुपैयाँ तिर्नुपर्छ । अनि बिग्रेमा मर्मत खर्च पनि साहुले नै बेहोर्छ ।
काठमाडौँमा अहिले कति रिक्सा गुड्छन् ?
सामान मात्र बोक्ने खालको समेत गर्योम भने बाह्रसय जति होला । यहाँ लगानीका हिसाबले तिन खालका रिक्सा छन् । एउटा साहुले लगानी गरेको रिक्सा , दोस्रो आफ्नै लगानीमा किनेको अनि आफैँले चलाएको रिक्सा , अनि तस्रो चाहिँ संघको रिक्सा । संघको रिक्सा त हाम्रै भै हाल्यो ।
ए संघले पनि रिक्सामा लगानी गरेको छ ?
हो । हामीबाट उठाइएको पैसाबाटै ति किनिएका हुन् । कतिपय साथिहरू संघको सदस्य चाहिँ भएको तर साहूको रिक्सा चलाउन नपाएका छन् भने उनीहरू खाली बस्नुपर्दैन । कहिले घर जाने कहिले यहाँ काम गर्ने अस्थायी साथिहरू पनि खाली बस्नुपर्दैन । साठ्ठीहजारमा एउटा राम्रो कन्डिसनको रिक्सा आउँछ । त्यसैले केही साथिहरूले आफैले किनेर पनि चलाएका हुन् ।
रिक्सा चलाउनेहरू कति शिक्षित हुनुहुन्छ ?
हामीहरू प्रायः जसो साधारण लेखपढ जान्ने नै छौँ । कसैले ठग्न सक्दैन हामीलाई । कोही कोही चाहिँ दश पास गरेर पढिरहेका पनि छन् यो काममा ।
कस्तो व्यवहार गर्छन् त तपार्इँलाई मानिसहरू ?
धेरै जसो त राम्रै छन् । कोही कोही चाहिँ पैसाको मामिलामा साह्रै किचकिचे हुन्छन् । जति दिए पनि हुन्छ भन्ने सोच्छन् । मोटरसाइकल चलाउनेहरू भने अलि हेपेर चलाउँछन् हुलमूलमा ।
आज तपाईँसँग भेट गरी कुरा गर्न पाउँदा रमाइलो लाग्यो । म खासमा नेपालमा पढेका मान्छेहरूले काम नपाइरहेको बेला तपाइँहरूले गरिरहनुभएको कामको पनि सम्मान हुनुपर्छ भनेर नै तपाइँहरूसँग कुरा गर्न आएको हूँ ।
हेर्नुस भाई तपाई मनमा त्यस्तो नलिनुहोला तर मैले देखेको कुरा के हो भने पढेका मान्छे स्वार्थी हुन्छन् । बाटोमा हिँडिरहेका बुढा बुढी अशक्तहरू लड्यो भने बरु हेरेर बस्छन् तर उठाइदिन लाज मान्छन् । हामी भए देखि तुरुन्त उठाइदिन्थ्यौँ । अनि उनीहरूलाई मेचमा बसेर खुट्टा हल्लाएर खाने जागिर चाहिन्छ , त्यसमाथि पनि हप्तामा एक दिन अनिवार्य छुट्टि चाहिने । हेर्नुस भाई हात, पाखुरा बजारेर खाने भए जे काम पनि पाइन्छ । तर यस्तो सुविधाभोगि पाराले काम पाइँदैन ।