Monday, June 18, 2012

दूर्घटनाको साक्षी बन्दा

असार १ गते, बिहानको साँढे पाँच मात्र भएको थियो । एकजना दाजुको मोटरसाइकलमा पछाडी बसेर माइतिघर बाट तिनकुने तिर जाँदै थिएँ । बबरमहल नाघेर बिजुलीबजारको पुल पुग्नै लाग्दा ठूला तौलको सामान खसेर भुईँमा बजारिए जस्तै एउटा ठूलो आवाजले तर्सायो । मोटरसाइकल पनि रोकियो । दाजुले भने – ‘जाउ त त्यो मान्छेलाई उठाइहाल ।’


के भएको हो अत्तोपत्तो छैन । दुइ जना मान्छे दुइतिर लडेका छन् । एकवटा साइकल र मोटरसाइकल पनि ढलिरहेको छ । लडेका मध्ये एकजनाको पूरै शरीर एकदम जोड–जोडले हल्लरहेको छ, हुरुक्कै हुने गरि । म तुरुन्त हिँडेर त्यो लडेको मान्छेलाइ समाउन पुगेँ र मेरो पुरै बलले उसको जीउलाइ उठाएँ । उसको हल्लिरहेको शरिरलाइ समाएरै थचक्क बसाएको थिएँ । पूर्ण रुपमा अचेत देखिने उनको शरीरलाई भर दिइरहँदा मनमा चिसो पस्यो ‘कतै यो मान्छे अन्तिम सास त फेरिरकेको त हैन ?’ उनको कान र कन्चटबाट रगत बगिरहेको थियो ।

लडेको अर्को मान्छेलाई बाटोमा हिँड्ने बटुवाहरूले उठाउँदै थिए । उनको पनि अनुहारमा नै रगत बगिरहेको थियो । अनि एकैछिनमा जम्मा भएको भिड मध्येबाट कसैले – ‘ल गाडी रोकेर तुरुन्त यिनीहरूलाइ अस्पताल पुर्‍याउँ त’ भने । अनि दुवै तिर बाट आवतजावत गरिरहेका गाडीलाई रोक्दै अनुरोध गरियो तर तिनीहरू ‘के भएछ ?’ भनि र्हेने, रोकिने तर घाइतेलाइ तुरुन्त अस्पतालसम्म पुर्‍याइदिन अनुरोध गर्दा ‘काममा जाँदैछु, व्यस्त छु’ भन्दै कुदाइहाल्ने मात्र देखिए ।


वानेश्वरतिरबाट एउटा प्रहरीको गाडी आयो । के भएछ भनि हेरेर त्यतिकै जान लागेपछि सबैले उनको गाडीमा नै घाइतेलाइ लैजान अनुरोध गर्दा हामी अन्तै ड्युटीमा हिँडेको र आफूले लान
नमिल्ने बताउँदै कतै फोन गरेजस्तो गर्दै त्यहाँबाट तुरुन्तै गइहाल्यो । बाटोमा गुडिरहेको एउटा ट्याक्सीलाइ घाइते लान अनुरोध गर्दा ‘घाइतेको जिम्मा तपाइँ लिने हो ?’ भन्दै प्रश्न गरेपछि सबैजना अवाक् भए । घाइतेलाइ अस्पताल लैजादाँ बाटोमै तलमाथि भएमा प्रहरी सोधखोजमा सबैभन्दा बढि दुःख यिनै चालकहरूले पाउँछन् भन्ने कुरा पो सुनियो । नेपालको कानुन पुलिसले जानुन् ।

मेरो पूरै बलले त्यो घाइतेको शरीरलाइ भर दिइरहँदा थाकिसकेको थिएँ । विस्तारै उनको शरीर हल्लिन भने कम भएको थियो । केही मानिसहरू आफन्तलाई फोन गरौँ भन्दै उनको मोबाइलमा हेरेर उनलाइ यो को हो भन्दै सोधे तर केही पनि बोल्न नसेका उनले टाउको मात्र हल्लाए । अनि उनको मोबाइलबाट फोन गर्दा कतै पनि फोन लागेन ।

एक छिनमा अर्को प्रहरीको गाडी आएर साईडमा रोकियो । अनि उनिहरु पनि त्यहाँका सर्वसाधारणले गरेजस्तै आवत–जावत गरिरहेका गाडीलाइ रोक्दै घाइतेलाइ लैजान अनुरोध गर्न पो थाल्छ त । सर्वसाधारण बीच कुरा उठ्यो – ‘प्रहरी त घाइतेलाइ आफ्नो गाडीमा लैजान मन गर्दैन भने अरुले मान्लान त ?’ प्रहरीको त्यो चर्तिकला पछि सबैले उनिहरुकै गाडीमा तुरुन्त लैजान अनुरोध गरेपछि बल्ल मैले भर दिएर समाइराखेको घाइतेलाई उनिहरूको गाडीमा राखे अनि अर्कोलाइ फेरी अर्कै गाडीमा राख्न लगाए ।

यो तस्वीरमा देखिए जस्तो दूर्घटना त क्षणक्षणमा भैराख्छन् शहरमा


अचेल शहरमा पलपलमा सडक दुर्घटना हुन थालेका छन् । ठूला सडकमा शिकारु चालकले सवारी चलाएर होस् वा सडकमा आफूलाइ दादा भन्ठान्ने केही सवारी चालक,अनि लापबार्हीपूर्वक मोटरसाइकलमा तिब्र गतिमा सवारी चलाउने चालकहरू यिनीहरुले गर्दा आफ्नो पनि र अरु यात्रुको पनि जीवन खतरामा पारेका छन् । त्यसैले सडक असूरक्षित बन्दै गएको छ । त्यसैले अचेल सडकदेखि डर लाग्न थालेको छ । हिँडेको ठाउँमा सुरक्षित पुगिने त हो ? मनमा एउटा संशय रहने गरेको छ ।