Saturday, November 27, 2010

पैसा भेटियो , के गर्ने ?


एक साँझ म नयाँबजारबाट हिँडेरै घर तिर लम्किरहेको थिएँ । सोह्रखुट्टे पाटीबाट केही अगाडी बढेकोमात्र के थिएँ, भूँइमा मेरै सामुन्ने सय रुपैयाँको नयाँ नोट लम्पसार परेर मैतिर हेरिरहेको देखेँ । एक मनले भन्यो– ′ आहा, आज त राम्रै सञ्जोग जुरेछ । ’ भेट्टाएको पैसा टिपेर खुसुक्क गोजिमा हाल्ने सुर कस्नै लागेको थिएँ । फेरी अर्को मनले भन्यो -′ अहँ, हुँदैन हुँदैन । मान्छेले भुलचुकले पैसा खसाएर गएको होला । पैसा हराएको थाहा पाएर कतै खोज्दै होला , विचरा !! सय रुपैयाँ कमाउन कति दुःख गर्नुपर्छ था’छ ? ’

′ त्यो पैसा कतै कुनै बच्चालाई आमा बुबाले पसलबाट सामान किन्न पठाएको अनि उसले खसाएको पनि त हुन सक्छ । ’ ′‘ बाटोमा कुनै सामान, साँचो, पैसा खसेर हराउँदा कतै भेटि पो हाल्छ की भनेर मैले नै कतिचोटि बाटोभरी खोजेको थिएँ कुनै बेला । हराएको चिज फेरी पाउँदा कति खुसी भइन्छ नि हकी ? यो सय रुपैयाँ खसाउने मान्छे पनि त खोज्दै होला । त्यो मान्छे यहाँ आएर त्यो पैसा पाए ...। ’

दोस्रो मनले यसो भने पछि देखेको पैसा नटिपि म सरासर अघि लम्किन्छु । पर पुगेर यसो फर्केर हेर्छु, म भन्दा पछि–पछि आउने मान्छे दायाँ बायाँ आँखा डुलाउँछन् अनि भुइँको पैसा हत्तनपत्त टिपेर गोजिभित्र राख्छन् , केही चोरे झैँ गरि फटाफट अघि बढ्छन् ।

Friday, May 28, 2010

संविधान एक सपना


त्यसदिन बिहानै देखि जाँगर भरिएको थियो । मनमा उत्साह थियो । अनि उमंग पनि । चैतको महिना घाम बिहानै चर्केजस्तो देखिन्थ्यो , तर पनि मौसमले साथ दिएकै जस्तो लाग्थ्यो ।

हामी जनता, भोट खसाल्न हिँडेका अफ्नो भविष्य आफै कोर्न हिँडेका । यस गैरवले छाती नै फूलेको थियो हाम्रा । लामबद्द भएर सबैजना पालो कुरी बसेका । त्यो थियो संविधानसभाको निर्वाचनको दिन अर्थात् २०६४ चैत्र २८ गते ।

निर्वाचनको परिणाम आयो नयाँ नामहरू राजनैतिक वृतमा सुनिन थालिए । सरकार बन्यो तर निकै समय पछि । बिहानीले दिन बताउँछ भने जस्तै सुरूवातका ति दिनहरूले नै संविधान लाइ समयमा बनाउन सकिएला र ? भन्ने प्रश्न धेरैको मनमा उठीसकेको थियो ।

झन् पछि झन् जनताको आशामा तुसारोपात लाग्दै गएको थियो । संविधानसभाको निर्वाचनको दिन देखि आज सम्म अइपुग्दा हामीमा अब न त केही हुने अशा बाँकी रहेको छ न त सपना नै । पढेको थिएँ सबैभन्दा डरलाग्दो हुन्छ सपनाहरूको मृत्यू । तर नेपालको राजनीतिले हाम्रो सपनालाइ कुन मोडमा ल्याएर लत्याइदियो पत्तै भएन ।

विश्वको सबैभन्दा राम्रो राजनैतिक व्यवस्था लोकतन्त्र democracy हो भनिन्छ । जनताको लागी जनताद्वारा शासन गरिने व्यवस्था रे । तर यहाँ हेर्दा त लाग्छ हामी जनता केवल भर्याङ मात्र हुँदा रहेछैँ जसको कुनै अर्थ नै हुँदैन डेमोक्रेसीमा । बाँकी शासन त अर्कैले गर्दा रहेछन् । संविधान सभाको दुइ वर्षे अवधिले यसैलाइ त पुष्टि गर्दियो नि होइन ? जनताले चुनेकाबाट शासन हुनुपर्नेमा जनताले नचाहेका मानिसले शासन गरे त्यो पनि जिम्मेवारहिन भएर । राजनीतिको यस्तो घृणित चाला देख्दा राजनैतिक सचेतता बेकार भएछ आफूमा भन्ने पनि लाग्छ कहिलेकाहीँ ।

आज जेठ १४ संविधान जारी हुनुपर्ने तर नभएको दिन मेरो निराश मनले अरू बढी केही देख्न सकेन । इतिश्री ।

Wednesday, March 24, 2010

चिर्चिर गर्छ भंगेरा, चिर्चर भंगेरी

एक जना साथीको मोबाइलमा भंगेराको क्रियाकलाप हेर्न पाएँ । तपाइँ पनि यो भिडियो हेर्नुहोस् अनि कस्तो महसुस गर्नुभयो ? लेख्नुहोस् है ।

Friday, February 19, 2010

भारी मन लिएर


“ बुबाले भन्नुभएको सही रहेछ, आज बुबा यो संसारमा हुनुहुन्न तर मैले भोगेको सबै दुःखले मलाई उहाँकै सम्झना गराउँछ । ” कुराकानीको अन्तिमतिर विजय बजगाइँ आफ्ना स्वर्गिय पितालाई सम्झिरहेका थिए ।

विजय बजगाइँको घर बनेपा हो । हाल उनी १९ वर्षका मात्र भए । जीवनको धेरै वसन्त पार गर्नु छ तर उनलाई लाग्छ –‘संसारमा सबैभन्दा बढि दुःख आफैँले पाएका छन् ।’ १५ वर्षको उमेरमा घर परिवार छोडेर उनी यो बिरानो शहर काठमाडौँ पसे । यहाँका मारवाडीहरू र अरुका पसल–पसलमा गएर ‘साहुजी यहाँ काम छ ? मलाई काम दिनुस् न, जे अह्राए पनि म गर्छु’ भन्दै हिँडे । जे–जे भेटिन्छ गर्दै गए । मः मः पसलमा भाँडा माझ्ने, कपडा पसलमा कपडा बेच्ने, गाडीमा खलाँसी बस्ने आदि काम गरे । अहिले तिनवर्ष भयो डेरीमा अडिएको ।

सखारै ४ बजे नै उनको दिन सुरु हुन्छ । प्लाष्टिकमा आधा लिटर , एक लिटरको पोका बनाउँदै साइकलमा झुण्ड्याउने उनी सय लिटर भन्दा बढि दुध लिएर घरका ढोका–ढोकामा पुर्याकउँछन् । बिहान आठ नौ बजे सम्म यसरी नै साइकल ठेल्नुपर्छ । कति कमाउँछन् त उनी यो कामबाट ? –“महिनाको पाँच हजार तलब छ । खाजा खर्च ३० रुपैँयाँ पनि दिन्छ । खाने बस्ने सबै अफिसले नै बेहोर्छ । यति सुविधा भनेको त ठिकै हो नि हैन र ?” उनको प्रतिप्रश्नले मनमा गुन्न थाल्छ – खै कति सुविधालाई ठिक भन्ने ? कतिले मानिसलाई पुग्दो हो ? यहाँ पच्चीस सयमा महिना भर गुजारा चलाउने पनि छन् अनि लाखौँ कमाउने पनि छन् । उनले अझै भने –“म यहाँ काम गर्न आउँदा महिनाको अठार सयमा बसेको थिएँ , अहिले बढेर यति पुगेको छ । यहाँसम्म आउन धेरै मिहिनेत परेको छ तर अहिले त नयाँ काम गर्न आएकाले नै तेँत्तिस सय पाउँछन् , अहिलेकालाई सुख्ख छ ।” पहिला अठार सयमा आउने सामान अहिले तेँत्तिस सयमा आउँछ त ? नसोचेको प्रश्न पाएपछि आफ्नै सूरमा उनले उत्तर दिए –“हेर्नुस्, अहिले पैसा सस्तो भएको छ के, कमाउनेले चाह्यो भने कमाउन सक्छन् तर खर्च गर्दा पनि त्यस्तै छ जून सामान लिँदा पनि कमाइले भ्याउन्न ।”

दिउँसो चाहिँ के गरिन्छ , पढ्दै हो की ? “होइन, पढाई त उहिले नै छोडेको । फेरी डेरीमै काम गर्नुपर्छ नि दिउँसो पनि । बाह्र बजे तिर गाडिले दूध ल्याउँछ । त्यो दूधलाई पकाईवरी दही, पनिर, बटर बनाउनुपर्छ । चार बजे तिर होटेल–होटेलमा दुध, दहीको अर्डर पुर्यारउनुपर्छ । बेलुका सात/आठ बजे मात्र काम सकिन्छ । थकाई लाग्छ, अनि खाना खाएर सुतिहाल्छु ।” पढाई किन छोडेको त ? कति सम्म पढेका छौ ? अनकनाउँदै उनले जवाफ दिए –“आठ कक्षा पढ्दा पढ्दै छोडेको” उनी सुस्तरी बताइरहेका थिए –“साथिभाइको संगतले भनौँ कि मेरै आवारापनले गर्दा हो म ठम्याउन सक्तिन , मैले गाउँकै एउटी केटीलाई प्रेम गरेको थिएँ । उनी पनि त्यही कक्षामा पढ्थिन् । खै त्यसपछि नै पढाइमा कमजोर हुन थालेको पनि थिएँ । पछि बुबाले यो कुरा थाहा पाउनुभयो अनि...।” गालातिर हात लग्दै इशारा गरे “यस्तरी पिट्नुभयो, त्यो पिटाइ सम्झिँदा अझै पनि झसँग हुन्छु । त्यसबेला बुबाले पढ्नुपर्ने बेला प्रेम गर्दै हिँड्ने हो ? भनेर धेरै कुरा भन्नुभएको पनि थियो । तर किन-किन मैले पिटाइ सहनै सकिन , उहाँले के भन्नुभयो त्यो पनि सुनिनँ । बरु तपाइँको घरमा तपाइँ नै बस्नु म गएँ भनेर निस्किएँ घरबाट । यसरी म काठमाडौँ आएँ ।”

घर छोडेको धेरै समयसम्म पनि उनलाई आफूले गल्ती गरे जस्तो लागेन रे । कोटेश्वरमा बस्ने फुपूले पनि ‘ बुबाले गाली गर्दैमा घर छोडिहिँड्ने होइन, त्यो त तेरैलागि पो भनेको ’ भन्नुभएछ । तर “नआउनु आइसकियो अब त्यसै लुरुक्क परेर कसरी घर फर्किने ? म पनि आफैँ कमाउनसक्छु नि” भनेर काम खोज्नतिर लागेछन् । त्यसपछि घर गएकै छैनौ त ? –“जान त गएँ । तर सधैँ बस्ने गरि होइन् , चाडबाडमा मात्र ।” अनि त्यो केटीको कतिको सम्झना आउँछ ? के गर्दै छिन् उनी ? अहिले पनि तिमीहरूको सम्बन्ध उस्तै छ की ? “उनी अहिले गाउँमै बाह्रमा पढ्दैछिन् । गाउँ जाँदा भेट हुन्छ तर अहिले हामी केवल साथी मात्र हौँ , त्यस्तो सम्बन्ध छैन । अहिले म धेरै बुझ्ने भइसकेको छु । दुःख गरेपछि मात्र जीवन बुझ्ने रहेछ दाजु”


आफ्नो दुखको कुरा उनले यसरी सुनाए –“कहिलेकाहीँ यो संसारको सबैभन्दा बढि दुःख पाउने मान्छे मै हूँ जस्तो लाग्छ । काम खोज्न जाँदा काम नपाएर दुःख , भोकभोकै पनि कति दिन त्यसै हिँडेको छु । होटेलमा भाँडा माझ्ने, कपडा पसलमा बस्ने थुप्रै काम गरेँ । अहिलेचाहिँ डेरीमा काम गरिरहेछु । यो काममा पनि त्यतिकै दुख्ख छ । हिउँद, वर्षा केही भन्न पाउँदैनौँ । सधैँ बिहान बिहान सय लिटर भन्दा बढि दूध बोकेर हिँड्नुपर्छ । ओरालोमा साइकलको ब्रेक लागेन भने सिधै एक्सिडेन्ट । न त शनिबार छुट्टी पाइन्छ । न त चाडबाड लाग्छ , न त नेपाल बन्द नै । जहिले पनि खटिनुपर्छ । अझ नेपालबन्द, हड्तालको बेला त दूध राती मात्र आइपुग्छ अनि राती नै उठेर दूध भाग लगाएर पुर्‍याउनुपर्छ घर–घरमा । चाडबाडमा पनि त्यस्तै । गएको दशैँमा काम सकाइवरी टिकाको दिन मात्र घर पुगेको थिएँ । त्यहाँ पुग्दा सबै पाहुनाहरू समेत आइसकेछन् । आमाले ‘किन आज मात्रै आएको ? बरु नआए हुन्थ्यो’ भन्नुभो । साह्रै चित्त दुख्यो । आफ्नो कामै यस्तो छ के गर्ने ?”

“कहिलेकाहीँ लाग्छ, के सोचेर घर छोडेको थिएँ ? के भएँ ? कस्ता–कस्ता सपना थिए मेरा ! सबै उडेर गए । सोचेजस्तो नहुँदो रहेछ ।” सपना ! अँ के थिए त उनको सपना –‘धेरै पैसा कमाउन सकियोस्, बाबुको अगाडि आफ्नो खुट्टामा उभिएर देखाइदिन सकूँ । अनि अनि एउटा गाडि किनेर ड्राइभिङ गर्न सकियोस् ।’ गम्भिर मुद्रामा उनि भन्दै गए–“अहिले भोगेपछि पो थाहा पाएँ, त्यतिबेला बुबाले जे गर्नुभएको थियो त्यो मेरै लागि रहेछ । पढिरहेको भए, गाउँमै केहि गर्नसक्ने हुन्थेँ होला । तर अब न बुबा रहनुभयो न त मेरा सपना नै । यि सबै सम्झेर ल्याउँदा आफूलाई सम्हाल्नै सक्तिन ।” उनको मूहार झन् निन्याउरो हुँदै गयो । उनको सामू अन्तिम प्रश्न तेर्सियो – त्यसो भए तिम्रो सपना सबै सिद्दिए त ? के गर्ने विचारमा छौ त तिमी ? “न्यूरोडमा एउटा मारवाडीले काम गर्न बोलाइरहेको छ तर डेरी(अहिले काम गरिरहेको ठाउँ) मा मैले केही ऋण लिएको थिएँ , त्यो नतिरे सम्म छोड्ने कुरा पनि त आएन् । अर्को मनले सोच्छु , घर गएर तरकारी खेती पो गरुँ की ? अहँ, केही निर्णय नै गर्न सकेको छैन । बरु तपाइँ नै सल्लाह दिनुस् न म के गरुँ ?”

Sunday, January 31, 2010

गुलियोमा भुलियो


केही हप्ता अघिदेखि आमाले मलाइ कराइरहनुभएको थियो । आमाले त्यस दिन चेतावनी नै दिनुभएपछि मन नलाइ-नलाइ पनि म घरबाट बजार निस्केँ । आमाले भन्नुभाथ्यो–‘हेर याँ चिनी एकदम महंगो भयो, सय रुपैयाँ रे ! तँ काठमाडौं गएर चिनी ल्याइदे त । सकिन लाइसक्यो । यो हप्ता भित्र चिनी ल्याइनस् भने हेर्न ।’ मेरी आमालाई चियामा गुलियो अति चाहिन्छ । घरमा मैले पकाएको चिया पिएपछि आमा मलाइ ‘ कन्जुस यतिचा चिनी हाल्छस्, मिठै छैन ।’ भन्ने प्रतिक्रिया दिनुहुन्छ अनि आफै चिनी थपेर खानुहुन्छ । त्यसमा पनि जाडो महिना त बिहानै तिन कप सम्म चिया पिउनुहुन्छ । भान्छामा कुनै कुरा कति स्टक रहँदा आमाले कसरी हतार गराउनु हुन्छ ? त्यो बानी सँग म अभ्यस्त छु । त्यसैले आमाले चिनी ल्याउन भनेको केही हप्ता त त्यसै टारिरहेँ । अनि त्यसदिन चाहिँ ल्याइदिउँ न त भनेर म निस्केँ घरबाट ।

पहिला पहिला चिनी लिन प्राय जसो नेशनल ट्रेडिङमा जाने गर्थेँ । अन्त नपाइँदा त्यहाँ कम्तिमा दुइ किलो भए पनि पाइन्थ्यो । त्यसै दिनको बिहानमात्र एउटा पत्रिकामा पनि ‘नेशनल ट्रेडिङको गोदाममा चिनी ओसार्दै कामदारहरू’ भन्ने लेखेर तस्वीर नै छापेको थियो । यसो सोचेँ –‘ व्यापारीहरू मौका वित्तिकै कालो बजारी गर्न थालिहाल्छन् । याँको पसलेले चिनी किलोको सय रुपैयाँ लिएर के भो ? मैले त झन् होलसेल (नेशनल ट्रेडिङ) नै चिनेको छु त्यहाँ त पैँसाठ्ठी रुपैयाँमा नै दिहाल्छन् नि । ’ अनि सिधैँ हान्निएँ टेकूतिर । टेकू पुगेँ , सुनसान पो छ त । बाहिर सुचना टाँसिएको थियो चिनी छैन भनेर । त्यसलाइ वास्ता नगरि म सिधै भित्र छिरेँ । त्यहाँको कर्मचारीले “चिनी त यहाँबाट नदिएको झण्डै एक महिना भैसक्यो” पो भने त । म त छक्क परेँ ।

“अनि आज बिहान त पत्रिकामा तपाइँहरुको गोदाममा चिनी ओसारिराखेको फोटो छापेको छ नि त ?”

“त्यो त पुरानो फोटो छापेको होला ।”

त्यसपछि सोधेँ–“अनि कहिले देखि दिन्छ चिनी ?”

“पुस देखि सकिएको हो , सायद माघको दोस्रो हप्ता तिर पाइएला कि ।”

जे सोचेर गइयो, ठिक उल्टो भयो । अनि पत्रिकाहरु पनि कति झुठा हुँदा रहेछन् त बाइ । पुरानो फोटो नभनिकन त्यसै छापिदिन्छन् । ”



आमालाइ चिनी ल्याउँछु भनेरै आएको थिएँ , अब के गर्ने ? साल्ट ट्रेडिङ ले पनि पसल पसलमा चिनी दिएको छ क्यारे । अब टेकु देखि कालिमाटि सम्म बाटोमा हेर्दै जाऔँ , जहाँ साल्ट ट्रेडिङको अधिकृत बिक्रेता भनेको हुन्छ त्यहाँ एक दुइकिलो चिनी त कसो नपाइएला ? यस्तै सोचेर हेर्दै गएँ । कतै फेला परेनन् त साल्ट ट्रेडिङको बिक्रेताहरू । के भएको हो ? यो बाटोमा त पहिला पहिला ठूला ठूला ब्यानर नै झुण्ड्याएर राखिएको पसलहरू देखे जस्तो लाग्छ अहिले ती कहाँ हराए ? मनमा अब चाहिँ चिसो पस्यो । कतै आज खाली हात पो फर्कनु पर्ने हो कि ?

कालीमाटीमा पुगेपछि बल्ल एउटा साल्ट ट्रेडिङको अधिकृत बिक्रेता फेला पर्‍यो। ‘चिनी ल्याउनुहोस् न दुइ किलो’ मैले चिनी मागेँ । जवाफमा ‘चिनी सक्यो’ भन्ने पाएँ । अरु अधिकृत बिक्रेताहरू कहाँ होलान् त ? यसो गरौँ - साल्ट ट्रेडिङ नजिकै छ, त्यहाँ गएर चाहिँ दिन्छन् भने त्यहीँबाट चिनी लिउँ । नपाए अधिकृत बिक्रेताहरूको नाम माग्ने, अनि खोज्न जाने । एउटा न एउटामा त कसो नहोला ? साल्ट ट्रेडिङ पुगेर एक चक्कर घुमेँ जताततै नुनै नुनको खात मात्र छ । एउटा ढोकामा चिनीको गोदाम भनेर लेखिएको थियो तर त्यो बन्द थियो । रिसेप्सनमा गएर मैले अधिकृत बिक्रेताको नाम मागेँ । मलाइ दोस्रो तल्लामा जान भनियो । दोस्रो तल्लामा पुगेपछि उनिहरूले मेरो परिचय खोजे मैले पनि अलि जान्ने भएरै ‘म प्रशिक्षार्थी पत्रकार’ भनिदिएँ । ‘ अहिले बजारमा चिनीको अभाव देखिएको छ , तपाइँका डिलरहरू कहाँ–कहाँ छन् ? उनिहरूको नाम र ठाउँको कुनै सूची पाइन्छ की भनेर आएको । ’ लौजा मैले त त्यो नामावली नपाउने भएँ । एकजना हाकिम जस्ता देखिने कर्मचारीले सिधै मलाइ यसै भने –“हेर्नुस् भाइ , हाम्रो काठमाडौँ उपत्यकामा मात्रै पाँच सय भन्दा बढि डिलरहरू छन् । ति सबैको नाम हामीले दिन मिल्दैन । कुनै एउटा एरियामा भएका डिलरहरूको नाम सरर भन्दिन सक्छु त्यति हो । तपाइँलाइ सूची नै चाहिएको हो भने त्यो हामी दिन सक्दैनौ ।”

‘सर मैले त यहाँको डिलरबारे जानकारी सर्वसाधारणलाइ दिन सकेँ भने उनीहरूलाइ पनि चिनी लगायतका दैनिक उपभोग्य सामाग्रीहरू लिन सक्छन् की भनेर मात्र त्यो मागेको हुँ । यदि सूचीकृत छैन, दिन सक्नुहुन्न भने भैगो ।’

“हामीसँग नै चिनी नभएको नै एक महिना भैसक्यो । अनि ति पसलमा त के होलान् र ?”

“ त्यसो भए अहिले कतै पनि चिनी नभएकै हो त ?”

–“हामीले चाहिँ पाएका छैनौ तर बजारमा हुँदै नभएको भने होइन । बजारमा व्यापारीहरूले नेपालकै ठूला चिनी उद्योगहरूबाट सिधै ल्याइरहेका पनि छन् । बजारमा त पुग्दो छ ।”

“अनि किन त चिनीको भाउ चाहिँ यति साह्रो महंगो भएको त ?”

उनको जवाफ यस्तो थियो –“खासमा सरकारले चिनी किनेर हामीलाइ नै बेच्न दिने भनेको हो तर किन हो सरकारले हामीलाइ दिन सकेको छैन । हेर्नुस् भाइ, नेपालमा आयो नूनको एक मात्र आधिकारिक बिक्रेता भनेका हामी हौँ । त्यसैले हामीले यो नूनको मूल्य देश भरि एउटै कायम गर्न सकेका हौँ । चिनीको पनि त्यस्तै हुनेहो भने त भैहाल्यो नि ।” उनी धाराप्रवाह बोलिरहेका थिए । म भने शान्त भइ सुनिरहेको थिएँ । “फेरी चिनी नूनको जस्तो निश्चित प्याकेटमा बेचिने चिज पनि होइन । यो त खुल्ला बेचिन्छ । यदि यसको पनि बिक्रीको सम्र्पूण जिम्मा कुनै एउटै कम्पनिलाइ दिने हो भने भाउ नियन्त्रण भैहाल्छ नि । त्यसमाथि पनि अहिले हामीले आफ्नै डिलरहरूलाइ त चिनी दिन सकेका छैनौ । उनिहरूले चिनी बेचिरहेका भए पनि अन्तै बाट ल्याएर बेचेका हुन्छन् । हामीले चिनी दिँदा उनान्साठ्ठी रुपैयाँ पचास पैसामा दिन्थ्यौँ र एकसाठ्ठी रुपैँयामा उनीहरूले बेच्नु पथ्र्यो । तर अहिले हामीले नदिएको चिनी किन यति रुपैँयाँमा बेचेको भनेर सोध्ने कुरा पनि आएन ।
अब पो बिस्तारै कुरा प्रस्ट हुँदै आयो , नेपालका चिनी उद्योगहरूले सरकारलाइ चिनी नदिएको रहेछ । अनि व्यापारीले पनि मनलाग्दो पैसा लिएको रहेछ । सरकारीकरणको विपरित निजीकरणले ल्याउने समस्या यस्तै त हो नि होइन र ? व्यापारीको यस्तो मनोमानी रोक्ने कुनै निकाय नै छैन त ? “ छ नि वाणिज्य विभागले बजार अनुगमन त गरिरहेकै छ तर त्यो पर्याप्त चाहिँ छैन । ”


सबै कुरा त बुझियो तर पनि आफूले चिनी पाउने कहाँ हो ? त्यसैले कालिमाटी देखि किर्तीपूरसम्मका साल्ट ट्रेडिङका सबै अधिकृत बिक्रेताहरूको नाम सोधेँ । ति नाम लिएर बाट–बाटै हेर्दै आएँ । अघि चिनी सक्यो भनेको पसलमै गएँ । लौ चिनी जोख्दै बेचिरहेका पो छन् त । ‘साहुजी, मलाइ दुइकिलो चिनी दिनुहोस् न ।’ ‘दुइकिलो छैन ,एक किलो मात्र ’ उनले चिनी दिए र असि रुपैयाँ मागे । चिनी किन महँगो भनेर साल्ट ट्रेडिङबाटै जवाफ पाइसकेकोले खुरुक्क पैसा दिएँ र चिनी लिएँ । अब केहि समयलाइ त ढुक्क भइयो भन्ने सोच्दै चिनी लिएर घर फर्केँ ।