Wednesday, May 20, 2009

बलामी भेला सम्पन्न


देशका विभिन्न भागमा छरिएर रहेका बलामी जातिको अधिराज्यव्यापी भेला सम्पन्न भएको छ । गत शनिवार आयोजित उक्त भेलामा नुवाकोटको कागती गाउँ, मकवानपुरको चित्लाङ, खड्बु, काठमाडौंको बालाजु, रामकोट, फर्पिङ लगायत विभिन्न स्थानबाट आएका बलामीहरुको उल्लेख्य उपस्थिति थियो । सोही भेलाले मोहन बहादुर बलामीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ ।


नेवार जातिभित्र आफ्नो छुट्टै भाषा, संस्कृति भएर पनि पछाडि परेको एउटा समुदायको हो बलामी समुदाय । यसपल्ट विभिन्न स्थानमा छरिएर रहेका बलामी समुदायलाई एक गराउने काम नेपाल बलामी समाजले गरेको छ । समाजले आपसी सम्बन्ध मजबुत बनाउन, आफ्नो मौलिक संस्कृतिको पहिचान गरी जगेर्ना गर्न, समाजिक विकृति र अन्धविश्वास हटाउन, आफ्नो हकहितको संरक्षण गर्न यो भेला आयोजना गरेको बताएको छ ।

Saturday, May 2, 2009

बहस हुनैपर्छ अब त

राष्ट्रिय जनमोर्चाले आफ्नो १० दिने संघियता विरोधी काठमाडौं केन्द्रित आन्दोलन सम्पन्न गरेको छ । यो आन्दोलनले ठूलो उपलब्धी बटुल्न नसके पनि कम्तिमा पनि शिक्षित वर्गका मानिसहरू देखि सर्वसाधारणमाझ पनि कुराकानीको विषय बनाउन सकेको देखेँ मैले ।

संधियता भनेको के हो ? संघिय राज्य बनाउँदा फाइदा हुन्छ की बेफाइदा ? कहाँ बाट आयो संघियताको नारा ? क्याम्पसमा राजनितिशास्त्रको कक्षामा आजभोली यस किसिमका छलफल सुरु हुने गरेको छ । हाम्रा प्राध्यापकले हामीलाई यसरी बुझाउनु भएको थियो– ‘ हिजोका दिनमा राज्यको ध्यान राजधानी जस्ता सिमित शहरी इलाका मात्र केन्द्रित थियो जसले गर्दा यस क्षेत्रमा वसोबास गर्ने जनताको जीवनस्तरमा एकाएक परिर्वतन आएको छ भने अर्को तिर हुम्ला, जुम्ला , कर्णाली जस्ता क्षेत्रलाई राज्यले सौताको छोराको व्यवहार गर्न पुग्यो । त्यसैले त्यहाँ सधैँ भोकमरीले सताउँछ । शिक्षा कुन चराको नाम हो त्यहाँका जनतालाइ थाहा छैन । वास्तवमा दश वर्षे माओवादी जनयुद्धबाट संघियताको नारा उर्लिएको देखिन्छ । झन् दोस्रो जनआन्दोलन सम्पन्न भइसकेपछि त सबै वर्ग र तप्काका मानिसहरु आफ्नो अधिकार खोज्ने भएका छन् । वास्तवमा केन्द्रिकृत राज्य संयन्त्रले देशको चौतर्फी विकास गर्न नसकिएकोले नै क्षेत्रीय रुपमा पनि अधिकार बाँडफाँड हुनपर्छ , जहाँ बाट कर उठ्यो त्यहीँकै विकासको लागि खर्च गर्न पाउनुपर्छ भन्ने कुरा उठेको हो । ’


संघियताबारे यी कुरा सुनिसकेपछि ‘अहिले संघियताले देश टुक्¥याउँछ ।’ भनेर त्यस विरुद्ध आएको आवाजको अर्थ चाहिँ के हो नि ? मनमा झनै बढि दुविधा पो भयो त । यसलाइ यसरी बुझेँ मैले — कुरा के रहेछ भने अहिले देशमा संघियताको ढाँचा कस्तो हुने भनेर सबैलाइ चित्तबुझ्दो खाका नै तयार नगरिकन बाठा मानिसहरु मिलेर आफ्नो बाहुबल भएको क्षेत्रलाइ छुट्टै राज्य घोषणाको माग गर्ने चलन पो बढेर गएछ त । लौ यसले त देश नै टुक्रा टुक्रा हुने भयो भनेर संघियताको विरोध पनि हुने गरेको छ । के संघियता भनेको देश टुक्राउनु हो त ? अवश्य पनि होइन । संघिय राज्य भएर नै विशाल भारत बनेको छ । अरु त के कुरा अमेरीका नै पचास भन्दा बढि संघिय राज्य मिलेर सिंगो बनेको छ । अनि संघियताको नाममा यो विवाद किन त ? देश अनुसार भेष भन्छन् नि , संघिय राज्य बनाउँदा के को आधारमा भूगोललाइ विभाजन गर्ने ? के को आधारमा अधिकार बाँडफाँड गर्ने ? यिनै कुराले नै संघिय राज्य कस्तो हुने भन्ने तय हुने त हो नि ।

अहिले अधिकांश ठूला स्वरहरू जातजातीको आधारमा संघिय राज्य बनाउने भन्ने आइरहेको छ । के यो उपाय सही छ त ? मैले काठमाडौँका ठाउँ ठाउँमा नेवारी भाषाको एउटा नारा देखेको छु ‘ नेवा झि गुलि शाषित जुइगु ? आ ला झि शाषक जुइनु ’ यसको अर्थ हो – ‘ हामी नेवारहरु आफ्नो भूमिमा कति अरुबाट शाषित हुने ? अब त हाम्रो शाषक हुने पालो पो हो । ’ देशमा जातको आधारमा संघिय राज्य बनाउनुपर्छ भन्नेहरुको नारा हो यो । खास गरी काठमाडौँ उपत्यकाको पूरानो बासिन्दा आफूहरु भएको र यहाँ आफूहरुले नै शाषण गर्न पाउनुपर्छ भन्ने धारणा अचेल कतिपय मानिसहरुमा पाइन्छ भने कतिपय ‘३० प्रतिशत नेवारहरुले हामीलाई शाषण गर्ने ? ’ भन्दै नाक खुम्च्याउनेहरू पनि छन् । तराईमा पनि कोही पूरै तराइलाइ मधेश बनाउनुपर्ने भनिरहेका छन् भने कोही आफूलाई त्यहाँको भूमिपूत्र भएकोले आफुले छुट्टै शाषण गर्न पाउनुपर्ने बताइरहेका छन् । यो सबै कुरा छलफल र बहसमा मात्र भए त ठिकै थियो । यहाँ त भिन्न जाति बिच द्वन्द नै पो हुन थालेको छ । अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको खाका तयार गर्नु अगावै देखिएका यस्ता द्वन्द देखिनु पक्कै पनि राम्रो संकेत होइन है । संघियताको नाराले गर्दा मानिसहरुमा साम्प्रदायिकता पो बढ्दै छ । यदि भूगोल जोडिएर मन फाट्न पुग्यो भने यो एकता हुँदै होइन अनि यदि भूगोल छुट्याउनकै लागि (साम्प्रदायिक) मनहरु जोडिए भने त्यो त झन् भयंकर हुन पुग्छ । त्यसो भए कसरी गर्ने त देशको विकास ? विकेन्द्रिकरण त गर्नु नै छ । के संघियता घात नै हो त ? के हामी बिच जोडिने साइनो जातियता मात्रै हो त ? बहस गर्नुपर्ने बेला आएको छ अब , छलफल गर्नुपर्ने बेला आएको छ अब ।

Monday, April 20, 2009

आयो 'नागरिक'


बहुप्रतिक्षित 'नागरिक' दैनिकको प्रथम नमूना अंक आज नेपाली बजारमा आएको छ भने नियमित रुपमा चाहिँ वैशाख ११ गते, लोकतन्त्र दिवसको दिनदेखि आउने भएको छ । यो पत्रिका महँगा पत्रकारहरुको दरिलो समूहको रुपमा प्रचारित नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित भएको हो । नेपाली दैनिक नागरिकका साथै अंग्रेजी दैनिक Republica को नमुना अंक पनि आजै प्रकाशित भएको छ । धेरैतिरका नाम चलेका पत्रकारहरुलाई जम्मा पारिएकोले यो पत्रिकाले नेपाली पत्रकारिता जगतमा राम्रै तहल्का मच्चाउने आशा गरिएको छ ।

Tuesday, April 14, 2009

इन्टरनेटबाट विछोड

करिब एकहप्ता इन्टरनेटबाट टाढा हुनुपरेको थियो , चाहाना होइन बाध्यताले गर्दा। नेपाल टेलिकमको प्रशारण लाइनमा समस्या आएको रहेछ। दुइदिन सम्म त कीर्तिपूरमा टेलिफोन पनि बन्द भएको थियो। तेस्रो दिन देखि टेलिफोन बने पनि इन्टरनेट भने आएन। पछि नेपाल टेलिकममा फोन गर्दा ‘ अप्टिकल फाइबरको लाइन बिग्रिएको छ बनाउने प्रयास जारी छ, कहिले सम्म बन्ने हो ? ठेगान छैन ’ भन्ने जवाफ आयो।

समाचार थाहा पाउन त अनेक माध्यम भएकाले समस्या भएन तर साथिहरुका ब्लगमा यसहप्ता के के लेखिसके होलान्। मनमा कौतुहलता भइरहन्थ्यो, अरुका ब्लग चिहाउने बेचैनि पनि भइरहन्थ्यो। अनि आफ्नो ब्लगमा राख्न नपाए पनि समाचार प्रतिको रुचिले गर्दा नयाँ कुरा देखियो की त्यतैतिर लाग्ने बानी भने जारी थियो। बल्ल आज बाट इन्टरनेट सञ्चालन भयो यहाँ। त्यसैले नयाँ कुरा चाहिँ केही राख्न पाएको छैन। अहिलेको लागि कुलेश्वरमा अप्टिकल फाइबरको लाइन पूनर्निर्माण भएको तस्वीरमात्र राखेको छु।

जमिनमूनि इन्टरनेट सञ्जाल


कुलेश्वरमा अप्टिकल फाइबर मर्मत गरिँदै




यसपल्ट मैले नयाँ वर्षको उपहारस्वरूप एकहप्ता देखि अवरूद्द इन्टरनेट सुविधा पाएँ । नयाँ वर्षले सबैका आशा, चाहना पूरा गरोस् । नयाँ नेपाल कल्पनामा होइन वास्तविकतामा परिणत होओस् । नववर्ष २०६६ को सबैलाइ शुभकामना ।

Tuesday, April 7, 2009

‘अन्नपूर्णपोष्टः गजब छ’

केही समयदेखि अन्नपूर्णपोष्ट पत्रिकाले ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्दै आफ्नो विज्ञापन तिव्र बनाइरहेकैबेला त्यही पत्रिकाको विज्ञापनमा अर्को ‘गजब’ कुरा देख्न पाइएको छ । अन्नपूर्णपोष्टको गजब छ भन्ने विज्ञापनमै झन्डै एक चौथाइ जति भागमा ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं’ भनेर लेखिएको देखियो । कसले किन र केका लागि बहिष्कार ?




जुनबेला भर्खर–भर्खर यो पत्रिका प्रकाशन शुरुवात भएको थियो, त्यतिखेर पनि अरु प्रतिस्पर्धी यो पत्रिका बहिष्कार गर्न पाठकहरुलाई प्रेरित गरिरहेका थिए । त्यसमाथि मिडियामा विदेशीको लागानी भनेर पनि ठाडै विरोध भएको थियो यसको । यी त पुराना कुरा भए । तर अहिलेको यो बहिष्कार किन त ? (हेर्नुहोस् तस्वीर)

यसपल्ट अन्नपूर्णपोष्टको प्रकाशन संस्था आप्का हाउसमा मजदुर आन्दोलन सुरु भएको रहेछ र उनीहरुको आन्दोलनको पहिलो स्वरुप नै ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं, नबेचौ, नकिनौं र नपढौं’ भन्दै प्रचार गर्नु रहेछ । पहिला पनि धेरै पटक आप्कामा मजदुर आन्दोलन भएका थिए ।

‘वार्ता गरी सहमती गरेर आन्दोलन तुहाउने, तर कहिल्यै सहमती पालना नगर्ने भएकोले फेरि आन्दोलन गर्नुपरेको’ बताउँछन् त्यहाँका मजदुर आन्दोलनका सहभागी मजदुरहरू । मजदुर युनियनमा सक्रिय भई लागेकैले कर्मचारी माथि विना कुनै कारण निलम्बन गरेको बताउँछन् उनीहरू । पछिल्लो पटक वितरण विभागका बलराम श्रेष्ठ र हरि आचार्य यसगरी निलम्बनमा परे ।

‘आफै कार्यरत पत्रिका बहिष्कार भएमा तपाईहरुको रोजगारी त छुट्ने नै भयो नि हैन?’ भन्ने प्रश्नको जवाफमा दुर्गा नामका एक मजदुर ले भने ‘हेर्नुस, हामीले यहाँ परिश्रम अनुसारको सेवा सुविधा पाएका छैनौं, हामीमाथि शोषण भएको छ । शोषित हुनुभन्दा त बरु बन्दै होस् ।’ कि गर्ने त बहिष्कार अन्नपूर्णलाई ? फ्लेक्समा कारणहरु छनः
१.यो राष्ट्रियता विरोधी छ ।
२.यो मजदुरमारा र उत्पीडक छ ।
३.यो गैर कानुनी ढंगले संचालित छ ।
४.यो मजदुरको आँशु र रगतले लतपतिएको छ ।

यी कारणहरुको प्रमाण दिँदै ती मजदुरहरु भन्छन् ‘ नेपालको कानुन अनुसार संचारमा विदेशी लगानी गर्न पाइन्न तर यो विदेशी लगानीको पत्रिका हो, यहाँको कार्यकारी अधिकृत नै भारतीय नागरिक हुन् । श्रम अदालतले हामी मजदुरको पक्षमा निर्णय गरी संगठन खोल्न पाउँछ भन्छ तर यो प्रशासन विभिन्न बहाना बनाउँदै हामीलाई यो अधिकार दिन चाहँदैन अनि अर्को कुरा यो पत्रिकाले गौतम बुद्ध भारतमा जन्मेको भनेर लेखेको थियो’ उनले पत्रिकाको मिती दिए November 21, 2003 ।

आफ्नो आन्दोलनको स्वरुपबारे बयान गर्दै उनीहरु भन्दैथिएँ ‘पहिले पहिले पत्रिका बाँड्ने साथीहरुले आन्दोलन गर्दा काम बहिष्कार गर्ने गरिएको थियो । जसले गर्दा पाठकले पत्रिका समयमा पढ्न पाउँदैनथे । अनि मजदुरले प्रेस स्वतन्त्रता हनन गर्‍यो भनेर आप्काले प्रचार गर्ने गरेकोले यसपल्ट चाहिँ आफ्नो कामलाई जारी नै राखेर पनि आन्दोलन गर्न सकिन्छ भनेर बहिष्कारको प्रचार गरेका हौं । यो सबैभन्दा शिष्ट आन्दोलन हो । तर यो तरिकाले पनि उनीहरु सहमति पालना गर्दैनन् भने हामी अनसन बस्छौं, आमरण अनसन ।’




आप्का हाउसमा मजदुर र प्रशासनबीच दुरी बढ्दै गएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा जो अन्नपूर्णपोष्टसँग सम्बद्ध पनि छन्, उनले मध्यस्तकर्ता बनी वार्ताको पहल गरिरहेकाछन् तर सम्झौता हुन सकेको छैन । आन्दोलन र वार्ताबारे जिज्ञासा राख्दा उनले ‘यो आन्तरिक कुरा हो’ भनेर पन्छिन खोजे पनि ‘आन्दोलनको अधिकार सबैमा हुन्छ तर उहाँहरुले यसो नगरी अरु नै तरिका अपनाउनुभएको भए राम्रो हुन्थ्यो ।’ भने ।

तर ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्ने विज्ञापनमै ‘अन्नपूर्णपोष्टः बहिष्कार गरौं भन्ने सुचना देखेर चाहिँ सर्वसाधारण निकै गजब मानिरहेकाछन् ।