Tuesday, October 17, 2017

Walking to school हेरेपछि



चलचित्र हेर्न भाषाले फरक पार्दैन, पहिलो चोटि यो कुरा महसुस गर्दै थिएँ जतिबेला अंग्रेजी पनि नजान्ने मेरो साथिलाई चिनियाँ चलचित्र हेरेर रोएको थाहा पाएँ । कुरा चिनियाँ चलचित्र महोत्सवको हो । कुमारी हलमा प्रदर्शन हुने चिनियाँ चलचित्रको लागि पास पाएको थिएँ । साथी र म समयको सदुपयोग गर्न त्यहाँ पसेका थियौँ ।

चलचित्रको कथा यसरी अगाडी बढ्छ

बालक वावास्कूल जान चाहन्छन् तर पूल नभएकोले तुइन चढेर नदि पार गर्नुपर्ने हुनाले उनलाई पूल तारिदिने भरपर्दो मान्छे अर्थात् उसको बुबा नआए सम्म स्कूल जान नपाउने भएकोले आफ्नो बुबा कहिले आउने होला भन्दै खुइय गर्छन । बुबा पैसा कमाउन गाउँदेखि धेरै टाढा शहरमा हुनुहुन्छ । दिदि स्कूलबाट फर्केर दिनभरी स्कूलमा केके भयो भनेर बयान गर्दा उसको कौतुहलता अझ बढ्छ । तर उनलाई तुइनमा जाने अनुमति नहुँदा त्यसै नरमाइलो लागिरहन्छ ।

उ बेला बेला घरमाथिको रुखबाट डोरी बाँधेर घरको पिँढीसम्म आइ पुग्न फलामको अंकुशेको मद्धत लिएर तुइन चढ्ने अभ्यास गरिरहेको हुन्छ । त्यसैले उ आफैले तुइन चढ्न जानिसकेको बताउँदा आमाले डोरी र अंकुशे लुकाइदिन्छन् । तर एकदिन उनी लुकाइएको डोरी र अंकुशे लिएर तुइनबाट नदि पारीको स्कुल पुग्छ । दिदीको कक्षा बाहिर बसेरै उ पनि भित्र पढाइएका कुरा पढ्न थाल्छ, उ स्कुल गएको कुरा त्यतिबेला थाहा हुन्छ जतिबेला उनकी दिदीले घरमा स्कुलको पाठ सस्वर पढिरहेकी हुन्छे, उ दिदी भन्दा अघि अघि त्यही कुरा वाचन गरिरहेको हुन्छ ।
अब आमा सशंकित हुन्छे, त्यो डरलाग्दो तुइनबाट जान छोरालाइ रोक्न नसकेपछि अब उनकी दिदीलाई नै स्कुल नपठाउने कडा निर्णय लिन पुग्छे । स्कूलकी जेहेन्दार विद्यार्थी अनुपस्थित भएपछि त्यहाँकी शिक्षिका उनलाई भेट्न घरैमा आइपुग्छ । अनि सरकारले छात्राहरुलाई स्कुल पठाउन प्रोत्साहन गर्न दिएको बुट, मोजा वावाकी दिदिलाई दिँदै उनको पढाइ नरोक्न आग्रह गर्छे । शिक्षिका फर्केपछि उनकी आमा अबदेखि उनलाइ नदि छेउ नजान चेतावनी दिन्छे, तर बालक वावा दिदिलाई दिएको बुट हातमा लिँदै आफूलाई यो बुट दिने भए जान्न भन्छ, दिदीले उनकी आमालाइ पनि मनाउँछिन अबदेखि भाइ तुइनमा नजाने भए आफू पनि बुट दिन तयार छु भनेर भाइको बचाउ गर्छे । त्यस रात नयाँ बुट च्यापेरै वावा सुतेको हुन्छ । बिहान भएपछि उ दिदिलाइ खोज्छ दिदि त हिँडिसकेकी हुन्छे । अनि दगुर्दै गएर दिदिलाई नदि छेउ भेटेर आफूले लिइसकेको बुट फेरि दिदिलाई नै लगाइदिन्छ ।  नयाँ बुट लगाएर गएकि उनकी दिदि बजारमा गएर नुन किन्न जाँदा देखेको सानो जुत्ताको मोल सोध्छे तर उनीसँग पर्याप्त पैसा हुँदैन । यो थाहा पाएर उनकी शिक्षिकाले नै त्यो जुत्ता पनि किनेर पठाउँछे । भाइको लागि जुत्ता पाएर उनी चंगा जस्तै फुरुंग परेकी छ । जुत्ता झोलामा हालेर नदि पार गर्ने क्रममा कसैले नचिताएको घटना घट्छ । तुइनबाट नदि तर्दै गर्दा आफ्नो झोलाबाट भाइको जुत्ता खस्न लागेकोले त्यसलाइ समाउने बेला अचानक तुइनमा लगाइएको अंकुश बाहिर आउँछ र उनी नदिमा खस्न पुग्छे । चलचित्रको पहिलो हाफ सकिन्छ ।

(चलचित्रको पहिलो हाफको यो अन्तिम दृश्य पछि हामी दर्शकको आँखा भने रसाइसकेको हूँदो रहेछ । यतिबेला सम्म म मेरा साथीलाइ अंग्रेजी Subtitle पढ्दै केही संवादहरु नेपालीमा उल्था गर्दै बताइरहेको थिएँ । तर अब म एक शब्द पनि नबोली बाँकी चलचित्र हेर्दै हुन्छु । हलभरी सन्नाटा छाएको छ, चलचित्रका पात्रको शोकमा ।)

दिदि स्कूलबाट आएको भन्ठानेको वावा दिदिलाई आफुले बनाएको फिरफिरे दिन हतारिँदै तल आएको छ तर जब त्यहाँ दिदीको झोला र बुटमात्र देखिन्छ तब वातावरण दर्दनाक बन्न पुग्छ । उ आफ्नी प्यारी दिदि खोज्न भौतारिँदै दौडिन्छ । उसकी दिदी नदीको बहावमा बगेको कुरा त्यहाँ आएका शिक्षकहरु वा उनकी रोइरहेकी आमा कसैले भन्न सक्दैनन् तर परिस्थितीले सबै कुरा बोलिरहेको हुन्छ ।
समय बित्दै जान्छ । केही पछि उनको बुबा पनि घर फर्किन्छन् । दिदीको मृत्यु पछि वावा बोल्छ छोडेका छन् । आफुलाइ माया गर्नेलाई गुमाउनुपर्दा सबैलाइ यस्तै त हुँदो हो । हरेक कुरामा आमा दिदीसँग सवालजवाफ गर्ने बालक वावा लाइ अझ बढि मानसिक आघात परेको देखिन्छ । घरमा भएकी पक्षघात भएर बसेकी आमालाई हेर्नु, छोराछोरीलाइ हेर्नु अनि घरबाहिर खेतिपाती पनि आफैले कसरी भ्याउने ? आफू एक्लैले यि सबै सम्हाल्न नसकेकोले अब श्रीमान्लाई घर नछोड्न रुँदै भन्छिन् वावाकी आमा । वावाका बुबा अब आफु घर नछाड्ने भन्छन् तर सबैको चिन्ताको कुरा, वावा पहिले जस्तो चञ्चल हुन छोडेका छन् । स्कुलबाट फेरी एकपटक शिक्षिका आउँछे बालक वावाको भित्री इच्छा स्कूलमा पढ्नु थियो । उनको इच्छा पुरा गर्न पाइयो भने उनी विस्तारै ठिक हुँदै आउँछन्भनेर आमाबुबा दुवैलाई सम्झाउँछिन् । चिनियाँ सरकारले अब सयौँ पुलहरु बनाउन लागेको कुरा पनि सुनाउँछन् र अब छिटै यो गाउँमा पनि पुल बन्ने विश्वास दिलाउँछन् । बुबासँग स्कुल जान लागेको वावा तुइन नजिक पुग्दा नदिछेउ फेरि दिदीको अर्को बुट देखेर फर्किन्छन् । अब एक किसिमले उनले पढ्ने आफ्ना इच्छालाई आफैले मारिदिएका छन् । तर शिक्षिका भने अब उनलाई घरमै पढाउन भनि आएका छन् । वावालाई पढाउन खोजिरहेका छन् तर उनको ध्यान जान सकेकै छैन । अनि शिक्षिकाले सोध्छन् तिमीले चित्र बनाउँछौ भनेको सुनेको थिएँ । मलाई चित्र बनाएर देखाउन सक्छौ ?’ वावा अझै केहि बोल्दैन तर शिक्षिकालाई पछि लगाइ उ आफुले बनाएको चित्र देखाउन हिँड्छ । काठमा चकले कोरिएको चित्र छ जस्मा नदिको माथि पुल, अनि पुलमा उभिएका एक बालकको आकृति बनाएका छन् र फेरी चक लिएर कोरेका छन्  हात समाइरहेकी दिदिको आकृति वावाले । चित्र देखि अवाक हुन्छिन् शिक्षिका ।
करिब ६ महिना पछिको दृश्यमा देखिन्छ एउटा ठूलो पुल, पारि स्कुले केटाकेटी र शिक्षक शिक्षिका वावालाई स्वागत गर्न बसिरहेका छन् । वावा हातमा फिरफिरे र काँधमा झोला बोकेर स्कुल जान आएका छन् । पुलको बिचमा पुगेर नदिमा हेर्छन् उनको फिरफिरे नदिमा खस्छ । स्कूल जान दिदिको हात समातेर पुलमा हिँडेको कल्पना आउँछ अनि पृष्ठभूमिमा दिदिसँगै गाएको गित बच्दै चलचित्र समाप्त हुन्छ ।

कस्तो फिलिम देखाको यार ! आँसु नै आयोचलचित्र हेरिसकेपछि बाहिर निस्कँदा आँखामा पानी छ्याप्दै मेरा साथी मलाइ भनिरहेका थिए । साथिलाइ आधा चलचित्रका संवाद मैले बताएको थिएँ, Subtitle हेर्दै तर बाँकी आधामा त म पनि शोकाकुल हुँदै बोल्न सकेको थिइनँ । तर साथीले बाँकी सप्पै आफै बुझेछन् । चलचित्रमा भाषाको कुनै परिबन्ध नै नहुने रहेछ, संवेदनाको कुनै भाषा हुँदैन ।
साधारण दैनिक जिवनका अफ्ठ्यारालाइ चलचित्रको विषय बनाउँदा पनि त राम्रै चलचित्र बन्ने रहेछ, तुइनको भरमा वारपार गरी स्कुल जाने चिनीयाँमात्र होइन सयौँ नेपालीको नियती पनि त यस्तै हुँदै आएको छ । तुइनलाई विश्वकै सबैभन्दा डरलाग्दो यात्रामध्ये एक मानिन्छ । तुइन चुडिएर गत दस वर्षमा पचास जना भन्दा धेरैको ज्यान गएको अनौपचारिक तथ्यांक छ। तुइन चुडिएमा कैयन मिटर तल नदी या नदी किनारको ढुंगामा मानिस बजारिन्छ र ज्यान जान्छ । ज्यान हत्केलामा राखेर गरिनेयात्राको साधन होतुइन।
राम्रो चलचित्र बन्न न त बलिया पाखुरा भएका हिरो न तछमछम नाच्न जान्ने हिरोइन नै चाहिने रहेछ । चाहिन्छ त केवल वास्तविक जीवनमा घट्ने घटनाको पेटारो, अनि पो हामी चलचित्रलाई आफ्नै ठान्छौँ ।