Thursday, August 9, 2012

पहिलोपल्ट वि.पी. लाइ पढ्दा

चिसापानी ब्लग,बुक संसारश्रुतिसंवेग बाट साहित्यलाइ सुन्न सकिने कुरा थाहा पाएदेखि डाउनलोड गर्दै सुन्न थालेको छु । अचेल उपन्यासहरु सुनेर पढ्ने गरेकोले नयाँ अनुभूति गरिरहेको छु । प्रत्येक बिहान काममा हुँदा नै मेरा कानमा उपन्यास वाचन चलिरहने हूँदा समयको पनि सहि उपयोग भएको जस्तो लागेको छ ।


वि.पी. कोइरालाले लेखेको उपन्यास सुम्निमा श्रुतिसम्बेगबाट डाउनलोड गरेर सुनियो । फ्रायडको यौनमनोविञान लाई आफ्नो रचनामा जमाएर व्यक्त गर्ने साहित्यकार वि.पी. कोइरालाको यसअघि पनि केही किताब पढ्ने कोशिस गरेको थिएँ । तर किताब हातमा परेपनि पूरा पढ्न कहिले सकिएको थिइन । यस पल्ट भने आफुले आँखा फारेर अक्षर हेर्न नपरेर हो की अर्कैले पढेर सुनाएकोलाइ कानमा सुनेर हो पूरै उपन्यास सुनिभ्याएँ ।

उपन्यास सुनिसके पछि लाग्यो – उनका कृतिहरु कसैले सित्तैमा पढ्न दिएका भए पनि पढ्न सक्ने थिइन होला । किनकी भाषिक रुपमा यो उपन्यास मलाइ एकदम क्लिष्ट लाग्यो । केही समय यता खगेन्द्र संग्रौला, बुदिसागर, तसलिमा नसरीन जस्ता साहित्यकारको किताब पढिसकेपछि र त्यस अघि पनि साहित्य सरल भाषामा लेखिएको हुनुपर्छ भन्ने मान्यता नै मेरो थियो ।

यस उपन्यासमा भएका बाल पात्रहरु पनि कति सजिलै दर्शन छाँटिरहेका हुन्छन् भने मैले बालकृष्ण समका नाटकका गाउँका पात्रको संवादलाइ पनि सम्झाइदियो । बाल पात्रको उमेर करिब सात आठ वर्ष भनिएको छ तर उनका संवादमा पूर्णरुपमा लेखक मनमौजी भएर बोलिरहेका हुन्छन् ।

उपन्यासमा आधा त संस्कृत शब्दकै प्रयोग गरिएको छ ।

उपन्यासको कथा भने ठिकै लाग्यो । आफूलाइ पूजा, हवन तपस्या गरेर शुद्द बनाउने नाउँमा एउटा ब्राम्हण समूदायका युवक कसरी निर्जीव हुनपुग्छ ? सांसारिकताको परित्याग गर्ने मन र वंशको परम्परा कायम गर्नुपर्ने कर्तव्य पूरा गर्न गरिने विवाह यि दुइले जन्माएको अन्तर्मनको र बाह्य द्वन्दको गजबको चित्रण यस उपन्यासमा उतारिएको छ ।

किराँत समूदायकी सुम्निमाको निश्चलता र प्राकृतिक सरलताले जनजातीहरुको संग्लो चित्र तयार गरेको छ ।

भाषिक दृष्टिबाट यो उपन्यास पढ्न गाह्रो भएपनि कथानकले भने नौलो अनुभूति नै दिएको छ । त्यसैले यो राम्रै प्रयोग बन्न पुगेको छ ।

Tuesday, July 17, 2012

केही ट्रक सायरीहरू

हिमालमूनि ताल, तालमूनि बेताल


बुद्ध जन्मेको देशमा बुद्धिकै अनिकाल



जन्म मेरो इन्डिया,ट्याक्टर मेरो नाम

कर्म मेरो यस्तै रैछ, भारी बोक्ने काम



कलम रोए अक्षर बन्छ, कवि रोए कविता

धनि मरे श्रद्धाञ्जली, गरिब मरे रमिता



चम्किरहोस् तिम्रो नाम, आकाशको तारा सरी

लम्कीरहोस् तिम्रो पाइला उन्नतीको बाटो भरी



भन्न सजिलो गर्न गाह्रो

अन्न ओखती, व्यथा साह्रो



पैसा गयो प्रेम गयो, अनि गयो व्यापार

दर्शन पनि दूर्लभ भयो, जब दियो उधार

Monday, June 18, 2012

दूर्घटनाको साक्षी बन्दा

असार १ गते, बिहानको साँढे पाँच मात्र भएको थियो । एकजना दाजुको मोटरसाइकलमा पछाडी बसेर माइतिघर बाट तिनकुने तिर जाँदै थिएँ । बबरमहल नाघेर बिजुलीबजारको पुल पुग्नै लाग्दा ठूला तौलको सामान खसेर भुईँमा बजारिए जस्तै एउटा ठूलो आवाजले तर्सायो । मोटरसाइकल पनि रोकियो । दाजुले भने – ‘जाउ त त्यो मान्छेलाई उठाइहाल ।’


के भएको हो अत्तोपत्तो छैन । दुइ जना मान्छे दुइतिर लडेका छन् । एकवटा साइकल र मोटरसाइकल पनि ढलिरहेको छ । लडेका मध्ये एकजनाको पूरै शरीर एकदम जोड–जोडले हल्लरहेको छ, हुरुक्कै हुने गरि । म तुरुन्त हिँडेर त्यो लडेको मान्छेलाइ समाउन पुगेँ र मेरो पुरै बलले उसको जीउलाइ उठाएँ । उसको हल्लिरहेको शरिरलाइ समाएरै थचक्क बसाएको थिएँ । पूर्ण रुपमा अचेत देखिने उनको शरीरलाई भर दिइरहँदा मनमा चिसो पस्यो ‘कतै यो मान्छे अन्तिम सास त फेरिरकेको त हैन ?’ उनको कान र कन्चटबाट रगत बगिरहेको थियो ।

लडेको अर्को मान्छेलाई बाटोमा हिँड्ने बटुवाहरूले उठाउँदै थिए । उनको पनि अनुहारमा नै रगत बगिरहेको थियो । अनि एकैछिनमा जम्मा भएको भिड मध्येबाट कसैले – ‘ल गाडी रोकेर तुरुन्त यिनीहरूलाइ अस्पताल पुर्‍याउँ त’ भने । अनि दुवै तिर बाट आवतजावत गरिरहेका गाडीलाई रोक्दै अनुरोध गरियो तर तिनीहरू ‘के भएछ ?’ भनि र्हेने, रोकिने तर घाइतेलाइ तुरुन्त अस्पतालसम्म पुर्‍याइदिन अनुरोध गर्दा ‘काममा जाँदैछु, व्यस्त छु’ भन्दै कुदाइहाल्ने मात्र देखिए ।


वानेश्वरतिरबाट एउटा प्रहरीको गाडी आयो । के भएछ भनि हेरेर त्यतिकै जान लागेपछि सबैले उनको गाडीमा नै घाइतेलाइ लैजान अनुरोध गर्दा हामी अन्तै ड्युटीमा हिँडेको र आफूले लान
नमिल्ने बताउँदै कतै फोन गरेजस्तो गर्दै त्यहाँबाट तुरुन्तै गइहाल्यो । बाटोमा गुडिरहेको एउटा ट्याक्सीलाइ घाइते लान अनुरोध गर्दा ‘घाइतेको जिम्मा तपाइँ लिने हो ?’ भन्दै प्रश्न गरेपछि सबैजना अवाक् भए । घाइतेलाइ अस्पताल लैजादाँ बाटोमै तलमाथि भएमा प्रहरी सोधखोजमा सबैभन्दा बढि दुःख यिनै चालकहरूले पाउँछन् भन्ने कुरा पो सुनियो । नेपालको कानुन पुलिसले जानुन् ।

मेरो पूरै बलले त्यो घाइतेको शरीरलाइ भर दिइरहँदा थाकिसकेको थिएँ । विस्तारै उनको शरीर हल्लिन भने कम भएको थियो । केही मानिसहरू आफन्तलाई फोन गरौँ भन्दै उनको मोबाइलमा हेरेर उनलाइ यो को हो भन्दै सोधे तर केही पनि बोल्न नसेका उनले टाउको मात्र हल्लाए । अनि उनको मोबाइलबाट फोन गर्दा कतै पनि फोन लागेन ।

एक छिनमा अर्को प्रहरीको गाडी आएर साईडमा रोकियो । अनि उनिहरु पनि त्यहाँका सर्वसाधारणले गरेजस्तै आवत–जावत गरिरहेका गाडीलाइ रोक्दै घाइतेलाइ लैजान अनुरोध गर्न पो थाल्छ त । सर्वसाधारण बीच कुरा उठ्यो – ‘प्रहरी त घाइतेलाइ आफ्नो गाडीमा लैजान मन गर्दैन भने अरुले मान्लान त ?’ प्रहरीको त्यो चर्तिकला पछि सबैले उनिहरुकै गाडीमा तुरुन्त लैजान अनुरोध गरेपछि बल्ल मैले भर दिएर समाइराखेको घाइतेलाई उनिहरूको गाडीमा राखे अनि अर्कोलाइ फेरी अर्कै गाडीमा राख्न लगाए ।

यो तस्वीरमा देखिए जस्तो दूर्घटना त क्षणक्षणमा भैराख्छन् शहरमा


अचेल शहरमा पलपलमा सडक दुर्घटना हुन थालेका छन् । ठूला सडकमा शिकारु चालकले सवारी चलाएर होस् वा सडकमा आफूलाइ दादा भन्ठान्ने केही सवारी चालक,अनि लापबार्हीपूर्वक मोटरसाइकलमा तिब्र गतिमा सवारी चलाउने चालकहरू यिनीहरुले गर्दा आफ्नो पनि र अरु यात्रुको पनि जीवन खतरामा पारेका छन् । त्यसैले सडक असूरक्षित बन्दै गएको छ । त्यसैले अचेल सडकदेखि डर लाग्न थालेको छ । हिँडेको ठाउँमा सुरक्षित पुगिने त हो ? मनमा एउटा संशय रहने गरेको छ ।

Tuesday, May 29, 2012

कुन ठूलो कुरा भयो र ?

केही समय अघि एक जना साथीलाई जरुरी पर्‍यो भनि केही रकम दिएको थिएँ । ‘दुइ–चार दिनमा एक ठाउँबाट पैसा आउनेवाला छ , म त्यो आउनेबित्तिकै तपाइँको रकम फर्काउँछु’ भनि दश हजार रुपैयाँ लिएर गएका थिए ।


हुन त उ म भन्दा बढी कमाउने मान्छे, तैपनि अहिले बाइक किन्नलाइ तत्काललाइ पैसा चाहिएकोले मागेको बताए । ‘फेरी त्यो बाइक अहिले सस्तोमा पाइएको छ पछि त्यति सस्तोमा पाइँदैन !’ उसले पटक पटक अनुरोध गर्‍यो । ‘म सँग पनि त पैसा कहाँ छ र ? दाजुलाइ माग्नुपर्छ । अनि फेरी उहाँलाइ त छिटै दिनुपर्छ नि मैले त ।’ मैले यसो भन्दा उसको जवाफ थियो–“त्यो त कुन ठूलो कुरा भयो र ? मेरो काम भैराखेको साइटबाट पैसा आउने वित्तिकै तिम्लाइ फर्काइहाल्छु नि ।” लौ, उसले फेरी साथीलाइ पनि विश्वास गरेन भनेर कतै चित्त दुखाउने पो हो की ? पछि मलाइ पनि आवश्वकता पर्‍यो भने उसले ऋण दिन सक्छ नि ! मेरो मनले यस्तै सोच्यो । अनि दुइ तिन हप्तामा फर्काइदिन्छु पनि त भनेको छ उसले ! यसरी मैले मसँग भएको दशहजार रुपैयाँ उसलाइ दिएको थिएँ ।

उसले पैसा लिएर गएको झण्डै एकमहिना सम्म पनि उसको नाक मूख देखिएन । नियत खराब भएको मान्छे होइन जस्तो लाग्थ्यो । के भएछ त्यस्तो ? गाउँतिर गएको होला ! बेला बेला गैराख्नुपर्छ उसलाइ । फर्केर आएपछि Contact गरिहाल्ला नि ! यस्तो सोचेर मैले पनि उसलाइ call गरिनँ । तर उ त झण्डै तिन चार महिना सम्म पनि सम्पर्कमा आएन त । फेरी म उनलाइ फोन गर्न थालेँ । फेरी पनि उसको उहि जवाफ ‘कुन ठूलो कुरा भयो र ?’ । धेरै पछि फोन गरेर हैरान पार्दा–पार्दा मैले एकैचोटि दिएको दश हजार रुपैयाँ किस्ताबन्दीमा करिब छ महिनामा असुल गरेँ । केही अघि एउटा काम आइलागेको थियो । मलाइ ‘यति काम सिध्याउनुस् , तपाइँलाइ यति पैसा दिन्छु’ भन्दै एकजनाले काम जिम्मा लाएको थियो । मैले जिम्मा लिएको काम पाँच दिनमै पूरा गरेको थिएँ । त्यसपछि मलाइ दिइने भनेको पारिश्रमिक लिनको लागि सम्पर्क गरेँ । उनलाइ जतिचोटि फोन गरेपनि आफू ‘मिटिङमा छु, पछि सम्पर्क गर्नुस्’ मात्र भनिरहन्थे । एक पल्ट उसैले मलाइ फोन गरे । ‘पक्कै अब चाहिँ पैसा देलान् जस्तो छ’ भनि दंग पर्दै कुरा गरेको त चुरो कुरो अर्कै रहेछ । “ हेर्नुस् , वसन्त जी अब फेरी यो काम आएको छ यसको पनि तपाइँलाइ यति दिइन्छ ” भन्दै लोभ मात्र पो देखाउँछन् त ! मलाइ भने जंग चलेको थियो अनि कराइहालेँ “के हो पहिलेको कामकै पैसा पाएको छैन फेरी अर्को काम ? सक्दिन गर्न ।” “हैन वसन्तजी, नरिसाउनुस् न ।

हेर्नुस्, हामीलाइ तपाइँको काम गर्ने तरिका मन पर्‍यो त्यसैले माथि हाम्रो Boss नै तपाइँलाइ नियमित काम दिन चाहनुभएको छ । तपाइँ चाहनुहुन्छ भने कामको लागि Agreement पनि गर्न सकिन्छ ।” ‘अहो नियमित काम पाइने !’ मनमनै दंग परेँ । ‘हुन्छ त्यसो भए Agreement पनि पहिले गरौँ न त ।’ उनी बोले– ‘ त्यो त कुन ठूलो कुरा भयो र ? अहिले Boss बाहिर गइरहनु भएको छ, उहाँ आए पछि त्यो भैहाल्छ ।’ नियमित काम पाउने आशमा म फेरी त्यो काम पनि गर्ने निर्णय गरेँ ।

दोस्रो पल्टको काम सिद्धिएको दश दिन पछि मैले नै सम्पर्क गरेर पैसा आउँदैछ की Agreement भनेर बुझ्ने प्रयास गरेँ । जवाफ उहि आयो –‘त्यो त कुन ठूलो कुरा भयो र ?’ तर यो जवाफ आएको हप्ता दिन पछि मात्र पहिलो कामको पैसा दिइयो तर जतिपल्ट Agreement को कुरा गरे पनि जवाफ भने त्यहि आउने गर्‍यो । त्यसपछि सोध्नै छोडेँ ।

यि र यस्ता भोगाइहरु पछि अब एउटा ज्ञान आएको छ । जसले सिधा जवाफ नदिइ कसैलाइ झुलाउने नियत राखेका हुन्छन् , त्यस्ताले दिने जवाफ यस्तै हुँदोरहेछ । त्यसैले अचेल कसैले मेरो सामु आएर “कुन ठूलो कुरा भयो र ?” भने पछि मेरो पारो तातिहाल्छ ।

Monday, February 6, 2012

चटक र क्रान्ति

- नर्मदेश्वर प्रधान




त्यस जादुगरले
झोलाबाट
क्रान्ति झिक्यो...
भोटो जात्रामा भोटोलाई झैँ उसले
चारै कुनाबाट देखायो....
म विस्मित,
मैले ताली बजाएँ....
खुब बजाएँ....
केही छिनपछि
उसले क्रान्तिलाई फेरी
खाली झोलामा राख्यो
उसको छूमन्तरले
क्रान्ति
झोलाभित्रै बिलायो
आफ्नो चमत्कारबाट
गर्वित
त्यो जादुगर,
उसले ताली बजायो, खुब बजायो
तर, यो पालि किन हो
मैले ताली बजाइनँ.....।







(नेपालभाषाका कविको यो कविता नागरिक दैनिकबाट साभार गरेको हूँ ।)