Tuesday, May 29, 2012

कुन ठूलो कुरा भयो र ?

केही समय अघि एक जना साथीलाई जरुरी पर्‍यो भनि केही रकम दिएको थिएँ । ‘दुइ–चार दिनमा एक ठाउँबाट पैसा आउनेवाला छ , म त्यो आउनेबित्तिकै तपाइँको रकम फर्काउँछु’ भनि दश हजार रुपैयाँ लिएर गएका थिए ।


हुन त उ म भन्दा बढी कमाउने मान्छे, तैपनि अहिले बाइक किन्नलाइ तत्काललाइ पैसा चाहिएकोले मागेको बताए । ‘फेरी त्यो बाइक अहिले सस्तोमा पाइएको छ पछि त्यति सस्तोमा पाइँदैन !’ उसले पटक पटक अनुरोध गर्‍यो । ‘म सँग पनि त पैसा कहाँ छ र ? दाजुलाइ माग्नुपर्छ । अनि फेरी उहाँलाइ त छिटै दिनुपर्छ नि मैले त ।’ मैले यसो भन्दा उसको जवाफ थियो–“त्यो त कुन ठूलो कुरा भयो र ? मेरो काम भैराखेको साइटबाट पैसा आउने वित्तिकै तिम्लाइ फर्काइहाल्छु नि ।” लौ, उसले फेरी साथीलाइ पनि विश्वास गरेन भनेर कतै चित्त दुखाउने पो हो की ? पछि मलाइ पनि आवश्वकता पर्‍यो भने उसले ऋण दिन सक्छ नि ! मेरो मनले यस्तै सोच्यो । अनि दुइ तिन हप्तामा फर्काइदिन्छु पनि त भनेको छ उसले ! यसरी मैले मसँग भएको दशहजार रुपैयाँ उसलाइ दिएको थिएँ ।

उसले पैसा लिएर गएको झण्डै एकमहिना सम्म पनि उसको नाक मूख देखिएन । नियत खराब भएको मान्छे होइन जस्तो लाग्थ्यो । के भएछ त्यस्तो ? गाउँतिर गएको होला ! बेला बेला गैराख्नुपर्छ उसलाइ । फर्केर आएपछि Contact गरिहाल्ला नि ! यस्तो सोचेर मैले पनि उसलाइ call गरिनँ । तर उ त झण्डै तिन चार महिना सम्म पनि सम्पर्कमा आएन त । फेरी म उनलाइ फोन गर्न थालेँ । फेरी पनि उसको उहि जवाफ ‘कुन ठूलो कुरा भयो र ?’ । धेरै पछि फोन गरेर हैरान पार्दा–पार्दा मैले एकैचोटि दिएको दश हजार रुपैयाँ किस्ताबन्दीमा करिब छ महिनामा असुल गरेँ । केही अघि एउटा काम आइलागेको थियो । मलाइ ‘यति काम सिध्याउनुस् , तपाइँलाइ यति पैसा दिन्छु’ भन्दै एकजनाले काम जिम्मा लाएको थियो । मैले जिम्मा लिएको काम पाँच दिनमै पूरा गरेको थिएँ । त्यसपछि मलाइ दिइने भनेको पारिश्रमिक लिनको लागि सम्पर्क गरेँ । उनलाइ जतिचोटि फोन गरेपनि आफू ‘मिटिङमा छु, पछि सम्पर्क गर्नुस्’ मात्र भनिरहन्थे । एक पल्ट उसैले मलाइ फोन गरे । ‘पक्कै अब चाहिँ पैसा देलान् जस्तो छ’ भनि दंग पर्दै कुरा गरेको त चुरो कुरो अर्कै रहेछ । “ हेर्नुस् , वसन्त जी अब फेरी यो काम आएको छ यसको पनि तपाइँलाइ यति दिइन्छ ” भन्दै लोभ मात्र पो देखाउँछन् त ! मलाइ भने जंग चलेको थियो अनि कराइहालेँ “के हो पहिलेको कामकै पैसा पाएको छैन फेरी अर्को काम ? सक्दिन गर्न ।” “हैन वसन्तजी, नरिसाउनुस् न ।

हेर्नुस्, हामीलाइ तपाइँको काम गर्ने तरिका मन पर्‍यो त्यसैले माथि हाम्रो Boss नै तपाइँलाइ नियमित काम दिन चाहनुभएको छ । तपाइँ चाहनुहुन्छ भने कामको लागि Agreement पनि गर्न सकिन्छ ।” ‘अहो नियमित काम पाइने !’ मनमनै दंग परेँ । ‘हुन्छ त्यसो भए Agreement पनि पहिले गरौँ न त ।’ उनी बोले– ‘ त्यो त कुन ठूलो कुरा भयो र ? अहिले Boss बाहिर गइरहनु भएको छ, उहाँ आए पछि त्यो भैहाल्छ ।’ नियमित काम पाउने आशमा म फेरी त्यो काम पनि गर्ने निर्णय गरेँ ।

दोस्रो पल्टको काम सिद्धिएको दश दिन पछि मैले नै सम्पर्क गरेर पैसा आउँदैछ की Agreement भनेर बुझ्ने प्रयास गरेँ । जवाफ उहि आयो –‘त्यो त कुन ठूलो कुरा भयो र ?’ तर यो जवाफ आएको हप्ता दिन पछि मात्र पहिलो कामको पैसा दिइयो तर जतिपल्ट Agreement को कुरा गरे पनि जवाफ भने त्यहि आउने गर्‍यो । त्यसपछि सोध्नै छोडेँ ।

यि र यस्ता भोगाइहरु पछि अब एउटा ज्ञान आएको छ । जसले सिधा जवाफ नदिइ कसैलाइ झुलाउने नियत राखेका हुन्छन् , त्यस्ताले दिने जवाफ यस्तै हुँदोरहेछ । त्यसैले अचेल कसैले मेरो सामु आएर “कुन ठूलो कुरा भयो र ?” भने पछि मेरो पारो तातिहाल्छ ।

Monday, February 6, 2012

चटक र क्रान्ति

- नर्मदेश्वर प्रधान




त्यस जादुगरले
झोलाबाट
क्रान्ति झिक्यो...
भोटो जात्रामा भोटोलाई झैँ उसले
चारै कुनाबाट देखायो....
म विस्मित,
मैले ताली बजाएँ....
खुब बजाएँ....
केही छिनपछि
उसले क्रान्तिलाई फेरी
खाली झोलामा राख्यो
उसको छूमन्तरले
क्रान्ति
झोलाभित्रै बिलायो
आफ्नो चमत्कारबाट
गर्वित
त्यो जादुगर,
उसले ताली बजायो, खुब बजायो
तर, यो पालि किन हो
मैले ताली बजाइनँ.....।







(नेपालभाषाका कविको यो कविता नागरिक दैनिकबाट साभार गरेको हूँ ।)

Thursday, December 15, 2011

अपरिचित मलामी




नेवार समुदायमा कसैको मृत्यू भएको कुरा निरन्तर बजिरहने शोक धुनले जनाइरहेको हुन्छ । आमाले त्यसदिन मलाई छिमेकमा कोही खसेको जानकारी गराउनुभएको थियो । अनि भन्नुभएको थियो कि ‘आज तेरो बुबा जान भ्याउँदैन तँ नै मलामीसँग जानुपर्छ ।’

कसको मृत्यू भएको हो मैले चिनेको व्यक्ति होइन तर मलामी त जानुपर्ने भयो । ‘के गरेर जाने, म कस्तो मुद्रा बनाएर जानुपर्ला ? कसैको मृत्यूमा भावविह्वल त हुनुपर्ने हो तर अपरिचित मान्छेको मृत्यूमा शोक ? ठिकै छ अरु मलामीको पछि पछि जाने त होला नि ! के अप्ठेरो महसुस भइरहेको होला मेरो मनमा पनि ? ’

बाजा अगाडि लगाएर मृत शव लिएर मलामी अघि बढ्यो । घरबाट निस्कने बित्तिकै किर्तीपूरकै एकजना परिचित कलाकार दाजु देखेँ, उहाँले नै पहिले हात अघि बढाउनु भयो अनि उहाँ सँगै घाटको बाटो तर्फ अघि बढेँ । मैले सोध्नै परेन उहाँले नै मृत व्यक्तिबारे वर्णन गरिदिनुभयो । मृत व्यक्ति त्रिभूवन विश्वविद्यालयको पूराना कर्मचारी, साइनबोर्ड पेन्टर र समाजसेवी हुनुहुँदोरहेछ ।

म ति कलाकार दाजुको कुरा सुन्दै मलामी हिँडेका अरुका अनुहार पढ्न तिर लागेँ । कोही पनि शोकग्रस्त भएका या मृत व्यक्तिलाई सम्झिरहेका जस्ता लागेनन् । बरु अरु नै विषयमा आपसमा गफ लडाइरहेको पाएँ । कोही घाटको नजिक भइरहेको गोलभेँडा खेतीको कुरा गरिरहेका थिए भने कोही राजनैतिक गफ पनि लडाइरहेको पाएँ । म अक्क न बक्क परेँ । म त मृत मान्छेलाई चिन्दिन तर यिनीहरु त चिनेरै आए जस्ता लाग्थे तर पनि कसैको मूहारमा शोक झल्केको देखिनँ । यिनीहरु त आज कसैको मृत्यूमा मलामी बनेर जाँदा भोली अरु पनि आफ्नो मृत्यू हुँदा मलामी बनेर आउन् भनेर मात्र उपस्थिती जनाएका हुन् की जस्तो लाग्यो । खै किन हो मानिसहरू आफ्नो मृत्यू हुँदा धेरै मलामी पछि लगाउनुलाई प्रतिस्ठाकै विषय बनाउँछन् ।
अपरिचत मान्छेको मृत्यूमा शोक मनाएर म फर्किएँ ।

(यो लेख कुनै समुदायको संस्कारलाई व्यङ्ग्य गर्न लेखिएको होइन । केवल आफ्नो नितान्त व्यक्तिगत अनुभव मात्र समावेश गरेको हुँ ।)

Wednesday, October 12, 2011

आफ्नै आँखाको लयमा पढेपछि


करिब तिन महिना अघि नै हात परेको खगेन्द्र संग्रौला द्वारा लिखित "आफ्नै आँखाको लयमा" यसपाली दशैमा पढियो । यो उनको आत्मसंस्मरणात्मक निबन्ध संग्रह हो । अधिकांश पहिले नै दैनिक पत्रिकामा छापिसकेका र केही नयाँ निबन्धहरू यसमा समावेश छन् ।

यी आत्मसंस्मरणमा उनी निकै खुलेका लाग्छन् । बाबुछोराको सम्बन्ध, अविभावकिय संरक्षण दिने जेठो दाजुको सम्झना अनि जून हो वेवकूफका शिक्षक वामदेव सर र यस्तै उनले सँगत गरेका पात्रहरूको सटिक र खुलस्त वर्णनहरू यसमा समावेश छन् । खगेन्द्र संग्रौलाका आख्यानहरू पढ्न नपाएको धेरै भएको थियो । यि लेखहरू निबन्ध नै भए पनि उनको संवादात्मक र सरल भाषाशैलीले गर्दा यो पुस्तक पठनीय बनेको छ । यो पुस्तक अझ फूर्सद लिएर पढ्दा यसको मजा लिन सकिन्छ । कहिले पढ्दा-पढ्दै आँखा आँशुले भरिएर आउँछन् भने कहिले एक्लै खितिती हाँस्न मन लाग्छ ।

प्रस्तुत पुस्तकको केही अंश यहाँ समावेश गरेको छु ।

विश्वका दमनकारी दादाहरूलाइ त्यो विनाशकारी धक्का (ट्विन टावरमा भएको हमला) का अत्याचारी कारणहरू खोज्न चिन्ता छैन , ति त केवल हानिरहित मनुवाहरूका पुन्टे झोलामा बमसम खोज्न लगाउँदै अर्को विनाशाकारी धक्काको मूर्खतापूर्ण प्रतिक्षामा छन् ।

वेस्ट सेलर भनिने पुस्तक गुणवत्तामा वेस्ट नै हुन्छ भनी आँखा चिम्लेर नपत्याउनु, प्रायः यस्ता वेस्ट सेलरमा अतिरञ्जित विज्ञापन र व्यापारिक स्वार्थको मायावी लेप लगाइएको हुन्छ । केवल विक्रीको संख्या पुस्तकको श्रेष्टताको नापो होइन ।

Sunday, June 19, 2011

म त काठमाडौँ बस्दिन


सितापाइला बाट छाउनी आइपुगेको मात्र के थिएँ । कसैले “ए दाइ यता हेर्नुहोस् त” भनि बोलाएकोले हेरेँ । एकजना केटा केही पाउने आशामा थिए । “दाइ मलाइ तल सम्म छोडिदिनुहोस् न् । हिँडेर जान अल्छि लाग्यो त्यसैले ।” बिहान मात्र दुइ सय रुपैयाँ खर्च गरेर बनाएको साइकललाई हेरेँ टायरमा हावा कम भएर कमजोर भएको रहेछ । साइकलप्रति दया गर्दै भनेँ -“हुन त हुन्छ तर हावा कम भएकोले राम्रो पिच बाटो भएसम्म मात्र लगिदिन्छु ।”

यिनी रहेछन् एस एल सी को जाँच सकाएर ब्रिचकोर्स पढ्न काठमाडौँ आएका गोर्खार्का विद्यार्थी, विजय रोक्का । उनी बोल्दै गए–“मेरो पनि गेरवाल साइकल थियो । गएको बन्द (क्षेत्री समाजले गरेको हड्तालको दिन) मा ठगिएँ । मेरो साइकल लग्यो ।” “कसरी ? ” “म सितापाइला चोक तिर साइकल चलाउँदै थिएँ , दुई जना केटाहरू आएर भाइ, हिँड्दा हिँड्दा गाह्रो भयो सहयोग गर न भने अनि कलंकी तिर तिनजना सँगै गइयो । पछि एकजना साथी थानकोटबाट आउँदैछ , उसलाइ लिइ आउँछु भनेर दुइ मध्ये एक जनाले साइकल लग्यो । अर्को चाहीँ साथी मसँगै थिए तर बन्दमा कलंकी चोकको मान्छेको हुलमा त्यो मान्छे कता गाएब भयो कता ? त्यसपछि न त साथी लिन गएको मान्छे भेटियो न त साइकल, यसरी म ठगिएँ । नयाँ साइकल थियो त्यो ! ”

मेरो साइकल पनि रोकियो, किनकी पिचबाटो सकिएको थियो , छाउनी देखि छाउनी सम्म । “ल त अब हिँडेर जाऔँ ।” मलाइ पनि हतार नभएकोले उसँग कुरा गर्दै सँगै हिडेँ । उनको काठमाडौँ बसाइ तेस्रो पटकको रहेछ । तर यहाँ आएकैपिच्छे जति सक्यो छिटो घर फर्किने मन मात्रै भइरह्यो । भन्दै थिए- “अहिले पनि दिक्क लाग्यो । उता गोरखामा जता पनि हरियाली डाँडाकाँडा थिए,स्वच्छ हावापानी छ यता हरियाली देख्नै गाह्रो । जता हेरे पनि मोटर र मान्छेको भिडमात्रै । उराठलाग्दो वस्ती, फुंग उडेर तातेको सडक कोठाबाट बाहिर निस्कनै नपरे हुन्थ्यो जस्तो हुन्छ ।” “अनि तिमीलाई यहाँ के चाहिँ मन प¥यो त ? ” “कहाँ र दाजु यहाँ त कसैसँग बोल्दा पनि केही भन्ने हो की भन्ने जस्तो ठूल्ठूलो आँखाले एकले अर्कोलाइ घुरिरहेका मान्छेहरूमात्रै देखिन्छन् ।” लौ ! काठमाडौँको दुर्गुणको लिस्ट त अझै सकिएको रहेनछ । “घरमा आमाले एउटा भैँसी पाल्नु भएको छ । त्यहाँको शुद्ध दुध खान नपाएको पनि दुइ महिना भैसक्यो । यहाँको प्याकेटको दुधको त स्वादै नहुने । होटेलमा खाना खाँदा मासु पकाएको त कस्तो कस्तो आँखाले चाहीँ चिल्लो र मिठो देखिने, तर । म नजानेरै पनि आफैले पकाएको भए त्यो भन्दा मिठो हुन्थ्यो होला ।”

“अनि के चाहीँ राम्रो लाग्यो त तिमीलाई ? ” “गोदावरीमा साथिहरूसँग घुम्न गएको थिएँ । त्यो ठाउँ चाहीँ रमाइलो, शान्त लाग्यो । बाह्रै महिना फुल फूलाइने रहेछ त्यहाँ । त्यहाँको वातावरण चाहीँ राम्रो थियो ।” अनि रसिलो पाराले उनले भन्दै थिए -“भृकुटीमण्डपमा खेलेको रेल चाहीँ साँच्चैको रेल चढेजस्तो रमाइलो भएको थियो ।” उनलाइ सुन्दा लाग्थ्यो, काठमाडौँको इज्जत केवल यहि भृकुटीमण्डपको रेलले बचाएको थियो । अनि काठमाडौँमा खाएको मः मः पनि मिठै लाग्यो रे उसलाई !

“अब एक हप्तामात्र हो काठमाडौँमा बस्ने, त्यसपछि त गाउँ नै फर्कने हो । हुन त स्कूलका सरहरूले काठमाडौँमा प्लस टु पढे राम्रो छ भनेर भनेका हुन तर म यहाँ बस्नै सक्दिन । अब त म पाएसम्म पोखरामा नपाए चितवनमा बसेर पढ्ने हो । अब म त यहाँ कहिल्यै फर्किन्न होला ।”