
भारतको विहार राज्यको बेतिया जिल्लाका उनको नाम रहेछ पं.श्रीकान्त चौवे । उमेर ५८ वर्ष । उनि ज्यतिष एवं पण्डित रहेछन् । खास गरि कालिमाटी देखि कुलेश्वर ,बल्खू सम्म रहेका भारतिय मूलका फलफूल व्यवसायिका प्रमूख ब्राम्हण रहेछन् उनी । उनीहरुको जन्म देखि मृत्यू सम्मका सबै संस्कारमा उनको उपस्थिति अनिवार्य हुन्छ रे । आफ्नो काम सँगै आफ्ना जजमानहरु अमेरिका सम्म पनि छन् भनेर गफ दिन भ्याइहाले उनले । तर मेरो उदेश्य भने खराउ संवाद गर्नुमात्र थियो , उनको जजमान पौरख सुन्नु थिएन । त्यसैले सिधै सोधेँ किन खराउ लगाउनु भएको ? यो लगाएर हिँड्न अप्ठ्यारो हुँदैन ? उनको जवाफ थियो – “हेर्नुस् भाइ यो एकदम शुद्ध हुन्छ । पूजाकोठामा पनि यहि लगाइ हिँडे हुन्छ । छालाको जुत्ता लगाइ मन्दिर जानुहुँदैन तर हेर्नुस् यो जहाँ गए पनि फुकाल्नु पर्दैन । ” यसको फाइदा यहि शुद्धता मात्र हो की अरु पनि छन् त ? उनी धारा प्रवाह खराउको महिमागानमा उत्रिए – “यो खराउ लगाएर हिँडेपछि रक्तचाप बढ्दैन्, तपाइँको आँखा पनि सँधै स्वस्थ हुन्छ । मैले यो लगाएर हिँडेपछि कहिले पनि बिरामी परेको छैन ।” कति भयो यो लगाउनु भएको ? “अठार वर्ष देखि लगातार यसैमा हिँडिरहेको छु । हिँड्ने मात्र होइन, साइकल चलाउँदा, मोटरसाइकल चलाउँदा पनि यहि लगाउँछु । मसँग अरु जुत्ता नै छैन । ”

पाइतला टेक्ने काठको,औँलाले च्याप्ने ठोस्को पनि काठकै अनि तलको सोल पनि काठकै,त्यसमाथि हिँड्दा पनि छालाको ड्यामबुट लगाए भन्दा ठूलो टक टक आवाज । गज्जब छैन त खराउ !