Wednesday, May 20, 2009

बलामी भेला सम्पन्न


देशका विभिन्न भागमा छरिएर रहेका बलामी जातिको अधिराज्यव्यापी भेला सम्पन्न भएको छ । गत शनिवार आयोजित उक्त भेलामा नुवाकोटको कागती गाउँ, मकवानपुरको चित्लाङ, खड्बु, काठमाडौंको बालाजु, रामकोट, फर्पिङ लगायत विभिन्न स्थानबाट आएका बलामीहरुको उल्लेख्य उपस्थिति थियो । सोही भेलाले मोहन बहादुर बलामीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ ।


नेवार जातिभित्र आफ्नो छुट्टै भाषा, संस्कृति भएर पनि पछाडि परेको एउटा समुदायको हो बलामी समुदाय । यसपल्ट विभिन्न स्थानमा छरिएर रहेका बलामी समुदायलाई एक गराउने काम नेपाल बलामी समाजले गरेको छ । समाजले आपसी सम्बन्ध मजबुत बनाउन, आफ्नो मौलिक संस्कृतिको पहिचान गरी जगेर्ना गर्न, समाजिक विकृति र अन्धविश्वास हटाउन, आफ्नो हकहितको संरक्षण गर्न यो भेला आयोजना गरेको बताएको छ ।

Saturday, May 2, 2009

बहस हुनैपर्छ अब त

राष्ट्रिय जनमोर्चाले आफ्नो १० दिने संघियता विरोधी काठमाडौं केन्द्रित आन्दोलन सम्पन्न गरेको छ । यो आन्दोलनले ठूलो उपलब्धी बटुल्न नसके पनि कम्तिमा पनि शिक्षित वर्गका मानिसहरू देखि सर्वसाधारणमाझ पनि कुराकानीको विषय बनाउन सकेको देखेँ मैले ।

संधियता भनेको के हो ? संघिय राज्य बनाउँदा फाइदा हुन्छ की बेफाइदा ? कहाँ बाट आयो संघियताको नारा ? क्याम्पसमा राजनितिशास्त्रको कक्षामा आजभोली यस किसिमका छलफल सुरु हुने गरेको छ । हाम्रा प्राध्यापकले हामीलाई यसरी बुझाउनु भएको थियो– ‘ हिजोका दिनमा राज्यको ध्यान राजधानी जस्ता सिमित शहरी इलाका मात्र केन्द्रित थियो जसले गर्दा यस क्षेत्रमा वसोबास गर्ने जनताको जीवनस्तरमा एकाएक परिर्वतन आएको छ भने अर्को तिर हुम्ला, जुम्ला , कर्णाली जस्ता क्षेत्रलाई राज्यले सौताको छोराको व्यवहार गर्न पुग्यो । त्यसैले त्यहाँ सधैँ भोकमरीले सताउँछ । शिक्षा कुन चराको नाम हो त्यहाँका जनतालाइ थाहा छैन । वास्तवमा दश वर्षे माओवादी जनयुद्धबाट संघियताको नारा उर्लिएको देखिन्छ । झन् दोस्रो जनआन्दोलन सम्पन्न भइसकेपछि त सबै वर्ग र तप्काका मानिसहरु आफ्नो अधिकार खोज्ने भएका छन् । वास्तवमा केन्द्रिकृत राज्य संयन्त्रले देशको चौतर्फी विकास गर्न नसकिएकोले नै क्षेत्रीय रुपमा पनि अधिकार बाँडफाँड हुनपर्छ , जहाँ बाट कर उठ्यो त्यहीँकै विकासको लागि खर्च गर्न पाउनुपर्छ भन्ने कुरा उठेको हो । ’


संघियताबारे यी कुरा सुनिसकेपछि ‘अहिले संघियताले देश टुक्¥याउँछ ।’ भनेर त्यस विरुद्ध आएको आवाजको अर्थ चाहिँ के हो नि ? मनमा झनै बढि दुविधा पो भयो त । यसलाइ यसरी बुझेँ मैले — कुरा के रहेछ भने अहिले देशमा संघियताको ढाँचा कस्तो हुने भनेर सबैलाइ चित्तबुझ्दो खाका नै तयार नगरिकन बाठा मानिसहरु मिलेर आफ्नो बाहुबल भएको क्षेत्रलाइ छुट्टै राज्य घोषणाको माग गर्ने चलन पो बढेर गएछ त । लौ यसले त देश नै टुक्रा टुक्रा हुने भयो भनेर संघियताको विरोध पनि हुने गरेको छ । के संघियता भनेको देश टुक्राउनु हो त ? अवश्य पनि होइन । संघिय राज्य भएर नै विशाल भारत बनेको छ । अरु त के कुरा अमेरीका नै पचास भन्दा बढि संघिय राज्य मिलेर सिंगो बनेको छ । अनि संघियताको नाममा यो विवाद किन त ? देश अनुसार भेष भन्छन् नि , संघिय राज्य बनाउँदा के को आधारमा भूगोललाइ विभाजन गर्ने ? के को आधारमा अधिकार बाँडफाँड गर्ने ? यिनै कुराले नै संघिय राज्य कस्तो हुने भन्ने तय हुने त हो नि ।

अहिले अधिकांश ठूला स्वरहरू जातजातीको आधारमा संघिय राज्य बनाउने भन्ने आइरहेको छ । के यो उपाय सही छ त ? मैले काठमाडौँका ठाउँ ठाउँमा नेवारी भाषाको एउटा नारा देखेको छु ‘ नेवा झि गुलि शाषित जुइगु ? आ ला झि शाषक जुइनु ’ यसको अर्थ हो – ‘ हामी नेवारहरु आफ्नो भूमिमा कति अरुबाट शाषित हुने ? अब त हाम्रो शाषक हुने पालो पो हो । ’ देशमा जातको आधारमा संघिय राज्य बनाउनुपर्छ भन्नेहरुको नारा हो यो । खास गरी काठमाडौँ उपत्यकाको पूरानो बासिन्दा आफूहरु भएको र यहाँ आफूहरुले नै शाषण गर्न पाउनुपर्छ भन्ने धारणा अचेल कतिपय मानिसहरुमा पाइन्छ भने कतिपय ‘३० प्रतिशत नेवारहरुले हामीलाई शाषण गर्ने ? ’ भन्दै नाक खुम्च्याउनेहरू पनि छन् । तराईमा पनि कोही पूरै तराइलाइ मधेश बनाउनुपर्ने भनिरहेका छन् भने कोही आफूलाई त्यहाँको भूमिपूत्र भएकोले आफुले छुट्टै शाषण गर्न पाउनुपर्ने बताइरहेका छन् । यो सबै कुरा छलफल र बहसमा मात्र भए त ठिकै थियो । यहाँ त भिन्न जाति बिच द्वन्द नै पो हुन थालेको छ । अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको खाका तयार गर्नु अगावै देखिएका यस्ता द्वन्द देखिनु पक्कै पनि राम्रो संकेत होइन है । संघियताको नाराले गर्दा मानिसहरुमा साम्प्रदायिकता पो बढ्दै छ । यदि भूगोल जोडिएर मन फाट्न पुग्यो भने यो एकता हुँदै होइन अनि यदि भूगोल छुट्याउनकै लागि (साम्प्रदायिक) मनहरु जोडिए भने त्यो त झन् भयंकर हुन पुग्छ । त्यसो भए कसरी गर्ने त देशको विकास ? विकेन्द्रिकरण त गर्नु नै छ । के संघियता घात नै हो त ? के हामी बिच जोडिने साइनो जातियता मात्रै हो त ? बहस गर्नुपर्ने बेला आएको छ अब , छलफल गर्नुपर्ने बेला आएको छ अब ।