Thursday, December 15, 2011

अपरिचित मलामी




नेवार समुदायमा कसैको मृत्यू भएको कुरा निरन्तर बजिरहने शोक धुनले जनाइरहेको हुन्छ । आमाले त्यसदिन मलाई छिमेकमा कोही खसेको जानकारी गराउनुभएको थियो । अनि भन्नुभएको थियो कि ‘आज तेरो बुबा जान भ्याउँदैन तँ नै मलामीसँग जानुपर्छ ।’

कसको मृत्यू भएको हो मैले चिनेको व्यक्ति होइन तर मलामी त जानुपर्ने भयो । ‘के गरेर जाने, म कस्तो मुद्रा बनाएर जानुपर्ला ? कसैको मृत्यूमा भावविह्वल त हुनुपर्ने हो तर अपरिचित मान्छेको मृत्यूमा शोक ? ठिकै छ अरु मलामीको पछि पछि जाने त होला नि ! के अप्ठेरो महसुस भइरहेको होला मेरो मनमा पनि ? ’

बाजा अगाडि लगाएर मृत शव लिएर मलामी अघि बढ्यो । घरबाट निस्कने बित्तिकै किर्तीपूरकै एकजना परिचित कलाकार दाजु देखेँ, उहाँले नै पहिले हात अघि बढाउनु भयो अनि उहाँ सँगै घाटको बाटो तर्फ अघि बढेँ । मैले सोध्नै परेन उहाँले नै मृत व्यक्तिबारे वर्णन गरिदिनुभयो । मृत व्यक्ति त्रिभूवन विश्वविद्यालयको पूराना कर्मचारी, साइनबोर्ड पेन्टर र समाजसेवी हुनुहुँदोरहेछ ।

म ति कलाकार दाजुको कुरा सुन्दै मलामी हिँडेका अरुका अनुहार पढ्न तिर लागेँ । कोही पनि शोकग्रस्त भएका या मृत व्यक्तिलाई सम्झिरहेका जस्ता लागेनन् । बरु अरु नै विषयमा आपसमा गफ लडाइरहेको पाएँ । कोही घाटको नजिक भइरहेको गोलभेँडा खेतीको कुरा गरिरहेका थिए भने कोही राजनैतिक गफ पनि लडाइरहेको पाएँ । म अक्क न बक्क परेँ । म त मृत मान्छेलाई चिन्दिन तर यिनीहरु त चिनेरै आए जस्ता लाग्थे तर पनि कसैको मूहारमा शोक झल्केको देखिनँ । यिनीहरु त आज कसैको मृत्यूमा मलामी बनेर जाँदा भोली अरु पनि आफ्नो मृत्यू हुँदा मलामी बनेर आउन् भनेर मात्र उपस्थिती जनाएका हुन् की जस्तो लाग्यो । खै किन हो मानिसहरू आफ्नो मृत्यू हुँदा धेरै मलामी पछि लगाउनुलाई प्रतिस्ठाकै विषय बनाउँछन् ।
अपरिचत मान्छेको मृत्यूमा शोक मनाएर म फर्किएँ ।

(यो लेख कुनै समुदायको संस्कारलाई व्यङ्ग्य गर्न लेखिएको होइन । केवल आफ्नो नितान्त व्यक्तिगत अनुभव मात्र समावेश गरेको हुँ ।)