Showing posts with label समाचार कुनो. Show all posts
Showing posts with label समाचार कुनो. Show all posts

Wednesday, September 9, 2009

महिलाका लागि छुट्टै बस

किर्तिपुर–रत्नपार्क चल्ने हाइस (माइक्रोबस)ले महिलाका लागि मात्र छुट्टै बसको व्यवस्था गरेको छ । व्यावसायी संघले हाल परिक्षणको रुपमा बिहान ९ देखि ११ र साँझ ४ देखि ७ बजेसम्मका लागि बस संचालन गरेको जनाएको छ ।







Wednesday, May 20, 2009

बलामी भेला सम्पन्न


देशका विभिन्न भागमा छरिएर रहेका बलामी जातिको अधिराज्यव्यापी भेला सम्पन्न भएको छ । गत शनिवार आयोजित उक्त भेलामा नुवाकोटको कागती गाउँ, मकवानपुरको चित्लाङ, खड्बु, काठमाडौंको बालाजु, रामकोट, फर्पिङ लगायत विभिन्न स्थानबाट आएका बलामीहरुको उल्लेख्य उपस्थिति थियो । सोही भेलाले मोहन बहादुर बलामीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ ।


नेवार जातिभित्र आफ्नो छुट्टै भाषा, संस्कृति भएर पनि पछाडि परेको एउटा समुदायको हो बलामी समुदाय । यसपल्ट विभिन्न स्थानमा छरिएर रहेका बलामी समुदायलाई एक गराउने काम नेपाल बलामी समाजले गरेको छ । समाजले आपसी सम्बन्ध मजबुत बनाउन, आफ्नो मौलिक संस्कृतिको पहिचान गरी जगेर्ना गर्न, समाजिक विकृति र अन्धविश्वास हटाउन, आफ्नो हकहितको संरक्षण गर्न यो भेला आयोजना गरेको बताएको छ ।

Monday, April 20, 2009

आयो 'नागरिक'


बहुप्रतिक्षित 'नागरिक' दैनिकको प्रथम नमूना अंक आज नेपाली बजारमा आएको छ भने नियमित रुपमा चाहिँ वैशाख ११ गते, लोकतन्त्र दिवसको दिनदेखि आउने भएको छ । यो पत्रिका महँगा पत्रकारहरुको दरिलो समूहको रुपमा प्रचारित नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित भएको हो । नेपाली दैनिक नागरिकका साथै अंग्रेजी दैनिक Republica को नमुना अंक पनि आजै प्रकाशित भएको छ । धेरैतिरका नाम चलेका पत्रकारहरुलाई जम्मा पारिएकोले यो पत्रिकाले नेपाली पत्रकारिता जगतमा राम्रै तहल्का मच्चाउने आशा गरिएको छ ।

Tuesday, April 7, 2009

‘अन्नपूर्णपोष्टः गजब छ’

केही समयदेखि अन्नपूर्णपोष्ट पत्रिकाले ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्दै आफ्नो विज्ञापन तिव्र बनाइरहेकैबेला त्यही पत्रिकाको विज्ञापनमा अर्को ‘गजब’ कुरा देख्न पाइएको छ । अन्नपूर्णपोष्टको गजब छ भन्ने विज्ञापनमै झन्डै एक चौथाइ जति भागमा ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं’ भनेर लेखिएको देखियो । कसले किन र केका लागि बहिष्कार ?




जुनबेला भर्खर–भर्खर यो पत्रिका प्रकाशन शुरुवात भएको थियो, त्यतिखेर पनि अरु प्रतिस्पर्धी यो पत्रिका बहिष्कार गर्न पाठकहरुलाई प्रेरित गरिरहेका थिए । त्यसमाथि मिडियामा विदेशीको लागानी भनेर पनि ठाडै विरोध भएको थियो यसको । यी त पुराना कुरा भए । तर अहिलेको यो बहिष्कार किन त ? (हेर्नुहोस् तस्वीर)

यसपल्ट अन्नपूर्णपोष्टको प्रकाशन संस्था आप्का हाउसमा मजदुर आन्दोलन सुरु भएको रहेछ र उनीहरुको आन्दोलनको पहिलो स्वरुप नै ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं, नबेचौ, नकिनौं र नपढौं’ भन्दै प्रचार गर्नु रहेछ । पहिला पनि धेरै पटक आप्कामा मजदुर आन्दोलन भएका थिए ।

‘वार्ता गरी सहमती गरेर आन्दोलन तुहाउने, तर कहिल्यै सहमती पालना नगर्ने भएकोले फेरि आन्दोलन गर्नुपरेको’ बताउँछन् त्यहाँका मजदुर आन्दोलनका सहभागी मजदुरहरू । मजदुर युनियनमा सक्रिय भई लागेकैले कर्मचारी माथि विना कुनै कारण निलम्बन गरेको बताउँछन् उनीहरू । पछिल्लो पटक वितरण विभागका बलराम श्रेष्ठ र हरि आचार्य यसगरी निलम्बनमा परे ।

‘आफै कार्यरत पत्रिका बहिष्कार भएमा तपाईहरुको रोजगारी त छुट्ने नै भयो नि हैन?’ भन्ने प्रश्नको जवाफमा दुर्गा नामका एक मजदुर ले भने ‘हेर्नुस, हामीले यहाँ परिश्रम अनुसारको सेवा सुविधा पाएका छैनौं, हामीमाथि शोषण भएको छ । शोषित हुनुभन्दा त बरु बन्दै होस् ।’ कि गर्ने त बहिष्कार अन्नपूर्णलाई ? फ्लेक्समा कारणहरु छनः
१.यो राष्ट्रियता विरोधी छ ।
२.यो मजदुरमारा र उत्पीडक छ ।
३.यो गैर कानुनी ढंगले संचालित छ ।
४.यो मजदुरको आँशु र रगतले लतपतिएको छ ।

यी कारणहरुको प्रमाण दिँदै ती मजदुरहरु भन्छन् ‘ नेपालको कानुन अनुसार संचारमा विदेशी लगानी गर्न पाइन्न तर यो विदेशी लगानीको पत्रिका हो, यहाँको कार्यकारी अधिकृत नै भारतीय नागरिक हुन् । श्रम अदालतले हामी मजदुरको पक्षमा निर्णय गरी संगठन खोल्न पाउँछ भन्छ तर यो प्रशासन विभिन्न बहाना बनाउँदै हामीलाई यो अधिकार दिन चाहँदैन अनि अर्को कुरा यो पत्रिकाले गौतम बुद्ध भारतमा जन्मेको भनेर लेखेको थियो’ उनले पत्रिकाको मिती दिए November 21, 2003 ।

आफ्नो आन्दोलनको स्वरुपबारे बयान गर्दै उनीहरु भन्दैथिएँ ‘पहिले पहिले पत्रिका बाँड्ने साथीहरुले आन्दोलन गर्दा काम बहिष्कार गर्ने गरिएको थियो । जसले गर्दा पाठकले पत्रिका समयमा पढ्न पाउँदैनथे । अनि मजदुरले प्रेस स्वतन्त्रता हनन गर्‍यो भनेर आप्काले प्रचार गर्ने गरेकोले यसपल्ट चाहिँ आफ्नो कामलाई जारी नै राखेर पनि आन्दोलन गर्न सकिन्छ भनेर बहिष्कारको प्रचार गरेका हौं । यो सबैभन्दा शिष्ट आन्दोलन हो । तर यो तरिकाले पनि उनीहरु सहमति पालना गर्दैनन् भने हामी अनसन बस्छौं, आमरण अनसन ।’




आप्का हाउसमा मजदुर र प्रशासनबीच दुरी बढ्दै गएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा जो अन्नपूर्णपोष्टसँग सम्बद्ध पनि छन्, उनले मध्यस्तकर्ता बनी वार्ताको पहल गरिरहेकाछन् तर सम्झौता हुन सकेको छैन । आन्दोलन र वार्ताबारे जिज्ञासा राख्दा उनले ‘यो आन्तरिक कुरा हो’ भनेर पन्छिन खोजे पनि ‘आन्दोलनको अधिकार सबैमा हुन्छ तर उहाँहरुले यसो नगरी अरु नै तरिका अपनाउनुभएको भए राम्रो हुन्थ्यो ।’ भने ।

तर ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्ने विज्ञापनमै ‘अन्नपूर्णपोष्टः बहिष्कार गरौं भन्ने सुचना देखेर चाहिँ सर्वसाधारण निकै गजब मानिरहेकाछन् ।

Tuesday, March 24, 2009

छुट्टिए युवराज घिमिरे नागरीकबाट

वरिष्ठ पत्रकार युवराज घिमिरे अन्ततः रिपब्लिका पब्लिकेसनबाट अलग्गिएका छन्। कान्तिपूर दैनिकबाट विनोद ज्ञवाली समूह अलग भएपछि पत्रकारको तानातान र लगानीकर्ताहरू बीचका कहिले जोडिने कहिले फूट्ने क्रम जारी रहेकै अवस्थामा उनी छिट्टै प्रकाशन हुन लागेको नागरिक दैनिक बाट अलग भएका हुन्।

पत्रकार घिमिरे कान्तिपूर राष्ट्रिय दैनिकका पूर्व सम्पादक पनि हुन्। यस अघि समय साप्ताहिक का सम्पादक रहेका उनले आफ्नै लगानीमा newsfront साप्ताहिक पनि प्रकाशन गर्दै आएका थिए। कान्तिपूरका लगानीकर्ताहरू कैलाश सिरोहिया र विनोद ज्ञवालीहरू बीच मतभेद भएपछि ज्ञवाली समूह त्यसबाट अलग भए लगतै उनले अर्को राष्ट्रिय दैनिक पत्रिका निकाल्ने घोषणा गरिसकेका थिए। विनोद ज्ञवाली सँगै कान्तिपुर बाट तत्कालिन सम्पादक नारायण वाग्ले पनि आएका थिए। तर पत्रकार नारायण वाग्ले र विनोद ज्ञवाली समूह बीच पनि प्रकाशनको सेयरमा कुरा नमिले पछि वाग्लेले हरि श्रेष्ठ सँग मिली धुम्बाराही प्रकाशन खोले, जसले नेपालीमा दैनिकी र अंग्रेजीमा republica निकाल्ने तयारी गरे। यता ज्ञवाली समूहले भने समय साप्ताहिकको पत्रकारको सम्पूर्ण समूहलाई लिइ नागरिक दैनिक र यसअघि नै प्रकाशन भैरहेको newsfront साप्ताहिकलाई अंग्रेजी दैनिक बनाइ निकाल्ने घोषणा गरे। यस पछि सुरु भयो पत्रकार तानातानको खेल। खास गरी दुवै प्रकाशनले आफ्नो पहिलो तारो बनाए कान्तिपुर दैनिकलाई। त्यहाँका पत्रकारलाई धेरै सूविधा देखाउँदै दुवै प्रकाशनले आफूतिर तान्न कोशिस गरे र दुवैमा नाम चलेका पत्रकारहरू बढ्न पुगे।

यसरी नेपाली पाठकले चारवटा नयाँ राष्ट्रिय दैनिक आउने हल्ला बजारमा पाइएको थियो तर नाटकीय रुपमा करिब दुई साता अगाडि यी दुवै प्रकाशनका लगानीकर्ताहरू बीच एकिकरण भयो। यो एकिकरणले गर्दा पत्रकारिता क्षेत्रमा एउटा तरङ्ग नै फैलियो। अहिले सम्मकै बलियो टिमको रुपमा देखियो यो प्रकाशन अर्थात् रिपब्लिक पब्लिकेसन। तर कुरा यतिमा सिमित भएन। पत्रकार युवराज घिमिरे पुनः छुट्टिए यो समूहबाट। आफूलाई कुनै जानकारी नदिई दुई प्रकाशन एक भएकोले तथा आफैले प्रकाशित गरिरहेको newsfront पत्रिका पनि त्यहाँबाट प्रकाशन नहुने भएपछि उनी त्यहाँ बाट अलग भएका हून। विश्वस्त श्रोतका अनुसार त्यहाँ भित्र पत्रकार नारायण वाग्ले र युवराज घिमिरे बीच वरिष्ठता र वरियता क्रममा विवाद भएकोले पनि उनी त्यसबाट अलग्गिएका हुन्। अब पत्रकार घिमिरे आफ्नो पत्रिका newsfront साप्ताहिक प्रकाशन गर्न नयाँ लगानीकर्ताको खोजीमा रहेको र छिट्टै नै त्यसलाई निरन्तरता दिने सोचमा रहेको बताइन्छ।

Wednesday, February 11, 2009

आखिर के छ त्यो पर्खालभित्र ?



जे कुरा लुकाइन्छ, त्यो के हो ? सबैको चासो पनि बढ्छ। यो मानवीय स्वभाव नै हो। महाराजगंज चक्रपथ नजिक करिब एक वर्ष पहिलेदेखि एउटा पर्खाल लगाउने काम सुरु भयो। त्यहाँ भित्र के गरिँदै थियो ? कसैलाई थाहा थिएन तर महाराजगंज चक्रपथ वरिपरिको वस्तीलाइ नै थर्काउने गरी भव्य भवनको निर्माण गरिएको कुरा पछि थाहा भयो। यसरी पूरै जमिन थर्काउँदा सो क्षेत्रमा ध्वनी प्रदुषणको त कुरै छोडौं धेरैका घर नै चर्किनेसम्म भएको समाचार बाहिर आयो। त्यहाँका वासिन्दाका गुनासा कतिले सुने त्यो भने थाहा छैन। त्यो पर्खाल अगाडि कसैलाई उभिन दिइँदैन। गाडी रोकेर चढ्ने त झन् कुरै भएन। हजुर, तपाईले अनुमान लगाउनु भइसक्नुभो होला। त्यस पर्खालभित्र छ, विश्वकै सर्वशक्तिमान ह्वाइट हाउसको नेपालस्थित प्रतिनिधि घर अर्थात् अमेरिकी राजदूतावास। करिब दुई वर्षअगाडि फोहरा दरबारमा रहेको अमेरिकी राजदूतावासको पर्खालको फोटो खिचेपछि एक जापानी पर्यटक पक्राउ परेका थिए। यहाँको पर्खालमा पनि त्यसैगरि फोटो खिच्न मनाही लेखिएको छ।

अमेरिका जान भिषा लगाउन जाने नेपालीहरू त्यस दूतावासभित्र जान त पाउँछन् तर अन्तर्वार्ता दिने ठाउँसम्म पुग्न तीन पटक कडा सुरक्षा जाँच दिनुपर्छ। त्यहाँ जाँदा पानीको बोतल लिएर जान पनि मनाही छ। अन्तर्वार्ता दिने कोठामा रेडियोको स्टुडियोमा जस्तो सिसाले बारिएको छ। अन्तर्वार्ता लिने मान्छे सिसा पारी र दिने मान्छे वारी हुन्छ। उनीहरुबीच माइक्रोफोन र स्पिकरको सहयोगले कुराकानी हुन्छ।

त्यस दूतावासको कर्मचारी छिर्ने ढोका भने अलग हुन्छ। त्यहाँ पस्न सबैभन्दा पहिले कर्मचारीले आफ्नो परिचय पत्र (Id card) मेसिनमा छिराउँछन्। त्यसपछि screen मा सो कर्मचारीको जन्ममिति देखि सबै विवरण देखिन्छ। अनि विभिन्न कोड नं. थिचेपछि मात्र ढोका खुल्दछ। यस्तो कुरा बाहिर देशमा मात्र छ भन्ने कुरा सुनेको थिएँ तर अमेरिकी राजदूतावासमै रहेछ।


अमेरिकी राजदूतावासमा करिब डेढ सय कर्मचारी त सुरक्षाकै निम्ति खटिएका हुन्छन्। अर्को कुरा बाहिर (मूल गेटमा) बसेका सुरक्षाकर्मीलाई त भित्रको संसार कस्तो हुन्छ, थाहै हुँदैन। तर भित्रबाट भने क्यामेराको मद्दतले झण्डै निर्मल निवाससम्मको दूरीको सबै गतिविधिको निरिक्षण र रेकर्ड भइरहेको हुन्छ। एक पटक एक जना रातको समयमा खटिएका कर्मचारीले वाकीटकीमा तुरुन्तै जवाफ नफर्काएको निहूँमा जागिरबाटै हात धुनुपर्‍यो रे ड्यूटीको समयमा सुतेको भनेर। अमेरिकन राजदूतावासमा करारमा रहेका सुरक्षाकर्मीदेखि लिएर स्थायी नियुक्ति पाएका प्रशासन प्रमुख, राजदूत लगायतका सबैले आफ्नो काममा साना वा ठूला गल्ती गरे भने तत्काल वर्खास्त हुन सक्ने प्रावधान छ। तर बढी जसो सुरक्षाको मामिलामा यस्तो हुने गर्छ।

अर्को रोचक कुरा त्यहाँभित्र बेला बेलामा अप्रत्याशित रुपमा एक प्रकारको साइरन बज्छ। यो बज्नासाथ सबै कर्मचारीहरु जो जुन ठाउँमा भए पनि एक भूइँमा घोप्टो पर्ने गर्छन्। यहाँसम्म कि चर्पीमा रहेकालाई समेत बाहिर निकाली घोप्टो पारेर सुत्न लगाइन्छ। सबैलाई बाह्य आक्रमणबाट सतर्क राख्न यो अभ्यास गरिन्छ। यो कुराले मलाई इतिहासका जंगबहादुरको याद दिलाउँछ, जो त्यसबेला नेपालका सबैभन्दा शक्तिशाली व्यक्ति थिए, तर उनी सुत्ने बेला आफ्नो सिरानीमुनि तरवार राखेर सुत्ने गर्थे रे। किनकी बलियो भएकैले पनि उनका धेरै शत्रुहरू थिए रे।

शक्तिसँगै डर र सुरक्षा पनि गाँसिएर आउँछ भन्ने कुराको यो एउटा उदाहरण हो।

Thursday, January 22, 2009

उदाहरणीय बन्दैछन् हाम्रा राष्ट्रपति


करिब एक महिना अघिको कुरा हो , वीर अस्पताल अगाडि पत्रिका बेच्ने बज्यैले मलाई
साउतिको भाकामा भनेकी थिइन् − "आज यहाँ राष्ट्रपति आए नि।" "किन आएका रहेछन् त बज्यै ? " भनेर सोध्दा उनले भनिन् "आँखा जचाउन आ'का र'छन् ।" हिजो फेरि तिनै राष्ट्रपति दुखेको दाँतको उपचार गराउन वीर अस्पताल गए । पहिले पनि उनी महाराजगंज स्थित शिक्षण अस्पताल गएको कुरा समाचारमा सुनेको थिएँ ।

हाम्रा ठूला नेता विरामी पर्दा सहरका ठूला नर्सिङहोम वा विदेशी अस्पतालमा जान्छन् । तर हाम्रा राष्ट्रपति आफ्नो स्वास्थ जाँच गर्न सरकारी अस्पताल नै रोज्छन् । उनको यो कदमले गरिब नेपाली जनतालाई सरकारी अस्पतालमा ठूला मान्छे पनि आउँदा रहेछन् भन्ने राम्रो सन्देश दिएको छ । अधिकांश नेपालीमा सरकारी अस्पतालमा राम्रो उपचार हुँदैन भन्ने धारणा छ । तर ठूला व्यक्ति नै सरकारी अस्पतालमा आएपछि 'हामी गरीब मात्र जाने अस्पताल' भनी हीन भावना राख्ने नेपालीको सोचाइमा परिवर्तन ल्याउन मद्दत गर्नेछ भन्ने मलाई लाग्छ। उनको यो कदमलाई मेरो सलाम छ ।