Showing posts with label आफैँसँग. Show all posts
Showing posts with label आफैँसँग. Show all posts

Friday, March 8, 2013

आमाको मुहार उज्यालो थियो



आफ्नो काम आफै गरौँ भन्ने भावना मनमा हुँदाहुँदै पनि व्यस्तता, अल्छिपन र आफ्नो निर्णय आफैँ पूरा गर्न नसक्ने निकम्मापनले गर्दा घरमा मैले लगाएको लुगा पनि आमाले नै फेरी धुन थाल्नुभएथ्यो । हुन त सानो छँदा आमा नै सबै गर्नुहुन्थ्यो तर पछि आफैले गर्ने सरसल्लाह भएथ्यो दाजुभाइमा, तर केही समय पछि पुरानै पारा भैहाल्यो । 


केही समय अघि देखि आमाका हातहरु दुख्न थालेका थिए । आमालाई अस्पताल जान, औषधि खान भनेपछि एकदमै गाह्रो लाग्ने । निकै च्यापेपछि मात्र अस्पताल जान राजी हुनुभयो । किर्तीपूर अस्पतालकी चिकित्सक डा. निजीना ताम्राकारले आमाको बिमार धेरै चोटि हेर्नुभएकोले म मात्र जाँदा पनि ‘आमालाई कस्तो छ ’ भनेर सोधिरहनुहुन्थ्यो । यसपल्ट आमा फेरी उहाँकै कक्षमा जानुपर्ने भयो । “आमालाई अब के भयो ? प्रेसरको औषधि त खाइराख्नु भा’छ हैन ?” आमाको जवाफ –“ खै के भयो–भयो ! दाइने हात ह्याँ देखि तल एकदम दुख्छ, देब्रे हात पनि यतिमा एकदम करकर खान्छ ” आमाका हातका नाडिलाइ दुवै हातले समाएर उहाँले प्रेस गर्नुभो । हातका दुखाइले आमा कराउन मात्र सक्नुभएन । त्यसपछि सोध्नुभो– “लुगा धुनेबेला बढी दुख्छ हो ?” “अँ हो” मलाई र्हेर्दै आमाको हातका नाडि देखाउँदै डा.ले भन्नुभो–‘आमालाई यो नशामा दुखेको हो, उहाँलाई सकेसम्म गह्रुँगो कुरा उचाल्न नदिने, अनि धेरै लुगा पनि धुन नदिने है । यो रोगलाई अहिले चटै ठीक गर्ने उपाय चाहिँ त छैन । यसको अन्तिम विकल्प यो नशामा सुई लगाउनु हो, तर यसबाट पनि कसैलाई एक वर्षलाई ठिक भएको छ भने कसैलाई महिना दिनमै फेरी दुखाइ बल्झेको पनि छ, यो सुई बारम्बार लगाउन पनि मिल्दैन त्यसैले अहिलेलाई आमालाई खाने औषधि दिन्छु अनि हातमा बाँध्नको लागि ब्याण्डेज पनि लेखिदिएको छु । यतिले कम भएन भने फेरी आउनु ।’ आमा तिर र्हेदै उहाँले आमालाई भन्नुभयो –“आमा अबदेखि धेरै लुगा नधुनुस्, छोराहरूको लुगा आ–आफैलाई नै धुन लगाउनुस्, गह्रुँगो पनि नउचाल्नुस्” तुरुन्तै आमाको जवाफ गैहाल्यो– “भनेर भयो र ! छोराहरूको राम्ररी बसेर खान त फूर्सद छैन काँ धुन भ्याउँछन् र ?” “अब देखि उनिहरूको लुगा छुँदै नछुने, यत्तिकै राख्ने । अनि आफैले नधोएर के गरोस् र ? ल अब देखि त्यसै गर्ने है त”– सरल ढंगले कति सहजै आमालाई यसरी व्यवहार गर्न जानेका डाक्टर्नीले पनि ! म पुलकित भएर आमा र डाक्टरको कुरा सुनिरहेछु । 

अस्पतालबाट बाहिर निस्कँदै आमाले मलाई भन्नु भो –“सुनिस् हैन डाक्टरले के भन्नु भो” । “अँ” म आफ्नो मुन्टो मात्र हल्लाउँछु । तर मनमा भने निर्णय लिइसकेको थिएँ ‘अबदेखि आमालाई लुगा धुन नदिने ।’


शनिबारको दिन लुगाधुने योजना आमालाई शुक्रबार नै भनेको थिएँ । भोलिपल्ट बिहान धुनुपर्ने कपडाको डंगुर देखाउनु भो । खाना खाएर आमा र म दुवै धारातिर लाग्यौँ । आमा साबुन लगाउन बस्नु भो , म तिनलाई मिच्न थालेँ । जाडोमा लगाइने लुगा पनि कति बाक्ला–बाक्ला हुन्छन् भने, ओहो मैलो पनि त्यतिकै आउने । लुगा मिच्दै , पानीमा चोबल्दै , निचर्दै लुगा धुने क्रम करिब चार घण्टा चल्यो । अघि खाएको भात सबै घटेको थियो । ढाडको रोगी म, मेरो ढाड फेरी दुख्न थालेको जस्तो महसुस हुन थाल्यो ।  कतिखेर सिद्धिएला र आराम गर्न पाइएला भन्ने छट्पटी पो हुन थाल्यो बा । पहिला–पहिला आफ्नो मात्र लुगा धुँदा यति थकान महसूस गरिन । तर आजको लुगाको डंगुर अनि लुगा धुन लागेको समय दुवै एकदम बढी थियो । यतिका वर्ष सम्म त आमा एक्लैले यो सबै लुगा कसरी धुँदै आउनुभएको थियो ? आज एकदिन कपडा धुँदा थकानले मेरो यो गति भो आमालाई कति गाह्रो हुन्थ्यो होला ? अझै आमा त ‘झ्यालको पर्दा, सिरकको खोल त अझै बाँकी नै छ अर्को पाली धोलास्’ भन्दै हुनुहुन्थ्यो । 

म भोक र थकाइले चुर भएको आमाले चाल पाइहाल्नुभो , लुगा सुकाइसकेर आमाले खाजा अघि सार्दिनु भो । त्यतिबेला आमाको अनुहार एकदम उज्यालो थियो । 

(पुनश्च:– लुगा धोएर साह्रै थाकेँ भनेर फेसबुकमा लेख्दा एक जना मित्रबाट यस्तो प्रतिक्रिया पाएँ–“अब विवाह गर्ने बेला भयो की वसन्त जी ?” त्यसको जवाफ म यहाँ लेख्दैछु – “के हामी आफ्ना लुगा धोइदिनको लागि कसैसँग विवाह गर्ने हो र मित्र ?” )

Sunday, January 31, 2010

गुलियोमा भुलियो


केही हप्ता अघिदेखि आमाले मलाइ कराइरहनुभएको थियो । आमाले त्यस दिन चेतावनी नै दिनुभएपछि मन नलाइ-नलाइ पनि म घरबाट बजार निस्केँ । आमाले भन्नुभाथ्यो–‘हेर याँ चिनी एकदम महंगो भयो, सय रुपैयाँ रे ! तँ काठमाडौं गएर चिनी ल्याइदे त । सकिन लाइसक्यो । यो हप्ता भित्र चिनी ल्याइनस् भने हेर्न ।’ मेरी आमालाई चियामा गुलियो अति चाहिन्छ । घरमा मैले पकाएको चिया पिएपछि आमा मलाइ ‘ कन्जुस यतिचा चिनी हाल्छस्, मिठै छैन ।’ भन्ने प्रतिक्रिया दिनुहुन्छ अनि आफै चिनी थपेर खानुहुन्छ । त्यसमा पनि जाडो महिना त बिहानै तिन कप सम्म चिया पिउनुहुन्छ । भान्छामा कुनै कुरा कति स्टक रहँदा आमाले कसरी हतार गराउनु हुन्छ ? त्यो बानी सँग म अभ्यस्त छु । त्यसैले आमाले चिनी ल्याउन भनेको केही हप्ता त त्यसै टारिरहेँ । अनि त्यसदिन चाहिँ ल्याइदिउँ न त भनेर म निस्केँ घरबाट ।

पहिला पहिला चिनी लिन प्राय जसो नेशनल ट्रेडिङमा जाने गर्थेँ । अन्त नपाइँदा त्यहाँ कम्तिमा दुइ किलो भए पनि पाइन्थ्यो । त्यसै दिनको बिहानमात्र एउटा पत्रिकामा पनि ‘नेशनल ट्रेडिङको गोदाममा चिनी ओसार्दै कामदारहरू’ भन्ने लेखेर तस्वीर नै छापेको थियो । यसो सोचेँ –‘ व्यापारीहरू मौका वित्तिकै कालो बजारी गर्न थालिहाल्छन् । याँको पसलेले चिनी किलोको सय रुपैयाँ लिएर के भो ? मैले त झन् होलसेल (नेशनल ट्रेडिङ) नै चिनेको छु त्यहाँ त पैँसाठ्ठी रुपैयाँमा नै दिहाल्छन् नि । ’ अनि सिधैँ हान्निएँ टेकूतिर । टेकू पुगेँ , सुनसान पो छ त । बाहिर सुचना टाँसिएको थियो चिनी छैन भनेर । त्यसलाइ वास्ता नगरि म सिधै भित्र छिरेँ । त्यहाँको कर्मचारीले “चिनी त यहाँबाट नदिएको झण्डै एक महिना भैसक्यो” पो भने त । म त छक्क परेँ ।

“अनि आज बिहान त पत्रिकामा तपाइँहरुको गोदाममा चिनी ओसारिराखेको फोटो छापेको छ नि त ?”

“त्यो त पुरानो फोटो छापेको होला ।”

त्यसपछि सोधेँ–“अनि कहिले देखि दिन्छ चिनी ?”

“पुस देखि सकिएको हो , सायद माघको दोस्रो हप्ता तिर पाइएला कि ।”

जे सोचेर गइयो, ठिक उल्टो भयो । अनि पत्रिकाहरु पनि कति झुठा हुँदा रहेछन् त बाइ । पुरानो फोटो नभनिकन त्यसै छापिदिन्छन् । ”



आमालाइ चिनी ल्याउँछु भनेरै आएको थिएँ , अब के गर्ने ? साल्ट ट्रेडिङ ले पनि पसल पसलमा चिनी दिएको छ क्यारे । अब टेकु देखि कालिमाटि सम्म बाटोमा हेर्दै जाऔँ , जहाँ साल्ट ट्रेडिङको अधिकृत बिक्रेता भनेको हुन्छ त्यहाँ एक दुइकिलो चिनी त कसो नपाइएला ? यस्तै सोचेर हेर्दै गएँ । कतै फेला परेनन् त साल्ट ट्रेडिङको बिक्रेताहरू । के भएको हो ? यो बाटोमा त पहिला पहिला ठूला ठूला ब्यानर नै झुण्ड्याएर राखिएको पसलहरू देखे जस्तो लाग्छ अहिले ती कहाँ हराए ? मनमा अब चाहिँ चिसो पस्यो । कतै आज खाली हात पो फर्कनु पर्ने हो कि ?

कालीमाटीमा पुगेपछि बल्ल एउटा साल्ट ट्रेडिङको अधिकृत बिक्रेता फेला पर्‍यो। ‘चिनी ल्याउनुहोस् न दुइ किलो’ मैले चिनी मागेँ । जवाफमा ‘चिनी सक्यो’ भन्ने पाएँ । अरु अधिकृत बिक्रेताहरू कहाँ होलान् त ? यसो गरौँ - साल्ट ट्रेडिङ नजिकै छ, त्यहाँ गएर चाहिँ दिन्छन् भने त्यहीँबाट चिनी लिउँ । नपाए अधिकृत बिक्रेताहरूको नाम माग्ने, अनि खोज्न जाने । एउटा न एउटामा त कसो नहोला ? साल्ट ट्रेडिङ पुगेर एक चक्कर घुमेँ जताततै नुनै नुनको खात मात्र छ । एउटा ढोकामा चिनीको गोदाम भनेर लेखिएको थियो तर त्यो बन्द थियो । रिसेप्सनमा गएर मैले अधिकृत बिक्रेताको नाम मागेँ । मलाइ दोस्रो तल्लामा जान भनियो । दोस्रो तल्लामा पुगेपछि उनिहरूले मेरो परिचय खोजे मैले पनि अलि जान्ने भएरै ‘म प्रशिक्षार्थी पत्रकार’ भनिदिएँ । ‘ अहिले बजारमा चिनीको अभाव देखिएको छ , तपाइँका डिलरहरू कहाँ–कहाँ छन् ? उनिहरूको नाम र ठाउँको कुनै सूची पाइन्छ की भनेर आएको । ’ लौजा मैले त त्यो नामावली नपाउने भएँ । एकजना हाकिम जस्ता देखिने कर्मचारीले सिधै मलाइ यसै भने –“हेर्नुस् भाइ , हाम्रो काठमाडौँ उपत्यकामा मात्रै पाँच सय भन्दा बढि डिलरहरू छन् । ति सबैको नाम हामीले दिन मिल्दैन । कुनै एउटा एरियामा भएका डिलरहरूको नाम सरर भन्दिन सक्छु त्यति हो । तपाइँलाइ सूची नै चाहिएको हो भने त्यो हामी दिन सक्दैनौ ।”

‘सर मैले त यहाँको डिलरबारे जानकारी सर्वसाधारणलाइ दिन सकेँ भने उनीहरूलाइ पनि चिनी लगायतका दैनिक उपभोग्य सामाग्रीहरू लिन सक्छन् की भनेर मात्र त्यो मागेको हुँ । यदि सूचीकृत छैन, दिन सक्नुहुन्न भने भैगो ।’

“हामीसँग नै चिनी नभएको नै एक महिना भैसक्यो । अनि ति पसलमा त के होलान् र ?”

“ त्यसो भए अहिले कतै पनि चिनी नभएकै हो त ?”

–“हामीले चाहिँ पाएका छैनौ तर बजारमा हुँदै नभएको भने होइन । बजारमा व्यापारीहरूले नेपालकै ठूला चिनी उद्योगहरूबाट सिधै ल्याइरहेका पनि छन् । बजारमा त पुग्दो छ ।”

“अनि किन त चिनीको भाउ चाहिँ यति साह्रो महंगो भएको त ?”

उनको जवाफ यस्तो थियो –“खासमा सरकारले चिनी किनेर हामीलाइ नै बेच्न दिने भनेको हो तर किन हो सरकारले हामीलाइ दिन सकेको छैन । हेर्नुस् भाइ, नेपालमा आयो नूनको एक मात्र आधिकारिक बिक्रेता भनेका हामी हौँ । त्यसैले हामीले यो नूनको मूल्य देश भरि एउटै कायम गर्न सकेका हौँ । चिनीको पनि त्यस्तै हुनेहो भने त भैहाल्यो नि ।” उनी धाराप्रवाह बोलिरहेका थिए । म भने शान्त भइ सुनिरहेको थिएँ । “फेरी चिनी नूनको जस्तो निश्चित प्याकेटमा बेचिने चिज पनि होइन । यो त खुल्ला बेचिन्छ । यदि यसको पनि बिक्रीको सम्र्पूण जिम्मा कुनै एउटै कम्पनिलाइ दिने हो भने भाउ नियन्त्रण भैहाल्छ नि । त्यसमाथि पनि अहिले हामीले आफ्नै डिलरहरूलाइ त चिनी दिन सकेका छैनौ । उनिहरूले चिनी बेचिरहेका भए पनि अन्तै बाट ल्याएर बेचेका हुन्छन् । हामीले चिनी दिँदा उनान्साठ्ठी रुपैयाँ पचास पैसामा दिन्थ्यौँ र एकसाठ्ठी रुपैँयामा उनीहरूले बेच्नु पथ्र्यो । तर अहिले हामीले नदिएको चिनी किन यति रुपैँयाँमा बेचेको भनेर सोध्ने कुरा पनि आएन ।
अब पो बिस्तारै कुरा प्रस्ट हुँदै आयो , नेपालका चिनी उद्योगहरूले सरकारलाइ चिनी नदिएको रहेछ । अनि व्यापारीले पनि मनलाग्दो पैसा लिएको रहेछ । सरकारीकरणको विपरित निजीकरणले ल्याउने समस्या यस्तै त हो नि होइन र ? व्यापारीको यस्तो मनोमानी रोक्ने कुनै निकाय नै छैन त ? “ छ नि वाणिज्य विभागले बजार अनुगमन त गरिरहेकै छ तर त्यो पर्याप्त चाहिँ छैन । ”


सबै कुरा त बुझियो तर पनि आफूले चिनी पाउने कहाँ हो ? त्यसैले कालिमाटी देखि किर्तीपूरसम्मका साल्ट ट्रेडिङका सबै अधिकृत बिक्रेताहरूको नाम सोधेँ । ति नाम लिएर बाट–बाटै हेर्दै आएँ । अघि चिनी सक्यो भनेको पसलमै गएँ । लौ चिनी जोख्दै बेचिरहेका पो छन् त । ‘साहुजी, मलाइ दुइकिलो चिनी दिनुहोस् न ।’ ‘दुइकिलो छैन ,एक किलो मात्र ’ उनले चिनी दिए र असि रुपैयाँ मागे । चिनी किन महँगो भनेर साल्ट ट्रेडिङबाटै जवाफ पाइसकेकोले खुरुक्क पैसा दिएँ र चिनी लिएँ । अब केहि समयलाइ त ढुक्क भइयो भन्ने सोच्दै चिनी लिएर घर फर्केँ ।

Saturday, July 25, 2009

त्यो भाडाको साइकल


बुबा मलाई देखाउँदै भन्नुहुन्थ्यो – ′ एल्लाइ साइकल चढ्न कत्रो रहर ? हाम्लाई याँ साइकल चलाउनै नपरे हुन्थ्यो भन्ने लाग्छ । ′ तिनताक म बुबाको साइकल लिएर काठमाडौँ चक्रपथ नाप्ने गर्थेँ । मलाई भने अचम्म लाग्थ्यो - ′ साइकल चढ्न पनि दिक्क लाग्छ र कहीँ ? ′ तर अचेल कहिलेकाहीँ बिहान चार बजे देखि बेलुकी आठ बजे सम्म लगातार साइकल चलाएर लखतरान भइ घर पुग्दा मलाई पनि त्यस्तै लाग्न थालेको छ ।

यहाँ म आफ्नो साइकल चढ्नुपर्दाको दिक्दारीको कुरा गर्न गइरहेको छैन । म त बाल्यकालको साइकल रहर पो बताइरहेको छु । त्यतिबेला म ७,८ वर्षको थिएँ । त्यसबेला गुच्चा, चुंगि, अनि साथिहरूसँग चप्पल फुकालेर नाप्दै उफ्रने खेल, टायर गुडाउने खेल खेलिन्थ्यो । पैसा हुनेहरू भने साइकल चलाउँथे भाडाको । हामी बसेको ठाउँ भन्दा अलि माथि स -साना साइकलहरू भाडामा दिइन्थ्यो । साइकल अवस्था हेरी भाडा फरक–फरक थियो । त्यहाँ ब्रेक, घण्टी केही पनि नभएको साइकल समेत थियो । ब्रेक नभएको साइकल एक रुपैयाँमा पौने एक घण्टा चलाउन पाइन्थ्यो भने ब्रेक भएकोलाइ तिन रुपैयाँ तिर्नुपर्थ्यो।

एक दिन मैले बाटोमा एक रुपैयाँ भेट्टाएँ, त्यसपछि म पनि अरु साथिभन्दा स्ट्याण्डर्ड हुन साइकल लिन गएँ भाडामा । त्यस दिन राम्ररी घाम लागेको थिएन । आकाशमा बादल लागिरहेको थियो । पानी परीहालेको पनि थिएन । साइकल लगुँ की नलगुँ केही बेर दुविधा भयो । तर बल्ल तल्ल एक रुपैयाँ हात लागेको छ , यही मौका हो साइकल चढ्ने भनेर साइकल लिएँ । त्यहाँ न घण्टी थियो न त दुबै पाङ्ग्राको ब्रेक नै । सानो साइकल अनि सानो म । भुइँमा छुने हुँदा खुट्टाले नै ब्रेकको काम गर्थ्यो । साइकल लिएर चलाउन थालेको केही समय मात्र भएको थियो , पानी पर्न थालिहाल्यो । अब के गर्ने ? पैसा दिएर साइकल ल्याइ नै सकेँ समय नसिद्धिँदै फिर्ता लगेर आफ्नो पैसा फिर्ता पाइने होइन । चलाउन भनेर ल्याएको साइकल कतै थन्क्याउने कुरा पनि त भएन । अरु सबै साथीहरू गइसकेका थिए म भने यस्तै सोचेर पानी मै साइकल चलाइरहेँ । स्पीड बढि भएछ की के हो साइकल मोड्न लाग्दा बेस्सरी पछारीन पुगेँ । साइकल एकातिर ढल्यो म बाटोमा घिस्रिन पुगेँ । त्यसपछि त केही नसोचि तुरुन्तै साइकल फिर्ता गर्न गएँ र कोठामा लागेँ । कोठामा जाँदा जाँदै टाउको पनि भाउन्न भए जस्तो भयो । कोठा पुगेपछि पो देखियो लुगा पुरै पानी र हिलोले भिजेको । जिउको एकापट्टिको भाग पुरै खुट्टा देखि हात अनि अनुहारको गालासम्म नै पिलपिल रगत पो आइरहेको रहेछ । साइकलबाट लड्दा घिस्रिएर गएकोले पाइन्ट पनि च्यातिएको थियो । तर मलाई त्यसबेला लडेर भएको पिडा भन्दा पनि बल्ल तल्ल भेट्टाएको पैसाले पनि पुरै समय साइकल चलाउन नपाएको पिडा ठूलो थियो । आमा बुबा र दाइहरु क–कसले के के भने मलाइ याद छैन । तर त्यो घटना पछाडि भाडामा साइकल खेल्ने काम पुरै बन्द भयो ।

अचेल स–साना भाइ बैनीहरू साना साइकल वरीपरि झुम्दै खेलिरहेको देख्दा मलाई पानीमा रुज्दै साइकल चलाएको त्यो क्षण याद आइहाल्छ ।

Friday, March 20, 2009

चुनाव स्थगित भएपछि ....

'ओहो ६ बजिसकेछ , आज त स्ववियू चूनाव । झन् पो ढिलो उठिएछ । तै पनि ठिकै छ सात बजे मात्र चुनाव सुरु हुने त हो नि । ' मनमा यस्तै हतारो लिएर क्याम्पसतिर हान्निएको थिएँ म । खसिबजार पुगेपछि एक जना परिचित दाईलाई भेटेँ । कहाँ जाँदैछौ भनेर सोध्नुभएपछि ' आज हाम्रो क्याम्पसमा त चुनाव छ नि स्ववियूको ! भोट खसाल्न हिँडेको हो म त ! ' भनिहालेँ । उहाँले “लौ तिम्लाई थाहा छैन चूनाव स्थगित भयो त तिम्रो क्याम्पसमा। सबै बन्द छ नगए हुन्छ त्यतातिर ” भन्नुभयो । त्यसपछि म त छक्क परेँ । किन स्थगित भयो त आर.आर.मा चूनाव ? ल क्याम्पसमा त हिजो विद्यार्थीहरूबीच झडप भएको थियो तर हाम्रोमा त त्यस्तो कुरा पनि त भएको थिएन । हिजो राति निर्वाचन कार्यालयमा आगलागि भए पनि “चुनावी कागजात सुरक्षित छ त्यसैले भोली चुनाव हुन्छ, भोली ढुक्कसँग भोट खसाल्न आउनुहोस ” भनेर त हाम्रै अगाडि क्याम्पस प्रमूखले भनेका थिए नि । तै पनि अचानक यो किन रोकियो ? मोडल अस्पताल अगाडि केही एमाले निकट अनेरास्ववियुका साथिहरू एकले अर्कोलाई सम्झाउँदै थिए –' त्यता (क्याम्पस तिर देखाउँदै) नजाउँ है साथि खतरा छ ।' हँ के को खतरा ? कस्तो खतरा ? मेरो मनमा भने प्रश्न उठ्यो। तर ती साथि त केही नसोधि फरक्कै फर्की पो हाले त ।

म भने मनमा अनेक प्रश्न खेलाउँदै क्याम्पस अगाडि पुगेँ । म भन्दा अघि नै थुप्रै साथिहरू आइरहेका थिए । अखिल क्रान्तिकारीका उमेद्वारहरू पनि उपस्थित थिए त्यहाँ । सबै भन्दा पहिले सूचना नै पढौँ न भनि यसो क्याम्पस गेटमा हेरेँ ।
क्याम्पस प्रमूख गोपालचन्द्र पोखरेलले शान्तिपूर्ण र भयमुक्त वातावरणमा चुनाव सम्पन्न हुने स्थिति नदेखिएकोले पठनपाठन र चूनाव राम्रो वातावरण नबनेसम्मको लागि स्थगित गरिएको सूचना जारी गरेका रहेछन् । हिजो दिउँसोसम्म सामान्य नै थियो क्याम्पसको वातावरण तर राती क्याम्पस प्रमूखले एकतर्फी रुपमा यो सूचना जारी गरे । नजिकै ल क्याम्पसको पनि गेटमा सूचना पढियो । त्यहाँ निर्वाचन अधिकृत र क्याम्पस प्रमूखबीच भएको छलफल पछि चूनाव स्थगित गरीएको भनी दुवैको हस्ताक्षर सहित सूचना टाँसिएको थियो । त्यो क्याम्पसमा त स्थिति तनावपूर्ण नै थियो रे हिजो ।


यता अखिल क्रान्तिकारी निकट विद्यार्थीहरूले यो चुनाव भाँड्ने षडयन्त्र भएको छ भने । यो षडयन्त्रमा क्याम्पस प्रमूख आफैँ संलग्न भएको आरोप पनि लगाए उनिहरूले । उनीहरू भन्दै थिए “ अखिल क्रान्तिकारीले चुनाव जित्ने निश्चित भएपछि अघिल्लो रात १२ बजे क्याम्पसमा आगो लगाए । सो आगलागीका बाबजुद पनि चुनाव हुने भएपछि एमाले अखिल आत्तिए । अनि क्याम्पस प्रमुखलाई नै प्रयोग गरे उनीहरुले । यो क्याम्पस प्रमुख एमालेले नियुक्त गरेको मान्छे हो । यसले पनि हाम्रो विजय भएको देख्न चाहँदैन । त्यसैले विनाकारण आज चुनाव स्थगित गरेको हो । अघिल्लो रात नै पनि बाहिरबाट गेट बन्द हुन्छ तर रातको १२ बजे क्याम्पसको अन्य कोठामा होइन, निर्वाचन कार्यालयबाट आगो लाग्छ ।
यहाँ क्याम्पस प्रशासनकै मिलेमतो छ। ” भोट खसाल्न भनी आएका विद्यार्थीहरु एकाएक भएको चुनाव स्थगनपछि अखिल क्रान्तिकारीको कोणसभाका दर्शक बन्न पुगे । अनि त्यहाँबाट नारा गुन्जिन थाल्यो – ' नालायक क्याम्पस प्रमुख राजिनामा दे ।' अखिल क्रान्तिकारी आर.आर.का अध्यक्ष के.पि. खनालले सोही सभामा उम्मेद्वारी मनोनयन दर्तासँगै पुरानो स्ववियु खारेज भएकोले अब चुनाव स्थगित भएको बेलामा त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने कुरा बताइरहेका थिए । उनी भन्दैथिए–“ अब हामी स्ववियु कब्जा गर्नेछौं । हामी कहिल्यै नहार्ने चुनावमा सामेल भएका छौं । हाम्रो विजय भएको छ । ” त्यसपछि आएका सबै विद्यार्थीहरु त्यही ' विजय ' जुलुसमा जान तम्तयार भए ।म भने वरिपरि हेर्दै थिएँ । त्यहाँ केही प्राध्यापकहरु पनि छेउमा उभिएर के भएको यो ? भन्दै चिन्तित र आश्चार्य मुद्रा बनाएर गफिरहेका थिए । त्यसपछि म जुलुससँगै राष्ट्रिय सभागृह अगाडी पुगेर केही तस्वीर लिएपछि क्याम्पसतिरै फर्कन लाग्दै थिएँ । प्रहरीले रोके, ' चुनाव नै स्थगित भैसक्यो, तपाईहरु किन फेरि आइराख्नु भएको छ , यार ? ' झिन्झ्याट लाग्दो भाषामा उनीहरुले क्याम्पस जान लागेका विद्यार्थीहरुलाई यसो भन्दै फर्काए । त्यसपछि आज भोट खसाल्ने उत्साहले बिहानैक्याम्पस आएको म, त्यसै फकिएँ ।घर आउँदै गर्दा बाटैमा पर्छ विश्वविद्यालय क्याम्पस किर्तिपुर । आफ्नो क्याम्पसमा चुनाव देख्न नपाएपनि कस्तो रहेछ त यहाँको रौनक, मन हौसियो । त्यसपछि बिचबाटै चुनाव भएको ठाउँतिर दोरिएँ । त्यहाँ सोचे जस्तै रौनकता थियो, विद्यार्थीको लामो लाइन अनि आफ्नो प्रतिनिधि चुन्न आतुर ती मनहरु, अघिल्तिर अन्तिम चुनाव प्रचार गर्ने प्रयासमा विद्यार्थी उम्मेदवारहरु, अनि सुरक्षा चेकजाँच गरिरेहका सुरक्षाकर्मीहरु ।
टि.यु.मा दुइवटा बुथमा दुई दुई लागेर उभीएका विद्यार्थीहरुलाई हेरें । दुवैतिर उत्तिकै लामो लाइन थियो । यो उत्साह र रमाइलो हेरेरै भएपनि आफुले भोट खसाल्ने तिर्सना मेटिरहेको थिएँ म ।

दिउँसो नयाँ नेपाल प्रेसमा आफ्ना साथीहरुलाई चुनावी अनुभव बताउँदै थिएँ । त्यही बेलामा भित्रबाटै अपरिचित स्वर सुनियो, 'के भन्दैछौ भाइ ? वरिपरि हेर्नु पर्दैन ? निर्वाचन अधिकृत त यहीँ छन् । तिमीले केही बताउनै पर्दैन । सब थाहा छ हामीलाई ।' उनको कुरा सुनेर यस्सो बाहिर हेरेँ । एक जना अधबैँसे उमेरका मानिस प्रेसबाट भर्खर छापिएको पत्रिका पढ्दै थिए । तैपनि मैले आफ्नो कुरा सुनाउन जारी राखेँ, “हेर्नूस्, ल क्याम्पसमा त भीडन्त भएकोले निर्वाचन अधिकृत र क्याम्पस प्रमुख दुवैको सल्लाह र सहमतिमा संयुक्त सूचना निकालेर चुनाव स्थगित गरे । तर हाम्रो क्याम्पसमा त क्याम्पस प्रमुखको एक्लो निर्णयले स्थगित भयो चुनाव । त्यो पनि मिति नै फागुन ५ लेखिएको छ, तर हिजो त चैत्र ५ पो हो ।” मेरो कुरा जारी रहँदा कतिखेर ती अधबैँसे व्यक्ति नजिक आइपुगेछन् पत्तै भएन । उनले ' तिमी आर आरको विद्यार्थी हौ ? ' भनी सोधे । ' हो, बि.ए. दोश्रो वर्षमा पढिरहेछु । ' उनले भने “ त्यहाँ त एमाले अखिलले हार्ला भनेर नै चुनाव स्थगित गरिएको हो । हिजो आगलागी भएको निहूँ बनाउन खोजेका थिए क्याम्पस प्रमुखले । तर क्याम्पस प्रमुखलाई नै थाहा रहेनछ कि दिउँसो उसको घर्रामा रहेका निर्वाचनका कागजातहरू राति अन्तै राखिँदा रहेछन् । त्यसैले दराजचाहिँ जल्यो तर सबै कागजात बचेछन् । अनि आज चुनावको निम्ति सबै तयारी सिद्धिसकेको थियो । तर हिजो बेलुका क्याम्पस प्रमुखले चुनाव नगर्ने नै रट लगाइरहे भन्या ।” यति सुनिसकेपछि ' तपाईँ आर आरमै कार्यरत हो सर ? ' मैले प्रश्न गरेँ । तर उनी त अक्मकाउन पो थाले । उनले हो पनि भनेनन्, होइन पनि भनेनन् । “अब चुनाव अनिश्चित हुने भयो आर आरमा” यसो भन्दै उनी अपरिचित दाजुसँग हिँडे प्रेसबाट । ला! मैले त्यसरी ठाडै प्रश्न गर्न नहुने पो थियो कि ? उनी त हिँडि पो हाले त । यदि साँच्चै निर्वाचनमा खटिएका थिए भने त उनलाई भित्री कुरा थाहा हुन्छ । आफूले सोधेको एउटै प्रश्नले थकथकी लागिरह्यो मलाई ।

नारावाजी

Sunday, January 4, 2009

एक्लो म

म स्कुल पढ्दा सोच्ने गर्थेँ ' क्याम्पस भनेको स्कुल भन्दा धेरै ठूलो हुन्छ। त्यहाँ,यहाँभन्दा घेरै मिल्ने साथीहरु हुनेछन्। उनिहरुसँग मेरो सम्बन्ध राम्रो हुनेछ। म उनीहरूसँग खुलेर कुरा गर्न सक्नेछु । आफूले जानेको सिकाउनेछु र नजानेको सिक्नेछु। 'तर आज आएर त्यो सोचाइ गलत पाएको छु।

म आर.आर.मा पढ्दै छु। क्याम्पसमा पढ्न थाले देखि नै झन बढि एक्लो महसुस गर्न पुगेको छु। त्यहाँ ७५ जिल्लाका विद्यार्थीहरू पढ्छन्। प्रत्येक दिन नयाँ साथीहरू सँग हात मिलाई परिचय गरिन्छ , भोलिपल्ट विर्सिइन्छ। कतिपय एउटै जिल्ला र एउटै स्कूलदेखि धेरै साथीहरू आएका हुन्छन् उनीहरूको बेग्लै जमात हुन्छ। अझ कतिपयले त जिल्ला बासीको पुनर्मिलन स्थान नै क्याम्पसलाई बनाएको जस्तो भान पो पर्छ। म सबै जिल्लाका विद्यार्थीलाई साथी बनाउन खोज्ने तर साथीहरू सुरुमै जिल्ला सोधेर क्षेत्रीय पर्खाल लगाउन थालिहाल्ने। बेग्ला बेग्लै जिल्लाको छुट्टाछुट्टै झुण्ड। म परेँ आधा मकवानपुरे आधा काठमाडौँले, म कता जाने आफ्नो झुण्ड खोज्न ? काठमाडौंको झुण्डमा गए तिमी बाहिरका जस्ता छौ भन्ने। मकवानपुरको झुण्डमा गए तिमी त जिल्लाबासी होइन जस्ता छौ भन्ने। कुरा के भने मेरो जन्म मकवानपुर जिल्लामा भए पनि पढाइ भने सुरुवात देखि नै काठमाडौंकै। म आफ्नो जिल्ला सदरमुकाम अहिले सम्म नगएको मान्छे त्यसमाथि कक्षाका सबै लाई साथी बनाउन खोज्ने तर मेरो नजिक कोहि आउन नचाहने।

स्कुल पढ्दा सिमित साथी हुन्थे। आफुले नजानेको साथीलाई सोध्ने , साथीले नजानेको आफुले बताउने गरिन्थ्यो। क्यामपसमा कहिलेकाहीँ कक्षामा उपस्थित हुन सकिएन भने बर्बाद। एउटा साथीलाई 'गुरुले त्यसदिन के पढाउनुभयो? कुनै नोट छ?' भनेर नोट माग्दा 'खै म पनि आएको थिइन हिजो' भन्ने। अनि अर्कोलाई सोध्दा 'ला मेरो कपि त अर्को साथीले लगिरहेको छ, नत्र त तपाईंलाई नै दिन्थेँ म ' भन्ने। त्यसपछि अमिलो मन लिएर एक्लै टोलाउने। न मेरो कोही शत्रु छन् नत मिल्ने मित्र नै। साह्रै एक्लो पो भइयो त हो अहिले त।