Sunday, June 19, 2011

म त काठमाडौँ बस्दिन


सितापाइला बाट छाउनी आइपुगेको मात्र के थिएँ । कसैले “ए दाइ यता हेर्नुहोस् त” भनि बोलाएकोले हेरेँ । एकजना केटा केही पाउने आशामा थिए । “दाइ मलाइ तल सम्म छोडिदिनुहोस् न् । हिँडेर जान अल्छि लाग्यो त्यसैले ।” बिहान मात्र दुइ सय रुपैयाँ खर्च गरेर बनाएको साइकललाई हेरेँ टायरमा हावा कम भएर कमजोर भएको रहेछ । साइकलप्रति दया गर्दै भनेँ -“हुन त हुन्छ तर हावा कम भएकोले राम्रो पिच बाटो भएसम्म मात्र लगिदिन्छु ।”

यिनी रहेछन् एस एल सी को जाँच सकाएर ब्रिचकोर्स पढ्न काठमाडौँ आएका गोर्खार्का विद्यार्थी, विजय रोक्का । उनी बोल्दै गए–“मेरो पनि गेरवाल साइकल थियो । गएको बन्द (क्षेत्री समाजले गरेको हड्तालको दिन) मा ठगिएँ । मेरो साइकल लग्यो ।” “कसरी ? ” “म सितापाइला चोक तिर साइकल चलाउँदै थिएँ , दुई जना केटाहरू आएर भाइ, हिँड्दा हिँड्दा गाह्रो भयो सहयोग गर न भने अनि कलंकी तिर तिनजना सँगै गइयो । पछि एकजना साथी थानकोटबाट आउँदैछ , उसलाइ लिइ आउँछु भनेर दुइ मध्ये एक जनाले साइकल लग्यो । अर्को चाहीँ साथी मसँगै थिए तर बन्दमा कलंकी चोकको मान्छेको हुलमा त्यो मान्छे कता गाएब भयो कता ? त्यसपछि न त साथी लिन गएको मान्छे भेटियो न त साइकल, यसरी म ठगिएँ । नयाँ साइकल थियो त्यो ! ”

मेरो साइकल पनि रोकियो, किनकी पिचबाटो सकिएको थियो , छाउनी देखि छाउनी सम्म । “ल त अब हिँडेर जाऔँ ।” मलाइ पनि हतार नभएकोले उसँग कुरा गर्दै सँगै हिडेँ । उनको काठमाडौँ बसाइ तेस्रो पटकको रहेछ । तर यहाँ आएकैपिच्छे जति सक्यो छिटो घर फर्किने मन मात्रै भइरह्यो । भन्दै थिए- “अहिले पनि दिक्क लाग्यो । उता गोरखामा जता पनि हरियाली डाँडाकाँडा थिए,स्वच्छ हावापानी छ यता हरियाली देख्नै गाह्रो । जता हेरे पनि मोटर र मान्छेको भिडमात्रै । उराठलाग्दो वस्ती, फुंग उडेर तातेको सडक कोठाबाट बाहिर निस्कनै नपरे हुन्थ्यो जस्तो हुन्छ ।” “अनि तिमीलाई यहाँ के चाहिँ मन प¥यो त ? ” “कहाँ र दाजु यहाँ त कसैसँग बोल्दा पनि केही भन्ने हो की भन्ने जस्तो ठूल्ठूलो आँखाले एकले अर्कोलाइ घुरिरहेका मान्छेहरूमात्रै देखिन्छन् ।” लौ ! काठमाडौँको दुर्गुणको लिस्ट त अझै सकिएको रहेनछ । “घरमा आमाले एउटा भैँसी पाल्नु भएको छ । त्यहाँको शुद्ध दुध खान नपाएको पनि दुइ महिना भैसक्यो । यहाँको प्याकेटको दुधको त स्वादै नहुने । होटेलमा खाना खाँदा मासु पकाएको त कस्तो कस्तो आँखाले चाहीँ चिल्लो र मिठो देखिने, तर । म नजानेरै पनि आफैले पकाएको भए त्यो भन्दा मिठो हुन्थ्यो होला ।”

“अनि के चाहीँ राम्रो लाग्यो त तिमीलाई ? ” “गोदावरीमा साथिहरूसँग घुम्न गएको थिएँ । त्यो ठाउँ चाहीँ रमाइलो, शान्त लाग्यो । बाह्रै महिना फुल फूलाइने रहेछ त्यहाँ । त्यहाँको वातावरण चाहीँ राम्रो थियो ।” अनि रसिलो पाराले उनले भन्दै थिए -“भृकुटीमण्डपमा खेलेको रेल चाहीँ साँच्चैको रेल चढेजस्तो रमाइलो भएको थियो ।” उनलाइ सुन्दा लाग्थ्यो, काठमाडौँको इज्जत केवल यहि भृकुटीमण्डपको रेलले बचाएको थियो । अनि काठमाडौँमा खाएको मः मः पनि मिठै लाग्यो रे उसलाई !

“अब एक हप्तामात्र हो काठमाडौँमा बस्ने, त्यसपछि त गाउँ नै फर्कने हो । हुन त स्कूलका सरहरूले काठमाडौँमा प्लस टु पढे राम्रो छ भनेर भनेका हुन तर म यहाँ बस्नै सक्दिन । अब त म पाएसम्म पोखरामा नपाए चितवनमा बसेर पढ्ने हो । अब म त यहाँ कहिल्यै फर्किन्न होला ।”

Saturday, April 30, 2011

चिरफार कुखुराको


हाम्रो खानेकुरा कति स्वस्थ छ ? हामीले खानेगरेको कुखुराको मासु कति स्वस्थकर कति अस्वस्थकर छ ? यसो एकफेर सोचौँ त ।

नेपाल वातावरण पत्रकार समूहको कार्यालयमा भएको एक कार्याशालामा पत्रकार एवं उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बाट केही कुरा थाहा भयो । उहाँले हामीले उपभोग गरिरहेको कुखुराको मासु कति स्वस्थ छ ? भनेर उदाहरण दिनुभएको थियो ।

कुखुरा उत्पादन गर्न प्रशस्त दाना चाहिन्छ । त्यहि दाना खान दिएर मोटा, कसिला कुखुरा उत्पादन हुन्छ । व्यापारीहरू कुखुराको दानामा एन्टिबायोटिक र रसायन मिसाउछन् । दानामा मिसाइएको रसायनिक पदार्थले चल्लालाई भोक जगाइ खाएको खायै गर्न लगाउँछ । अनि एन्टिबायोटिकले यसले खाएको दानाबाट यसको मासु बढाउन मद्दत गर्छ । यसरी प्रकृतिमा डुल्दै खाएको पचाउँदै हुर्कनुपर्ने चल्लालाई बत्तिमुनिकै उज्यालोमा हुर्काइन्छ । फुलबाट निकालिएको चल्ला ३२ दिनमा बेच्नको निम्ति तयार पारिन्छ ।

कुखुराको शरिरमा भएको त्यो रसायन १६० डिग्रीको तापमानमा मात्र नस्ट हुन्छ । कुखुराको मासु प्रेसर कुकरमा उसिनेर पकाउने हो भने पनि त्यसमा १२० डिग्रीको तापक्रममा नै सिट्ठी लाग्छ । यसरी प्रेसर कुकरमा पकाउँदा पनि रसायनको प्रभावलाई नस्ट गर्न सकिँदैन । अधिकांश नेपालीले मासु पकाउने भनेकै कराहीमा हो , त्यसमा कहाँको १६० डिग्री को तापक्रममा पकाउनु ?

यसरी हामीले खाने कुखुराको मासुमा एन्टिबायोटिक र अरु रसायन पदार्थको मात्रा सोझै हाम्रो शरीरमा प्रवेश गर्छ । अनि त्यसकै प्रभावले गर्दा हाम्रो शरिर उचाई बाट बढ्नुको सट्टा पेटबाट मोटाइ बढ्न पुग्छ । मोटो शरिर रोगको घर नै हो । उपभोक्ताको शरिरमाथि हुने यस्तो असरको हेक्का दाना व्यापारी वा कुखुरा व्यापारीलार्ई हुँदैन । तर यो सरासर मान्छेको स्वास्थ्यमाथि गरिएको खेलबाड हो । यसरी व्यापारीको धनलाभको खातिर उपभोक्ताको स्वास्थ्य खतरामा पर्छ । उपभोक्तामाथि हुने यस्ता अन्याय विरुद्ध सचेत वर्गले खबरदारी गर्नुपर्छ ।

Saturday, April 16, 2011

म फेरी आउँदैछु

लोडसेडिङ र कामको लोडले गर्दा केही समय ब्लगिङबाट केही टाढा भएको भएपनि मेरो भावनाहरू पोखिने एकमात्र विकल्प त आखिर ब्लग नै हो । अब म पुनः यसलाइ निरन्तरता दिन भरभूर प्रयास गर्नेछु । शुभकामना ब्ल्गर दाइ, दिदिहरू एवं मित्रहरूमा नववर्ष २०६८ को ।

Saturday, November 27, 2010

पैसा भेटियो , के गर्ने ?


एक साँझ म नयाँबजारबाट हिँडेरै घर तिर लम्किरहेको थिएँ । सोह्रखुट्टे पाटीबाट केही अगाडी बढेकोमात्र के थिएँ, भूँइमा मेरै सामुन्ने सय रुपैयाँको नयाँ नोट लम्पसार परेर मैतिर हेरिरहेको देखेँ । एक मनले भन्यो– ′ आहा, आज त राम्रै सञ्जोग जुरेछ । ’ भेट्टाएको पैसा टिपेर खुसुक्क गोजिमा हाल्ने सुर कस्नै लागेको थिएँ । फेरी अर्को मनले भन्यो -′ अहँ, हुँदैन हुँदैन । मान्छेले भुलचुकले पैसा खसाएर गएको होला । पैसा हराएको थाहा पाएर कतै खोज्दै होला , विचरा !! सय रुपैयाँ कमाउन कति दुःख गर्नुपर्छ था’छ ? ’

′ त्यो पैसा कतै कुनै बच्चालाई आमा बुबाले पसलबाट सामान किन्न पठाएको अनि उसले खसाएको पनि त हुन सक्छ । ’ ′‘ बाटोमा कुनै सामान, साँचो, पैसा खसेर हराउँदा कतै भेटि पो हाल्छ की भनेर मैले नै कतिचोटि बाटोभरी खोजेको थिएँ कुनै बेला । हराएको चिज फेरी पाउँदा कति खुसी भइन्छ नि हकी ? यो सय रुपैयाँ खसाउने मान्छे पनि त खोज्दै होला । त्यो मान्छे यहाँ आएर त्यो पैसा पाए ...। ’

दोस्रो मनले यसो भने पछि देखेको पैसा नटिपि म सरासर अघि लम्किन्छु । पर पुगेर यसो फर्केर हेर्छु, म भन्दा पछि–पछि आउने मान्छे दायाँ बायाँ आँखा डुलाउँछन् अनि भुइँको पैसा हत्तनपत्त टिपेर गोजिभित्र राख्छन् , केही चोरे झैँ गरि फटाफट अघि बढ्छन् ।

Friday, May 28, 2010

संविधान एक सपना


त्यसदिन बिहानै देखि जाँगर भरिएको थियो । मनमा उत्साह थियो । अनि उमंग पनि । चैतको महिना घाम बिहानै चर्केजस्तो देखिन्थ्यो , तर पनि मौसमले साथ दिएकै जस्तो लाग्थ्यो ।

हामी जनता, भोट खसाल्न हिँडेका अफ्नो भविष्य आफै कोर्न हिँडेका । यस गैरवले छाती नै फूलेको थियो हाम्रा । लामबद्द भएर सबैजना पालो कुरी बसेका । त्यो थियो संविधानसभाको निर्वाचनको दिन अर्थात् २०६४ चैत्र २८ गते ।

निर्वाचनको परिणाम आयो नयाँ नामहरू राजनैतिक वृतमा सुनिन थालिए । सरकार बन्यो तर निकै समय पछि । बिहानीले दिन बताउँछ भने जस्तै सुरूवातका ति दिनहरूले नै संविधान लाइ समयमा बनाउन सकिएला र ? भन्ने प्रश्न धेरैको मनमा उठीसकेको थियो ।

झन् पछि झन् जनताको आशामा तुसारोपात लाग्दै गएको थियो । संविधानसभाको निर्वाचनको दिन देखि आज सम्म अइपुग्दा हामीमा अब न त केही हुने अशा बाँकी रहेको छ न त सपना नै । पढेको थिएँ सबैभन्दा डरलाग्दो हुन्छ सपनाहरूको मृत्यू । तर नेपालको राजनीतिले हाम्रो सपनालाइ कुन मोडमा ल्याएर लत्याइदियो पत्तै भएन ।

विश्वको सबैभन्दा राम्रो राजनैतिक व्यवस्था लोकतन्त्र democracy हो भनिन्छ । जनताको लागी जनताद्वारा शासन गरिने व्यवस्था रे । तर यहाँ हेर्दा त लाग्छ हामी जनता केवल भर्याङ मात्र हुँदा रहेछैँ जसको कुनै अर्थ नै हुँदैन डेमोक्रेसीमा । बाँकी शासन त अर्कैले गर्दा रहेछन् । संविधान सभाको दुइ वर्षे अवधिले यसैलाइ त पुष्टि गर्दियो नि होइन ? जनताले चुनेकाबाट शासन हुनुपर्नेमा जनताले नचाहेका मानिसले शासन गरे त्यो पनि जिम्मेवारहिन भएर । राजनीतिको यस्तो घृणित चाला देख्दा राजनैतिक सचेतता बेकार भएछ आफूमा भन्ने पनि लाग्छ कहिलेकाहीँ ।

आज जेठ १४ संविधान जारी हुनुपर्ने तर नभएको दिन मेरो निराश मनले अरू बढी केही देख्न सकेन । इतिश्री ।