Tuesday, March 24, 2009

छुट्टिए युवराज घिमिरे नागरीकबाट

वरिष्ठ पत्रकार युवराज घिमिरे अन्ततः रिपब्लिका पब्लिकेसनबाट अलग्गिएका छन्। कान्तिपूर दैनिकबाट विनोद ज्ञवाली समूह अलग भएपछि पत्रकारको तानातान र लगानीकर्ताहरू बीचका कहिले जोडिने कहिले फूट्ने क्रम जारी रहेकै अवस्थामा उनी छिट्टै प्रकाशन हुन लागेको नागरिक दैनिक बाट अलग भएका हुन्।

पत्रकार घिमिरे कान्तिपूर राष्ट्रिय दैनिकका पूर्व सम्पादक पनि हुन्। यस अघि समय साप्ताहिक का सम्पादक रहेका उनले आफ्नै लगानीमा newsfront साप्ताहिक पनि प्रकाशन गर्दै आएका थिए। कान्तिपूरका लगानीकर्ताहरू कैलाश सिरोहिया र विनोद ज्ञवालीहरू बीच मतभेद भएपछि ज्ञवाली समूह त्यसबाट अलग भए लगतै उनले अर्को राष्ट्रिय दैनिक पत्रिका निकाल्ने घोषणा गरिसकेका थिए। विनोद ज्ञवाली सँगै कान्तिपुर बाट तत्कालिन सम्पादक नारायण वाग्ले पनि आएका थिए। तर पत्रकार नारायण वाग्ले र विनोद ज्ञवाली समूह बीच पनि प्रकाशनको सेयरमा कुरा नमिले पछि वाग्लेले हरि श्रेष्ठ सँग मिली धुम्बाराही प्रकाशन खोले, जसले नेपालीमा दैनिकी र अंग्रेजीमा republica निकाल्ने तयारी गरे। यता ज्ञवाली समूहले भने समय साप्ताहिकको पत्रकारको सम्पूर्ण समूहलाई लिइ नागरिक दैनिक र यसअघि नै प्रकाशन भैरहेको newsfront साप्ताहिकलाई अंग्रेजी दैनिक बनाइ निकाल्ने घोषणा गरे। यस पछि सुरु भयो पत्रकार तानातानको खेल। खास गरी दुवै प्रकाशनले आफ्नो पहिलो तारो बनाए कान्तिपुर दैनिकलाई। त्यहाँका पत्रकारलाई धेरै सूविधा देखाउँदै दुवै प्रकाशनले आफूतिर तान्न कोशिस गरे र दुवैमा नाम चलेका पत्रकारहरू बढ्न पुगे।

यसरी नेपाली पाठकले चारवटा नयाँ राष्ट्रिय दैनिक आउने हल्ला बजारमा पाइएको थियो तर नाटकीय रुपमा करिब दुई साता अगाडि यी दुवै प्रकाशनका लगानीकर्ताहरू बीच एकिकरण भयो। यो एकिकरणले गर्दा पत्रकारिता क्षेत्रमा एउटा तरङ्ग नै फैलियो। अहिले सम्मकै बलियो टिमको रुपमा देखियो यो प्रकाशन अर्थात् रिपब्लिक पब्लिकेसन। तर कुरा यतिमा सिमित भएन। पत्रकार युवराज घिमिरे पुनः छुट्टिए यो समूहबाट। आफूलाई कुनै जानकारी नदिई दुई प्रकाशन एक भएकोले तथा आफैले प्रकाशित गरिरहेको newsfront पत्रिका पनि त्यहाँबाट प्रकाशन नहुने भएपछि उनी त्यहाँ बाट अलग भएका हून। विश्वस्त श्रोतका अनुसार त्यहाँ भित्र पत्रकार नारायण वाग्ले र युवराज घिमिरे बीच वरिष्ठता र वरियता क्रममा विवाद भएकोले पनि उनी त्यसबाट अलग्गिएका हुन्। अब पत्रकार घिमिरे आफ्नो पत्रिका newsfront साप्ताहिक प्रकाशन गर्न नयाँ लगानीकर्ताको खोजीमा रहेको र छिट्टै नै त्यसलाई निरन्तरता दिने सोचमा रहेको बताइन्छ।

Friday, March 20, 2009

चुनाव स्थगित भएपछि ....

'ओहो ६ बजिसकेछ , आज त स्ववियू चूनाव । झन् पो ढिलो उठिएछ । तै पनि ठिकै छ सात बजे मात्र चुनाव सुरु हुने त हो नि । ' मनमा यस्तै हतारो लिएर क्याम्पसतिर हान्निएको थिएँ म । खसिबजार पुगेपछि एक जना परिचित दाईलाई भेटेँ । कहाँ जाँदैछौ भनेर सोध्नुभएपछि ' आज हाम्रो क्याम्पसमा त चुनाव छ नि स्ववियूको ! भोट खसाल्न हिँडेको हो म त ! ' भनिहालेँ । उहाँले “लौ तिम्लाई थाहा छैन चूनाव स्थगित भयो त तिम्रो क्याम्पसमा। सबै बन्द छ नगए हुन्छ त्यतातिर ” भन्नुभयो । त्यसपछि म त छक्क परेँ । किन स्थगित भयो त आर.आर.मा चूनाव ? ल क्याम्पसमा त हिजो विद्यार्थीहरूबीच झडप भएको थियो तर हाम्रोमा त त्यस्तो कुरा पनि त भएको थिएन । हिजो राति निर्वाचन कार्यालयमा आगलागि भए पनि “चुनावी कागजात सुरक्षित छ त्यसैले भोली चुनाव हुन्छ, भोली ढुक्कसँग भोट खसाल्न आउनुहोस ” भनेर त हाम्रै अगाडि क्याम्पस प्रमूखले भनेका थिए नि । तै पनि अचानक यो किन रोकियो ? मोडल अस्पताल अगाडि केही एमाले निकट अनेरास्ववियुका साथिहरू एकले अर्कोलाई सम्झाउँदै थिए –' त्यता (क्याम्पस तिर देखाउँदै) नजाउँ है साथि खतरा छ ।' हँ के को खतरा ? कस्तो खतरा ? मेरो मनमा भने प्रश्न उठ्यो। तर ती साथि त केही नसोधि फरक्कै फर्की पो हाले त ।

म भने मनमा अनेक प्रश्न खेलाउँदै क्याम्पस अगाडि पुगेँ । म भन्दा अघि नै थुप्रै साथिहरू आइरहेका थिए । अखिल क्रान्तिकारीका उमेद्वारहरू पनि उपस्थित थिए त्यहाँ । सबै भन्दा पहिले सूचना नै पढौँ न भनि यसो क्याम्पस गेटमा हेरेँ ।
क्याम्पस प्रमूख गोपालचन्द्र पोखरेलले शान्तिपूर्ण र भयमुक्त वातावरणमा चुनाव सम्पन्न हुने स्थिति नदेखिएकोले पठनपाठन र चूनाव राम्रो वातावरण नबनेसम्मको लागि स्थगित गरिएको सूचना जारी गरेका रहेछन् । हिजो दिउँसोसम्म सामान्य नै थियो क्याम्पसको वातावरण तर राती क्याम्पस प्रमूखले एकतर्फी रुपमा यो सूचना जारी गरे । नजिकै ल क्याम्पसको पनि गेटमा सूचना पढियो । त्यहाँ निर्वाचन अधिकृत र क्याम्पस प्रमूखबीच भएको छलफल पछि चूनाव स्थगित गरीएको भनी दुवैको हस्ताक्षर सहित सूचना टाँसिएको थियो । त्यो क्याम्पसमा त स्थिति तनावपूर्ण नै थियो रे हिजो ।


यता अखिल क्रान्तिकारी निकट विद्यार्थीहरूले यो चुनाव भाँड्ने षडयन्त्र भएको छ भने । यो षडयन्त्रमा क्याम्पस प्रमूख आफैँ संलग्न भएको आरोप पनि लगाए उनिहरूले । उनीहरू भन्दै थिए “ अखिल क्रान्तिकारीले चुनाव जित्ने निश्चित भएपछि अघिल्लो रात १२ बजे क्याम्पसमा आगो लगाए । सो आगलागीका बाबजुद पनि चुनाव हुने भएपछि एमाले अखिल आत्तिए । अनि क्याम्पस प्रमुखलाई नै प्रयोग गरे उनीहरुले । यो क्याम्पस प्रमुख एमालेले नियुक्त गरेको मान्छे हो । यसले पनि हाम्रो विजय भएको देख्न चाहँदैन । त्यसैले विनाकारण आज चुनाव स्थगित गरेको हो । अघिल्लो रात नै पनि बाहिरबाट गेट बन्द हुन्छ तर रातको १२ बजे क्याम्पसको अन्य कोठामा होइन, निर्वाचन कार्यालयबाट आगो लाग्छ ।
यहाँ क्याम्पस प्रशासनकै मिलेमतो छ। ” भोट खसाल्न भनी आएका विद्यार्थीहरु एकाएक भएको चुनाव स्थगनपछि अखिल क्रान्तिकारीको कोणसभाका दर्शक बन्न पुगे । अनि त्यहाँबाट नारा गुन्जिन थाल्यो – ' नालायक क्याम्पस प्रमुख राजिनामा दे ।' अखिल क्रान्तिकारी आर.आर.का अध्यक्ष के.पि. खनालले सोही सभामा उम्मेद्वारी मनोनयन दर्तासँगै पुरानो स्ववियु खारेज भएकोले अब चुनाव स्थगित भएको बेलामा त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने कुरा बताइरहेका थिए । उनी भन्दैथिए–“ अब हामी स्ववियु कब्जा गर्नेछौं । हामी कहिल्यै नहार्ने चुनावमा सामेल भएका छौं । हाम्रो विजय भएको छ । ” त्यसपछि आएका सबै विद्यार्थीहरु त्यही ' विजय ' जुलुसमा जान तम्तयार भए ।म भने वरिपरि हेर्दै थिएँ । त्यहाँ केही प्राध्यापकहरु पनि छेउमा उभिएर के भएको यो ? भन्दै चिन्तित र आश्चार्य मुद्रा बनाएर गफिरहेका थिए । त्यसपछि म जुलुससँगै राष्ट्रिय सभागृह अगाडी पुगेर केही तस्वीर लिएपछि क्याम्पसतिरै फर्कन लाग्दै थिएँ । प्रहरीले रोके, ' चुनाव नै स्थगित भैसक्यो, तपाईहरु किन फेरि आइराख्नु भएको छ , यार ? ' झिन्झ्याट लाग्दो भाषामा उनीहरुले क्याम्पस जान लागेका विद्यार्थीहरुलाई यसो भन्दै फर्काए । त्यसपछि आज भोट खसाल्ने उत्साहले बिहानैक्याम्पस आएको म, त्यसै फकिएँ ।घर आउँदै गर्दा बाटैमा पर्छ विश्वविद्यालय क्याम्पस किर्तिपुर । आफ्नो क्याम्पसमा चुनाव देख्न नपाएपनि कस्तो रहेछ त यहाँको रौनक, मन हौसियो । त्यसपछि बिचबाटै चुनाव भएको ठाउँतिर दोरिएँ । त्यहाँ सोचे जस्तै रौनकता थियो, विद्यार्थीको लामो लाइन अनि आफ्नो प्रतिनिधि चुन्न आतुर ती मनहरु, अघिल्तिर अन्तिम चुनाव प्रचार गर्ने प्रयासमा विद्यार्थी उम्मेदवारहरु, अनि सुरक्षा चेकजाँच गरिरेहका सुरक्षाकर्मीहरु ।
टि.यु.मा दुइवटा बुथमा दुई दुई लागेर उभीएका विद्यार्थीहरुलाई हेरें । दुवैतिर उत्तिकै लामो लाइन थियो । यो उत्साह र रमाइलो हेरेरै भएपनि आफुले भोट खसाल्ने तिर्सना मेटिरहेको थिएँ म ।

दिउँसो नयाँ नेपाल प्रेसमा आफ्ना साथीहरुलाई चुनावी अनुभव बताउँदै थिएँ । त्यही बेलामा भित्रबाटै अपरिचित स्वर सुनियो, 'के भन्दैछौ भाइ ? वरिपरि हेर्नु पर्दैन ? निर्वाचन अधिकृत त यहीँ छन् । तिमीले केही बताउनै पर्दैन । सब थाहा छ हामीलाई ।' उनको कुरा सुनेर यस्सो बाहिर हेरेँ । एक जना अधबैँसे उमेरका मानिस प्रेसबाट भर्खर छापिएको पत्रिका पढ्दै थिए । तैपनि मैले आफ्नो कुरा सुनाउन जारी राखेँ, “हेर्नूस्, ल क्याम्पसमा त भीडन्त भएकोले निर्वाचन अधिकृत र क्याम्पस प्रमुख दुवैको सल्लाह र सहमतिमा संयुक्त सूचना निकालेर चुनाव स्थगित गरे । तर हाम्रो क्याम्पसमा त क्याम्पस प्रमुखको एक्लो निर्णयले स्थगित भयो चुनाव । त्यो पनि मिति नै फागुन ५ लेखिएको छ, तर हिजो त चैत्र ५ पो हो ।” मेरो कुरा जारी रहँदा कतिखेर ती अधबैँसे व्यक्ति नजिक आइपुगेछन् पत्तै भएन । उनले ' तिमी आर आरको विद्यार्थी हौ ? ' भनी सोधे । ' हो, बि.ए. दोश्रो वर्षमा पढिरहेछु । ' उनले भने “ त्यहाँ त एमाले अखिलले हार्ला भनेर नै चुनाव स्थगित गरिएको हो । हिजो आगलागी भएको निहूँ बनाउन खोजेका थिए क्याम्पस प्रमुखले । तर क्याम्पस प्रमुखलाई नै थाहा रहेनछ कि दिउँसो उसको घर्रामा रहेका निर्वाचनका कागजातहरू राति अन्तै राखिँदा रहेछन् । त्यसैले दराजचाहिँ जल्यो तर सबै कागजात बचेछन् । अनि आज चुनावको निम्ति सबै तयारी सिद्धिसकेको थियो । तर हिजो बेलुका क्याम्पस प्रमुखले चुनाव नगर्ने नै रट लगाइरहे भन्या ।” यति सुनिसकेपछि ' तपाईँ आर आरमै कार्यरत हो सर ? ' मैले प्रश्न गरेँ । तर उनी त अक्मकाउन पो थाले । उनले हो पनि भनेनन्, होइन पनि भनेनन् । “अब चुनाव अनिश्चित हुने भयो आर आरमा” यसो भन्दै उनी अपरिचित दाजुसँग हिँडे प्रेसबाट । ला! मैले त्यसरी ठाडै प्रश्न गर्न नहुने पो थियो कि ? उनी त हिँडि पो हाले त । यदि साँच्चै निर्वाचनमा खटिएका थिए भने त उनलाई भित्री कुरा थाहा हुन्छ । आफूले सोधेको एउटै प्रश्नले थकथकी लागिरह्यो मलाई ।

नारावाजी

Thursday, March 12, 2009

पानी हो जिन्दगानी

किर्तिपुरको समलमा देखिएको पानीको अभाव (फोटो र भिडियोमा)
















पानी जात्रा






कहिले आउला मेरो पालो






पर्खाइमा वितिरहेका विहानहरू






गन्तव्य





लाइनको लम्बाइ






पानी विवाद

Wednesday, February 11, 2009

आखिर के छ त्यो पर्खालभित्र ?



जे कुरा लुकाइन्छ, त्यो के हो ? सबैको चासो पनि बढ्छ। यो मानवीय स्वभाव नै हो। महाराजगंज चक्रपथ नजिक करिब एक वर्ष पहिलेदेखि एउटा पर्खाल लगाउने काम सुरु भयो। त्यहाँ भित्र के गरिँदै थियो ? कसैलाई थाहा थिएन तर महाराजगंज चक्रपथ वरिपरिको वस्तीलाइ नै थर्काउने गरी भव्य भवनको निर्माण गरिएको कुरा पछि थाहा भयो। यसरी पूरै जमिन थर्काउँदा सो क्षेत्रमा ध्वनी प्रदुषणको त कुरै छोडौं धेरैका घर नै चर्किनेसम्म भएको समाचार बाहिर आयो। त्यहाँका वासिन्दाका गुनासा कतिले सुने त्यो भने थाहा छैन। त्यो पर्खाल अगाडि कसैलाई उभिन दिइँदैन। गाडी रोकेर चढ्ने त झन् कुरै भएन। हजुर, तपाईले अनुमान लगाउनु भइसक्नुभो होला। त्यस पर्खालभित्र छ, विश्वकै सर्वशक्तिमान ह्वाइट हाउसको नेपालस्थित प्रतिनिधि घर अर्थात् अमेरिकी राजदूतावास। करिब दुई वर्षअगाडि फोहरा दरबारमा रहेको अमेरिकी राजदूतावासको पर्खालको फोटो खिचेपछि एक जापानी पर्यटक पक्राउ परेका थिए। यहाँको पर्खालमा पनि त्यसैगरि फोटो खिच्न मनाही लेखिएको छ।

अमेरिका जान भिषा लगाउन जाने नेपालीहरू त्यस दूतावासभित्र जान त पाउँछन् तर अन्तर्वार्ता दिने ठाउँसम्म पुग्न तीन पटक कडा सुरक्षा जाँच दिनुपर्छ। त्यहाँ जाँदा पानीको बोतल लिएर जान पनि मनाही छ। अन्तर्वार्ता दिने कोठामा रेडियोको स्टुडियोमा जस्तो सिसाले बारिएको छ। अन्तर्वार्ता लिने मान्छे सिसा पारी र दिने मान्छे वारी हुन्छ। उनीहरुबीच माइक्रोफोन र स्पिकरको सहयोगले कुराकानी हुन्छ।

त्यस दूतावासको कर्मचारी छिर्ने ढोका भने अलग हुन्छ। त्यहाँ पस्न सबैभन्दा पहिले कर्मचारीले आफ्नो परिचय पत्र (Id card) मेसिनमा छिराउँछन्। त्यसपछि screen मा सो कर्मचारीको जन्ममिति देखि सबै विवरण देखिन्छ। अनि विभिन्न कोड नं. थिचेपछि मात्र ढोका खुल्दछ। यस्तो कुरा बाहिर देशमा मात्र छ भन्ने कुरा सुनेको थिएँ तर अमेरिकी राजदूतावासमै रहेछ।


अमेरिकी राजदूतावासमा करिब डेढ सय कर्मचारी त सुरक्षाकै निम्ति खटिएका हुन्छन्। अर्को कुरा बाहिर (मूल गेटमा) बसेका सुरक्षाकर्मीलाई त भित्रको संसार कस्तो हुन्छ, थाहै हुँदैन। तर भित्रबाट भने क्यामेराको मद्दतले झण्डै निर्मल निवाससम्मको दूरीको सबै गतिविधिको निरिक्षण र रेकर्ड भइरहेको हुन्छ। एक पटक एक जना रातको समयमा खटिएका कर्मचारीले वाकीटकीमा तुरुन्तै जवाफ नफर्काएको निहूँमा जागिरबाटै हात धुनुपर्‍यो रे ड्यूटीको समयमा सुतेको भनेर। अमेरिकन राजदूतावासमा करारमा रहेका सुरक्षाकर्मीदेखि लिएर स्थायी नियुक्ति पाएका प्रशासन प्रमुख, राजदूत लगायतका सबैले आफ्नो काममा साना वा ठूला गल्ती गरे भने तत्काल वर्खास्त हुन सक्ने प्रावधान छ। तर बढी जसो सुरक्षाको मामिलामा यस्तो हुने गर्छ।

अर्को रोचक कुरा त्यहाँभित्र बेला बेलामा अप्रत्याशित रुपमा एक प्रकारको साइरन बज्छ। यो बज्नासाथ सबै कर्मचारीहरु जो जुन ठाउँमा भए पनि एक भूइँमा घोप्टो पर्ने गर्छन्। यहाँसम्म कि चर्पीमा रहेकालाई समेत बाहिर निकाली घोप्टो पारेर सुत्न लगाइन्छ। सबैलाई बाह्य आक्रमणबाट सतर्क राख्न यो अभ्यास गरिन्छ। यो कुराले मलाई इतिहासका जंगबहादुरको याद दिलाउँछ, जो त्यसबेला नेपालका सबैभन्दा शक्तिशाली व्यक्ति थिए, तर उनी सुत्ने बेला आफ्नो सिरानीमुनि तरवार राखेर सुत्ने गर्थे रे। किनकी बलियो भएकैले पनि उनका धेरै शत्रुहरू थिए रे।

शक्तिसँगै डर र सुरक्षा पनि गाँसिएर आउँछ भन्ने कुराको यो एउटा उदाहरण हो।

Wednesday, January 28, 2009

देशबासीको नाममा सम्बोधन = .....सम्बोधन ?


माघ १२ गते प्रधानमन्त्री 'प्रचण्ड'ले देशबासीका नाममा सम्बोधन गरे। सो सम्बोधन हुने खबर बिहानै थाहा पाएको थिएँ। त्यसैले दिनभरी जो जतिलाई भेटेँ सबैलाई 'आज बेलुका ७ बजे प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् है नछुटाउनुहोला' भन्दै हिडेँ। तर धेरैले 'लोडसेडिङले गर्दा के सुनिन्छ र? के हेरिन्छ र? ' भन्ने जवाफ पाएँ र नतमस्तक हुन पुगेँ।

मनमा भने अनेक तर्कनाका छालहरू उठ्दै बस्दै उर्लिरहेका थिए। शहर बजारमा फरक–फरक मानिसका फरक–फरक अनुमानहरू अगाडि आइरहेका थिए। 'कतै असफल भएँ भन्दै सरकार छोडेको घोषणा पो गर्ने हुन् की?' 'कतै अधिनायकवाद लागु गर्ने गरी कडा घोषणा गर्ने पो हो की?' मेरो अनुमान भने विलकुल भिन्न थियो। केही समय अघि 'जनआस्था' मा पढेको थिएँ की नयाँ सरकारले उपल्धीमूलक काम गर्न नसक्नुका कारणहरू/अप्ठ्याराहरू, बाह्य वा देश भित्र पनि भएका विभिन्न दबाबहरू बारे स्वेतपत्र जारी गर्ने तयारी यो सरकारले गर्दैछ भनेर। त्यसैले मैले त्यस्तै अपेक्षा पनि गरेको थिएँ। निकै व्यग्रताकासाथ बेलुकीको सात बजेलाई कुरेँ। सात बजेको रेडियो नेपालको समाचार पछि मात्र प्रधानमन्त्रीको सम्बोधन सुरु भयो ―“आदरणीय आमाबुबा, दिदिबहिनी तथा दाजुभाइहरू......।”

सुरुवातमै उनले आफू 'नागरिकको हैसियतले पनि आफ्ना कुरा व्यक्त गर्न गैरहेको छु' भनेपछि म एकछिन पुलकित पनि भएँ। उनले भने―“आज सरकार सञ्चालनको पाँच महिनाको अनुभवपछि मैले स्पष्टसँग भन्नुपर्दर्छ राज्यसत्ताको पूरानो स्वरुप, संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव हुँदो रहेनछ।” उनले लोडसेडिङको समस्या, सामाजिक विभेद, बेरोजगारी समस्या सबैको कुरा उठाए। करिब पौने एक घण्टाको यो सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले झण्डै आधा समय त यस्तै अनुभवहरू सुनाए। यि सुनिरहँदा लाग्थ्यो 'ए यिनले त हाम्रा समस्या बुझेका रहेछन् नि गाँठे'।

सम्बोधनको बिचमा उनले नेपालमा एक हप्ताभित्र दाइजो प्रथा रोक्ने र छोरीलाई छोरा सरह अंश दिनुपर्ने घोषणा समेत गरे। दलित शहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति स्थापना गर्ने भने। त्यसपछि उनले कर्मचारीतन्त्रलाई आफ्नो कार्यशैलीमा सुधार ल्याउन मौखिक झापड दिए। कुनै पनि सरकारी कार्यालयमा टोकनप्रथा लागु गरि क्रमैसँग काम गरिदिनुपर्ने, एक दिनमा हुनुपर्ने कुनै काम किन सम्पन्न हुन सकेन भनि सम्बन्धित जनतालाई लिखित जवाफ दिनुपर्नेछ भन्ने घोषणा गरे। यस अघि घुस लिने कर्मचारीलाई मात्र भ्रस्टाचारी भनिन्थ्यो भने अबबाट घुस दिएर काम गराउन खोज्ने व्यक्ति पनि भ्रस्टाचारी घोषित भई कारबाहीको भागिदार हुने भए। यसैगरि मन्त्रीहरूले कार्यक्रमतिर भाषण गर्न छाडेर दश बजेदेखि पाँच बजे सम्म कार्यालयमै रहनुपर्ने, बिहान वा बेलुकी अरु समयमा आउने मानिसहरूले चाकडी गर्ने, अनावश्यक समस्या बनाइदिने जस्ता कार्य गर्ने भएकोले भेट्न आउने मानिसहरूलाई सोहि समयमा मात्रै भेट्नुपर्ने घोषणा गरे।

सोहि सम्बोधनमा प्रधानमन्त्रीले बन्द,हड्ताल जस्ता कुरामा सरकारले कडा निति लिने पनि घोषणा गरे भने यसरी समय बर्बाद गर्ने युवावर्ग अनि भट्टी पसलमा रक्सी खाँदै देश विकास नहुनुको दोष सरकारलाई दिइरहने मानिस प्रति असन्तुष्टी व्यक्त गरे। अनि अचम्मको कुरा उद्योगि व्यापारी
समूदायलाई “अस्पताल,सडक, पुलनिर्माण जस्ता सेवाका काममा पनि तपाईंहरूको नाम आउने कहिले?” भन्ने भावुक कुरा पनि व्यक्त गरे (स्वयंकर घोषणा कार्यक्रमको त विरोध गर्ने नाफामूखि उद्योगि व्यापारीलाई सेवा र त्यागको कुरा?)। मिडियालाई सकारात्मक कुरामात्र लेखेर देश विकासमा योगदान दिन पनि अनुनय विनय गरे प्रधानमन्त्रीले। सम्बोधनको अन्त्य सम्म नै भावुक र यस्तै घोषणा गरीरहे उनले।

यो सम्बोधन भइरहँदा मेरो बुबाको पहिलो प्रतिक्रिया आयो–“ बोल्न चाहिँ कस्तो जानेका छन् त हे यिनले, काम चाहिँ केही गर्ने होइन ”। सम्बोधन सकिएपछि म पनि अलमलमा परेँ। मेरो अपेक्षा के थियो ? सम्बोधनमा के आयो ? यहाँ सम्मकी “हामी सँग सत्ता सञ्चालनको अनुभव पनि त थिएन ” सम्म भनियो। न त्यहाँ बजेट कार्यान्वयन गर्न नसक्नुका पछाडि भएका अदृश्य दबाबको कुरा गरियो न त सरकारको निति तथा कार्यक्रम लागु गर्न नसक्नुका कारण नै खोलियो। बरु फेरी एक पटक पुरानै निति तथा कार्यक्रमको पुनःप्रशारण जस्तो पो भइदियो नयाँ सम्बोधन।

नेपालका अन्तिम राजा ज्ञानेन्द्रले असोज १८ बाट सम्बोधनको नियमित श्रृङ्खला जस्तै चलाएका थिए। उनले नारायणहिटी छोड्ने बेलासम्म धेरै पटक देशबासीको नाममा सम्बोधन गरेका थिए। प्रत्येक पटक सम्बोधन हुने बेला के भन्न लागे त भनेर कान ठाडा हुन्थे , आँखा चनाखा हुन्थे हाम्रा तर सम्बोधन पछि ' फेरी उस्तै कुरा ' भन्दै आ–आफ्नो काममा जान्थ्यौँ। अहिले प्रधानमन्त्री प्रचण्डको देशबासीको नाममा दोस्रो सम्बोधन आयो , झण्डै त्यस्तै प्रतिक्रिया आयो अधिकांश जनताहरूको। आखिर कति भिन्न छ त यी दुई सम्बोधनमा ? ज्ञानेन्द्रले सम्बोधन गर्दा लोडसेडिङ यति विध्न थिएन। मलाई लाग्छ त्यतिखेर अहिले भन्दा धेरैले प्रत्यक्ष सुनेका हेरेका थिए – देशबासीको नामको सम्बोधन। अहिले सात समूहमा बाँडीएको लोडसेडिङ क्षेत्र अनुसार केवल एउटा समूहले मात्र अर्थात् १/७ जनताले मात्र यो सम्बोधन सुने। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा ' लोडसेडिङको यो समस्या तत्काल हल गर्न सकिने कुरा होइन ' भनिरहँदा उनलाई मत दिएर त्यहाँ सम्म पुर्‍याउने मतदाताहरू लोडसेडिङको अँध्यारोमा कतै हराउँदै/विलाउँदै गएको जस्तो लाग्न थालेको छ।

यो सम्बोधन पछि ' फेरी आश्वासनको अर्को पोको आयो ' भन्ने कुराले मन नै गरुङ्गो हुन पुग्यो। राजतन्त्रात्मक नेपालको सबैभन्दा अलोकप्रिय राजा र गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई यसरी दाँज्नु सही या गलत के हो? थाहा छैन। नयाँ सरकारको क्रियाकलाप र देशको दुर्गतीले गर्दा यहि गर्न पुगेँ। अनि मलाई लाग्छ अबको छ महिना पछि फेरि यस्तै भावुक, मन छुने सरल भाषा लिएर प्रधानमन्त्री देशबासीको नाममा सम्बोधन भने गर्ने छन् ,उही आश्वासन र दोषारोपनको भारी विसाउन। मेरो चाहना छ अब अर्को सम्बोधन नआओस् , काम भएर जाओस्। हाम्रा समस्या समाधान हुँदै जाउन्। हाम्रो जीवन सरल बनेर जाओस्। यसो भए कति राम्रो हुन्थ्यो।