
धेरैपछि पाएको फुर्सदमा आफ्नै पुरानो डायरी फेला परेको छ।
बालपत्रिका "बालकोसेली" अध्ययन समूहको नियमित भेटघाट तथा बाल साहित्यकार शान्तदास मानन्धर ज्यूको प्रेरणा र संगतबाट २०५४ सालमा अर्थात
आफु १० वर्षको हुँदा देखि नै समूहका सबैले डायरी लेख्न थालेका थियौँ। अहिले ति
डायरी पढ्दा कुनै ठाउँमा रोमान्चित, कुनै ठाउँमा दुःखी अनि आफ्नै अक्षर नबुझेर
कुनै ठाउँमा दिक्दारी पनि एकैपल्ट भइरहेको छ। कक्षा पाँचमा पढ्दाताकाको एक दिनको
डायरी यस्तो रहेछ।
२०५६/०८/०५ आइतबार
आज खोप दिवस थियो, त्यसैल विदा थियो। आज बिहान आठ बजे बुबाको साइकल चलाएर म छाउनीबाट चक्रपथ गएँ। अनि एक घण्टामा कोठामा आइपुगेँ। कोठामा
पुगेर नीरज दाईसँग चेस खेलेँ, चेस चार चोटी खेल्यौँ, त्यसमा दाईले झुक्याएर राजा
खानुभयो। मैले यो गेम राम्रो भएन भनेँ। ठूल्दाईले फेरि पुरानै अवस्थामा
फर्काउनुभयो। त्यसैले आखिरमा चारै गेम मैले नै जितेँ। त्यसपछि मैले भात खाएँ। नीरज दाई आफ्नो साथी भेट्न जानुभयो। म चाहिँ साथी रमेश कहाँ गएँ। रमेश र म प्राकृतिक
विज्ञान संग्रहालय, स्वयम्भु गयौँ। त्यहाँ बन्द रहेछ।
त्यसपछि हामी चक्रपथबाट कलंकीमा चलचित्र "परदेशी कान्छा" हेर्न गयौँ।हामीले बाल्कोनीको टिकट लिएर "परदेशी कान्छा" हेर्यौँ। फिलिम चलिरहेको थियो, हाफ टाइममा नजिकैको होटेलमा मःमः खायौँ। पछि फिलिम सकिँदा ५:३० बजिसकेको रहेछ। हामी छिटो छिटो टेम्पो चढ्यौँ र घर फर्कियौँ। आज रमेश र मैले १०८ रुपैयाँ खर्च गर्यौँ। घर पुगेँ दाईलाई के भनौँ जस्तो भैरहेको थियो। मैले साथीसँग घुम्न गएको भनेँ। घरमा ढिला आएकोले ठुल्दाईले १०० चोटी उठबस गर्न भन्नुभयो। नीरज दाईले १०० चोटी उठबस गर्न सक्यो भने एक रुपैयाँ दिन्छु भन्नुभयो। मैले गरेँ, एक रुपैयाँ पाएँ। पछि त्यो एक रुपैयाँ मेरै पाइन्टबाट निकालि मलाई दिइएको चाल पाएँ।