सानैमा हेरेको यो चलचित्र र यसमा भएका दाजु बहिनीको स-साना
झगडा अनि मायाका दृश्यलाई आफू र आफ्नो भाइको बालापनमा रिलेट गर्न
खोज्छिन् ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ। सन् २०१९ को १३ औँ दक्षिण एसियाली
खेलकुद (साग) मा भएको १० हजार मिटरको दौडमा स्वर्णपदक जित्ने पहिलो नेपाली महिला
एथलेट् हुन् सन्तोषी श्रेष्ठ। त्यस यता जति पनि प्रतियोगितामा भाग लिइन सबैमा
बिजयी भएर स्वर्ण पदक जित्दै आइन्। माथिको चलचित्रको दृश्य जस्तो स्कुल जानै
जुत्ताको कमी त थिएन, तर दौड्नको लागि स्पोर्टस् सुज थिएन। ६ कक्षा पढ्दा देखि नै दौडिन सुरु
गरेकी, धेरै समय स्पोर्टस् सुज बिना विद्यालय जाने जुत्ता लगाएरै दौडिएको
सम्झिन्छिन् गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ। दशैँताका बुबाले ल्याइदिनुभएको
स्यान्डल लगाएर केही दौड प्रतियोगिता दोडिए। रेडक्रस सोसाइटिद्वारा आयोजित दौड
प्रतियोगितामा भाग लिन स्पोर्टस् सुज ल्याउन अनुरोध गर्दा बुबासँग पुग्ने पैसा
नभएपछि भृकुटिमण्डपबाट सस्तोमा ल्याइदिनुभएको जुता छिटै बिग्रियो। पछि आफैले विजय
भएर पुरस्कार स्वरुप प्राप्त रकमले स्पोर्टस् सुज किनेको र त्यसबाट धेरै दौडमा भाग
लिएको सम्झना गर्छिन्- सन्तोषी। स्नातक तह सम्म त्यही जुत्ताले दौडिएकि थिइन्।
जुत्ताको सोल खिइसकेको जुता लगाएरै दौडिरहेकि उनलाई गुरु रघु वन्तले आफ्नो जुत्ता
देखाउन अह्राउनुभएपछि देखाउँदा 'दिस इज डेथ' यसलाई फ्याँकेर अर्को जुत्तामा दौडन
भन्नुहुँदा आफुलाई सो जुत्ताले धेरै गेम जिताएको र त्यो जुत्तासँगको सामिप्यता (एटेच्मेन्ट)
ले फ्याँक्न माया लागेको सम्झना गर्छिन्।
नेपाल पुलिस, नेपाल आर्मी जस्ता विभागिय टोलीमा समावेश
नभइ स्वतन्त्र रहेर पनि दौडिन सकिन्छ भन्ने उदाहरण बनेकि छन्-सन्तोषी। एथलेटिक्स
मात्रै होइन फुटबल, भलिबल लगायतका अधिकांश खेलकुदका खेलाडीहरू नेपाल पुलिस, एपिएफ
जस्ता विभागीय टोलीमा आवद्ध भएका छन् र तिनै विभागीय टोलीबाट नेपालका धेरै
राष्ट्रिय टोली धानेको देखिन्छ। निरन्तर अभ्यास गर्न र खेल नभएको समयमा समेत
नियमित आर्थिक उपार्जन समेत हुने भएकोले धेरैले विभागिय टोलीमा समावेश भइ जागिर सुरु
गर्ने गरेको देखिन्छ। सागमा स्वर्ण पदक प्राप्त भएसँग सन्तोषीलाई पनि सशस्त्र
प्रहरीबल लगायतबाट धेरैपल्ट अफर आएका थिए। तर स्वतन्त्र रहेर पनि खेलमा
निरन्तरता दिन सकिन्छ भन्ने कुरा स्थापित गर्ने चाहना अनुरुप उनि कतै आवद्ध भइनन्।
नेपालमा खेलकुदमा लागेका अधिकांश खेलाडीहरू औपचारिक पढाई बिचमै छोडेको देखिन्छन्।
सन्तोषी त्यस मामिलामा पनि अलग छिन्, खेलको साथमा जनस्वास्थ्यमा स्नातक र सार्वजनिक
प्रशासनमा पोस्ट ग्राजुयटको अध्ययन सकाएकि छिन्। एथलेटिक्समा संघर्ष गरिरहेका
खेलाडीहरू मध्ये थोरैले मात्रै सफलता हासिल गरेका हुन्छन्। सानै देखि सँगै दौडिएका
केही साथीहरू पढाइको सिलसिलामा विदेश गइ खेल क्षेत्र छोडेर त्यतै सेटल भएका छन्।
विभागीय टोलीमा आवद्ध हुन गएका कतिपय साथीहरू आर्मी पुलिसमा जानुभइ जागिरे जीवन
विताइराखेका छन् र दौडलाई छोडिसकेका छन्।
जागिरेको कार्यावधि २० वर्ष, ३० वर्ष भएपछि अवकाश हुने
हुन्छ। खेल जीवनमा सक्रिय खेल जीवन अवधि जागिरे जीवन जत्तिको हुँदैन किनकी यो
शारिरिक तन्दुरुस्तिमा पनि भर पर्ने हुन्छ। घाइते भइयो भने कतिपय खेलाडीको सक्रिय
खेल जीवन सकिने हुन्छ भने सक्रिय खेलाडीको पर्फर्मेन्सलाई रिप्लेस गर्ने गरि अरू
नयाँ खेलाडी आए पनि पुरानोले छोड्ने स्थिति बनिरहेको हुन्छ।
सन्तोषी कति समय सम्म दौडने छिन् त? भन्ने प्रश्नलाई
यसरी जवाफ दिइन् - "सुरुवातताका स्कुल पढुन्जेल खेल्छु भन्थेँ, पछि +2
पढिरहँदा म २५ वर्ष जतिको उमेर सम्म मात्रै खेल्छु, ब्याचलर पढेपछि छोड्छु भन्ने
सोच्ने गर्थेँ। ब्याचलर
पढेपछि त झनै व्यावसायिक रुपमा डेटिकेटेड भएर, प्राथमिकता दिएरै पो जानुपर्ने रहेछ
भन्ने मनमा आयो र तालिमलाई निरन्तरता दिइयो। मेन्टर गुरु रघुराज वन्त सँगको
सामिप्यताले अझै सहज बनाउँदै लग्यो। अब एउटा नेसनल च्याम्पियन बनेपछि छोड्छु भन्ने
सोच बनाइयो। त्यसपछि सार्कमा दौडिन पाए अन्तर्राष्ट्रिय खेलाडी भइन्थ्यो भन्ने
आयो। त्यसमा गोल्ड मेडल आयो। त्यसपछि कोभिड आयो। दुई वर्ष यत्तिकै वित्यो। ओलम्पिक
पनि खेलियो। 'वन्स ओलम्पियन अल्वेज ओलम्पनियन भनिन्छ'। अब कहिले रिटार्यड हुन्छु
थाहा छैन। जबसम्म सक्छु खेल्छु। मेरो शारिरिक स्वास्थ्य, मेरो पारिवारिक कुरा
आदिबाट पछि के कुरा आउला थाहा छैन। तर अझै २/३ वर्ष त म खेल्छु नै भन्ने छ।"
जनस्वास्थ्य पढेर पछि यसै
क्षेत्रमा काम गर्ने उद्देश्य लिएकि सन्तोषी केही समय खेल्छु, कुद्छु भन्दा भन्दै
५/६ वर्ष बितेको पत्तै नभएको बताउँछिन्। पब्लिक हेल्थ पढेकाहरू जनस्वास्थ्य
सम्बन्धि आयोजनाहरू, अस्पतालहरूमा कार्य गर्ने हुन्छन् तर आफु खेलकुदमा लाग्दा
आफूले पढेको काममा लाग्न नपाउँदा केही छुट्यो कि भन्ने भावना बेलाबेला आउने गर्छ।
तर फेरी अर्को मनले चाहिँ त्यो क्षेत्रमा लागेको भए तलब लिएर गर्ने सार्वजनिक
स्वास्थ्य सम्बन्धि चेतना फैलाउने कामलाई अहिले खेलकुदमा लागेर निशुल्क त्यही काम
पनि बेलाबेला गरिरहेको छु भनेर मन बुझाउने गरेको छु। पछि गएर आफ्नो क्षमता र
ज्ञानले भ्याए सम्म पुनः सार्वजनिक स्वास्थ्य क्षेत्रमा समेत योगदान गर्नेछु भन्ने
सोच बनाएकि छिन् सन्तोषी। खेल जीवन पछि फर्केर आउँदैन, त्यसैले अहिले जति सकेको
गर्ने बताउँछिन् उनि।
बाल साहित्यकार शान्तदास
मानन्धरको सामिप्यतामा रहेर बाल साहित्य अध्ययन गर्दै हुर्केकि सन्तोषीको ब्याचलर
तह पढ्दा सम्म साहित्यमा पनि रुचि थियो। कलेजको पहिलो दिन भ्यालेन्टाइन डे को दिन
परेको थियो। सो दिन प्रेमपत्र प्रतियोगिता आयोजना भएकोले कलेजबाट इच्छुकहरूले नाम
टिपाउन सूचना पाएपछि लेख्नमा अलिअलि रुचि सानै देखि भएको र जे मा पनि भाग लिने
बानी परेकोले उनले पनि नाम टिपाइन्। जीवनमा कसैका लागि प्रेमपत्र नलेखेकि उनी अब
कसलाई सम्बोधन गरेर पत्र लेख्ने होला सोच्दै जाँदा आफुले यसअघि पढिरहेकी तसलिमा
नसरिनको नाम मनमा आयो। उनले तसलिमा नसरिनलाई सम्बोधन गर्दै प्रेमपत्र लेखिन्। त्यो
पत्रले कलेजमा उनलाई चर्चित बनाएको अझै सम्झना छ। तर पढाइ र खेलकुदमा व्यस्ता
बढ्दै गएपछि साहित्य छुट्दै गयो। अचेल पनि उनि पढ्छिन् तर पढ्न समय कम हुँदै गएको
छ। आजभोली उनलाई चर्चित व्यक्तिहरूको जीवनीले तान्ने गरेको बताउँछिन्।
सन्तोषीमा कतिपयले सानै उमेरमा बालापन भन्दा बढि परिपक्वता देखेका थिए भने कतिपयले आफूलाई २२/२३ वर्ष उमेर पुगेपछि कस्तो बच्चा जस्तो रैछ भन्ने गरेको सुनाउँछिन्। प्रेम सम्बन्धका कुरा गर्दा उनको जवाफ यस्तो थियो 'किशोरावस्थामा आफूलाई कसैले जिस्काए भने त्यसलाई म कुट्दिन्छु भन्ने मनमा आउँथ्यो। अचेल कसैलाई प्रतिक्रिया दिँदा रिसाउने पो हो कि? कसैलाई वेवास्ता गर्दा त्यसले अर्कै परिणाम पो ल्याउला कि? कसैलाई बढी महत्व दिँदा अर्कै सोचिदिने पो हो कि? ति कुरा बढि सोच्न थालेकि छु।' उनि अहिले सम्म कसैको प्रेममा नपरेको बताउँछिन्। कसैसँग केही दिन सँगै काम गर्दा हिँड्दा अरूले उल्टो सोचिदिने रहेछन्। भावना साटिएको हुँदैन तर जोसँग समय बिताउँदा, साथी हुन् सहयोग गरेका छन् भनेर सहयोग लिँदा अरूलाई सुनाउँदै हिँड्ने, संरक्षण गरे जस्तो गर्दै उसले पुरै दबाबमा राख्ने खोज्ने, कुरुप रुप देखाउने पनि हुँदा रहेछन्। आफू जस्तो छु, अरू त्यस्ता हुँदैन रहेछन् भन्ने लाग्यो। सिधै प्रेमप्रस्ताव राख्नेहरू पनि जीवनमा आएनन्। क्षणिक आकर्षण त धेरैको भयो होला तर त्यो टिक्ने कुरै भएन। आफ्ना चिनजानका साथीहरूको घरगृहस्थ भैरहँदा अहिले तिसको दशकमा पाइला टेक्दै गर्दा जीवनमा आफूलाई बुझ्ने जीवनसाथी त चाहिने रैछ कि भन्ने सोच चाहिँ आउने गरेको छ।
व्यावसायिक खेल के हो? के
सन्तोषी व्यावसायिक खेलाडी हुन्? सन्तोषीको मुख्य आम्दानीको श्रोत के हो?
राष्ट्रिय खेलाडीलाई राज्यद्वारा नियमित सुविधा प्राप्त हुन्छ कि नाईँ? यसबारे
सन्तोषी र उनका मेन्टर गुरु सुनिल राजवंशीसँग पनि कुरा गर्ने अवसर जुर्यो। गुरु
सुनिल राजवंशीको नजरमा एसियाली स्तरमा
पुग्ने सन्तोषी आत्मप्रेरित (Self-Motivated) प्रतिभावान खेलाडी हुन्, उनि अरूको कुभलो
नचिताउने, सरल स्वभावको धावक हुन्। उनमा विजयको उन्माद छैन्। नेपालमा खेल्नेहरूले पढ्दैनन भनेर
भनिन्छ तर त्यो सोचलाई परिवर्तन गर्ने बाटोमा छिन् सन्तोषी। ठूलो जनसमुदाय (Mass) ले
हेर्ने गरेको खेलहरू फूटबल, क्रिकेट जस्ता खेलको आयोजनाका लागि प्रायोजनहरू आउने
गर्छ। ति खेलका चर्चित खेलाडीलाई धेरैले अनुशरण गरिरहेका हुने भएकोले सफल खेलाडीलाई पनि प्रायोजन
गरिएको हुन्छ। व्यापारिक संघ संस्थाहरूले वार्षिक सम्झौता गरेरै खेलाडी मार्फत्
विज्ञापन गराउने जस्ता कार्य गरेका हुन्छन्। त्यस्ता खेलका खेलाडीलाई व्यावसायिक
खेलाडीका रुपमा लिन सकिन्छ। एथलेटिक्स
जस्तो खेलका खेलाडीले अमेरिका जस्तो विकसित मुलुकमा पनि राष्ट्रको तर्फबाट सेवा
सुविधा दिएको हुँदैन भने नेपाल जस्ता मुलुकमा खेलाडीका लागि राज्यले सेवा सुविधा
दिएर राख्ने पाल्ने कुरा कल्पना बाहिरको कुरा हो। एथलेटिक्सका दशौँ हजार खेलाडीलाई
पाल्न सक्दैन। नेपाल एथलेटिक्स संघ लगायतका संस्थाको पहलमा नेपाल सरकारबाट यसै
वर्षदेखि ओलम्पिक खेल खेलेका खेलाडी, एसियाली तहमा कुनै पदक लिएर
आएका खेलाडी, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक पाउने सफल एथ्लेटिक्स खेलाडीलाई
छुट्टाछुट्टै सुविधाको व्यवस्था गरेर न्यूनतम भएपनि नियमित आर्थिक सहयोग गरिने
भएको छ।
कमाउन भनेर दौड्न सुरु गरेको होइन्। तर जुन काममा
लागिन्छ त्यसबाट आर्थिक उपार्जन भएपछि नै काम प्रति लगाव पनि बढ्दै जाने हो।
आर्थिक उपार्जन नभएको भए सायद यसरी टिक्ने नहुन पनि सक्थ्यो। ओलम्पियन सन्तोषीको
आम्दानीको मूख्य श्रोत भने दौड प्रतियोगिताको पुरस्कारमा प्राप्त रकम नै हो।
कतैबाट आउने नियमित आम्दानीको श्रोत भने छैन। नेपालका व्यापारिक संस्थाले प्रायोजन
गर्ने गरी नजिकिन सकेको छैन। उनलाई लाग्छ त्यस्ता प्रायोजकसँग/ब्रान्डहरूसँग डिल
गर्ने व्यक्तिगत म्यानेजर व्यवस्था गर्न सकिन्न। आफुलाई बिकाउने वाकपटुता छैन
भन्ने लाग्छ। गत वर्ष नेपाल रन युकेको सहयोगमा लन्डन म्याराथनमा पनि जाने मौका
पाइयो। उहाँहरूको प्रचार प्रसार हुने र नेपालका खेलाडीलाई पनि राम्रो हुने भएकोले
आफ्नो खेल राम्रो हुँदै गएकाले १ वर्षको लागि तालिममा हुने केही खर्चहरूको
जिम्मेवारी उहाँहरूले उठाउनुभएको छ। खेल क्षेत्रमा लागेर आर्थिक रुपमा बलियो बन्न
नसकेकोमा ठूलो गुनासो पनि छैन। पैसाकै पछि लागेको भए अहिले जुन स्थानमा हुन्थ्यो
सायद त्यो स्थानमा नहुन सक्थ्यो। सानो देखि जे महत्वपूर्ण छ भन्ने लाग्यो त्यसैलाई
प्राथमिकता दिइयो। पैसा महत्वपूर्ण छ भन्ने भएको भए पैसाकै पछि लाग्ने भइन्थ्यो।
पैसाको लागि आफुलाई जे पनि गर्ने गरेको छैन। बरू कतिपय अवस्थामा निःशुल्क
अभिमुखिकरण कार्यक्रमहरूमा गइ समाजिक/परोपकारी कार्य गर्न पाएकोमा गर्व गर्छिन्।
सन्तोषी सानै देखि जानेर वा
नजानेर आफैँ (सेल्फ
प्र्याक्टिस)
अभ्यास गर्ने गर्थि। बिहान कलेज जाने बेलामा ६ बजे सम्ममा दौड अभ्यास गरेर कोठामा
फर्किसकेकि हुन्थिन्। उनलाई कसैले तिमी दौडनुपर्छ भनेर अह्राएको वा सिकाइएको थिएन।
कतिपय दौड प्रतियोगिताको सूचना देखिएपछि बैनी दौडिन्छे भनेर दाजुले खोजि खोजि
स्कुलको सिफारिस लगेर नाम लेखाउथेँ दाजु केदार श्रेष्ठ। रंगकर्मी केदार श्रेष्ठ
बैनीको मेहनतको खुलेर प्रशंसा गर्छन्। अहिलेको यो स्थान बैनीको मेहनतले बनेको हो। कसैको
बाहुलीबाट प्राप्त होइन। राम्रा जुत्ताको अभाव र गुरु बिनाको दौड अभ्यासको असरले
गर्दा बैनीलाई आजभोली बेला बेलामा खुट्टा दुखाई हुने गरेको छ। कसरी दौडने? कति
दौडने? कस्तो जुत्ता लगाएर दौडने? कसैले सिकाएन। प्रतियोगितामा भाग लिनका लागि
निरन्तर दौडनुपर्छ भन्ने थियो र त्यो अभ्यास गर्न कहिले अल्छि मानिनन् सन्तोषीले।
एथ्लेटिक्सका कतिपय खेलाडी अवकाश भइसकेपछि वा खेलबाट सन्यास लिइसकेपछि चाहेर वा नचाहेर उहाँहरूले अवकाश जीवनमा गर्ने काम कोचिङ नै हो। मान्छेले जे जान्यो त्यही कुरा अरूलाई सिकाउने हो। कसैले व्यवसायको रुपमा सिकाउने गर्नुहुन्छ भने कतिपयले संयमसेवी रुपमा पनि आफ्नो ज्ञान नयाँ खेलाडीहरूलाई बाँडिराख्नुभएको छ। उदाहरणमा हुनुहुन्छ - गुरु रघुराज वन्त (नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष) र गुरु सुनिल राजवंशी। दैनिक गुजारा चलाउने उहाँहरूको छुट्टै पेसा अपनाउनुभएको छ। तर आफू युवा उमेरमा लागेको एथलेटिक्स प्रतिको माया स्वरुप नयाँ नयाँ खेलाडीहरूलाई प्रोत्साहन गर्न निशुल्क, निसर्त सल्लाह दिने देखि कतिपय अवस्थामा स्पोन्सरसँग भेटाइदिने जस्ता कदमहरू पनि उहाँहरूबाट भएको पाइन्छ। नेपालका कला, संस्कृति देखि खेलकुद क्षेत्रमा समेत राजनैतिक रंग लाग्न थालेको प्रति असन्तोष व्यक्त गर्नुहुन्छ गुरु सुनिल राजवंशी। राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी छनौट लगायतका काममा हुने घिनलाग्दो राजनीती धिक्कारयोग्य छ।
सन्तोषी जस्ता सेल्फ मोटिभेटेड खेलाडीलाई कुन प्रतियोगितामा भाग लिने कुनमा नलिने? धावकको दिनचर्या कस्तो छ? तालिम कति लिने/ कति नलिने? हेब्बि तालिमले खेलाडी घाइते हुनसक्ने सम्भावना पनि हुन्छ, खेलाडीको अवस्था हेरेर निर्णय गर्नुपर्ने हुन सक्छ। नेपालमा एथलेटिक्सका खेलाडिले म्यानेजर व्यवस्था गरेर हिँड्न सक्ने अवस्था छैन। त्यसैले गुरु सुनिल राजवंशी र गुरु रघुराज वन्त जस्ता मेन्टरहरू अविभावक, संरक्षकका रुपमा सन्तोषी लगायतका खेलाडीलाई निशुल्क सर-सल्लाह दिइ बाटो देखाउने गर्नुभएको छ। सम्पूर्ण नेपाली एथ्लेटिक्सका संघर्षशील खेलाडीका तर्फबाट गुरुहरूलाई नमन छ।
(प्रकाशित मितिः २०८२।०४।१३ गुरुपूर्णिमा)
(नोटः तस्वीरहरू ओलम्पियन सन्तोषी श्रेष्ठको फेसबुकबाट सापटी लिइएका हुन्)







