वायाँबाट क्रमशः शर्मिला खड्का, राजिवध्वज जोशी, विनय कसजु र शास्वत पराजुली |
नेपाल साहित्य महोत्सवको तेस्रो दिन
शनिवार परेकोले अघिल्लो दिन नै साहित्य मेलामा जाने योजना बनाएको थिएँ । त्यहाँ
जाँदा जे होस् रमाइलै भयो । प्रज्ञा भवनको डबलीमा र प्रज्ञा भवनको ठिक पछाडीको
खाली ठाउँमा मञ्च बनाइएको थियो । जहाँ एकै समयमा दुईवटा कार्यक्रम संचालन हुन्थ्यो
। त्यसैले कार्यक्रम तालिका हेरेर कताको कार्यक्रममा बस्ने ? केही समय अलमल पनि
परेको थियो । तर जे होस् आफ्नो छनौट राम्रै परेछ भन्ने लागेको छ ।
त्यसदिनको कार्यक्रमको तालिका अनुसार
सुरुमा सुन्नेलाई ‘सुनको मालाः नेपाली बालसाहित्य’ विषयमा कार्यक्रम भयो । जसको संचालन
शास्वत पराजुलीले गरेका थिए भने त्यसका वक्ताहरू क्रमशः शर्मिला खड्का, विनय कसजु र
बालपुस्तक प्रकाशक राजिबध्वज जोशी रहेका थिए । नेपाली बालसाहित्यलाई अझै पनि
मूलधारको साहित्य नमान्ने परम्परा रहेको भन्ने कुराहरू त्यहाँ उठेका थिए । विनय
कसजुको भनाईमा बालबालिकाले लेख्दैमा त्यो साहित्य बालसाहित्य हुँदैन । उनले आफूलाई
ठूला लेखक भनाउँदाहरूले कम्तिमा राष्ट्रप्रतिको ऋण तिर्नको लागि भए पनि
बालसाहित्यमा कलम चलाउन अनुरोध गरे । हामीकहाँ बालबालिकामा पठन संस्कृतिको विकास
गर्न नसेकोकोमा सबैको धारणा मिलेका थिए । कथालय प्रकाशनका राजिवध्वज जोशीका अनुसार
बालबालिकाका रुचिअनुसार आफूहरूले चित्रले भरिएका किताबहरू प्रकाशन गरिरहेका भएपनि
अभिभावकहरू भने आफ्ना छोराछोरीलाई अक्षरबढी भएकोमात्र किनिदिन खोज्ने प्रवृत्ति
बढी रहेको छ । अझ कतिपय अभिभावकहरू त आफ्ना बालबालिकाले पाठ्यपुस्तक बाहेक अरु
किताब पढेको नरुचाउने गरेको पनि पाइएको जनाउँदै थिइन् बालसाहित्यकार शर्मिला खड्का
।
वायाँबाटः श्याल्पा रम्पोछ, पत्रकार मनोज दाहाल र अनिल शाह |
साहित्य महोत्सवको त्यसदिनको
कार्यक्रममा दोस्रो कार्यक्रम भारतिय लेखक अमिस त्रिपाठी सँगको financier to writer शिर्षकमा संवाद एक ठाउँमा थियो भने अगाडि डबलीमा श्याल्पा तेन्जिङ रिम्पोछे नामका बौद्ध भिक्षुले
लेखेको बौद्ध दर्शन सम्बन्धि किताब living
fully माथिको छलफल थियो । जसको संचालन
बैंकर अनिल शाहले गर्नेवाला थिए । दुवै कार्यक्रम खासमा मेरो रुचिकर थिएन तै पनि
अनिल शाहले संचालन गरेको कार्यक्रममा बसौँ न त भन्ने मनमा आए पछि डबली तर्फ बढेको
थिएँ । लौ उनि त अंग्रेजीमा पो बोलिरहेका थिए । लुजा आफुले नभढेको गैरआख्यान / गैह्र साहित्यिक किताबको चर्चा त्यसमाथि पनि अंग्रेजीमा ? म फर्केँ भारतिय लेखककै कार्यक्रममा । उनको एक
छिनको वार्ता सुनेपछि भने पारो तातिहाल्यो । उनि कुनै बेला बैँकर थिए रे तर उनकी
प्राण प्यारी श्रीमतिले उनलाई साहित्य लेख्न भनेपछि लेख्न सुरु गरेको अनि लेख्न
थालेपछि त यस्तरी साहित्यमा बगियो रे कि उनको लेखन त माथिबाट (कहाँबाट ?) इश्वरिय वरदान
पाएको महसुस भयो रे अनि त साहित्यबाट पछि फर्कनुपरेन रे ।
अब भने साहित्य मेलामा कस्ता
मान्छेलाई लिएको होला ? भन्ने
प्रश्न घुम्यो र एकछिनमा अगाडि डबली तिरै फर्किएँ । त्यहाँ अब रिम्पोन्छेसँग दर्शक
श्रोतासँगको संवाद सुरु भइसकेको रहेछ । शुस्त शुस्त उनको अंग्रेजीलाई बुझ्न सक्छु की
भन्दै कान ठाडो पारेर अगाडि उभिएँ । अहिले त यहाँ रमाइलो कुराकानी भइरहेको रहेछ ।
दर्शक दिर्घाबाट एउटा प्रश्न आयो – ‘ तपाइँले श्वासप्रश्वास गर्दा मजा लिनुहोस् भन्नुभयो कसरी
मजा लिने बताइदिनुहुन्छ की ?’ रिम्पोन्छेको उत्तर यस्तो थियो–‘मेरो भनाइको तात्पर्य यो थियो कि, हामीहरू ठुला–ठुला कुरामा धेरै
चिन्ता लिन्छौँ । त्यो मान्छेसँग धेरै चिज छ आफूसँग छैन भनेर दाँज्छौँ अनि आफूलाई
असहाय कमजोर सम्झन्छौँ । ठूला महाराजा भनिएकाहरूले खाने भोजनमा चौरासी व्यञ्जन
होला, हाम्रोमा
हुँदैन । धनिहरूसँग सुविधासम्पन्न कार, घर होलान् हामीसँग छैन । तर हामीले एउटा कुरालाई भूल्छौँ
कि त्यो धनि मान्छेसँग पनि त्यो त्यतिन्जेल मात्र हुन्छ, जबसम्म उसले सास
फेर्न सक्छ । उनको सबै सुविधा त सास सँगै बिलाएर जान्छ । हामीसँग पनि त सास छ जुन
सास धनिले फेर्छन् । अनि हामी किन दुःखि हुने ल अब तपाइँ निश्फिक्री भएर लामो सास
फेर्नुहोस् त तपाइँलाई आनन्द आउँछ कि आउँदैन ?’
अर्को एउटा उत्तेजित प्रश्न आयो–“सबैलाई थाहा छ कि
बुद्ध नेपालमा जन्मेका हुन् तर पनि भारतियहरू किन आफ्नो देशमा जन्मेको भनि प्रचार
गर्न तम्सिएका छन् ?” रिम्पोन्छेको
सरल उत्तर–“ भारतीयहरू
अहिले बुद्धलाई भारतमा जन्मेका भनेर प्रचार गरिरहेका छन् भोलि गएर अमेरिकनहरूले
बुद्ध अमेरिकामा जन्मेका भन्लान् ,अनि अरु युरोपियन राष्ट्रहरूले पनि यसरी बुद्ध आफ्नो
देशमा जन्मेका भनि सबैले प्रचार गर्दै गए भने त हेर्नुस् लुम्बिनिमा जन्मेका
बुद्धको झन् ठूलो सम्मान पो भएको हुन्छ त । हामी यस्ता तपसिलका कुरामा किन अल्झिने
? अनि पो बुद्धको
कुरा फैलन मद्धत पुग्छ ।”
बुद्धका
आकृतिलाई जुत्तामा कुँदेका कुरामा पनि उनले यस्तै प्रतिक्रिया दिए । ‘बुद्ध तपाइँ हाम्रो
मनमा छन् भने त्यो नै पर्याप्त छ । कसैले भित्री लुगामा, कसले टोपीमा कसैले कसैले
जुत्तामा प्रयोग गर्यो भन्दैमा त्यसप्रति
आक्रोश व्यक्त गरिरहनु जरुरी छैन ।’
एउटा प्रश्न मैले ठ्याक्कै बुझ्न त
सकिनँ तर उनले यौन आदि लाई जोडेर बुद्ध दर्शनबारे प्रश्न सोधेकोमा रिम्पोन्छेको
जवाफ थियो–“बुद्धले
उठाएको कुरा शान्तिको हो सद्भावको हो । कसैले चित्र कोरेर शान्ति पाउलान्, कसैले गित गाएर त
कसैले अर्थोक नै गरेर । शान्ति पाउन गुफामा गएर तपस्या नै गर्नुपर्छ भन्ने छैन ।
तपाइँलाई यौनसम्पर्क गर्न एवं कुनै पनि कामबाट मनोरञ्जन प्राप्त गर्न बुद्ध
दर्शनले रोकेको छैन यसबारे चिन्ता नलिनुभए हुन्छ ।”
वायाँबाटः मनुमञ्जिल, मोमिला, श्रवण मुकारूड,रमेश क्षितिज र विप्लप ढकाल |
तिनबजे तिर यहि दबलीमा कविहरू श्रवण
मुकारुङ्ग, मोमिला
शर्मा, रमेश
क्षितिज र विप्लव ढकाललाई कविताका शक्ति र सिमाबारे बोल्न लगाइयो । उहाँहरुलाई
नेपाली साहित्यमा लक्ष्मि प्रसाद देवकोटाको ‘पागल’ कविता,
भूपिको
‘हामी’, गोपाल प्र.रिमालको ‘आमाको सपना’ र वैरागि काइँलाको ‘मातेको मान्छेको
भाषण’ जस्ता
कवितालाई अझै पनि हामीहरू किन सम्झिरहेका छौँ ? यि कवितामा त्यस्तो के शक्ति छ ? यसबारे बोल्न
अनुरोध गर्दै कवि मनुमञ्जिलले कार्यक्रम सञ्चालन गरेका थिए । यो कार्यक्रमा मनु
मञ्जिलका तार्किक प्रश्न र त्यत्तिकै तार्किक कविहरूका जवाफले पुरै डबली रमाइलो
भएको थियो ।
केही तर्कहरू जसले मलाई छोयो–
१. आफ्नो युगसँगको
संवादसँग सफल भएकाले ति कविताहरू शक्तिशाली भए –विप्लव ढकाल
२. शब्दहरू पागल
भएपछि कविता बन्छ –(मोमिलाले
उद्धृत गरेको तर कसको भनाइ याद भएन)
३. मेरो कविताका
शब्द बौलाएका हुन् पागल होइन् । मेरो विचारमा पागललाई अरुसँग मतलब हुँदैन । उ केवल
आत्मसंवाद गर्नसक्ला तर उ अरुसँग संवाद गर्न सक्दैन तर बौलाहहरू यो समाजका
कुरीतिबाट दिक्क भएर जोरीखोज्ने हदसम्मका रिसाहा भएर समाजमा हिडिँरहेको हुन्छ । –श्रवण मुकारुङ्ग
४. “ए तपाइँ कविता लेख्नुहुन्छ
? कविता त जसले पनि
लेख्छ , यसबाहेक
चाहिँ के लेख्नुहुन्छ ? ”
( मनुमञ्जिल लाई कसैले यस्तो सोधेका थिए रे । )
डबलीको कवि गोष्ठीमा उपस्थिति भावकहरू |
त्यस संवाद अन्तक्रिया लगतै सुरुभयो
कवि गोष्ठि जसमा करिब विस वटा कविता वाचन गरिएको थियो । जसमा श्रवण मुकारुङ्ग,मनु मञ्जिल, सुलोचना मानन्धर, चन्द्र घिमिरे, राम बहादुर तामाङ
(रावत) , भुपेन
व्याकुल, मनप्रसाद
सुब्बा, गिता
त्रिपाठी आदि कविहरू थिए । यस कार्यक्रममा महिलाहरूलाई पनि कवयत्री नभनेर कवि
मात्र सम्बोधन गरिएकोमा राम्रै लाग्यो । श्रवण मुकारुङ्गको कविताका पात्र भानुभक्त
थियो । जसमा उनको अहिलेको पुनर्जन्ममा उनी मलेसिया जाने नेपालीको लाममा बसेको भनि
अन्त्य गरेका थिए । यो कविताले एकदम गजबको तरङ्ग फिजाउँदै गर्दा अर्को कविता
सिद्धे अर्थात् सिद्धार्थमा सिद्धार्थ गौतम रोग, बुढ्यौली र दुःख बाट मुक्ति पाउन घरबार
त्यागि जंगल पसिरहँदा यता सिद्धे आफ्नो बुढो रोगि बाबुको उपचार गर्न जडिबुटी खोज्न
हिँडेको, अनि
चुहिएको छानोमा कसरि जीवन काट्ने चिन्ताले ग्रस्त बन्दै हिँडेको कुरा बताइरहेथे
कवि– मनप्रसाद
सुब्बा । कविताको कथ्यशैलीका हिसाबले र कलाले गर्दा नव युवाकवि राम बहादुर
तामाङ(रावत) का कविताले सबैको वाहवाही पाएको थियो ।
धेरै पछि कविहरूको मुखारविन्दबाट
प्रत्यक्ष रुपमा कविता सुन्न पाएकोले भोको मान्छेले खान पाउँदा महसुस गरे जस्तै
तृप्ती मैले महसुस गरिरहेको थिएँ । बेलुकी झण्डै सातबजे सम्म त्यसदिनको कार्यक्रम
चलेको थियो । साहित्य महोत्सवको यो दिन जे होस् सदुपयोग नै भयो भन्ने लाग्यो ।
सबै कार्यक्रमहरूमा दर्शकहरूलाई पनि
प्रश्न गर्न दिइएको थियो । कार्यक्रम निश्चित समयसिमामा बाँधिएकाले मेरा केहि
प्रश्नभने मनैमा थाँती रहे । खासगरि त्यसदिनको प्रथम कार्यक्रम जसमा बालसाहित्य
सम्बन्धि छलफल गरिएको थियो त्यसमा प्रश्न गर्ने मौका नपाउँदा थक्थकी लागिरह्यो ।
मेरा प्रश्न अझै पनि आफूलाई अहिलेका बालसाहित्यकार एवं यो सँग सम्बन्धित छु भन्ने
सबैप्रति छ ।
हामी सानोबेलामा आफूलाई स्कूलमा
टिफिन खान दिइने एक,दुई
रुपैयाँ जम्मा गरेर मासिक रुपमा निस्कने मूना, बालकोसेली,नवप्रतिभा, चिचिला, सुनकेस्रा, बालसाथी आदि बालपत्रिका किनेर आफ्नो बालसाहित्यको प्यास
मेटाउने प्रयास गथ्र्यौँ । अहिले बजारमा निकै थोरै मात्र नियमित बालपत्रिका
प्रकाशन भएको छ । ति पनि धेरै दामका । अनि अचेल प्रकाशित भइरहेका बालसाहित्यका
पुस्तकको मूल्य त आकाशै छुने राखिएका पाइन्छन् । अचेल केही अन्तर्राष्ट्रिय
गैह्रसरकारी कार्यालयले बालपुस्तकहरू किनिदिएर पुस्तकालयहरूलाई दिने फेसन चलेको छ
। यसले देशभरीका सबै वर्ग र क्षेत्रका बालबालिकामा पहूँच पुर्याउन सकेको त छैन नै
त्यसमाथि पनि एन जि ओ ले किताब किन्ने त हो नि ! भन्दै प्रकाशकले किताबका मूल्य
उँचो राखिदिएको होला । यसले झनै बालसाहित्यबाट धेरै बालबालिकाहरू बञ्चित हुने
गरेको देखेको छु । के यो बालसाहित्यमा भएको विकृति होइन ?
नियमित बालपत्रिका निस्कनुको सट्टा
अचेल ठूला दैनिक पत्रिकाहरूमा बालपृष्ठ भनेर साप्ताहिक रुपमा केही पृष्ठको
परिशिष्टाङ्क निकाल्ने गरिने फेसन आएको छ । जसको जिम्मा बालसाहित्यमा लागेकालाई
भन्दा पनि बढि पत्रिकाका रिपोर्टरलाई दिइएको छ । अनि त यसमा बालबालिकालाई दिन हुने
नहुने सबै सामाग्री प्रकाशन हुने गरेका छन् । के ठूला ठूला चित्र र बाल्यकालको
कसैको सम्झना राख्दैमा त्यसलाई बालसाहित्यमाथि गरेको योगदान भन्न मिल्छ ? आफूलाई
बालसाहित्यकार भनाउँदाहरू के एनजिओ ले लेख्न अह्राए मात्र लेख्ने नत्र चुप बस्ने ? यसरी अहिलेका
बालबालिकाहरू भविष्यका कस्ता पाठक बन्लान् ? प्रश्नहरू छताछुल्ल भएर बगेका छन् । तपाइँसँग यसको उत्तर
छ ?
1 comment:
सुन्दर तस्वीर सहित राम्रो प्रस्तुति । आफू उपस्थित भएका केही सेसनका कुराहरु पुनः स्मरण गराइदिनु भएकोमा धन्यवाद ।
Post a Comment