Thursday, June 18, 2009

Being Me हेरेपछि

यसपल्ट खुल्ला सडकमा बसेर being me नामक चलचित्र हेरियो । किर्तिपूरको नयाँ बजारमा पर्दा राखेर यो चलचित्र देखाइएको थियो । यसरी खुल्ला सडक बिचमा चलचित्र हेर्न पाउँदा मन नै रोमाञ्चित भइरहेको थियो । यो चलचित्र हर्के फिल्मस् र डकुमेन्ट्रि ओपन स्कूलले संयुक्त रुपमा बनाएको रहेछ । चलचित्र प्रदर्शन गर्नु अघि ‘ के बारेको चलचित्र हो यो ? ’ भन्ने प्रश्नमा यसका निर्देशक क्षितिज अधिराजले यसरी उद्घोषण गरेका थिए — “यो चलचित्र तपाइँहरूको बारेमा बनेको छ ।” “सामान्यतयाः चलचित्रले के कुरा भन्छ ? चलचित्र सकिएपछि थाहा हुन्छ र अझ धेरै जसो त सकिएपछि केही कुरा पनि आउँदैन । हेरिसकेर आ–आफ्नो बाटो लागे पछि यसको प्रभाव पनि सकिन्छ । तर हामी चलचित्र भनेको यति मात्र होइन, यो त तपाइँ सँग बोल्ने(संवाद गर्ने) हुनुपर्छ भन्ने मान्यता राख्छौँ । त्यसैले प्रस्तुत चलचित्र पनि हेरिसके पछि आफ्नो प्रतिक्रिया दिनुहोस् । हेरिसकेपछि तपाइँको मनमा जे कुरा आयो त्यही नै हो यो चलचित्रको थिम (चलचित्रले भन्न खोजेको कुरा ) । हामी चलचित्र सकेपछि बाहिरीने होइन, बहसको सुरुवात होस् , छलफल होस् भन्ने चाहन्छौँ । अर्थात् चलचित्र यति गह्रुगोँ चिज हो , जसले तपाइँलाई पनि बोल्ने बनाउँछ । यो सस्तो चिज लाग्दैन हामीलाई । त्यसैले यो हेरेपछि जस्तो लाग्यो त्यस्तै कुरा यहाँ लेखेर व्यक्त गर्नुहोला ।”

अनि सुरु हुन्छ चलचित्र प्रदर्शन । चलचित्रमा सुत्रधार बोल्छन् – ‘ यो कथा कल्पनाको होइन , यो त हाम्रै गाउँठाउँको कथा हो । हामी सबै शान्ति चाहन्छौँ, सुख चाहन्छौँ । यसको मतलब यो कथा युद्ध सकेर शान्तिकाल आयो भन्ने पनि होइन । ’

घटना (दृश्य) – १ दाङमा एउटा ज्योतिष÷झाँक्री को मा आउनेहरूको हूल महसुस हुन्छ । एक युवा आफ्नी आमासँग आएका छन् । झाँक्री तिनलाई हेर्छन् । ग्रहदशा भन्छन् अनि एउटा पात जस्तो (मैले प्रष्ट ठम्याउन सकिन) दिन्छन् र दुईऔंलाले माड्न लगाउँछन् । त्यसपछि आफ्नो हातमा केही छैन भन्दै हात देखाएर दुइवटा हात माड्छन् र टिका लगाइदिन्छन् ती युवाको निधारमा । तिनलाई ऐनामा हेर्न लगाउँछन् , अनि दंग पर्छन् केही नभएको हातले टिका लगाइदिँदा । क्यामरासँग तिनी आफुलाई यस्तोमा विश्वास नभएको केवल आमाको सन्तुष्टिको ÷ शान्तिको लागि यहाँ आएको बताउँछन् ।

घटना (दृश्य) – २ कर्णाली जिल्लाको एक विकट गाउँमा एक तपस्वी जमिन मूनि छिर्छन् र (सायद) केही दिनपछि निस्कन्छन् । त्यसपछि जमिनमूनि बाट निस्कीएका उनलाई भगवान् मानेर पूज्न थाल्छन् गाउँलेहरू । तिनको सहयोगी उनलाई भगवान् त होइन तर महामानव चाहीँ भएको जिकिर गर्छन् ।

घटना (दृश्य) – ३ एक युवती आफ्नो भान्छामा बँदेलको मासु पकाउँछिन् । पाक शिक्षा दिए जस्तै गरि प्याज भूट्ने, खुर्सानी हाल्ने, मासु हाल्ने, मसला हाल्ने देखि खाना सँग पस्कनेसम्म देखाइन्छन् । उनी विदेशमा काम गरेर फर्केकी । अरबमा जाँदा अनौठो अनुभव भएको बताउँछिन् । आइमाई मान्छेले बाहिर फेर हिँड्न नहुने । लुगाले मूख बाहेक सबै ढाक्नुपर्ने । आपूmले पनि त्यसै गरिन् । पछि मालिकको छोराले दुर्व्यवाहार गरेपछि आमाचाहीँलाई भन्दा उल्टै गाली खाइन् । यति मात्र कहाँ हो र ? त्यसमाथि मालिकले पनि पिट्यो । कहिलेकाहीँ उनलाई नारी भएर बेकार जन्मिइएछ भन्ने लाग्छ । यो सबै कुरा क्यामरालाई बताउँछिन् ।

घटना (दृश्य) – ४ तराईको दृश्य, म्यानपावर कम्पनीमा युवाको भिड । ल्याप्चे हान्दै आफ्नो नागरीकता बुझाएको देखिन्छ । म्यानपावर कम्पनीको मान्छे उनीहरुलाई काम सम्झाउँछन्– ‘ त्यहाँ गएर गाडी चलाउने हो , २४ पाङ्ग्राको गाडि । १२०० सय आउँछ । उस्तै परे १६०० सम्म कमाइ हुन्छ । फेरी खान, बस्न पैसा लाग्दैन । ’ युवा सहमत हुन्छन् । पछि भिड बीचमा नाम बोलाउँदै पासपोर्ट बाँडिन्छ । यहि बीचमा सडकमा रिक्सामा हिन्दी चलचित्रको प्रचार अनि हल सम्मको यात्रा देखाइन्छ । यो भने बुझ्न सकिंन ।

घटना (दृश्य) – ५ एक युवती , अनुहार देखाइन्न । तर पछाडिबाट खिचिन्छ , उनी हामीलाई आफ्नो डायरी भन्छे – ‘ म बारमा काम गर्छु । छ बजे देखि ६,७,८,९,१० बजे सम्म, बारमा मेरो काम सर्भिस दिने हो । ग्राहकहरू धेरै चिज पाउन चाहन्छन्, त्यो कुरा दिनुपर्छ हामीले ’ यसरी बोलिरहेकी महिलाको पछि लाग्दै क्यामरा बार सम्म जान्छ । तर कसैको मूख देखाइँदैन ,केवल खुट्टामात्र खिचिएको छ । सबै दृश्य सँगै युवतीले आफ्ना कुरा बताइरहेकी नै हुन्छे । लहरै तिन चार जना केटीहरू बसेका छन् । “के दिन खोज्या होला ?” भन्दै मूख छोपेकी एक महिला स्वाभाविक हाँसो हाँस्छिन् । उनलाइ अचम्म पनि लागेको छ । आफूले काम गरेको ठाउँमा के गर्न खोजेका हुन् ? आफूलाई त सबै नर्मल छ तर के देखेका होलान् यिनले ? यस्तै भाव देखिन्छ उनको हाँसोमा ।

घटना (दृश्य) – ६ पशुपति मन्दिर परिसरमा धार्मिक प्रवचन÷अनुष्ठान चल्दैछ । जहाँ भजन गाइँदैछ । नदी छेउ लासहरू जलाइरहेको देखिन्छ , सँगै अर्को दृश्य : एउटा कुखुरा क्यामरा नजिक देखिन्छ । अर्को कुखुरालाई पूजाको निम्ति काटिँदैछ । जसलाई काटिएको, भूत्ल्याइएको, सफा गरेको र निर्जीव शरिर तुल्याइएको सम्म देखाइन्छ । यो दृश्य र भजन किर्तनको दृश्य एक र अर्को गरी पालैपालो देखाइँदै गरिएको छ ।
अन्त्यमा, गित घन्किन्छ
“चिङकाङसाङ हो यो विश्वक्रान्तिको, आधारकिल्ला हो यो जनक्रान्तिको
हाम्रो नेपाल, प्यारो नेपाल,विरहरूको नेपाल,विरहरूको नेपाल”
यो गित बजाइँदै गर्दा पर्दामा नेपालीहरूको तस्वीरहरू देखाइन्छन् । कसैको हातमा बियरको शिशि हुन्छ । कोही महिलाका अनुहार चाउरिएका छन् र सिद्धिन्छ being me । चलचित्र हेरिसकेपछि मनमा एक प्रकारको अलमल पो पैदा भयो । टुक्रा टाक्रीहरु जोडेर बनाइएको रहेछ यो चलचित्र । त्यसमाथि एउटै घटना पनि सिधा पूरा नहुने ÷सिलसिलाबद्ध नहुने । एकपटक ,एउटा घटनाको दृश्य अनि अर्को पल्ट अर्कै घटनाको दृश्य त्यो पनि अपूर्ण । मैले माथि उल्लेख गरेका प्रत्येक घटना झण्डै तिनपल्ट देखाएपछिमात्र पूरा हुन्छ ।

यस्तै प्रस्तुती शैलीको चलचित्र babel हेरेको थिएँ करीब एक वर्ष अघि । मलाइ लाग्छ कम्तिमा एउटा घटना पनि सूरु देखि अन्त्य सम्म बिना अबरोध हेर्न पाए अझ चलचित्र बुझ्न सजिलो हुने थियो की । मैले त्यहाँ उपस्थित प्रायः सबै दर्शकको पनि यस्तै अलमलको मनस्थिति पाएँ । यहाँ अन्त्यमा कुखुरा काटिएको र भजन किर्तनको दृश्य पालैपालो देखाइयो । के पंक्षी हत्या धर्म विपरित छ भन्न खोजिएको हो ? भन्ने प्रश्नमा निर्देशक क्षितिजले यसो भने –“होइन , यो चलचित्रको कुरा यतिमा सिमित छैन । यो चलचित्रमा देखाइएको पहिलो दृश्य र अन्तिम दृश्य अन्तरसम्बन्धित छ । यसलाई तपाईँले आफ्नो कथा सम्झीनुभयो की भएन ? मूख्य कुरा त्यही हो ,। आफूलाई यहाँ भित्र कतै पाउनुभयो की भएन ? बस्, तपाइँ यहाँ देखिनुभयो भने हामी सफल भयौँ । ” बल्ल पो अलिअलि चलचित्र बुझेजस्तो भयो । अनि लाग्यो अब फेरी एक पल्ट हेर्नपाइयो भने चाहिँ अझ गाढा सँग बुझिने थियो भनेर । आयोजकहरू भन्ने थिए – ‘ व्यावसायिक चलचित्र होइन यो , अनि हाम्रो उद्देश्य पनि पैसा कमाउने होइन । हामी त टोल–टोलमा यस्ता सामाजिक कुरामाथि बहस सिर्जना गर्न चाहन्छौँ चलचित्रको माध्यमबाट । ’ चलचित्रलाई केवल मनोरञ्जनको सस्तो साधनमात्रै मानिआएको नेपाली बजारमा यो तहको ओजपूर्ण विचार लिएर आएकोले यो वास्तवमै प्रसंसनिय कार्य हो । यसरी टोलटोलमा देखाइने चलचित्रहरु अझ सरल भइदिउन् , आयोजकहरू आफ्नो उद्देश्य प्राप्तीमा अघि बढून् ।

Wednesday, May 20, 2009

बलामी भेला सम्पन्न


देशका विभिन्न भागमा छरिएर रहेका बलामी जातिको अधिराज्यव्यापी भेला सम्पन्न भएको छ । गत शनिवार आयोजित उक्त भेलामा नुवाकोटको कागती गाउँ, मकवानपुरको चित्लाङ, खड्बु, काठमाडौंको बालाजु, रामकोट, फर्पिङ लगायत विभिन्न स्थानबाट आएका बलामीहरुको उल्लेख्य उपस्थिति थियो । सोही भेलाले मोहन बहादुर बलामीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ ।


नेवार जातिभित्र आफ्नो छुट्टै भाषा, संस्कृति भएर पनि पछाडि परेको एउटा समुदायको हो बलामी समुदाय । यसपल्ट विभिन्न स्थानमा छरिएर रहेका बलामी समुदायलाई एक गराउने काम नेपाल बलामी समाजले गरेको छ । समाजले आपसी सम्बन्ध मजबुत बनाउन, आफ्नो मौलिक संस्कृतिको पहिचान गरी जगेर्ना गर्न, समाजिक विकृति र अन्धविश्वास हटाउन, आफ्नो हकहितको संरक्षण गर्न यो भेला आयोजना गरेको बताएको छ ।

Saturday, May 2, 2009

बहस हुनैपर्छ अब त

राष्ट्रिय जनमोर्चाले आफ्नो १० दिने संघियता विरोधी काठमाडौं केन्द्रित आन्दोलन सम्पन्न गरेको छ । यो आन्दोलनले ठूलो उपलब्धी बटुल्न नसके पनि कम्तिमा पनि शिक्षित वर्गका मानिसहरू देखि सर्वसाधारणमाझ पनि कुराकानीको विषय बनाउन सकेको देखेँ मैले ।

संधियता भनेको के हो ? संघिय राज्य बनाउँदा फाइदा हुन्छ की बेफाइदा ? कहाँ बाट आयो संघियताको नारा ? क्याम्पसमा राजनितिशास्त्रको कक्षामा आजभोली यस किसिमका छलफल सुरु हुने गरेको छ । हाम्रा प्राध्यापकले हामीलाई यसरी बुझाउनु भएको थियो– ‘ हिजोका दिनमा राज्यको ध्यान राजधानी जस्ता सिमित शहरी इलाका मात्र केन्द्रित थियो जसले गर्दा यस क्षेत्रमा वसोबास गर्ने जनताको जीवनस्तरमा एकाएक परिर्वतन आएको छ भने अर्को तिर हुम्ला, जुम्ला , कर्णाली जस्ता क्षेत्रलाई राज्यले सौताको छोराको व्यवहार गर्न पुग्यो । त्यसैले त्यहाँ सधैँ भोकमरीले सताउँछ । शिक्षा कुन चराको नाम हो त्यहाँका जनतालाइ थाहा छैन । वास्तवमा दश वर्षे माओवादी जनयुद्धबाट संघियताको नारा उर्लिएको देखिन्छ । झन् दोस्रो जनआन्दोलन सम्पन्न भइसकेपछि त सबै वर्ग र तप्काका मानिसहरु आफ्नो अधिकार खोज्ने भएका छन् । वास्तवमा केन्द्रिकृत राज्य संयन्त्रले देशको चौतर्फी विकास गर्न नसकिएकोले नै क्षेत्रीय रुपमा पनि अधिकार बाँडफाँड हुनपर्छ , जहाँ बाट कर उठ्यो त्यहीँकै विकासको लागि खर्च गर्न पाउनुपर्छ भन्ने कुरा उठेको हो । ’


संघियताबारे यी कुरा सुनिसकेपछि ‘अहिले संघियताले देश टुक्¥याउँछ ।’ भनेर त्यस विरुद्ध आएको आवाजको अर्थ चाहिँ के हो नि ? मनमा झनै बढि दुविधा पो भयो त । यसलाइ यसरी बुझेँ मैले — कुरा के रहेछ भने अहिले देशमा संघियताको ढाँचा कस्तो हुने भनेर सबैलाइ चित्तबुझ्दो खाका नै तयार नगरिकन बाठा मानिसहरु मिलेर आफ्नो बाहुबल भएको क्षेत्रलाइ छुट्टै राज्य घोषणाको माग गर्ने चलन पो बढेर गएछ त । लौ यसले त देश नै टुक्रा टुक्रा हुने भयो भनेर संघियताको विरोध पनि हुने गरेको छ । के संघियता भनेको देश टुक्राउनु हो त ? अवश्य पनि होइन । संघिय राज्य भएर नै विशाल भारत बनेको छ । अरु त के कुरा अमेरीका नै पचास भन्दा बढि संघिय राज्य मिलेर सिंगो बनेको छ । अनि संघियताको नाममा यो विवाद किन त ? देश अनुसार भेष भन्छन् नि , संघिय राज्य बनाउँदा के को आधारमा भूगोललाइ विभाजन गर्ने ? के को आधारमा अधिकार बाँडफाँड गर्ने ? यिनै कुराले नै संघिय राज्य कस्तो हुने भन्ने तय हुने त हो नि ।

अहिले अधिकांश ठूला स्वरहरू जातजातीको आधारमा संघिय राज्य बनाउने भन्ने आइरहेको छ । के यो उपाय सही छ त ? मैले काठमाडौँका ठाउँ ठाउँमा नेवारी भाषाको एउटा नारा देखेको छु ‘ नेवा झि गुलि शाषित जुइगु ? आ ला झि शाषक जुइनु ’ यसको अर्थ हो – ‘ हामी नेवारहरु आफ्नो भूमिमा कति अरुबाट शाषित हुने ? अब त हाम्रो शाषक हुने पालो पो हो । ’ देशमा जातको आधारमा संघिय राज्य बनाउनुपर्छ भन्नेहरुको नारा हो यो । खास गरी काठमाडौँ उपत्यकाको पूरानो बासिन्दा आफूहरु भएको र यहाँ आफूहरुले नै शाषण गर्न पाउनुपर्छ भन्ने धारणा अचेल कतिपय मानिसहरुमा पाइन्छ भने कतिपय ‘३० प्रतिशत नेवारहरुले हामीलाई शाषण गर्ने ? ’ भन्दै नाक खुम्च्याउनेहरू पनि छन् । तराईमा पनि कोही पूरै तराइलाइ मधेश बनाउनुपर्ने भनिरहेका छन् भने कोही आफूलाई त्यहाँको भूमिपूत्र भएकोले आफुले छुट्टै शाषण गर्न पाउनुपर्ने बताइरहेका छन् । यो सबै कुरा छलफल र बहसमा मात्र भए त ठिकै थियो । यहाँ त भिन्न जाति बिच द्वन्द नै पो हुन थालेको छ । अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको खाका तयार गर्नु अगावै देखिएका यस्ता द्वन्द देखिनु पक्कै पनि राम्रो संकेत होइन है । संघियताको नाराले गर्दा मानिसहरुमा साम्प्रदायिकता पो बढ्दै छ । यदि भूगोल जोडिएर मन फाट्न पुग्यो भने यो एकता हुँदै होइन अनि यदि भूगोल छुट्याउनकै लागि (साम्प्रदायिक) मनहरु जोडिए भने त्यो त झन् भयंकर हुन पुग्छ । त्यसो भए कसरी गर्ने त देशको विकास ? विकेन्द्रिकरण त गर्नु नै छ । के संघियता घात नै हो त ? के हामी बिच जोडिने साइनो जातियता मात्रै हो त ? बहस गर्नुपर्ने बेला आएको छ अब , छलफल गर्नुपर्ने बेला आएको छ अब ।

Monday, April 20, 2009

आयो 'नागरिक'


बहुप्रतिक्षित 'नागरिक' दैनिकको प्रथम नमूना अंक आज नेपाली बजारमा आएको छ भने नियमित रुपमा चाहिँ वैशाख ११ गते, लोकतन्त्र दिवसको दिनदेखि आउने भएको छ । यो पत्रिका महँगा पत्रकारहरुको दरिलो समूहको रुपमा प्रचारित नेपाल रिपब्लिक मिडियाबाट प्रकाशित भएको हो । नेपाली दैनिक नागरिकका साथै अंग्रेजी दैनिक Republica को नमुना अंक पनि आजै प्रकाशित भएको छ । धेरैतिरका नाम चलेका पत्रकारहरुलाई जम्मा पारिएकोले यो पत्रिकाले नेपाली पत्रकारिता जगतमा राम्रै तहल्का मच्चाउने आशा गरिएको छ ।

Tuesday, April 14, 2009

इन्टरनेटबाट विछोड

करिब एकहप्ता इन्टरनेटबाट टाढा हुनुपरेको थियो , चाहाना होइन बाध्यताले गर्दा। नेपाल टेलिकमको प्रशारण लाइनमा समस्या आएको रहेछ। दुइदिन सम्म त कीर्तिपूरमा टेलिफोन पनि बन्द भएको थियो। तेस्रो दिन देखि टेलिफोन बने पनि इन्टरनेट भने आएन। पछि नेपाल टेलिकममा फोन गर्दा ‘ अप्टिकल फाइबरको लाइन बिग्रिएको छ बनाउने प्रयास जारी छ, कहिले सम्म बन्ने हो ? ठेगान छैन ’ भन्ने जवाफ आयो।

समाचार थाहा पाउन त अनेक माध्यम भएकाले समस्या भएन तर साथिहरुका ब्लगमा यसहप्ता के के लेखिसके होलान्। मनमा कौतुहलता भइरहन्थ्यो, अरुका ब्लग चिहाउने बेचैनि पनि भइरहन्थ्यो। अनि आफ्नो ब्लगमा राख्न नपाए पनि समाचार प्रतिको रुचिले गर्दा नयाँ कुरा देखियो की त्यतैतिर लाग्ने बानी भने जारी थियो। बल्ल आज बाट इन्टरनेट सञ्चालन भयो यहाँ। त्यसैले नयाँ कुरा चाहिँ केही राख्न पाएको छैन। अहिलेको लागि कुलेश्वरमा अप्टिकल फाइबरको लाइन पूनर्निर्माण भएको तस्वीरमात्र राखेको छु।

जमिनमूनि इन्टरनेट सञ्जाल


कुलेश्वरमा अप्टिकल फाइबर मर्मत गरिँदै




यसपल्ट मैले नयाँ वर्षको उपहारस्वरूप एकहप्ता देखि अवरूद्द इन्टरनेट सुविधा पाएँ । नयाँ वर्षले सबैका आशा, चाहना पूरा गरोस् । नयाँ नेपाल कल्पनामा होइन वास्तविकतामा परिणत होओस् । नववर्ष २०६६ को सबैलाइ शुभकामना ।