Monday, August 12, 2013

घर फर्कने कसरी ?



स्कूलमा छुट्टी भो पानी प¥यो बेस्सरी
रुझी जानु हुँदैन, घर फर्कने कसरी ?



पानी पर्न नरोकी सकिन्न घर फर्कन
अँध्यारो भो झन्, झनै पानी थाल्यो दर्कन
बसी राख्नु कतिन्जेल, हुँदैन कि यसरी ?
उपाय क्यै सुझेन, घर फर्कने कसरी ?


हिजो छाता ल्याउँदा पानी पर्दै परेन
आज पानी पर्ला कि, विचार नै गरिनँ
चल्न थाल्यो बतास, आँधी आए जसरी
आमा आउनुहोला कि, घर फर्कने कसरी ?

(दाजु एकल यात्री ले लेख्नुभएको यो बाल कविता प्रत्येक वर्षातमा सम्झने गर्छु । )

Friday, March 8, 2013

आमाको मुहार उज्यालो थियो



आफ्नो काम आफै गरौँ भन्ने भावना मनमा हुँदाहुँदै पनि व्यस्तता, अल्छिपन र आफ्नो निर्णय आफैँ पूरा गर्न नसक्ने निकम्मापनले गर्दा घरमा मैले लगाएको लुगा पनि आमाले नै फेरी धुन थाल्नुभएथ्यो । हुन त सानो छँदा आमा नै सबै गर्नुहुन्थ्यो तर पछि आफैले गर्ने सरसल्लाह भएथ्यो दाजुभाइमा, तर केही समय पछि पुरानै पारा भैहाल्यो । 


केही समय अघि देखि आमाका हातहरु दुख्न थालेका थिए । आमालाई अस्पताल जान, औषधि खान भनेपछि एकदमै गाह्रो लाग्ने । निकै च्यापेपछि मात्र अस्पताल जान राजी हुनुभयो । किर्तीपूर अस्पतालकी चिकित्सक डा. निजीना ताम्राकारले आमाको बिमार धेरै चोटि हेर्नुभएकोले म मात्र जाँदा पनि ‘आमालाई कस्तो छ ’ भनेर सोधिरहनुहुन्थ्यो । यसपल्ट आमा फेरी उहाँकै कक्षमा जानुपर्ने भयो । “आमालाई अब के भयो ? प्रेसरको औषधि त खाइराख्नु भा’छ हैन ?” आमाको जवाफ –“ खै के भयो–भयो ! दाइने हात ह्याँ देखि तल एकदम दुख्छ, देब्रे हात पनि यतिमा एकदम करकर खान्छ ” आमाका हातका नाडिलाइ दुवै हातले समाएर उहाँले प्रेस गर्नुभो । हातका दुखाइले आमा कराउन मात्र सक्नुभएन । त्यसपछि सोध्नुभो– “लुगा धुनेबेला बढी दुख्छ हो ?” “अँ हो” मलाई र्हेर्दै आमाको हातका नाडि देखाउँदै डा.ले भन्नुभो–‘आमालाई यो नशामा दुखेको हो, उहाँलाई सकेसम्म गह्रुँगो कुरा उचाल्न नदिने, अनि धेरै लुगा पनि धुन नदिने है । यो रोगलाई अहिले चटै ठीक गर्ने उपाय चाहिँ त छैन । यसको अन्तिम विकल्प यो नशामा सुई लगाउनु हो, तर यसबाट पनि कसैलाई एक वर्षलाई ठिक भएको छ भने कसैलाई महिना दिनमै फेरी दुखाइ बल्झेको पनि छ, यो सुई बारम्बार लगाउन पनि मिल्दैन त्यसैले अहिलेलाई आमालाई खाने औषधि दिन्छु अनि हातमा बाँध्नको लागि ब्याण्डेज पनि लेखिदिएको छु । यतिले कम भएन भने फेरी आउनु ।’ आमा तिर र्हेदै उहाँले आमालाई भन्नुभयो –“आमा अबदेखि धेरै लुगा नधुनुस्, छोराहरूको लुगा आ–आफैलाई नै धुन लगाउनुस्, गह्रुँगो पनि नउचाल्नुस्” तुरुन्तै आमाको जवाफ गैहाल्यो– “भनेर भयो र ! छोराहरूको राम्ररी बसेर खान त फूर्सद छैन काँ धुन भ्याउँछन् र ?” “अब देखि उनिहरूको लुगा छुँदै नछुने, यत्तिकै राख्ने । अनि आफैले नधोएर के गरोस् र ? ल अब देखि त्यसै गर्ने है त”– सरल ढंगले कति सहजै आमालाई यसरी व्यवहार गर्न जानेका डाक्टर्नीले पनि ! म पुलकित भएर आमा र डाक्टरको कुरा सुनिरहेछु । 

अस्पतालबाट बाहिर निस्कँदै आमाले मलाई भन्नु भो –“सुनिस् हैन डाक्टरले के भन्नु भो” । “अँ” म आफ्नो मुन्टो मात्र हल्लाउँछु । तर मनमा भने निर्णय लिइसकेको थिएँ ‘अबदेखि आमालाई लुगा धुन नदिने ।’


शनिबारको दिन लुगाधुने योजना आमालाई शुक्रबार नै भनेको थिएँ । भोलिपल्ट बिहान धुनुपर्ने कपडाको डंगुर देखाउनु भो । खाना खाएर आमा र म दुवै धारातिर लाग्यौँ । आमा साबुन लगाउन बस्नु भो , म तिनलाई मिच्न थालेँ । जाडोमा लगाइने लुगा पनि कति बाक्ला–बाक्ला हुन्छन् भने, ओहो मैलो पनि त्यतिकै आउने । लुगा मिच्दै , पानीमा चोबल्दै , निचर्दै लुगा धुने क्रम करिब चार घण्टा चल्यो । अघि खाएको भात सबै घटेको थियो । ढाडको रोगी म, मेरो ढाड फेरी दुख्न थालेको जस्तो महसुस हुन थाल्यो ।  कतिखेर सिद्धिएला र आराम गर्न पाइएला भन्ने छट्पटी पो हुन थाल्यो बा । पहिला–पहिला आफ्नो मात्र लुगा धुँदा यति थकान महसूस गरिन । तर आजको लुगाको डंगुर अनि लुगा धुन लागेको समय दुवै एकदम बढी थियो । यतिका वर्ष सम्म त आमा एक्लैले यो सबै लुगा कसरी धुँदै आउनुभएको थियो ? आज एकदिन कपडा धुँदा थकानले मेरो यो गति भो आमालाई कति गाह्रो हुन्थ्यो होला ? अझै आमा त ‘झ्यालको पर्दा, सिरकको खोल त अझै बाँकी नै छ अर्को पाली धोलास्’ भन्दै हुनुहुन्थ्यो । 

म भोक र थकाइले चुर भएको आमाले चाल पाइहाल्नुभो , लुगा सुकाइसकेर आमाले खाजा अघि सार्दिनु भो । त्यतिबेला आमाको अनुहार एकदम उज्यालो थियो । 

(पुनश्च:– लुगा धोएर साह्रै थाकेँ भनेर फेसबुकमा लेख्दा एक जना मित्रबाट यस्तो प्रतिक्रिया पाएँ–“अब विवाह गर्ने बेला भयो की वसन्त जी ?” त्यसको जवाफ म यहाँ लेख्दैछु – “के हामी आफ्ना लुगा धोइदिनको लागि कसैसँग विवाह गर्ने हो र मित्र ?” )

Friday, December 21, 2012

‘ भो पत्रकारिता गर्दिन ’

पत्रकार अशोक सिलवालद्वारा लेखिएको पुस्तक कलम पढियो । पुष्करलाल श्रेष्ठको रोमाञ्चक पत्रकारिता उपशिर्षक दिइएको यस पुस्तकले पत्रकारितामा केही गर्ने अठोट लिई यसमा लागेका नवपत्रकार र विश्वविद्यालयमा पत्रकारितालाई अघि बढाइरहेका अध्ययनकर्तालाई नेपालको सन्दर्भमा पत्रकारिताको वास्ताविक धरातलीय यथार्थ के हो के ? यहाँ स्वतन्त्र एवं निष्पक्ष पत्रकारिता सम्भव छ ? पत्रकारितामा कसले लगानी गर्छन् ? स्वतन्त्र भई पत्रकारिता गर्न पत्रकार आफैँले लगानी गरि प्रकाशन चलाउँदा उ कसरी असफल बन्न पुग्छ ? नेपाली पत्रकारहरूको राष्ट्रियताको सवालमा सिमा कहाँसम्म हो ? यि र यस्ता धेरै नसोधिएका नसोचिएका प्रश्नको जवाफ पाउँछन् भन्ने मलाई लाग्यो । हुन त व्यक्तिगत रुपमा मलाई पनि पत्रकारिताको निश्पक्षता माथि कुनै दुविधा थिएन । यस पुस्तकले मलाई अझै आफ्नो धारणा नै सहि रहेछ भन्ने प्रमाणित गरिदियो । ( पढ्नुहोस् निश्पक्ष हुँदैन पत्रकारिता )

 पुष्करलाल श्रेष्ठलाई पुस्तकको पात्र बनाउँदा कतै आत्मप्रचारक प्रवृतीको बात त लाग्ने होइन भन्ने कुरामा आफू बारम्बार सजग भएको कुरा लेखक अशोक सिलवालले एक ठाउँमा उल्लेख गरेका छन् । पुस्तकको गाता हेर्दा सुरुमा सायद धेरैलाई यस्तै लाग्छ । तर जे होस् यस पुस्तकका पात्र पुष्करलाल श्रेष्ठका पत्रकारिताको कथालाई समेट्दा राम्रै अभिलेख बनेको महसूस गरेको छु ।

यस पुस्तकमा उल्लेख भएका महत्वपूर्ण लागेका दुई प्रसङ्ग यहाँ उल्लेख गर्न लागेको छु ।

 प्रसङ्ग — १
यो कुरा त्यतिबेलाको हो जतिबेला नेपाल समाचारपत्रमा दुगड समूह र मुरारका समूहको बढि सेयर लगानी थियो । पुष्करको चौथो अंग भन्ने स्तम्भमा पत्रकारितामा हुने गरेका गलत क्रियाकलापलाई लक्षित गरेर लेखहरू छपाउने गर्थे रे । त्यतिबेला कामना प्रकाशनका सेयर धनिहरु दुगड ग्रुप र मुरारका ग्रुपका बारेमा कान्तिपुर दैनिकले खेदो खनेर धेरै अफहवा फैलाएको, गायक उदित नारायण झाको जेठी श्रीमतीको बारेमा कामनाले लेखेका कुरालाई थाकछोप गर्ने तरिकाले विभिन्न अनावश्यक समाचार लेखेर छपाएको जस्ता घटनाले गर्दा कान्तिपुर प्रकाशनले गरेका गल्तीलाई पर्दाफास गर्नै पर्छ अन्यथा मिडिया मनोपोलीले पत्रकारितालाई छायाँमा पार्छ भन्ने महसुस गरी उनले एउटा लेख तयार पारे ।

 संयोग भनौ कि दुर्भाग्य : उनको त्यो लेख कुमुद दुगडले देखेछन् । ‘ ल राम्रो लेख्नुभएछ ’ उनको पहिलो प्रतिक्रिया यस्तै थियो । तर केही घण्टा पछि त्यो लेख छपाउने अन्तिम तयारी भइरहँदा उनैले फोन बाटै आदेशको शैलीमा यस्तो भनेछन्– ‘ तपाइँले यस्तो लेख तयार गर्दै हुनुहुन्छ धन्न मैले समयमै थाहा पाएछु , त्यो लेख नछाप्नुहोला । तपाइँ त पत्रकार मान्छे यसले फरक नपर्ला तर हामी त व्यापारी हौँ , तपाइँको लेखले कान्तिपुरसँग हाम्रो मिसअन्डरस्ट्याण्डिङ हुनसक्छ त्यसैले त्यो लेख नछाप्नु ।’

पहिलोपल्ट पत्रकार भइकन अरु कसैले उनको कलम खोसेको महसुस भयो । कान्तिपुरका प्रकाशक र कामना प्रकाशनका दुई शेयरधनि बीच होटलमा भेटघाट भएर अबदेखि दुई प्रकाशन संस्थाले एक अर्काको बारेमा नलेख्ने गरि सम्झौता गरेका रहेछन् र पुष्करलाई यसप्रकारको फोन आएको थियो । पत्रकार भइकन पनि स्वतन्त्र भई लेखेको लेखलाई आफ्नै पत्रिकामा छपाउन नपाउँदा एक प्रकारको ग्लानी महसुस गरे उनले । यो घटनासँगै उनले आफ्नो चौथो अंग स्तम्भ नै बन्द गरिदिए ।

प्रसङ्ग — २

समाचारपत्रमा नेपालको सुस्तामा भएको सिमा अतिक्रमणबारे तस्वीर सहित समाचार छापिएपछि पुष्करलाल श्रेष्ठलाई भारतीय राजदुताबासबाट फोन आएछ । ‘ पुष्करजी, तपाइँ बिना प्रमाण यस्तो समाचार छाप्ने ? यसले तपाइँ हाम्रो सम्बन्धमा असर पर्न सक्छ, यसलाई सच्याइहाल्नुस् है ।’ जवाफमा उनले त्यो समाचार हावादारी नभई सम्बाददाता खूद स्थलगत रुपमा गई समाचार लेखेको हो, यो भारतको विरोधका लागि लेखिएको समाचार नभई नेपालको सिमाको समस्यालाई उठान गरेको मात्र हो भनेछन् ।

केही समयपछि पनि प्रमाणित रुपमा त्यसका फलोअप समाचारहरु प्रकाशित भइरहेपछि धम्कीको शैलीमा फेरी दूतावासबाट फोन आएछ – ‘ मैले तपाइँलाई भनेको कुरा खानुभएन, यसले हाम्रो सम्बन्धमा दरार आउनसक्छ । ’ यसरी फोन आएको केही समयपछि नेपाल समाचारपत्रमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन आउन छोडे, कतिपय सम्झौता भइसकेका विज्ञापन पनि रद्द गरिए । आफ्नो गणतन्त्र दिवसको दिन नेपालका सबै ठूला दैनिक पत्रिकालाई सिंगै पेजको विज्ञापन दिने गरेको दूतावासले त्यसवर्ष नेपाल समाचारपत्रलाई विज्ञापन दिएन ।

यस कदम बाट भारतले नेपालका मिडियालाई कून दृष्टिकोणले हेरेको रहेछ भन्ने प्रष्ट भयो । तैपनि पत्रिका त चलाउनै थियो । भारतीय कम्पनीका विज्ञापन नआएकै सही तर नेपालका ठूला उद्योगपतिहरूको सेयर भएको पत्रिका भएकोले तिनकै विज्ञापन पनि त छँदैछ नि । पुष्करले यसरी मन बुझाएछन् । तर भैदियो ठिक उल्टो । ‘ पुस्करजी, तपाइँले विचारै नगरी समाचार छापिदिँदा हामीलाई धेरै अप्ठ्यारो भएको छ । पहिला पहिला भेटघाट, पार्टीमा बोलाइराख्ने दुतावासले हामीलाई वास्तै गर्न छोडेको छ, हाम्रो व्यापारमा यसले कति असर पु¥याउँछ तपाइँलाई कुनै अन्दाज छ ? आफ्नै प्रकाशनका सेयरहोल्डर साथीहरूको यस्ता कुरा सुनेपछि उनि थच्चारिए । त्यसमाथि उनीहरूले आफ्नो विज्ञापन छाप्दा भारतलाई चिढ्याय जस्तो हुने भन्दै आफ्नै विज्ञापन पनि दिन छोडे ।

प्रकाशन त्यतिबेला बैँकको ऋणमा चुर्लुम्म डुबेको थियो । एक मनले त अब जेसुकै होस् प्रकाशन नै बन्द गरिदिउँ भन्ने मनमा आएछ, फेरी बैँकमा ऋणको लागि राखेको धितो जति त पुष्करकै पुख्र्यौली पारिवारिक सम्पत्ति थियो । उनको मथिङ्गल घुम्न थाल्यो ।

पत्रिकाको लागि कच्चा पदार्थ खरिद गर्न पैसा अभाब, समयमा कर्मचारीलाई तलब दिनुपर्ने दबाब, अनि भएजति ठूला विज्ञापनको कटौति । यी र यस्ता कारणले तनावमा आएर उनी बिरामी नै परे । ‘राष्ट्रियताको लागि कुरा उठाउँदा यस्तो तनाव ! बेकार पो यस मुद्धालाई उठाइएछ कि क्याहो ? यस्तो सोच्न उनि वाध्य भएछन् । पछि उनकै सहयोगिहरुले दुताबासमा कुरा चलाएर राजदूत शिवशंकर मूखर्जीलाई भेट्न दूताबास गए । कुनै समाधान नदेखेपछी, त्यहाँ उनि आफूलाई भारत विरोधी होइन भनि स्पष्टिकरण दिन पुगेका । त्यहाँबाट निस्कँदा कुनै अदालतको कठघरामा आफूलाई निर्दोष छु भनि स्पष्टिकरण दिएको अपराधि जस्तो पो भएको महसुस गरिरहेका थिए । त्यसपछि उनको मनले भन्यो – ‘भो, अब पत्रकारिता गर्दिन ।’

माथिका प्रसङ्गहरू पढेपछि आफूलाई जिम्मेवार पत्रकार हुँ भन्नेहरूले आफू किन पत्रकारिता गरिरहेको छु भन्ने सोच्न वाध्य हुनुपर्छ । सत्यकुरा पाठक, दर्शक र श्रोतामाझ ल्याउन की अरु कसैको स्वार्थको गोटि हुन ? यी र यस्ता घटनाक्रम स्वच्छ पत्रकारितामाथिको (Threat) चुनौतीको हो । जुन प्रत्येक क्षण नेपाली मिडियाको कुनै न कुनै प्रसङ्गमा, समाचारमा दोहोरिरहेका हुन्छन् ।

Friday, November 23, 2012

पुरानो गीत सुन्नुको मज्जा

पुराना नेपाली गीतका संगीत र शब्दले मन भरिन्छ । तर original नभेटिएपछि यहि रिमिक्सले नै मन भरेँ ।
तपाइँ पनि क्लिक गरी सुन्नुस् है ।



Friday, November 16, 2012

सेलिब्रेटीका ठूला कुरा


नेपालका सेलिब्रेटी भनाउँदाहरुका अन्तरवार्ता आएपछि कसो कसो पढुँ न त भन्ने लागेर पढ्न सुन्न र हेर्न लाग्छु । यि अन्तरवार्तामा प्रायः सबै प्रश्न र उत्तरहरू उस्तै हुने गर्छ अनि बेकार पढिएछ , हेरिएछ भन्ने लाग्छ । अझ झर्को लाग्ने कुरा त के भने, सबैलाइ नछुटाइने एउटा प्रश्न — “तपाइँलाइ आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?”

यो प्रश्न जति झर्को लाग्दो छ , यसको उत्तर झन् बढि झर्को लाग्दो छ ।

हजुर तपाइँले पनि यसको उत्तर ख्याल गर्नुभएको होला — “म जोकोही मान्छेहरूलाई पनि चाँडो विश्वास गर्छु । यो बानी चाहिँ सुधार्नै सकिएन ।”

अधिकांश सफल ठानिएका सेलेब्रेटीका यस्ता कुरा सुनेर हैरान हुन्छु ।

अरुलाई धेरै विश्वास गर्ने मान्छे सायदै यसरी चर्चामा चुलिन्थे होलान् । अनेक ठाउँमा धोका हुन्थ्यो, धेरै क्षति हुन्थ्यो होला । पाठक, श्रोता र दर्शकका आँखामा छारो हालेर यस्ता उत्तर दिनेहरू प्रति दया आउँछ । कठै .. । यिनको यो नराम्रो बानी चाहीँ चाँडै सुध्रोस् है । हामी शुभचिन्तकहरु यहि त कामना गर्न सक्छौँ क्यारे अरु त के गर्न सक्छौँ र ? की कसो ?