Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Sunday, December 6, 2009

गोली चल्दैछ



देश जनताको हो । जनता देशका मालिक हुन् । अनि राज्य र सरकार जनताका अभिभावक हुन् । परिवारमा साना छोरा छोरी लाइ बौद्धिक र शारिरिक जुनसुकै कुराको विकास गराउन आमाबाबुले हरतरहले उनीहरुका आवश्यकता पूरा गर्दछन् । यो कुरा कुनै आमा बाबुलाइ सिकाइराख्नु पर्दैन । यस्तै कुरा देशमा पनि लागु हुन्छ । जनतालाइ बाँच्नको लागि आवश्यक पर्ने गाँस, बास र कपासको आवश्यकता पूर्ति गर्नु राज्यको दायित्व हो । यहाँ कर्णालीपारीका जनता राज्यले दिएको कुहिसकेको चामल खान विवश छन् ,तराइमा एकसरो लुगाले वर्षौँ सम्म पुर्‍याउनुपर्छ, शितलहरले प्रत्येक वर्ष उनीहरूको जीवन खोस्छ । अनि वास वस्नको लागि एककठ्ठा जमीन र ओत लाग्ने छानो यिनीहरूसँग छैन ।

चिसो बाट जोगिन अनि आफ्नो टाउको छानोमूनि राख्न कैलालीमा सुकुम्बासी जनताले जंगलका रुखकाटेर छाप्रो बनाएको एकहप्ता मात्र भएको थियो । ति घरहरू हृदयहीन कठोर मानिसहरूले जलाइदिए । उनिहरूसँग भएको लुगाफाटो, भाँडावर्तन सबै सबै खरानी बनाइए । निहत्था महिला, बालबालिकाको भागदौड मच्चियो । कुनै चलचित्रका खलनायकले निभाउने भूमिका प्रशासनले निभाइरहेको थियो । यि दृश्यले जो कसैको मुटुमा चसक्क छुन्छ । आफूसँग अब बाँकी केही नभए पछि उनिहरू बदलाको भावमा आए अनि लाठिबोकेर आफू बसेको ठाउँ नछोड्ने अठोट लिए । त्यसरी उभिनेहरू गोलीका शिकार भए । हिजोका दिनमा पनि आतंककारीको नाममा रुकूम, रोल्पा का गाउँ–घरहरू यसरी नै जलाइएका थिए । त्यो बेला मुलुक चरम द्वन्दमा फसेको थियो । आज मुलुकमा तानाशाही शासन समाप्त भइ लोकतन्त्र र गणतन्त्र नै आइसक्यो । तर तिनै युद्धकालिन दृश्यहरू सम्झाउने गरि बन्द भइसकेको घाउको पाप्रा उक्काउन किन उद्दत छ यो सरकार अनि प्रशासन ?

राज्यले उपलब्ध गराउनुपर्ने जग्गा उपलब्ध नगराएपछि आफ्नै बलबुताले निर्माण गरेको छाप्रोलाई पनि नसहने यो कसको सरकार हो ? आफ्नो दायित्व पूरा गर्नु त कता हो कता उल्टै अतिक्रमणकारी भन्दै लखेट्ने ? उनिहरूलाइ कतै सुरक्षित ठाउँमा स्थानान्तरण गराएको भए सबैले चाहेको कुरा पुरा हुन्थ्यो , राज्य पनि त उत्तरदायी देखिन्थ्यो । देशको भूमिमा विदेशीले परेड खेल्दा चुँ सम्म पनि बोल्न नसक्ने, आफ्नो देशको आकाशमा विदेशी सेनाले गस्ति गर्दा हेरेर बस्ने यो सरकारले गरिबमाथि यो प्रहार किन गरिरहेछ ? लाग्छ सरकारले आफ्नो विवेक गुमाइसक्यो । उ केवल देशको ढुकुटी रित्याउन मात्र बनेको छ , जनतालाई अभिभावकत्व प्रदान गर्न होइन ।
कैलालीका यि दृश्य देखे पछि मैले जीवन शर्माको गित सम्झन पुगेँ

“देशको बेहाल के सुनाउँ साथी, यो छाती पोल्दैछ
फेरी पनि हुकुमी शासन चल्दैछ , गोली चल्दैछ ।
‘बस्ने ठाउँ छैन, टेक्ने ठाउँ छैन, थाँतबास देखाइ दे ।
किनि नसक्नु बजारको मूल्य महँगी घटाइ दे । ’
भनेर ताँती लाउनेलाइ सरकार संगीनले ढाल्दैछ ,
के बताउँ खबर यो देश बेच्ने कुचाल चल्दैछ
फेरि पनि हुकुमी शासन चल्दैछ, गोली चल्दैछ ।”

Wednesday, January 14, 2009

सडकमा हामी



करिब दुइ साता अगाडिको कुरा हो । म नारायणगोपाल चोक, महाराजगंज पुगेको थिएँ । त्यहाँ यस्तो दृश्य देखियो – नेपाल यातायातको एउटा बस र एउटा मोटरसाइकल दुवै वसुन्धारातिर बाट आउँदै थिए । मोटरसाइकल सडकमा दायाँबायाँ नाच्दै आइरहेको थियो । त्यहाँ दुइजना युवाहरू चढेका थिए । एक्कासी नेपाल यातायातको बसले सो मोटरसाइकल लाइ धक्का दिन पुग्यो । तर मोटरसाइकल ढल्न भने पाएन् । बरू मोटरसाइकल साइडमा रोकि हेलमेट फुकालेर ति युवाहरूले हेलमेटले नै भकाभक बसका चालक हान्न पो थाले । यति हुँदासम्म सडक जाम भइसकेको थियो भने एकैछिनमा ट्राफिक पनि आइपुगे । बसका चालक पनि के कम उनले गालि गर्न थाले 'ए मलाइ चिनेको छस् तिमीहरूले तैंले के खोजेको हँ साला, आफैं नचाउँदै हिँड्ने अनि मलाइ दोष दिने । आइज साला राँड........... ' त्यसपछि बर्सिन थाले अस्लिल गालीहरू ।

आजभोली सडकमा छिसिक्क केही भयो की सडक जाम भइहाल्छ । माथि मैले देखेको जस्तो दृश्य त सामान्य भैसक्यो अचेल सडकमा । सडकमा यात्रा गर्ने यात्रु , साइकल, मोटरसाइकल,मोटर सबैसबै आफैं नै ठूलो बनेर हिँडिरहेका हुन्छन् । लाग्छ आत्मियताको कुनै बूँद पनि छैन हामीसँग । जानी जानी या अन्जानमा चाहे साइकलले कसैको गाडिमा छोओस् , चाहे यात्रुलाइ छोओस् , चाहे मोटरसाइकलले यात्रुलाइ धक्का दिएरै जाओस् , चाहे यात्रुले जथाभावी बाटो काटोस् सबै सबै जना एकले अर्कोलाइ आँखा तर्ने, अनि अस्लिल गाली गर्ने र सडक जाम गर्ने गरिरहेका पाउँछौँ हामी । हामी हामी बीच यत्रोविधि घृणा किन जागिरहेछ ?

जब हामी हामी बिच प्रेम, स्नेह र आदर हुन्छ तब कसैले कसैलाइ धक्का दिने घटना या दुर्घटना हुँदैन । एकले अर्कोको आदर गर्ने भएपछि पहिले अरूलाइ सडक छोडौँ, त्यसपछि मात्र म जाउँला भन्ने भावना आउँछ । 'मै पहिले जान्छु ' भन्ने स्वार्थी भावना त्याग्न सके पो दिनदिनै भइरहने सडक दुर्घटना रोक्न सक्छौँ हामी । हामी हामी बीचको यो स्वार्थी पर्खाल कहिले ढल्ने र प्रेमपुर्वक बाँच्ने हामीले ?