Friday, March 8, 2013

आमाको मुहार उज्यालो थियो



आफ्नो काम आफै गरौँ भन्ने भावना मनमा हुँदाहुँदै पनि व्यस्तता, अल्छिपन र आफ्नो निर्णय आफैँ पूरा गर्न नसक्ने निकम्मापनले गर्दा घरमा मैले लगाएको लुगा पनि आमाले नै फेरी धुन थाल्नुभएथ्यो । हुन त सानो छँदा आमा नै सबै गर्नुहुन्थ्यो तर पछि आफैले गर्ने सरसल्लाह भएथ्यो दाजुभाइमा, तर केही समय पछि पुरानै पारा भैहाल्यो । 


केही समय अघि देखि आमाका हातहरु दुख्न थालेका थिए । आमालाई अस्पताल जान, औषधि खान भनेपछि एकदमै गाह्रो लाग्ने । निकै च्यापेपछि मात्र अस्पताल जान राजी हुनुभयो । किर्तीपूर अस्पतालकी चिकित्सक डा. निजीना ताम्राकारले आमाको बिमार धेरै चोटि हेर्नुभएकोले म मात्र जाँदा पनि आमालाई कस्तो छ भनेर सोधिरहनुहुन्थ्यो । यसपल्ट आमा फेरी उहाँकै कक्षमा जानुपर्ने भयो । आमालाई अब के भयो ? प्रेसरको औषधि त खाइराख्नु भाछ हैन ? आमाको जवाफ खै के भयोभयो ! दाइने हात ह्याँ देखि तल एकदम दुख्छ, देब्रे हात पनि यतिमा एकदम करकर खान्छ आमाका हातका नाडिलाइ दुवै हातले समाएर उहाँले प्रेस गर्नुभो । हातका दुखाइले आमा कराउन मात्र सक्नुभएन । त्यसपछि सोध्नुभो लुगा धुनेबेला बढी दुख्छ हो ? अँ हो मलाई र्हेर्दै आमाको हातका नाडि देखाउँदै डा.ले भन्नुभोआमालाई यो नशामा दुखेको हो, उहाँलाई सकेसम्म गह्रुँगो कुरा उचाल्न नदिने, अनि धेरै लुगा पनि धुन नदिने है । यो रोगलाई अहिले चटै ठीक गर्ने उपाय चाहिँ त छैन । यसको अन्तिम विकल्प यो नशामा सुई लगाउनु हो, तर यसबाट पनि कसैलाई एक वर्षलाई ठिक भएको छ भने कसैलाई महिना दिनमै फेरी दुखाइ बल्झेको पनि छ, यो सुई बारम्बार लगाउन पनि मिल्दैन त्यसैले अहिलेलाई आमालाई खाने औषधि दिन्छु अनि हातमा बाँध्नको लागि ब्याण्डेज पनि लेखिदिएको छु । यतिले कम भएन भने फेरी आउनु । आमा तिर र्हेदै उहाँले आमालाई भन्नुभयो आमा अबदेखि धेरै लुगा नधुनुस्, छोराहरूको लुगा आआफैलाई नै धुन लगाउनुस्, गह्रुँगो पनि नउचाल्नुस् तुरुन्तै आमाको जवाफ गैहाल्यो भनेर भयो र ! छोराहरूको राम्ररी बसेर खान त फूर्सद छैन काँ धुन भ्याउँछन् र ? अब देखि उनिहरूको लुगा छुँदै नछुने, यत्तिकै राख्ने । अनि आफैले नधोएर के गरोस् र ? ल अब देखि त्यसै गर्ने है त”– सरल ढंगले कति सहजै आमालाई यसरी व्यवहार गर्न जानेका डाक्टर्नीले पनि ! म पुलकित भएर आमा र डाक्टरको कुरा सुनिरहेछु । 

अस्पतालबाट बाहिर निस्कँदै आमाले मलाई भन्नु भो सुनिस् हैन डाक्टरले के भन्नु भो अँ म आफ्नो मुन्टो मात्र हल्लाउँछु । तर मनमा भने निर्णय लिइसकेको थिएँ अबदेखि आमालाई लुगा धुन नदिने ।


शनिबारको दिन लुगाधुने योजना आमालाई शुक्रबार नै भनेको थिएँ । भोलिपल्ट बिहान धुनुपर्ने कपडाको डंगुर देखाउनु भो । खाना खाएर आमा र म दुवै धारातिर लाग्यौँ । आमा साबुन लगाउन बस्नु भो , म तिनलाई मिच्न थालेँ । जाडोमा लगाइने लुगा पनि कति बाक्लाबाक्ला हुन्छन् भने, ओहो मैलो पनि त्यतिकै आउने । लुगा मिच्दै , पानीमा चोबल्दै , निचर्दै लुगा धुने क्रम करिब चार घण्टा चल्यो । अघि खाएको भात सबै घटेको थियो । ढाडको रोगी म, मेरो ढाड फेरी दुख्न थालेको जस्तो महसुस हुन थाल्यो ।  कतिखेर सिद्धिएला र आराम गर्न पाइएला भन्ने छट्पटी पो हुन थाल्यो बा । पहिलापहिला आफ्नो मात्र लुगा धुँदा यति थकान महसूस गरिन । तर आजको लुगाको डंगुर अनि लुगा धुन लागेको समय दुवै एकदम बढी थियो । यतिका वर्ष सम्म त आमा एक्लैले यो सबै लुगा कसरी धुँदै आउनुभएको थियो ? आज एकदिन कपडा धुँदा थकानले मेरो यो गति भो आमालाई कति गाह्रो हुन्थ्यो होला ? झै आमा त झ्यालको पर्दा, सिरकको खोल त अझै बाँकी नै छ अर्को पाली धोलास् भन्दै हुनुहुन्थ्यो । 

म भोक र थकाइले चुर भएको आमाले चाल पाइहाल्नुभो , लुगा सुकाइसकेर आमाले खाजा अघि सार्दिनु भो । त्यतिबेला आमाको अनुहार एकदम उज्यालो थियो । 

(पुनश्च: लुगा धोएर साह्रै थाकेँ भनेर फेसबुकमा लेख्दा एक जना मित्रबाट यस्तो प्रतिक्रिया पाएँ–“अब विवाह गर्ने बेला भयो की वसन्त जी ? त्यसको जवाफ म यहाँ लेख्दैछु के हामी आफ्ना लुगा धोइदिनको लागि कसैसँग विवाह गर्ने हो र मित्र ? )