Friday, November 16, 2012

सेलिब्रेटीका ठूला कुरा


नेपालका सेलिब्रेटी भनाउँदाहरुका अन्तरवार्ता आएपछि कसो कसो पढुँ न त भन्ने लागेर पढ्न सुन्न र हेर्न लाग्छु । यि अन्तरवार्तामा प्रायः सबै प्रश्न र उत्तरहरू उस्तै हुने गर्छ अनि बेकार पढिएछ , हेरिएछ भन्ने लाग्छ । अझ झर्को लाग्ने कुरा त के भने, सबैलाइ नछुटाइने एउटा प्रश्न — “तपाइँलाइ आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?”

यो प्रश्न जति झर्को लाग्दो छ , यसको उत्तर झन् बढि झर्को लाग्दो छ ।

हजुर तपाइँले पनि यसको उत्तर ख्याल गर्नुभएको होला — “म जोकोही मान्छेहरूलाई पनि चाँडो विश्वास गर्छु । यो बानी चाहिँ सुधार्नै सकिएन ।”

अधिकांश सफल ठानिएका सेलेब्रेटीका यस्ता कुरा सुनेर हैरान हुन्छु ।

अरुलाई धेरै विश्वास गर्ने मान्छे सायदै यसरी चर्चामा चुलिन्थे होलान् । अनेक ठाउँमा धोका हुन्थ्यो, धेरै क्षति हुन्थ्यो होला । पाठक, श्रोता र दर्शकका आँखामा छारो हालेर यस्ता उत्तर दिनेहरू प्रति दया आउँछ । कठै .. । यिनको यो नराम्रो बानी चाहीँ चाँडै सुध्रोस् है । हामी शुभचिन्तकहरु यहि त कामना गर्न सक्छौँ क्यारे अरु त के गर्न सक्छौँ र ? की कसो ?

Thursday, September 27, 2012

साहित्य महोत्सवमा एक दिन


वायाँबाट क्रमशः शर्मिला खड्का, राजिवध्वज जोशी, विनय कसजु र शास्वत पराजुली
नेपाल साहित्य महोत्सवको तेस्रो दिन शनिवार परेकोले अघिल्लो दिन नै साहित्य मेलामा जाने योजना बनाएको थिएँ । त्यहाँ जाँदा जे होस् रमाइलै भयो । प्रज्ञा भवनको डबलीमा र प्रज्ञा भवनको ठिक पछाडीको खाली ठाउँमा मञ्च बनाइएको थियो । जहाँ एकै समयमा दुईवटा कार्यक्रम संचालन हुन्थ्यो । त्यसैले कार्यक्रम तालिका हेरेर कताको कार्यक्रममा बस्ने ? केही समय अलमल पनि परेको थियो । तर जे होस् आफ्नो छनौट राम्रै परेछ भन्ने लागेको छ ।

त्यसदिनको कार्यक्रमको तालिका अनुसार सुरुमा सुन्नेलाई ‘सुनको मालाः नेपाली बालसाहित्य’ विषयमा कार्यक्रम भयो । जसको संचालन शास्वत पराजुलीले गरेका थिए भने त्यसका वक्ताहरू क्रमशः शर्मिला खड्का, विनय कसजु र बालपुस्तक प्रकाशक राजिबध्वज जोशी रहेका थिए । नेपाली बालसाहित्यलाई अझै पनि मूलधारको साहित्य नमान्ने परम्परा रहेको भन्ने कुराहरू त्यहाँ उठेका थिए । विनय कसजुको भनाईमा बालबालिकाले लेख्दैमा त्यो साहित्य बालसाहित्य हुँदैन । उनले आफूलाई ठूला लेखक भनाउँदाहरूले कम्तिमा राष्ट्रप्रतिको ऋण तिर्नको लागि भए पनि बालसाहित्यमा कलम चलाउन अनुरोध गरे । हामीकहाँ बालबालिकामा पठन संस्कृतिको विकास गर्न नसेकोकोमा सबैको धारणा मिलेका थिए । कथालय प्रकाशनका राजिवध्वज जोशीका अनुसार बालबालिकाका रुचिअनुसार आफूहरूले चित्रले भरिएका किताबहरू प्रकाशन गरिरहेका भएपनि अभिभावकहरू भने आफ्ना छोराछोरीलाई अक्षरबढी भएकोमात्र किनिदिन खोज्ने प्रवृत्ति बढी रहेको छ । अझ कतिपय अभिभावकहरू त आफ्ना बालबालिकाले पाठ्यपुस्तक बाहेक अरु किताब पढेको नरुचाउने गरेको पनि पाइएको जनाउँदै थिइन् बालसाहित्यकार शर्मिला खड्का ।

वायाँबाटः श्याल्पा रम्पोछ, पत्रकार मनोज दाहाल र अनिल शाह
साहित्य महोत्सवको त्यसदिनको कार्यक्रममा दोस्रो कार्यक्रम भारतिय लेखक अमिस त्रिपाठी सँगको financier to writer शिर्षकमा संवाद एक ठाउँमा थियो भने अगाडि डबलीमा श्याल्पा तेन्जिङ रिम्पोछे नामका बौद्ध भिक्षुले लेखेको बौद्ध दर्शन सम्बन्धि किताब living fully माथिको छलफल थियो ।  जसको संचालन बैंकर अनिल शाहले गर्नेवाला थिए । दुवै कार्यक्रम खासमा मेरो रुचिकर थिएन तै पनि अनिल शाहले संचालन गरेको कार्यक्रममा बसौँ न त भन्ने मनमा आए पछि डबली तर्फ बढेको थिएँ । लौ उनि त अंग्रेजीमा पो बोलिरहेका थिए । लुजा आफुले नभढेको गैरआख्यान / गैह्र साहित्यिक किताबको चर्चा त्यसमाथि पनि अंग्रेजीमा ?  म फर्केँ भारतिय लेखककै कार्यक्रममा । उनको एक छिनको वार्ता सुनेपछि भने पारो तातिहाल्यो । उनि कुनै बेला बैँकर थिए रे तर उनकी प्राण प्यारी श्रीमतिले उनलाई साहित्य लेख्न भनेपछि लेख्न सुरु गरेको अनि लेख्न थालेपछि त यस्तरी साहित्यमा बगियो रे कि उनको लेखन त माथिबाट (कहाँबाट ?) इश्वरिय वरदान पाएको महसुस भयो रे अनि त साहित्यबाट पछि फर्कनुपरेन रे ।

अब भने साहित्य मेलामा कस्ता मान्छेलाई लिएको होला ? भन्ने प्रश्न घुम्यो र एकछिनमा अगाडि डबली तिरै फर्किएँ । त्यहाँ अब रिम्पोन्छेसँग दर्शक श्रोतासँगको संवाद सुरु भइसकेको रहेछ । शुस्त शुस्त उनको अंग्रेजीलाई बुझ्न सक्छु की भन्दै कान ठाडो पारेर अगाडि उभिएँ । अहिले त यहाँ रमाइलो कुराकानी भइरहेको रहेछ । दर्शक दिर्घाबाट एउटा प्रश्न आयो – ‘ तपाइँले श्वासप्रश्वास गर्दा मजा लिनुहोस् भन्नुभयो कसरी मजा लिने बताइदिनुहुन्छ की ?’ रिम्पोन्छेको उत्तर यस्तो थियो–‘मेरो भनाइको तात्पर्य यो थियो कि, हामीहरू ठुला–ठुला कुरामा धेरै चिन्ता लिन्छौँ । त्यो मान्छेसँग धेरै चिज छ आफूसँग छैन भनेर दाँज्छौँ अनि आफूलाई असहाय कमजोर सम्झन्छौँ । ठूला महाराजा भनिएकाहरूले खाने भोजनमा चौरासी व्यञ्जन होला, हाम्रोमा हुँदैन । धनिहरूसँग सुविधासम्पन्न कार, घर होलान् हामीसँग छैन । तर हामीले एउटा कुरालाई भूल्छौँ कि त्यो धनि मान्छेसँग पनि त्यो त्यतिन्जेल मात्र हुन्छ, जबसम्म उसले सास फेर्न सक्छ । उनको सबै सुविधा त सास सँगै बिलाएर जान्छ । हामीसँग पनि त सास छ जुन सास धनिले फेर्छन् । अनि हामी किन दुःखि हुने ल अब तपाइँ निश्फिक्री भएर लामो सास फेर्नुहोस् त तपाइँलाई आनन्द आउँछ कि आउँदैन ?’

अर्को एउटा उत्तेजित प्रश्न आयो–“सबैलाई थाहा छ कि बुद्ध नेपालमा जन्मेका हुन् तर पनि भारतियहरू किन आफ्नो देशमा जन्मेको भनि प्रचार गर्न तम्सिएका छन् ?” रिम्पोन्छेको सरल उत्तर–“ भारतीयहरू अहिले बुद्धलाई भारतमा जन्मेका भनेर प्रचार गरिरहेका छन् भोलि गएर अमेरिकनहरूले बुद्ध अमेरिकामा जन्मेका भन्लान् ,अनि अरु युरोपियन राष्ट्रहरूले पनि यसरी बुद्ध आफ्नो देशमा जन्मेका भनि सबैले प्रचार गर्दै गए भने त हेर्नुस् लुम्बिनिमा जन्मेका बुद्धको झन् ठूलो सम्मान पो भएको हुन्छ त । हामी यस्ता तपसिलका कुरामा किन अल्झिने ? अनि पो बुद्धको कुरा फैलन मद्धत पुग्छ ।” बुद्धका आकृतिलाई जुत्तामा कुँदेका कुरामा पनि उनले यस्तै प्रतिक्रिया दिए । ‘बुद्ध तपाइँ हाम्रो मनमा छन् भने त्यो नै पर्याप्त छ । कसैले भित्री लुगामा, कसले टोपीमा कसैले कसैले जुत्तामा प्रयोग गर्‍यो  भन्दैमा त्यसप्रति आक्रोश व्यक्त गरिरहनु जरुरी छैन ।’


एउटा प्रश्न मैले ठ्याक्कै बुझ्न त सकिनँ तर उनले यौन आदि लाई जोडेर बुद्ध दर्शनबारे प्रश्न सोधेकोमा रिम्पोन्छेको जवाफ थियो–“बुद्धले उठाएको कुरा शान्तिको हो सद्भावको हो । कसैले चित्र कोरेर शान्ति पाउलान्, कसैले गित गाएर त कसैले अर्थोक नै गरेर । शान्ति पाउन गुफामा गएर तपस्या नै गर्नुपर्छ भन्ने छैन । तपाइँलाई यौनसम्पर्क गर्न एवं कुनै पनि कामबाट मनोरञ्जन प्राप्त गर्न बुद्ध दर्शनले रोकेको छैन यसबारे चिन्ता नलिनुभए हुन्छ ।” 

वायाँबाटः मनुमञ्जिल, मोमिला, श्रवण मुकारूड,रमेश क्षितिज र विप्लप ढकाल
तिनबजे तिर यहि दबलीमा कविहरू श्रवण मुकारुङ्ग, मोमिला शर्मा, रमेश क्षितिज र विप्लव ढकाललाई कविताका शक्ति र सिमाबारे बोल्न लगाइयो । उहाँहरुलाई नेपाली साहित्यमा लक्ष्मि प्रसाद देवकोटाको ‘पागल’ कविता, भूपिको ‘हामी’, गोपाल प्र.रिमालको ‘आमाको सपना’ र वैरागि काइँलाको ‘मातेको मान्छेको भाषण’ जस्ता कवितालाई अझै पनि हामीहरू किन सम्झिरहेका छौँ ? यि कवितामा त्यस्तो के शक्ति छ ? यसबारे बोल्न अनुरोध गर्दै कवि मनुमञ्जिलले कार्यक्रम सञ्चालन गरेका थिए । यो कार्यक्रमा मनु मञ्जिलका तार्किक प्रश्न र त्यत्तिकै तार्किक कविहरूका जवाफले पुरै डबली रमाइलो भएको थियो ।

केही तर्कहरू जसले मलाई छोयो–
१.     आफ्नो युगसँगको संवादसँग सफल भएकाले ति कविताहरू शक्तिशाली भए –विप्लव ढकाल
२.    शब्दहरू पागल भएपछि कविता बन्छ –(मोमिलाले उद्धृत गरेको तर कसको भनाइ याद भएन)
३.    मेरो कविताका शब्द बौलाएका हुन् पागल होइन् । मेरो विचारमा पागललाई अरुसँग मतलब हुँदैन । उ केवल आत्मसंवाद गर्नसक्ला तर उ अरुसँग संवाद गर्न सक्दैन तर बौलाहहरू यो समाजका कुरीतिबाट दिक्क भएर जोरीखोज्ने हदसम्मका रिसाहा भएर समाजमा हिडिँरहेको हुन्छ । –श्रवण मुकारुङ्ग
४.    “ए तपाइँ कविता लेख्नुहुन्छ ? कविता त जसले पनि लेख्छ , यसबाहेक चाहिँ के लेख्नुहुन्छ ? ” ( मनुमञ्जिल लाई कसैले यस्तो सोधेका थिए रे । )

डबलीको कवि गोष्ठीमा उपस्थिति भावकहरू
त्यस संवाद अन्तक्रिया लगतै सुरुभयो कवि गोष्ठि जसमा करिब विस वटा कविता वाचन गरिएको थियो । जसमा श्रवण मुकारुङ्ग,मनु मञ्जिल, सुलोचना मानन्धर, चन्द्र घिमिरे, राम बहादुर तामाङ (रावत) , भुपेन व्याकुल, मनप्रसाद सुब्बा, गिता त्रिपाठी आदि कविहरू थिए । यस कार्यक्रममा महिलाहरूलाई पनि कवयत्री नभनेर कवि मात्र सम्बोधन गरिएकोमा राम्रै लाग्यो । श्रवण मुकारुङ्गको कविताका पात्र भानुभक्त थियो । जसमा उनको अहिलेको पुनर्जन्ममा उनी मलेसिया जाने नेपालीको लाममा बसेको भनि अन्त्य गरेका थिए । यो कविताले एकदम गजबको तरङ्ग फिजाउँदै गर्दा अर्को कविता सिद्धे अर्थात् सिद्धार्थमा सिद्धार्थ गौतम रोग, बुढ्यौली र दुःख बाट मुक्ति पाउन घरबार त्यागि जंगल पसिरहँदा यता सिद्धे आफ्नो बुढो रोगि बाबुको उपचार गर्न जडिबुटी खोज्न हिँडेको, अनि चुहिएको छानोमा कसरि जीवन काट्ने चिन्ताले ग्रस्त बन्दै हिँडेको कुरा बताइरहेथे कवि– मनप्रसाद सुब्बा । कविताको कथ्यशैलीका हिसाबले र कलाले गर्दा नव युवाकवि राम बहादुर तामाङ(रावत) का कविताले सबैको वाहवाही पाएको थियो ।

धेरै पछि कविहरूको मुखारविन्दबाट प्रत्यक्ष रुपमा कविता सुन्न पाएकोले भोको मान्छेले खान पाउँदा महसुस गरे जस्तै तृप्ती मैले महसुस गरिरहेको थिएँ । बेलुकी झण्डै सातबजे सम्म त्यसदिनको कार्यक्रम चलेको थियो । साहित्य महोत्सवको यो दिन जे होस् सदुपयोग नै भयो भन्ने लाग्यो ।

सबै कार्यक्रमहरूमा दर्शकहरूलाई पनि प्रश्न गर्न दिइएको थियो । कार्यक्रम निश्चित समयसिमामा बाँधिएकाले मेरा केहि प्रश्नभने मनैमा थाँती रहे । खासगरि त्यसदिनको प्रथम कार्यक्रम जसमा बालसाहित्य सम्बन्धि छलफल गरिएको थियो त्यसमा प्रश्न गर्ने मौका नपाउँदा थक्थकी लागिरह्यो । मेरा प्रश्न अझै पनि आफूलाई अहिलेका बालसाहित्यकार एवं यो सँग सम्बन्धित छु भन्ने सबैप्रति छ ।

हामी सानोबेलामा आफूलाई स्कूलमा टिफिन खान दिइने एक,दुई रुपैयाँ जम्मा गरेर मासिक रुपमा निस्कने मूना, बालकोसेली,नवप्रतिभा, चिचिला, सुनकेस्रा, बालसाथी आदि बालपत्रिका किनेर आफ्नो बालसाहित्यको प्यास मेटाउने प्रयास गथ्र्यौँ । अहिले बजारमा निकै थोरै मात्र नियमित बालपत्रिका प्रकाशन भएको छ । ति पनि धेरै दामका । अनि अचेल प्रकाशित भइरहेका बालसाहित्यका पुस्तकको मूल्य त आकाशै छुने राखिएका पाइन्छन् । अचेल केही अन्तर्राष्ट्रिय गैह्रसरकारी कार्यालयले बालपुस्तकहरू किनिदिएर पुस्तकालयहरूलाई दिने फेसन चलेको छ । यसले देशभरीका सबै वर्ग र क्षेत्रका बालबालिकामा पहूँच पुर्‍याउन सकेको त छैन नै त्यसमाथि पनि एन जि ओ ले किताब किन्ने त हो नि ! भन्दै प्रकाशकले किताबका मूल्य उँचो राखिदिएको होला । यसले झनै बालसाहित्यबाट धेरै बालबालिकाहरू बञ्चित हुने गरेको देखेको छु । के यो बालसाहित्यमा भएको विकृति होइन ?

नियमित बालपत्रिका निस्कनुको सट्टा अचेल ठूला दैनिक पत्रिकाहरूमा बालपृष्ठ भनेर साप्ताहिक रुपमा केही पृष्ठको परिशिष्टाङ्क निकाल्ने गरिने फेसन आएको छ । जसको जिम्मा बालसाहित्यमा लागेकालाई भन्दा पनि बढि पत्रिकाका रिपोर्टरलाई दिइएको छ । अनि त यसमा बालबालिकालाई दिन हुने नहुने सबै सामाग्री प्रकाशन हुने गरेका छन् । के ठूला ठूला चित्र र बाल्यकालको कसैको सम्झना राख्दैमा त्यसलाई बालसाहित्यमाथि गरेको योगदान भन्न मिल्छ ? आफूलाई बालसाहित्यकार भनाउँदाहरू के एनजिओ ले लेख्न अह्राए मात्र लेख्ने नत्र चुप बस्ने ? यसरी अहिलेका बालबालिकाहरू भविष्यका कस्ता पाठक बन्लान् ? प्रश्नहरू छताछुल्ल भएर बगेका छन् । तपाइँसँग यसको उत्तर छ ?

Thursday, August 16, 2012

Life Is Beautiful हेरेपछि


चलचित्रले समाजको लागि योगदान दिनुपर्छ, यो मनोरञ्जनको साधनमा मात्र सिमित रहनु हुँदैन भन्ने मान्यताले गर्दा केहि चलचित्रहरू हाम्रा दैनिक जीवनका प्रत्येक घटनामाथि पनि बनिरहेका छन् । साहित्यिक कृतिमाथि पनि चलचित्र बनिरहेको छ । दोस्रो विश्वयुद्ध पछि इटालीमा केही यस्तै गम्भीर प्रकारका चलचित्रहरू बनेका छन् । जून आज पनि त्यतिकै सान्दर्भिक लाग्छन् । यहाँ यस्तै खालको एउटा चलचित्रको चर्चा गर्दैछु ।

जीवन के हो ? जीउने विधि के हो ? कसरी बाँच्दा उपयुक्त हुन्छ ? आफ्नो जीवनलाइ कस्तो पाउनुहुन्छ ? यी र यस्ता जीवन माथिका प्रश्नमा धेरै विद्वानहरूले आफ्ना ज्ञान बाँडेका छन् । तैपनि यसमाथिको बहस अनन्त छ । हेर्ने र भोग्नेका नजरमा निहित हुन्छ जीवन । कसैले यसलाइ एउटा खेल सम्झन्छन् , कसैले संघर्ष , कसैले धोका , कसैले वाध्यता यसलाइ धेरै कोणबाट व्याख्या गर्न सकिन्छ । जीवनलाइ एउटा रमाइलो खेलको रुपमा देखाइएको चलचित्र हो– Life Is Beautiful ।

Guido एक यहुदी पुरुष हो । उ शहरमा एउटा किताब पसल चलाउने सपना लिएर आएका छन् । तर यो तत्काल सम्भव नभएकोले एउटा रेष्टुरेन्टमा वेटरको रुपमा काम गर्छन् । उनका लागि प्रत्येक दिनहरू सुन्दर छन् । अझ एउटा साथीले विद्वान Schopenhauer को ‘इच्छा शक्तिमा धेरै शक्ति छ, भित्री मनले इच्छा गर्दा जे पनि प्राप्त हुन्छ’ भन्ने कुरा सुनाएपछि त यसलाइ गज्जबले प्रयोग गरिरहन्छन् । त्यसैले उनि आफ्नो प्रेमिका (Dora) लाइ उनको विवाहको घोषणासभा बाटै भगाएर बिहे गर्न पनि सफल हुन्छन् । चलचित्रको आधा भागमा यस्तै रमाइलो हाँसो ठट्टाले भरिएको छ ।

बिहेको करिब पाँच वर्ष पछिको दृश्यमा उनले एउटा सेकेन्डह्याण्ड किताब पसल खोलिसकेका हुन्छन् । उनको एउटा छोरो पनि हुन्छ– Joshua । उनि खेलौना खेल्न रचाउँछन् । बाबु आमाको प्यारो उसलाइ नुहाउन पटक्कै मन पर्दैन नुहाउने कुरा उठ्यो की लुक्न थाल्छन् ।     (यसदृश्यले धेरैले आफ्नो बाल्यकाल सम्झिन्छन् ।) उनको जन्मदिनमा एउटा नयाँ खेलौना ट्याङ्क ल्याइदिन उनि आफ्नो बुबालाइ फकाइरहेका हुन्छन् ।

छोरालाइ लुकीबसेको ठाउँमा खानेकुरा दिँदै Guido
अचानक शहरमा हिटलरका सैनिकहरू परेड खेल्न थाल्छन् । शहरमा बसोबास गरिरहेका यहुदीहरूलाइ पक्राउ गरेर उनिहरूलाइ अज्ञात ठाउँमा लैजान्छन् । Guido पनि एक यहुदी भएकोले उनलाइ उनको छोरा सहित गाडी र रेलमार्ग हुँदै लगिन्छ । बालक Joshua बाबुलाई आफूहरू कहाँ जाँदैछौँ भनि प्रश्न गर्दा उनको जन्मदिन मनाउन कतै टाढा जान लागेका छौँ भन्दै उनका प्रत्येक बालसुलभ प्रश्नका उत्तर दिँदै जान्छन् ।

Guido की पत्नी यहुदी नभएकिले उनलाइ भने सैनिकले लग्दैनन् तर आफ्नो पति र छोरालाइ लगेको थाहा पाएपछि उनि पनि त्यहि रेलमा चढ्छिन्, एउटा अज्ञात यात्रामा ।

एउटा बन्द क्याम्प जस्तो देखिने इलाकामा रेल प्रवेश गरेपछि त्यहाँ उनिहरूको बस्ने ठाउँ अनि कामबारे जर्मन भाषामा बताइन्छ । छोरालाइ आफूहरू यातनागृहमा भएको कुरा थाहा नदिइ त्यहाँ एउटा खेल खेल्न आएको र जसले धेरै अंक ल्याइ यो खेल जित्छ उसले नयाँ खेलौना ट्याङक पाउँछ भनि बुझाउँछन् । छोरालाइ सुत्ने ठाउँमै दिनभरि बस्न लगाइ Guido अरु यहूदिहरू सँगै त्यहाँको फलाम फ्याक्ट्रीमा उनिहरूलाइ अह्राए अनुसार गह्रुँगो फलाम बोक्छन् । त्यो ठाउँमा जो जहिलेसम्म काम गर्न सक्छन्, त्यतिन्जेल मात्र बाँच्न पाउँछन् । काम गर्न नसक्ने भएपछि सेनाले गोलि हानेर मारिदिन्छन् । उता Guido  की पत्नी पनि त्यसरी नै काममा खटिएका हुन्छन् । त्यहाँ बुढाबुढीहरू र बच्चाहरूलाइ काम लगाइँदैन भन्ने थाहा पाउँदा कम्तिमा बच्चाका निम्ति त सैनिकहरू दयावान रहेछ भन्ठानेकी उनी त्यतिखेर भावशुन्य हुन्छिन् जब सैनिकहरूले उनिहरूलाई ग्यास च्याम्बरमा राखेर हत्या गर्छन् भन्ने थाहा पाउँछिन् । आफ्ना पति र छोरा ल्याइएकोले आएकी उनी उनिहरूको अवस्था थाहा पत्तो नहुँदा किंकर्तव्यविमुढ हुन्छे । तर सबैको आँखा छल्दै आफूहरू सुरक्षित रहेको भन्ने जानकारी दिन Guido माइकिङ गर्ने, बजिरहेको गीतमा पत्नीलाइ मनपर्ने अपेरा बजाइदिने गरेर यस बन्दीगृहमा नदेखे पनि एक अर्कालाइ महसूस गर्न सकिरहेका हुन्छन् । 

धेरै दिनसम्म बाहिर डुल्न पनि नगइ लुकेर बस्न सके (लुकामारी जस्तै) यस खेलको अंक बढ्छ भन्ने आशा दिएर लुकाइएका छोरा Joshua  बस्दा बस्दा दिक्क लागेर घरमा जाने अनि आमालाइ भेट्ने भनि अड्डी लिन्छ । ‘हामीले खेल जित्न लागेका थियौँ, ल ठिकै छ जित्ने खेल पनि नखेलि घर जान्छु भन्छौ भने हिँडौँ न त’ भन्दै Guido छोरालाइ जीत प्रति लोभ्याउँछन् ।

केही दिनपछि अमेरिकी सेनाले त्यो ठाउँमा धावा बोल्छ । बाहिर गोलाबारुद चलिरहेको हुन्छ अनि यो नै त्यस ठाउँबाट बाहिरिने र पत्नीलाइ पनि छुटाउने मौका हो भन्ने सम्झेर छोरा Joshua लाइ एउटा बाकसमा लुक्न लगाएर Guido बाहिर निस्कन्छन् पत्नीको खोजिमा । अहिले चलिरहेको खेल लुकामारी जस्तै भएकोले बाहिरको होहल्ला र मान्छेको पदचाप बन्द भएपछि मात्र निस्कनु अनि मात्र धेरै अंक ल्याएर जित्न सकिन्छ भन्दै छोरालाइ त्यहाँ लुकाएका हुन्छन् । तर यस बिचमा Guido लाइ जर्मन सेनाले पक्रिन्छ र उनको हत्या हुन्छ ।
रातभरको घमासान युद्धपछि बिहान सबै शुन्य भएपछि Joshua बाहिर निस्कन्छन् र आफ्नो पछाडी आइरहेको सेनाको ट्याङ्क देख्छन् । सेनाले उसलाइ बोकेर ट्याङ्कमा बसालेर लैजान्छन् । बाटोमा आफ्नी आमालाइ देखेर बोलाउँछन् अनि भन्छन् –“आमा हामीले यो खेल जित्यौँ अनि हेर्नुस् त मैले साँच्चै नयाँ ठूलो ट्याङ्क पाएँ । ” Dora आँखाभरी आँशु राखेर आफ्नो छोरालाइ अंगाल्दै भन्छिन् –“हो हामीले जित्यौँ” । यसरी चलचित्र सकिन्छ ।


“हो हामीले जित्यौँ”

चलचित्रको आधा भागसम्म रमाउँदै , हाँस्दै चलचित्र हेरिरहेका दर्शक हिटलरको सैनिकको प्रवेश पछि प्रत्येक क्षण मुटु कमाउँदै आफ्ना पात्रहरूको बचाउमा प्रार्थना गरिरहेका हुन्छन् सायद । यस चलचित्रको कथनशैली सरल छ , अभिनय एकदमै प्राकृतिक छ । हिटलर कालिन समयमा प्रवेश गरेको झल्को पनि यसले दिन्छ । सन्  १९९७ मा निर्माण भएको Roberto Benigni द्वारा निर्देशित यस चलचित्रले क्यान चलचित्र महोत्सवमा विदेशी भाषाको सर्वोकृष्ट चलचित्रका साथै अन्य धेरै विधामा पुरस्कार पाएको थियो ।

चलचित्र कस्तो हुनुपर्छ ? चलचित्रले कस्ता विषय समेट्न सक्छ ? चलचित्र क्षेत्रमा आफूलाई अलग देखाउन चाहनेहरूले यो चलचित्र हेर्दा उपयुक्त हुन्छ । 

Thursday, August 9, 2012

पहिलोपल्ट वि.पी. लाइ पढ्दा

चिसापानी ब्लग,बुक संसार र श्रुतिसंवेग बाट साहित्यलाइ सुन्न सकिने कुरा थाहा पाएदेखि डाउनलोड गर्दै सुन्न थालेको छु । अचेल उपन्यासहरु सुनेर पढ्ने गरेकोले नयाँ अनुभूति गरिरहेको छु । प्रत्येक बिहान काममा हुँदा नै मेरा कानमा उपन्यास वाचन चलिरहने हूँदा समयको पनि सहि उपयोग भएको जस्तो लागेको छ ।


वि.पी. कोइरालाले लेखेको उपन्यास सुम्निमा श्रुतिसम्बेगबाट डाउनलोड गरेर सुनियो । फ्रायडको यौनमनोविञान लाई आफ्नो रचनामा जमाएर व्यक्त गर्ने साहित्यकार वि.पी. कोइरालाको यसअघि पनि केही किताब पढ्ने कोशिस गरेको थिएँ । तर किताब हातमा परेपनि पूरा पढ्न कहिले सकिएको थिइन । यस पल्ट भने आफुले आँखा फारेर अक्षर हेर्न नपरेर हो की अर्कैले पढेर सुनाएकोलाइ कानमा सुनेर हो पूरै उपन्यास सुनिभ्याएँ ।

उपन्यास सुनिसके पछि लाग्यो – उनका कृतिहरु कसैले सित्तैमा पढ्न दिएका भए पनि पढ्न सक्ने थिइन होला । किनकी भाषिक रुपमा यो उपन्यास मलाइ एकदम क्लिष्ट लाग्यो । केही समय यता खगेन्द्र संग्रौला, बुदिसागर, तसलिमा नसरीन जस्ता साहित्यकारको किताब पढिसकेपछि र त्यस अघि पनि साहित्य सरल भाषामा लेखिएको हुनुपर्छ भन्ने मान्यता नै मेरो थियो ।

यस उपन्यासमा भएका बाल पात्रहरु पनि कति सजिलै दर्शन छाँटिरहेका हुन्छन् भने मैले बालकृष्ण समका नाटकका गाउँका पात्रको संवादलाइ पनि सम्झाइदियो । बाल पात्रको उमेर करिब सात आठ वर्ष भनिएको छ तर उनका संवादमा पूर्णरुपमा लेखक मनमौजी भएर बोलिरहेका हुन्छन् ।

उपन्यासमा आधा त संस्कृत शब्दकै प्रयोग गरिएको छ ।

उपन्यासको कथा भने ठिकै लाग्यो । आफूलाइ पूजा, हवन तपस्या गरेर शुद्द बनाउने नाउँमा एउटा ब्राम्हण समूदायका युवक कसरी निर्जीव हुनपुग्छ ? सांसारिकताको परित्याग गर्ने मन र वंशको परम्परा कायम गर्नुपर्ने कर्तव्य पूरा गर्न गरिने विवाह यि दुइले जन्माएको अन्तर्मनको र बाह्य द्वन्दको गजबको चित्रण यस उपन्यासमा उतारिएको छ ।

किराँत समूदायकी सुम्निमाको निश्चलता र प्राकृतिक सरलताले जनजातीहरुको संग्लो चित्र तयार गरेको छ ।

भाषिक दृष्टिबाट यो उपन्यास पढ्न गाह्रो भएपनि कथानकले भने नौलो अनुभूति नै दिएको छ । त्यसैले यो राम्रै प्रयोग बन्न पुगेको छ ।

Tuesday, July 17, 2012

केही ट्रक सायरीहरू

हिमालमूनि ताल, तालमूनि बेताल


बुद्ध जन्मेको देशमा बुद्धिकै अनिकाल



जन्म मेरो इन्डिया,ट्याक्टर मेरो नाम

कर्म मेरो यस्तै रैछ, भारी बोक्ने काम



कलम रोए अक्षर बन्छ, कवि रोए कविता

धनि मरे श्रद्धाञ्जली, गरिब मरे रमिता



चम्किरहोस् तिम्रो नाम, आकाशको तारा सरी

लम्कीरहोस् तिम्रो पाइला उन्नतीको बाटो भरी



भन्न सजिलो गर्न गाह्रो

अन्न ओखती, व्यथा साह्रो



पैसा गयो प्रेम गयो, अनि गयो व्यापार

दर्शन पनि दूर्लभ भयो, जब दियो उधार