Saturday, June 13, 2020

रेडियो रिपोर्ट



लकडाउनले गर्दा उर्जाहिन भएर बसिरहेको बेला जेष्‍ठको दोस्रो साता अडियो कारखाना बाट 'घरमै रेडियो/पोडकास्ट कसरी तयार गर्ने' भनेर तिन दिने अनलाईन तालिममा सहभागी हुने मौका पाइयो। लामो समयदेखि रेडियो पत्रकारितामा काम गरिरहनुभएका भुवन तिमिल्सिना, सुवास कार्की र हरिजंग थापा ले रेडियो रिपोर्ट, पोडकास्ट, अन्तर्वार्ता लिने कसरी लगायतका विषयमा धेरै जानकारी एवं आफ्ना अनुभवहरु बाँड्नुभयो। यो बीचमा हामीलाई आफैले रेडियो रिपोर्ट बनाउने र अन्तर्वार्ता लिने होमवर्क पनि दिईएको थियो। हामीले गरेका काममा के कस्ता कमजोरी भए, कसो गर्दा अझै परिस्कृत गर्न सकिन्छ भन्‍ने प्रतिक्रिया पनि दिनुभयो। हामीले प्रत्यक्ष रुपमा भेटेरै गरेको कुनै कार्याशालाको जस्तै अनुभव घरैबाट लिइरहेका थियौँ। यो अनलाईन कार्याशालामा सहभागी हुनुभएका कतिपय त यसअघि नै विभिन्‍न रेडियो, टेलिभिजन कार्यक्रम सञ्‍चालन गरिरहनुभएकाहरु पनि हुनुहुन्थ्यो।
 

घरैमा बसेर रेडियो फिचर तयार गर्ने र अन्तर्वार्ता लिने कार्यको जिम्मेवारी लिइरहँदा आफु भित्र सुस्ताइसकेको पत्रकारिता फेरि जुर्मुराएको अनुभव भएको थियो। जे होस् यो तिन दिनले आफ्नो क्षमतालाई फेरी जाँच गर्ने मौका पनि जुर्‍यो। आयोजक अडियो कारखानालाई धन्यवाद। यहाँ सोहि क्रममा तयार गरेको रेडियो रिपोर्ट र पेसागत बहसका लागि पत्रकारिता पेशा माथि प्रकाश पार्ने अन्तर्वार्ता प्रस्तुत गरिएको छ।

Tuesday, April 7, 2020

बालापनको डायरी



धेरैपछि पाएको फुर्सदमा आफ्नै पुरानो डायरी फेला परेको छ। बालपत्रिका "बालकोसेली" अध्ययन समूहको नियमित भेटघाट तथा बाल साहित्यकार शान्तदास मानन्धर ज्यूको प्रेरणा र संगतबाट २०५४ सालमा अर्थात आफु १० वर्षको हुँदा देखि नै समूहका सबैले डायरी लेख्‍न थालेका थियौँ। अहिले ति डायरी पढ्दा कुनै ठाउँमा रोमान्चित, कुनै ठाउँमा दुःखी अनि आफ्नै अक्षर नबुझेर कुनै ठाउँमा दिक्दारी पनि एकैपल्ट भइरहेको छ। कक्षा पाँचमा पढ्दाताकाको एक दिनको डायरी यस्तो रहेछ।


२०५६/०८/०५ आइतबार
आज खोप दिवस थियो, त्यसैल विदा थियो। आज बिहान आठ बजे बुबाको साइकल चलाएर म छाउनीबाट चक्रपथ गएँ। अनि एक घण्टामा कोठामा आइपुगेँ। कोठामा पुगेर नीरज दाईसँग चेस खेलेँ, चेस चार चोटी खेल्यौँ, त्यसमा दाईले झुक्याएर राजा खानुभयो। मैले यो गेम राम्रो भएन भनेँ। ठूल्दाईले फेरि पुरानै अवस्थामा फर्काउनुभयो। त्यसैले आखिरमा चारै गेम मैले नै जितेँ। त्यसपछि मैले भात खाएँ। नीरज दाई आफ्नो साथी भेट्न जानुभयो। म चाहिँ साथी रमेश कहाँ गएँ। रमेश र म प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भु गयौँ। त्यहाँ बन्द रहेछ। 

त्यसपछि हामी चक्रपथबाट कलंकीमा चलचित्र "परदेशी कान्छा" हेर्न गयौँ।हामीले बाल्कोनीको टिकट लिएर "परदेशी कान्छा" हेर्‍यौँ।  फिलिम चलिरहेको थियो, हाफ टाइममा नजिकैको होटेलमा मःमः खायौँ। पछि फिलिम सकिँदा ५:३० बजिसकेको रहेछ। हामी छिटो छिटो टेम्पो चढ्‍यौँ र घर फर्कियौँ। आज रमेश र मैले १०८ रुपैयाँ खर्च गर्‍यौँ। घर पुगेँ दाईलाई के भनौँ जस्तो भैरहेको थियो। मैले साथीसँग घुम्न गएको भनेँ। घरमा ढिला आएकोले ठुल्दाईले १०० चोटी उठबस गर्न भन्‍नुभयो। नीरज दाईले १०० चोटी उठबस गर्न सक्यो भने एक रुपैयाँ दिन्छु भन्‍नुभयो। मैले गरेँ, एक रुपैयाँ पाएँ। पछि त्यो एक रुपैयाँ मेरै पाइन्टबाट निकालि मलाई दिइएको चाल पाएँ।


Tuesday, November 6, 2018

चलचित्र "जयभोले" आशामा तुसारापात


☆☆☆☆☆

धेरै समय पछि पत्रकार बन्‍ने भूत चढेपछि यसपाली चलचित्र जय भोलेमाथि समिक्षा तयार गरियो ।

पत्रकार तथा ब्लगर मित्र दिवाकर प्याकुरेलले फेसबुकमा स्टाटस लेख्‍नुभयो –'धेरै आश गर्दा धोका पाइन्छ भन्ने कुरा मायामा मात्र होइन, फिल्म हेर्दा पनि लागू हुने रैछ' । चलचित्र "जय भोले" हेरेपछि धेरैको प्रतिक्रिया यस्तै पाइयो। बाह्र वर्षपछि चलचित्र उद्योगमा देखापरेका निर्देशक निर्माता अशोक शर्माको बहुप्रतिक्षित चलचित्र "जय भोले" दशैंको फुलपातीदेखि देशभरका चलचित्र हलहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रको पटकथा लेखन 'पशुपतिप्रसाद' र 'धनपति' जस्ता चलचित्रबाट वाहवाहि कमाएका कलाकार खगेन्द्र लामिछानेको रहेको छ भने चलचित्रमा सौगात मल्ल विशेष भूमिकामा छन्। चलचित्रमा कलाकार राजाराम पौडेल, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरविर पण्डित, सुरेन्द्र केसी,  सलोन बस्नेत, स्वस्तिमा खड्का आदिका साथै निर्देशक स्वयं अशोक शर्मा र खगेन्द्र लामिछानेको अभिनय रहेको छ ।

अधिकांश चलचित्र तयार हुने रेडिमेड फर्मूला छ –नायक/नायिका बिच प्रेम, दुई चारवटा गीत, दुईचारवटा रोनाधोनाका दृश्य अनि भव्य फाइट, ह्‍याप्पी इन्डिङ । पछिल्लो समय यो फर्मुलामा थपिएको एउटा कुरा मनोरञ्‍जन र हाँसोको लागि दुईअर्थी लाग्ने संवाद र दृश्यहरुको फुल प्याकेज । चलचित्र 'जय भोले' हेरेपछि यस पंक्तिकारको निश्कर्ष  थियो – निर्देशक अशोक शर्माको यो चलचित्र यहि फर्मूलाको निरन्तरता सिवाय केही नयाँ बन्‍न सकेन ।

तस्वीर स्रोतःwww.koribati.com
चलचित्रको कथा यस्तो देखिन्थ्यो -
जय गुरागाईँ (खगेन्द्र) र भोले परियार (सौगात) दुई बालसखा हुन् । जय गुरागाई गाउँकै ईँटा भट्टा मालिकका छोरा, जसकी आमाको सानैमा मृत्यु भएकोले भोले परियारकी आमाले दुवैलाई एकैपल्ट स्याहारेकी । सानोमा मिल्ने यी साथीहरु जब ठूलो हुँदै गए तब वैमनश्यता पनि बढ्दै गयो । चलचित्रकी पात्र निशा (नायिका स्वस्तिमा खड्का) ले भोले परियारलाई वर्षौँ देखि भाईटिका लगाएर धर्मदाई बनाएकी हुन्छे । भोले यिनलाई आफ्नै बहिनी मानेर हदैसम्म माया गरेको हुन्छ। जय गुरागाईँ भने निशाप्रति एकतर्फी मायामा पागल छ । निशालाई आफूप्रति आकर्षित गर्न कुनै कसर छोड्दैन, तर निशा भने वेवास्ता गर्छे । 

गाउँमा लोकबाजा प्रशिक्षण केन्द्र खोल्ने कुरामा जय र भोले बीच विवाद हुन्छ, पहिल्यै देखि पनि आपसमा इगो देखिएका साथी जय र भोले बीचको सम्बन्ध झन् बिग्रन पुग्छ। लोकबाजा प्रशिक्षण केन्द्र खोल्ने आफ्नो सपना भत्किएको देखेपछि भोले रिसले आगो हुन्छन् त्यसपछि उनी गाउँबाट बेपत्ता हुन्छन्।

केही समय पछि अचानक गायब भएका भोले गाउँमा बिरामी भएर फर्किएका हुन्छन् । जय फलफुल लिएर बिरामी बालसखा भोले भेट्न पुग्छन् । जयले आफ्नो सपना भत्काएपछि आफैँ पैसा कमाएर मात्र गाउँमा फर्कने अनि लोकबाजा प्रशिक्षण केन्द्र खोल्ने महत्वाकांक्षा बोकी भोले भारतमा कमाइ गर्न गएका रहेछन् । त्यहाँ पैसा पनि कमाए, तर पैसा भन्दा ठूलो रोग बोकी फर्की आएछन्। सानोमा साह्रै मिल्ने यी दुई अहिले नतमस्तक हुन्छन्। भोलेको मृत्यु हुन्छ । साथी भोलेको सपना फेरि पूरा गर्न आफै अग्रसर भई लोकबाजा प्रशिक्षण केन्द्र निर्माणमा जुट्छन् जय।

आफ्नी बहिनीको निम्ति आत्महत्या गर्न तम्सिएका जयलाई बचाउने निशाका दाजुले प्रेमका लागि बलिदान दिने व्यक्ति नै जीवनसाथीका लागि उपयुक्त हुने निशालाई बताउँछन् ।अन्त्यमा आफ्नो बिहेबाट भागेर निशा जयलाई भेट्न पुग्छन् र चलचित्र सकिन्छ ।

"पशुपतिप्रसाद" र "धनपति" जस्तो चलचित्रमा पटकथा रचना गरेका खगेन्द्र लामिछानेबाट यस किसिमको अस्वभाविक कथानकको अपेक्षा गर्न सकिँदैन। चलचित्रमा निर्देशक हाबी हुनु स्वाभाविक हो तर यसमा अशोक शर्मा यसरी हाबी भैदिए कि लेखकको लेखनी नै चलचित्रको पुरानो फर्मूलामा समाहित हुनपुग्यो र अन्त्यमा चलचित्र अर्थहीन बन्‍न पुग्यो । बाह्र वर्ष सम्म चलचित्र निर्माणबाट टाढा रहेका व्यक्तिले यसबीच धेरै अध्ययन गरी नयाँ पुस्तालाई चलचित्रमा लिएका होलान्, यसपाली पक्‍कै केही नयाँ आउने आशा गरी हल सम्म पुगेका दर्शक निराश बनेका छन् । चलचित्रमा नायिकालाई नाचगानको भूमिकामा मात्र सीमित गराइनु अर्को कमजोर पक्ष हो ।

कलाकारको अभिनय राम्रो छ। चलचित्र छायाँकन गरिएको पूर्वी नेपालको दृश्य मन लोभ्याउने छ। कलाकारको संवादमा स्थानीयता झल्कने गरी पूर्वेली लवज, अझ परिस्थिति अनुसार विभिन्‍न गीतको अंश लेखिएका टिसर्ट छनौट चलचित्रका राम्रो पक्ष हो।

सायद चलचित्र समाजमा योगदान गर्न बनाइनुपर्छ भन्‍ने तर्क मनासिब नहोला। यो उद्योग हो, व्यवसाय हो, तर चलचित्र/साहित्य केबल समय कटाउने मेलो मात्र हुनु पनि राम्रो होइन। दर्शकले हल भित्र बिताउने समय र गरेको खर्चको उचित कदर चलचित्रले गर्नुपर्दछ । चलचित्र हेरिसकेपछि कम्तिमा पनि केही क्षण दर्शकले चलचित्रले उठान गरेका कुरामाथि विमर्श गर्न सकुन् या दर्शकको मथिंगलमा केही क्षण एक किसिमले लठ्‍याउने कार्य गर्न सक्यो भने त्यो चलचित्र सफल मान्‍न सकिन्छ । चलचित्र 'जय भोले' यो कुरामा चुकेको छ ।

Tuesday, October 17, 2017

Walking to school हेरेपछि



चलचित्र हेर्न भाषाले फरक पार्दैन, पहिलो चोटि यो कुरा महसुस गर्दै थिएँ जतिबेला अंग्रेजी पनि नजान्ने मेरो साथिलाई चिनियाँ चलचित्र हेरेर रोएको थाहा पाएँ । कुरा चिनियाँ चलचित्र महोत्सवको हो । कुमारी हलमा प्रदर्शन हुने चिनियाँ चलचित्रको लागि पास पाएको थिएँ । साथी र म समयको सदुपयोग गर्न त्यहाँ पसेका थियौँ ।

चलचित्रको कथा यसरी अगाडी बढ्छ

बालक ‘वावा’ स्कूल जान चाहन्छन् तर पूल नभएकोले तुइन चढेर नदि पार गर्नुपर्ने हुनाले उनलाई पूल तारिदिने भरपर्दो मान्छे अर्थात् उसको बुबा नआए सम्म स्कूल जान नपाउने भएकोले आफ्नो बुबा कहिले आउने होला भन्दै खुइय गर्छन । बुबा पैसा कमाउन गाउँदेखि धेरै टाढा शहरमा हुनुहुन्छ । दिदि स्कूलबाट फर्केर दिनभरी स्कूलमा के–के भयो भनेर बयान गर्दा उसको कौतुहलता अझ बढ्छ । तर उनलाई तुइनमा जाने अनुमति नहुँदा त्यसै नरमाइलो लागिरहन्छ ।

उ बेला बेला घरमाथिको रुखबाट डोरी बाँधेर घरको पिँढीसम्म आइ पुग्न फलामको अंकुशेको मद्धत लिएर तुइन चढ्ने अभ्यास गरिरहेको हुन्छ । त्यसैले उ आफैले तुइन चढ्न जानिसकेको बताउँदा आमाले डोरी र अंकुशे लुकाइदिन्छन् । तर एकदिन उनी लुकाइएको डोरी र अंकुशे लिएर तुइनबाट नदि पारीको स्कुल पुग्छ । दिदीको कक्षा बाहिर बसेरै उ पनि भित्र पढाइएका कुरा पढ्न थाल्छ, उ स्कुल गएको कुरा त्यतिबेला थाहा हुन्छ जतिबेला उनकी दिदीले घरमा स्कुलको पाठ सस्वर पढिरहेकी हुन्छे, उ दिदी भन्दा अघि अघि त्यही कुरा वाचन गरिरहेको हुन्छ ।
अब आमा सशंकित हुन्छे, त्यो डरलाग्दो तुइनबाट जान छोरालाइ रोक्न नसकेपछि अब उनकी दिदीलाई नै स्कुल नपठाउने कडा निर्णय लिन पुग्छे । स्कूलकी जेहेन्दार विद्यार्थी अनुपस्थित भएपछि त्यहाँकी शिक्षिका उनलाई भेट्न घरैमा आइपुग्छ । अनि सरकारले छात्राहरुलाई स्कुल पठाउन प्रोत्साहन गर्न दिएको बुट, मोजा वावाकी दिदिलाई दिँदै उनको पढाइ नरोक्न आग्रह गर्छे । शिक्षिका फर्केपछि उनकी आमा अबदेखि उनलाइ नदि छेउ नजान चेतावनी दिन्छे, तर बालक वावा दिदिलाई दिएको बुट हातमा लिँदै आफूलाई यो बुट दिने भए जान्न भन्छ, दिदीले उनकी आमालाइ पनि मनाउँछिन अबदेखि भाइ तुइनमा नजाने भए आफू पनि बुट दिन तयार छु भनेर भाइको बचाउ गर्छे । त्यस रात नयाँ बुट च्यापेरै वावा सुतेको हुन्छ । बिहान भएपछि उ दिदिलाइ खोज्छ दिदि त हिँडिसकेकी हुन्छे । अनि दगुर्दै गएर दिदिलाई नदि छेउ भेटेर आफूले लिइसकेको बुट फेरि दिदिलाई नै लगाइदिन्छ ।  नयाँ बुट लगाएर गएकि उनकी दिदि बजारमा गएर नुन किन्न जाँदा देखेको सानो जुत्ताको मोल सोध्छे तर उनीसँग पर्याप्त पैसा हुँदैन । यो थाहा पाएर उनकी शिक्षिकाले नै त्यो जुत्ता पनि किनेर पठाउँछे । भाइको लागि जुत्ता पाएर उनी चंगा जस्तै फुरुंग परेकी छ । जुत्ता झोलामा हालेर नदि पार गर्ने क्रममा कसैले नचिताएको घटना घट्छ । तुइनबाट नदि तर्दै गर्दा आफ्नो झोलाबाट भाइको जुत्ता खस्न लागेकोले त्यसलाइ समाउने बेला अचानक तुइनमा लगाइएको अंकुश बाहिर आउँछ र उनी नदिमा खस्न पुग्छे । चलचित्रको पहिलो हाफ सकिन्छ ।

(चलचित्रको पहिलो हाफको यो अन्तिम दृश्य पछि हामी दर्शकको आँखा भने रसाइसकेको हूँदो रहेछ । यतिबेला सम्म म मेरा साथीलाइ अंग्रेजी Subtitle पढ्दै केही संवादहरु नेपालीमा उल्था गर्दै बताइरहेको थिएँ । तर अब म एक शब्द पनि नबोली बाँकी चलचित्र हेर्दै हुन्छु । हलभरी सन्नाटा छाएको छ, चलचित्रका पात्रको शोकमा ।)

दिदि स्कूलबाट आएको भन्ठानेको वावा दिदिलाई आफुले बनाएको फिरफिरे दिन हतारिँदै तल आएको छ तर जब त्यहाँ दिदीको झोला र बुटमात्र देखिन्छ तब वातावरण दर्दनाक बन्न पुग्छ । उ आफ्नी प्यारी दिदि खोज्न भौतारिँदै दौडिन्छ । उसकी दिदी नदीको बहावमा बगेको कुरा त्यहाँ आएका शिक्षकहरु वा उनकी रोइरहेकी आमा कसैले भन्न सक्दैनन् तर परिस्थितीले सबै कुरा बोलिरहेको हुन्छ ।
समय बित्दै जान्छ । केही पछि उनको बुबा पनि घर फर्किन्छन् । दिदीको मृत्यु पछि वावा बोल्छ छोडेका छन् । आफुलाइ माया गर्नेलाई गुमाउनुपर्दा सबैलाइ यस्तै त हुँदो हो । हरेक कुरामा आमा दिदीसँग सवालजवाफ गर्ने बालक वावा लाइ अझ बढि मानसिक आघात परेको देखिन्छ । घरमा भएकी पक्षघात भएर बसेकी आमालाई हेर्नु, छोराछोरीलाइ हेर्नु अनि घरबाहिर खेतिपाती पनि आफैले कसरी भ्याउने ? आफू एक्लैले यि सबै सम्हाल्न नसकेकोले अब श्रीमान्लाई घर नछोड्न रुँदै भन्छिन् वावाकी आमा । वावाका बुबा अब आफु घर नछाड्ने भन्छन् तर सबैको चिन्ताको कुरा, वावा पहिले जस्तो चञ्चल हुन छोडेका छन् । स्कुलबाट फेरी एकपटक शिक्षिका आउँछे ‘बालक वावाको भित्री इच्छा स्कूलमा पढ्नु थियो । उनको इच्छा पुरा गर्न पाइयो भने उनी विस्तारै ठिक हुँदै आउँछन्’ भनेर आमाबुबा दुवैलाई सम्झाउँछिन् । चिनियाँ सरकारले अब सयौँ पुलहरु बनाउन लागेको कुरा पनि सुनाउँछन् र अब छिटै यो गाउँमा पनि पुल बन्ने विश्वास दिलाउँछन् । बुबासँग स्कुल जान लागेको वावा तुइन नजिक पुग्दा नदिछेउ फेरि दिदीको अर्को बुट देखेर फर्किन्छन् । अब एक किसिमले उनले पढ्ने आफ्ना इच्छालाई आफैले मारिदिएका छन् । तर शिक्षिका भने अब उनलाई घरमै पढाउन भनि आएका छन् । वावालाई पढाउन खोजिरहेका छन् तर उनको ध्यान जान सकेकै छैन । अनि शिक्षिकाले सोध्छन् ‘तिमीले चित्र बनाउँछौ भनेको सुनेको थिएँ । मलाई चित्र बनाएर देखाउन सक्छौ ?’ वावा अझै केहि बोल्दैन तर शिक्षिकालाई पछि लगाइ उ आफुले बनाएको चित्र देखाउन हिँड्छ । काठमा चकले कोरिएको चित्र छ जस्मा नदिको माथि पुल, अनि पुलमा उभिएका एक बालकको आकृति बनाएका छन् र फेरी चक लिएर कोरेका छन्  हात समाइरहेकी दिदिको आकृति वावाले । चित्र देखि अवाक हुन्छिन् शिक्षिका ।
करिब ६ महिना पछिको दृश्यमा देखिन्छ एउटा ठूलो पुल, पारि स्कुले केटाकेटी र शिक्षक शिक्षिका वावालाई स्वागत गर्न बसिरहेका छन् । वावा हातमा फिरफिरे र काँधमा झोला बोकेर स्कुल जान आएका छन् । पुलको बिचमा पुगेर नदिमा हेर्छन् उनको फिरफिरे नदिमा खस्छ । स्कूल जान दिदिको हात समातेर पुलमा हिँडेको कल्पना आउँछ अनि पृष्ठभूमिमा दिदिसँगै गाएको गित बच्दै चलचित्र समाप्त हुन्छ ।

“कस्तो फिलिम देखाको यार ! आँसु नै आयो” चलचित्र हेरिसकेपछि बाहिर निस्कँदा आँखामा पानी छ्याप्दै मेरा साथी मलाइ भनिरहेका थिए । साथिलाइ आधा चलचित्रका संवाद मैले बताएको थिएँ, Subtitle हेर्दै तर बाँकी आधामा त म पनि शोकाकुल हुँदै बोल्न सकेको थिइनँ । तर साथीले बाँकी सप्पै आफै बुझेछन् । चलचित्रमा भाषाको कुनै परिबन्ध नै नहुने रहेछ, संवेदनाको कुनै भाषा हुँदैन ।
साधारण दैनिक जिवनका अफ्ठ्यारालाइ चलचित्रको विषय बनाउँदा पनि त राम्रै चलचित्र बन्ने रहेछ, तुइनको भरमा वारपार गरी स्कुल जाने चिनीयाँमात्र होइन सयौँ नेपालीको नियती पनि त यस्तै हुँदै आएको छ । तुइनलाई विश्वकै सबैभन्दा डरलाग्दो यात्रामध्ये एक मानिन्छ । तुइन चुडिएर गत दस वर्षमा पचास जना भन्दा धेरैको ज्यान गएको अनौपचारिक तथ्यांक छ। तुइन चुडिएमा कैयन मिटर तल नदी या नदी किनारको ढुंगामा मानिस बजारिन्छ र ज्यान जान्छ । ज्यान हत्केलामा राखेर गरिनेयात्राको साधन हो– तुइन।
राम्रो चलचित्र बन्न न त बलिया पाखुरा भएका हिरो न तछमछम नाच्न जान्ने हिरोइन नै चाहिने रहेछ । चाहिन्छ त केवल वास्तविक जीवनमा घट्ने घटनाको पेटारो, अनि पो हामी चलचित्रलाई आफ्नै ठान्छौँ ।







Friday, June 30, 2017

गरिब परिवारमा किन हुन्छ लोग्नेस्वास्नी झगडा ?



एडोल्फ हिटलर  (Mein Kampf : मेरा संघर्ष बाट )


     कामबाट अचानक बेरोजगारी र बेरोजगारीबाट अचानक कामले आम्दानी र खर्चमा धेरै उतार चढाव हुने भएकाले मितव्ययिता र बुद्धिमतापूर्वक खर्च गर्ने मानिसहरूको बानी खत्तम भैसकेको हुन्छ । शरीर कहिले मजाले खाने र कहिले भोकै बस्नुपर्ने अवस्थासंग बानी परिसकेको हुन्छ । वास्तवमा भोकले  विवेकसम्मत खर्च गर्ने सबै किसिमका योजनाहरूलाई ध्वस्त बनाउँछ, विशेषगरी राम्रा दिनहरूमा जब पुनः रोजगारी पाइन्छ । अघाउजी खाएको बेलामा गरिएका कल्पनाहरू भोकको पिडामा सान्त्वना दिन काम लाग्छन् ।
     भोकले विवेकसम्मत खर्च गर्ने सबै किसिमका योजनाहरूलाई ध्वस्त बनाउँछ, विशेषगरी राम्रा दिनहरूमा जब पुनः रोजगारी पाइन्छ । भोकलाई सान्त्वना दिन पालिएका सपनाहरू इच्छामा परिवर्तन हुन्छ र इच्छा दुषित व्यवहारमा देखापर्छ जब फेरी काम पाउँछ त त्यसबेला आफ्नो आम्दानीलाई अनियन्त्रित तरिकाले खर्च गरेर आत्मसंयमका सबै खाले बन्धनहरूलाई तोड्दछ । यसरी खर्चलाई विवेकपूर्ण ढंगले मिलाउन नसक्दा उसको साप्ताहिक घरेलु बजेटमा अस्तव्यस्तता उत्पन्न हुन्छ । शुरुमा उसको १हप्ताको कमाईले ५ दिन धान्न सक्छ र पछिका क्रमहरूमा त्यो केवल ३दिनका लागि मात्र पर्याप्त हुन्छ र जसै बानी दोहोरिंदै जान्छ तब कमाइले मुस्किलले एकदिन मात्र खेप्न सक्ने हुन्छ र अन्तमा यही क्रम चलिरहेमा पुरै हप्ताको कमाइ एकै रातको मोजमा स्वाहा हुन्छ ।

     प्रायः तिनीहरूको घरमा स्वास्नी र साना नानीहरू हुन्छन् । परिवारै मिलेर हप्ताको कमाइ २–३ दिनमै किनमेलमा सक्छन् । पैसा सकेपछि सबैजना सामूहिक व्रत बस्छन् । त्यसपछि स्वास्नी आँखा छलेर छिमेकीकहाँ केही उधारो लिन वा पसलेकहाँबाट ऋण चलाउन,घुम्न शुरु गर्छे ताकि साताको अन्त्यसम्म घर व्यवहार चलाउन सकियोस् । मध्यान्हमा उनीहरू सँगै बस्छन् , योजना बनाउंछन् आगामी तलव पाउने प्रतिक्षा गर्छन्,अहिले भोकै बसे पनि आगामी दिन टन्न खाने सपना देख्छन् । 
     आपतको चरमसिमा त छुन्छ जब लोग्ने हप्ताका शुरुबाटै मनपरी गर्न थाल्छ र स्वास्नी नानीहरूको कसम दिएर त्यसको विरोध गर्दछिन् । त्यसपछि त्यहाँ झगडा हुन्छ र लोग्ने परदेशी जस्तो भएर रक्सी खान थाल्छ र लोग्ने स्वास्नीमा परस्पर वैमनश्यता सृजना हुन्छ । त्यसपछि ऊ प्रत्येक शनिबार रक्सी धोकेर आउँछ र आफ्नो नानीहरूको अस्तित्व रक्षा गर्न स्वास्नीले केही पैसा पाउनको लागि लोग्नेलाई कारखानादेखि घरसम्मै खोज्न थाल्छे । जब आइतबार वा सोमबार लोग्ने खाली घर आउँछ तब त्यो दृष्य अति दर्दनाक हुन्छ ।