Thursday, August 16, 2012

Life Is Beautiful हेरेपछि


चलचित्रले समाजको लागि योगदान दिनुपर्छ, यो मनोरञ्जनको साधनमा मात्र सिमित रहनु हुँदैन भन्ने मान्यताले गर्दा केहि चलचित्रहरू हाम्रा दैनिक जीवनका प्रत्येक घटनामाथि पनि बनिरहेका छन् । साहित्यिक कृतिमाथि पनि चलचित्र बनिरहेको छ । दोस्रो विश्वयुद्ध पछि इटालीमा केही यस्तै गम्भीर प्रकारका चलचित्रहरू बनेका छन् । जून आज पनि त्यतिकै सान्दर्भिक लाग्छन् । यहाँ यस्तै खालको एउटा चलचित्रको चर्चा गर्दैछु ।

जीवन के हो ? जीउने विधि के हो ? कसरी बाँच्दा उपयुक्त हुन्छ ? आफ्नो जीवनलाइ कस्तो पाउनुहुन्छ ? यी र यस्ता जीवन माथिका प्रश्नमा धेरै विद्वानहरूले आफ्ना ज्ञान बाँडेका छन् । तैपनि यसमाथिको बहस अनन्त छ । हेर्ने र भोग्नेका नजरमा निहित हुन्छ जीवन । कसैले यसलाइ एउटा खेल सम्झन्छन् , कसैले संघर्ष , कसैले धोका , कसैले वाध्यता यसलाइ धेरै कोणबाट व्याख्या गर्न सकिन्छ । जीवनलाइ एउटा रमाइलो खेलको रुपमा देखाइएको चलचित्र हो– Life Is Beautiful

Guido एक यहुदी पुरुष हो । उ शहरमा एउटा किताब पसल चलाउने सपना लिएर आएका छन् । तर यो तत्काल सम्भव नभएकोले एउटा रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्छन् । उनका लागि प्रत्येक दिनहरू सुन्दर छन् । अझ एउटा साथीले विद्वान Schopenhauer को इच्छा शक्तिमा धेरै शक्ति छ, भित्री मनले इच्छा गर्दा जे पनि प्राप्त हुन्छभन्ने कुरा सुनाएपछि त यसलाइ गज्जबले प्रयोग गरिरहन्छन् । त्यसैले उनि आफ्नो प्रेमिका (Dora) लाइ उनको विवाहको घोषणासभा बाटै भगाएर बिहे गर्न पनि सफल हुन्छन् । चलचित्रको आधा भागमा यस्तै रमाइलो हाँसो ठट्टाले भरिएको छ ।

बिहेको करिब पाँच वर्ष पछिको दृश्यमा उनले एउटा सेकेन्डह्याण्ड किताब पसल खोलिसकेका हुन्छन् । उनको एउटा छोरो पनि हुन्छ– Joshua । उनि खेलौना खेल्न रचाउँछन् । बाबु आमाको प्यारो उसलाइ नुहाउन पटक्कै मन पर्दैन नुहाउने कुरा उठ्यो की लुक्न थाल्छन् ।     (यसदृश्यले धेरैले आफ्नो बाल्यकाल सम्झिन्छन् ।) उनको जन्मदिनमा एउटा नयाँ खेलौना ट्याङ्क ल्याइदिन उनि आफ्नो बुबालाइ फकाइरहेका हुन्छन् ।

छोरालाइ लुकीबसेको ठाउँमा खानेकुरा दिँदै Guido
अचानक शहरमा हिटलरका सैनिकहरू परेड खेल्न थाल्छन् । शहरमा बसोबास गरिरहेका यहुदीहरूलाइ पक्राउ गरेर उनिहरूलाइ अज्ञात ठाउँमा लैजान्छन् । Guido पनि एक यहुदी भएकोले उनलाइ उनको छोरा सहित गाडी र रेलमार्ग हुँदै लगिन्छ । बालक Joshua बाबुलाई आफूहरू कहाँ जाँदैछौँ भनि प्रश्न गर्दा उनको जन्मदिन मनाउन कतै टाढा जान लागेका छौँ भन्दै उनका प्रत्येक बालसुलभ प्रश्नका उत्तर दिँदै जान्छन् ।

Guido की पत्नी यहुदी नभएकिले उनलाइ भने सैनिकले लग्दैनन् तर आफ्नो पति र छोरालाइ लगेको थाहा पाएपछि उनि पनि त्यहि रेलमा चढ्छिन्, एउटा अज्ञात यात्रामा ।

एउटा बन्द क्याम्प जस्तो देखिने इलाकामा रेल प्रवेश गरेपछि त्यहाँ उनिहरूको बस्ने ठाउँ अनि कामबारे जर्मन भाषामा बताइन्छ । छोरालाइ आफूहरू यातनागृहमा भएको कुरा थाहा नदिइ त्यहाँ एउटा खेल खेल्न आएको र जसले धेरै अंक ल्याइ यो खेल जित्छ उसले नयाँ खेलौना ट्याङक पाउँछ भनि बुझाउँछन् । छोरालाइ सुत्ने ठाउँमै दिनभरि बस्न लगाइ Guido अरु यहूदिहरू सँगै त्यहाँको फलाम फ्याक्ट्रीमा उनिहरूलाइ अह्राए अनुसार गह्रुँगो फलाम बोक्छन् । त्यो ठाउँमा जो जहिलेसम्म काम गर्न सक्छन्, त्यतिन्जेल मात्र बाँच्न पाउँछन् । काम गर्न नसक्ने भएपछि सेनाले गोलि हानेर मारिदिन्छन् । उता Guido  की पत्नी पनि त्यसरी नै काममा खटिएका हुन्छन् । त्यहाँ बुढाबुढीहरू र बच्चाहरूलाइ काम लगाइँदैन भन्ने थाहा पाउँदा कम्तिमा बच्चाका निम्ति त सैनिकहरू दयावान रहेछ भन्ठानेकी उनी त्यतिखेर भावशुन्य हुन्छिन् जब सैनिकहरूले उनिहरूलाई ग्यास च्याम्बरमा राखेर हत्या गर्छन् भन्ने थाहा पाउँछिन् । आफ्ना पति र छोरा ल्याइएकोले आएकी उनी उनिहरूको अवस्था थाहा पत्तो नहुँदा किंकर्तव्यविमुढ हुन्छे । तर सबैको आँखा छल्दै आफूहरू सुरक्षित रहेको भन्ने जानकारी दिन Guido माइकिङ गर्ने, बजिरहेको गीतमा पत्नीलाइ मनपर्ने अपेरा बजाइदिने गरेर यस बन्दीगृहमा नदेखे पनि एक अर्कालाइ महसूस गर्न सकिरहेका हुन्छन् । 

धेरै दिनसम्म बाहिर डुल्न पनि नगइ लुकेर बस्न सके (लुकामारी जस्तै) यस खेलको अंक बढ्छ भन्ने आशा दिएर लुकाइएका छोरा Joshua  बस्दा बस्दा दिक्क लागेर घरमा जाने अनि आमालाइ भेट्ने भनि अड्डी लिन्छ । हामीले खेल जित्न लागेका थियौँ, ल ठिकै छ जित्ने खेल पनि नखेलि घर जान्छु भन्छौ भने हिँडौँ न तभन्दै Guido छोरालाइ जीत प्रति लोभ्याउँछन् ।

केही दिनपछि अमेरिकी सेनाले त्यो ठाउँमा धावा बोल्छ । बाहिर गोलाबारुद चलिरहेको हुन्छ अनि यो नै त्यस ठाउँबाट बाहिरिने र पत्नीलाइ पनि छुटाउने मौका हो भन्ने सम्झेर छोरा Joshua लाइ एउटा बाकसमा लुक्न लगाएर Guido बाहिर निस्कन्छन् पत्नीको खोजिमा । अहिले चलिरहेको खेल लुकामारी जस्तै भएकोले बाहिरको होहल्ला र मान्छेको पदचाप बन्द भएपछि मात्र निस्कनु अनि मात्र धेरै अंक ल्याएर जित्न सकिन्छ भन्दै छोरालाइ त्यहाँ लुकाएका हुन्छन् । तर यस बिचमा Guido लाइ जर्मन सेनाले पक्रिन्छ र उनको हत्या हुन्छ ।
रातभरको घमासान युद्धपछि बिहान सबै शुन्य भएपछि Joshua बाहिर निस्कन्छन् र आफ्नो पछाडी आइरहेको सेनाको ट्याङ्क देख्छन् । सेनाले उसलाइ बोकेर ट्याङ्कमा बसालेर लैजान्छन् । बाटोमा आफ्नी आमालाइ देखेर बोलाउँछन् अनि भन्छन् –“आमा हामीले यो खेल जित्यौँ अनि हेर्नुस् त मैले साँच्चै नयाँ ठूलो ट्याङ्क पाएँ । ” Dora आँखाभरी आँशु राखेर आफ्नो छोरालाइ अंगाल्दै भन्छिन् –“हो हामीले जित्यौँ। यसरी चलचित्र सकिन्छ ।


हो हामीले जित्यौँ

चलचित्रको आधा भागसम्म रमाउँदै , हाँस्दै चलचित्र हेरिरहेका दर्शक हिटलरको सैनिकको प्रवेश पछि प्रत्येक क्षण मुटु कमाउँदै आफ्ना पात्रहरूको बचाउमा प्रार्थना गरिरहेका हुन्छन् सायद । यस चलचित्रको कथनशैली सरल छ , अभिनय एकदमै प्राकृतिक छ । हिटलर कालिन समयमा प्रवेश गरेको झल्को पनि यसले दिन्छ । सन्  १९९७ मा निर्माण भएको Roberto Benigni द्वारा निर्देशित यस चलचित्रले क्यान चलचित्र महोत्सवमा विदेशी भाषाको सर्वोकृष्ट चलचित्रका साथै अन्य धेरै विधामा पुरस्कार पाएको थियो ।

चलचित्र कस्तो हुनुपर्छ ? चलचित्रले कस्ता विषय समेट्न सक्छ ? चलचित्र क्षेत्रमा आफूलाई अलग देखाउन चाहनेहरूले यो चलचित्र हेर्दा उपयुक्त हुन्छ । 

Thursday, August 9, 2012

पहिलोपल्ट वि.पी. लाइ पढ्दा

चिसापानी ब्लग,बुक संसारश्रुतिसंवेग बाट साहित्यलाइ सुन्न सकिने कुरा थाहा पाएदेखि डाउनलोड गर्दै सुन्न थालेको छु । अचेल उपन्यासहरु सुनेर पढ्ने गरेकोले नयाँ अनुभूति गरिरहेको छु । प्रत्येक बिहान काममा हुँदा नै मेरा कानमा उपन्यास वाचन चलिरहने हूँदा समयको पनि सहि उपयोग भएको जस्तो लागेको छ ।


वि.पी. कोइरालाले लेखेको उपन्यास सुम्निमा श्रुतिसम्बेगबाट डाउनलोड गरेर सुनियो । फ्रायडको यौनमनोविञान लाई आफ्नो रचनामा जमाएर व्यक्त गर्ने साहित्यकार वि.पी. कोइरालाको यसअघि पनि केही किताब पढ्ने कोशिस गरेको थिएँ । तर किताब हातमा परेपनि पूरा पढ्न कहिले सकिएको थिइन । यस पल्ट भने आफुले आँखा फारेर अक्षर हेर्न नपरेर हो की अर्कैले पढेर सुनाएकोलाइ कानमा सुनेर हो पूरै उपन्यास सुनिभ्याएँ ।

उपन्यास सुनिसके पछि लाग्यो – उनका कृतिहरु कसैले सित्तैमा पढ्न दिएका भए पनि पढ्न सक्ने थिइन होला । किनकी भाषिक रुपमा यो उपन्यास मलाइ एकदम क्लिष्ट लाग्यो । केही समय यता खगेन्द्र संग्रौला, बुदिसागर, तसलिमा नसरीन जस्ता साहित्यकारको किताब पढिसकेपछि र त्यस अघि पनि साहित्य सरल भाषामा लेखिएको हुनुपर्छ भन्ने मान्यता नै मेरो थियो ।

यस उपन्यासमा भएका बाल पात्रहरु पनि कति सजिलै दर्शन छाँटिरहेका हुन्छन् भने मैले बालकृष्ण समका नाटकका गाउँका पात्रको संवादलाइ पनि सम्झाइदियो । बाल पात्रको उमेर करिब सात आठ वर्ष भनिएको छ तर उनका संवादमा पूर्णरुपमा लेखक मनमौजी भएर बोलिरहेका हुन्छन् ।

उपन्यासमा आधा त संस्कृत शब्दकै प्रयोग गरिएको छ ।

उपन्यासको कथा भने ठिकै लाग्यो । आफूलाइ पूजा, हवन तपस्या गरेर शुद्द बनाउने नाउँमा एउटा ब्राम्हण समूदायका युवक कसरी निर्जीव हुनपुग्छ ? सांसारिकताको परित्याग गर्ने मन र वंशको परम्परा कायम गर्नुपर्ने कर्तव्य पूरा गर्न गरिने विवाह यि दुइले जन्माएको अन्तर्मनको र बाह्य द्वन्दको गजबको चित्रण यस उपन्यासमा उतारिएको छ ।

किराँत समूदायकी सुम्निमाको निश्चलता र प्राकृतिक सरलताले जनजातीहरुको संग्लो चित्र तयार गरेको छ ।

भाषिक दृष्टिबाट यो उपन्यास पढ्न गाह्रो भएपनि कथानकले भने नौलो अनुभूति नै दिएको छ । त्यसैले यो राम्रै प्रयोग बन्न पुगेको छ ।