Sunday, January 31, 2010

गुलियोमा भुलियो


केही हप्ता अघिदेखि आमाले मलाइ कराइरहनुभएको थियो । आमाले त्यस दिन चेतावनी नै दिनुभएपछि मन नलाइ-नलाइ पनि म घरबाट बजार निस्केँ । आमाले भन्नुभाथ्यो–‘हेर याँ चिनी एकदम महंगो भयो, सय रुपैयाँ रे ! तँ काठमाडौं गएर चिनी ल्याइदे त । सकिन लाइसक्यो । यो हप्ता भित्र चिनी ल्याइनस् भने हेर्न ।’ मेरी आमालाई चियामा गुलियो अति चाहिन्छ । घरमा मैले पकाएको चिया पिएपछि आमा मलाइ ‘ कन्जुस यतिचा चिनी हाल्छस्, मिठै छैन ।’ भन्ने प्रतिक्रिया दिनुहुन्छ अनि आफै चिनी थपेर खानुहुन्छ । त्यसमा पनि जाडो महिना त बिहानै तिन कप सम्म चिया पिउनुहुन्छ । भान्छामा कुनै कुरा कति स्टक रहँदा आमाले कसरी हतार गराउनु हुन्छ ? त्यो बानी सँग म अभ्यस्त छु । त्यसैले आमाले चिनी ल्याउन भनेको केही हप्ता त त्यसै टारिरहेँ । अनि त्यसदिन चाहिँ ल्याइदिउँ न त भनेर म निस्केँ घरबाट ।

पहिला पहिला चिनी लिन प्राय जसो नेशनल ट्रेडिङमा जाने गर्थेँ । अन्त नपाइँदा त्यहाँ कम्तिमा दुइ किलो भए पनि पाइन्थ्यो । त्यसै दिनको बिहानमात्र एउटा पत्रिकामा पनि ‘नेशनल ट्रेडिङको गोदाममा चिनी ओसार्दै कामदारहरू’ भन्ने लेखेर तस्वीर नै छापेको थियो । यसो सोचेँ –‘ व्यापारीहरू मौका वित्तिकै कालो बजारी गर्न थालिहाल्छन् । याँको पसलेले चिनी किलोको सय रुपैयाँ लिएर के भो ? मैले त झन् होलसेल (नेशनल ट्रेडिङ) नै चिनेको छु त्यहाँ त पैँसाठ्ठी रुपैयाँमा नै दिहाल्छन् नि । ’ अनि सिधैँ हान्निएँ टेकूतिर । टेकू पुगेँ , सुनसान पो छ त । बाहिर सुचना टाँसिएको थियो चिनी छैन भनेर । त्यसलाइ वास्ता नगरि म सिधै भित्र छिरेँ । त्यहाँको कर्मचारीले “चिनी त यहाँबाट नदिएको झण्डै एक महिना भैसक्यो” पो भने त । म त छक्क परेँ ।

“अनि आज बिहान त पत्रिकामा तपाइँहरुको गोदाममा चिनी ओसारिराखेको फोटो छापेको छ नि त ?”

“त्यो त पुरानो फोटो छापेको होला ।”

त्यसपछि सोधेँ–“अनि कहिले देखि दिन्छ चिनी ?”

“पुस देखि सकिएको हो , सायद माघको दोस्रो हप्ता तिर पाइएला कि ।”

जे सोचेर गइयो, ठिक उल्टो भयो । अनि पत्रिकाहरु पनि कति झुठा हुँदा रहेछन् त बाइ । पुरानो फोटो नभनिकन त्यसै छापिदिन्छन् । ”



आमालाइ चिनी ल्याउँछु भनेरै आएको थिएँ , अब के गर्ने ? साल्ट ट्रेडिङ ले पनि पसल पसलमा चिनी दिएको छ क्यारे । अब टेकु देखि कालिमाटि सम्म बाटोमा हेर्दै जाऔँ , जहाँ साल्ट ट्रेडिङको अधिकृत बिक्रेता भनेको हुन्छ त्यहाँ एक दुइकिलो चिनी त कसो नपाइएला ? यस्तै सोचेर हेर्दै गएँ । कतै फेला परेनन् त साल्ट ट्रेडिङको बिक्रेताहरू । के भएको हो ? यो बाटोमा त पहिला पहिला ठूला ठूला ब्यानर नै झुण्ड्याएर राखिएको पसलहरू देखे जस्तो लाग्छ अहिले ती कहाँ हराए ? मनमा अब चाहिँ चिसो पस्यो । कतै आज खाली हात पो फर्कनु पर्ने हो कि ?

कालीमाटीमा पुगेपछि बल्ल एउटा साल्ट ट्रेडिङको अधिकृत बिक्रेता फेला पर्‍यो। ‘चिनी ल्याउनुहोस् न दुइ किलो’ मैले चिनी मागेँ । जवाफमा ‘चिनी सक्यो’ भन्ने पाएँ । अरु अधिकृत बिक्रेताहरू कहाँ होलान् त ? यसो गरौँ - साल्ट ट्रेडिङ नजिकै छ, त्यहाँ गएर चाहिँ दिन्छन् भने त्यहीँबाट चिनी लिउँ । नपाए अधिकृत बिक्रेताहरूको नाम माग्ने, अनि खोज्न जाने । एउटा न एउटामा त कसो नहोला ? साल्ट ट्रेडिङ पुगेर एक चक्कर घुमेँ जताततै नुनै नुनको खात मात्र छ । एउटा ढोकामा चिनीको गोदाम भनेर लेखिएको थियो तर त्यो बन्द थियो । रिसेप्सनमा गएर मैले अधिकृत बिक्रेताको नाम मागेँ । मलाइ दोस्रो तल्लामा जान भनियो । दोस्रो तल्लामा पुगेपछि उनिहरूले मेरो परिचय खोजे मैले पनि अलि जान्ने भएरै ‘म प्रशिक्षार्थी पत्रकार’ भनिदिएँ । ‘ अहिले बजारमा चिनीको अभाव देखिएको छ , तपाइँका डिलरहरू कहाँ–कहाँ छन् ? उनिहरूको नाम र ठाउँको कुनै सूची पाइन्छ की भनेर आएको । ’ लौजा मैले त त्यो नामावली नपाउने भएँ । एकजना हाकिम जस्ता देखिने कर्मचारीले सिधै मलाइ यसै भने –“हेर्नुस् भाइ , हाम्रो काठमाडौँ उपत्यकामा मात्रै पाँच सय भन्दा बढि डिलरहरू छन् । ति सबैको नाम हामीले दिन मिल्दैन । कुनै एउटा एरियामा भएका डिलरहरूको नाम सरर भन्दिन सक्छु त्यति हो । तपाइँलाइ सूची नै चाहिएको हो भने त्यो हामी दिन सक्दैनौ ।”

‘सर मैले त यहाँको डिलरबारे जानकारी सर्वसाधारणलाइ दिन सकेँ भने उनीहरूलाइ पनि चिनी लगायतका दैनिक उपभोग्य सामाग्रीहरू लिन सक्छन् की भनेर मात्र त्यो मागेको हुँ । यदि सूचीकृत छैन, दिन सक्नुहुन्न भने भैगो ।’

“हामीसँग नै चिनी नभएको नै एक महिना भैसक्यो । अनि ति पसलमा त के होलान् र ?”

“ त्यसो भए अहिले कतै पनि चिनी नभएकै हो त ?”

–“हामीले चाहिँ पाएका छैनौ तर बजारमा हुँदै नभएको भने होइन । बजारमा व्यापारीहरूले नेपालकै ठूला चिनी उद्योगहरूबाट सिधै ल्याइरहेका पनि छन् । बजारमा त पुग्दो छ ।”

“अनि किन त चिनीको भाउ चाहिँ यति साह्रो महंगो भएको त ?”

उनको जवाफ यस्तो थियो –“खासमा सरकारले चिनी किनेर हामीलाइ नै बेच्न दिने भनेको हो तर किन हो सरकारले हामीलाइ दिन सकेको छैन । हेर्नुस् भाइ, नेपालमा आयो नूनको एक मात्र आधिकारिक बिक्रेता भनेका हामी हौँ । त्यसैले हामीले यो नूनको मूल्य देश भरि एउटै कायम गर्न सकेका हौँ । चिनीको पनि त्यस्तै हुनेहो भने त भैहाल्यो नि ।” उनी धाराप्रवाह बोलिरहेका थिए । म भने शान्त भइ सुनिरहेको थिएँ । “फेरी चिनी नूनको जस्तो निश्चित प्याकेटमा बेचिने चिज पनि होइन । यो त खुल्ला बेचिन्छ । यदि यसको पनि बिक्रीको सम्र्पूण जिम्मा कुनै एउटै कम्पनिलाइ दिने हो भने भाउ नियन्त्रण भैहाल्छ नि । त्यसमाथि पनि अहिले हामीले आफ्नै डिलरहरूलाइ त चिनी दिन सकेका छैनौ । उनिहरूले चिनी बेचिरहेका भए पनि अन्तै बाट ल्याएर बेचेका हुन्छन् । हामीले चिनी दिँदा उनान्साठ्ठी रुपैयाँ पचास पैसामा दिन्थ्यौँ र एकसाठ्ठी रुपैँयामा उनीहरूले बेच्नु पथ्र्यो । तर अहिले हामीले नदिएको चिनी किन यति रुपैँयाँमा बेचेको भनेर सोध्ने कुरा पनि आएन ।
अब पो बिस्तारै कुरा प्रस्ट हुँदै आयो , नेपालका चिनी उद्योगहरूले सरकारलाइ चिनी नदिएको रहेछ । अनि व्यापारीले पनि मनलाग्दो पैसा लिएको रहेछ । सरकारीकरणको विपरित निजीकरणले ल्याउने समस्या यस्तै त हो नि होइन र ? व्यापारीको यस्तो मनोमानी रोक्ने कुनै निकाय नै छैन त ? “ छ नि वाणिज्य विभागले बजार अनुगमन त गरिरहेकै छ तर त्यो पर्याप्त चाहिँ छैन । ”


सबै कुरा त बुझियो तर पनि आफूले चिनी पाउने कहाँ हो ? त्यसैले कालिमाटी देखि किर्तीपूरसम्मका साल्ट ट्रेडिङका सबै अधिकृत बिक्रेताहरूको नाम सोधेँ । ति नाम लिएर बाट–बाटै हेर्दै आएँ । अघि चिनी सक्यो भनेको पसलमै गएँ । लौ चिनी जोख्दै बेचिरहेका पो छन् त । ‘साहुजी, मलाइ दुइकिलो चिनी दिनुहोस् न ।’ ‘दुइकिलो छैन ,एक किलो मात्र ’ उनले चिनी दिए र असि रुपैयाँ मागे । चिनी किन महँगो भनेर साल्ट ट्रेडिङबाटै जवाफ पाइसकेकोले खुरुक्क पैसा दिएँ र चिनी लिएँ । अब केहि समयलाइ त ढुक्क भइयो भन्ने सोच्दै चिनी लिएर घर फर्केँ ।

Monday, December 28, 2009

सभ्य पत्रकार


शायद क्याम्सका शौचालयका भित्तामा जथाभावी कुराहरू लेखिनु नौलो कुरा होइन । गएको साता संयोग परेर भनौँ की हतार भएर एउटा राष्ट्रिय दैनिक पत्रिकाको कार्यालयको शौचालयमा पसियो । हुन त शौचालय प्रयोग गरिसकेपछि पानी भएको ठाउँमा सबैले पानी खन्याउँछन् जस्तो लाग्छ तै पनि त्यहाँ शौचालय प्रयोग गरिसकेपछि पानीले सफा गर्नको लागि अंग्रेजीमा सूचना टाँसिएको थियो । तर अचम्म, टाँसिएको प्रत्येक सूचनालाई हस्तलिखित अक्षरमा जवाफ पो लेखिएको रहेछ । "म अंग्रेजी बुझ्दिन कृपया नेपालीमा लेख्नुहोस्" भन्ने देखि "टाइम पनि त हुनु पर्‍यो नि" भन्ने सम्मका जवाफ त्यहाँ थिए । पत्रकारितालाई मर्यादित पेसा भनिन्छ , तर नेपालका कति पत्रकार कुन स्तरले सभ्य छन् ? यो प्रश्न उठाउन पाइन्छ कि पाइँदैन मलाई थाहा छैन । अधिकांश पत्रकारले मात्र प्रयोग गर्ने त्यो शौचालयको सूचना र जवाफले म त छक्क परेँ अनि गरिहालेँ क्लिक क्लिक
।

Sunday, December 6, 2009

गोली चल्दैछ



देश जनताको हो । जनता देशका मालिक हुन् । अनि राज्य र सरकार जनताका अभिभावक हुन् । परिवारमा साना छोरा छोरी लाइ बौद्धिक र शारिरिक जुनसुकै कुराको विकास गराउन आमाबाबुले हरतरहले उनीहरुका आवश्यकता पूरा गर्दछन् । यो कुरा कुनै आमा बाबुलाइ सिकाइराख्नु पर्दैन । यस्तै कुरा देशमा पनि लागु हुन्छ । जनतालाइ बाँच्नको लागि आवश्यक पर्ने गाँस, बास र कपासको आवश्यकता पूर्ति गर्नु राज्यको दायित्व हो । यहाँ कर्णालीपारीका जनता राज्यले दिएको कुहिसकेको चामल खान विवश छन् ,तराइमा एकसरो लुगाले वर्षौँ सम्म पुर्‍याउनुपर्छ, शितलहरले प्रत्येक वर्ष उनीहरूको जीवन खोस्छ । अनि वास वस्नको लागि एककठ्ठा जमीन र ओत लाग्ने छानो यिनीहरूसँग छैन ।

चिसो बाट जोगिन अनि आफ्नो टाउको छानोमूनि राख्न कैलालीमा सुकुम्बासी जनताले जंगलका रुखकाटेर छाप्रो बनाएको एकहप्ता मात्र भएको थियो । ति घरहरू हृदयहीन कठोर मानिसहरूले जलाइदिए । उनिहरूसँग भएको लुगाफाटो, भाँडावर्तन सबै सबै खरानी बनाइए । निहत्था महिला, बालबालिकाको भागदौड मच्चियो । कुनै चलचित्रका खलनायकले निभाउने भूमिका प्रशासनले निभाइरहेको थियो । यि दृश्यले जो कसैको मुटुमा चसक्क छुन्छ । आफूसँग अब बाँकी केही नभए पछि उनिहरू बदलाको भावमा आए अनि लाठिबोकेर आफू बसेको ठाउँ नछोड्ने अठोट लिए । त्यसरी उभिनेहरू गोलीका शिकार भए । हिजोका दिनमा पनि आतंककारीको नाममा रुकूम, रोल्पा का गाउँ–घरहरू यसरी नै जलाइएका थिए । त्यो बेला मुलुक चरम द्वन्दमा फसेको थियो । आज मुलुकमा तानाशाही शासन समाप्त भइ लोकतन्त्र र गणतन्त्र नै आइसक्यो । तर तिनै युद्धकालिन दृश्यहरू सम्झाउने गरि बन्द भइसकेको घाउको पाप्रा उक्काउन किन उद्दत छ यो सरकार अनि प्रशासन ?

राज्यले उपलब्ध गराउनुपर्ने जग्गा उपलब्ध नगराएपछि आफ्नै बलबुताले निर्माण गरेको छाप्रोलाई पनि नसहने यो कसको सरकार हो ? आफ्नो दायित्व पूरा गर्नु त कता हो कता उल्टै अतिक्रमणकारी भन्दै लखेट्ने ? उनिहरूलाइ कतै सुरक्षित ठाउँमा स्थानान्तरण गराएको भए सबैले चाहेको कुरा पुरा हुन्थ्यो , राज्य पनि त उत्तरदायी देखिन्थ्यो । देशको भूमिमा विदेशीले परेड खेल्दा चुँ सम्म पनि बोल्न नसक्ने, आफ्नो देशको आकाशमा विदेशी सेनाले गस्ति गर्दा हेरेर बस्ने यो सरकारले गरिबमाथि यो प्रहार किन गरिरहेछ ? लाग्छ सरकारले आफ्नो विवेक गुमाइसक्यो । उ केवल देशको ढुकुटी रित्याउन मात्र बनेको छ , जनतालाई अभिभावकत्व प्रदान गर्न होइन ।
कैलालीका यि दृश्य देखे पछि मैले जीवन शर्माको गित सम्झन पुगेँ

“देशको बेहाल के सुनाउँ साथी, यो छाती पोल्दैछ
फेरी पनि हुकुमी शासन चल्दैछ , गोली चल्दैछ ।
‘बस्ने ठाउँ छैन, टेक्ने ठाउँ छैन, थाँतबास देखाइ दे ।
किनि नसक्नु बजारको मूल्य महँगी घटाइ दे । ’
भनेर ताँती लाउनेलाइ सरकार संगीनले ढाल्दैछ ,
के बताउँ खबर यो देश बेच्ने कुचाल चल्दैछ
फेरि पनि हुकुमी शासन चल्दैछ, गोली चल्दैछ ।”

Wednesday, December 2, 2009

फोहोरमा जीवनको खोजि र अरू तस्वीरहरू

सर्टकर्ट बाटोबाट बल्खु पुग्न बाग्मतीको किनारै किनार जाँदै थिएँ । ललितपुर उपमहानगरपालिका भित्रको सम्पूर्ण फोहोर अचेल त्यहीँ फ्याँकिने गरेको रहेछ । फोहोरको गाडी आएको मात्र के थियो फोहोरको लुछाचुँडी गर्न तँछाडमछाड गर्दै मानिसहरूको भिड लागिहाल्यो । जसले बढि प्लास्टिक संकलन गर्न सक्यो उसैले धेरै कमाउने । त्यसैले कोही कोही त फोहोर खसाल्दै गरेको ट्रिपरमै चढेको पनि देखेँ । अनि क्यामरा निकालेर क्लिक गरिहालेँ ।
"ए,भाइ के गरिरहेको ? " पछाडिबाट कसैले बोलाएको थियो । "फोहोरमा झुम्मिएको मान्छेको भिड देखेर फोटो खिचेको दाइ ।" उनले फेरी बोले - "त्यसो नगर्नु ।" म अलमलमा परेँ । किन र दाइ ? यहाँको फोटो खिच्न मिल्दैन र ? उनी केही बोलेनन् बरू घुरेर हेरिरहे । मैले दुइ चार वटा फोटो लिएर गइहाल्छु भनेँ । उनी चुपचाप थिए । एकै छिनमा उनी त साइडमा रहेको ट्रेन चलाएर फोहोरलाइ नदीमा झार्न पो थाले । यो काम दिनदिनै हुने रहेछ । सायद नदीमा फोहोर फ्याँक्ने यो कामबारे कतै ठूलै मिडियामा छापिने त होइन भन्ने डरले उनले मलाइ रोकेका रहेछन् । उनले मुखले त यो कुरा भनेनन् तर मैले व्यवहारबाट यस्तै चाल पाएँ । ल हेर्नुहोस् त कसरी फोहोर खसालिँदै छ नदीतिर ।




अनि यो वस्ती चाहिँ बाग्मती किनारकै नेपाली स्लमनगर ।

आन्दोलनको तस्वीर होइन यो । त्यही बाग्मती किनारकै छेउमा भएको कवाडीमा रहेको बसको अस्थि हो ।


घर जान टि.यू.बाट हिँड्दै गर्दा फूलैफूल भएको यो बाटोले पनि मलाइ तानिहाल्यो अनि यो पनि जोडिदिएँ ।

Thursday, November 5, 2009

तर्क


हिजो नेपाल टेलिभिजनमा एउटा राजनैतिक अन्तरकृयाको कार्यक्रम हेर्दै थिएँ । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता गगन थापा र एकीकृत नेकपा माओवादीका चन्द्रबहादुर थापा ′ सागर ′ले गरेको तर्क सुनेर म एकछिन हाँसिमात्र रहेँ । जोक जस्तै लाग्यो । तर्क यस्तो थियो ।

गगन – माओवादी साथीहरुले एउटा कुरा के बुझ्नु जरुरी छ भने ५ भनेको ३ भन्दा ठूलो हो तर ३ र ३ जोडेपछि ६ बन्छ । ६ भन्दा ५ सानो हो ।

सागर — काँग्रेसका साथीहरुले के कुरा बुझ्नु जरुरी छ भने परीक्षामा पास हुन १०० मा ३२ ल्याउनुपर्छ । एकजनाले ३२ अंक ल्याएको छ र अर्कोले २५ र फेरी अर्कोले पनि २५ ल्यायो भने २५ र २५ ल्याउने दुइजनाको नम्बर जोडेर ५० हुँदैमा पास हुँदैन ।