Tuesday, March 24, 2009

छुट्टिए युवराज घिमिरे नागरीकबाट

वरिष्ठ पत्रकार युवराज घिमिरे अन्ततः रिपब्लिका पब्लिकेसनबाट अलग्गिएका छन्। कान्तिपूर दैनिकबाट विनोद ज्ञवाली समूह अलग भएपछि पत्रकारको तानातान र लगानीकर्ताहरू बीचका कहिले जोडिने कहिले फूट्ने क्रम जारी रहेकै अवस्थामा उनी छिट्टै प्रकाशन हुन लागेको नागरिक दैनिक बाट अलग भएका हुन्।

पत्रकार घिमिरे कान्तिपूर राष्ट्रिय दैनिकका पूर्व सम्पादक पनि हुन्। यस अघि समय साप्ताहिक का सम्पादक रहेका उनले आफ्नै लगानीमा newsfront साप्ताहिक पनि प्रकाशन गर्दै आएका थिए। कान्तिपूरका लगानीकर्ताहरू कैलाश सिरोहिया र विनोद ज्ञवालीहरू बीच मतभेद भएपछि ज्ञवाली समूह त्यसबाट अलग भए लगतै उनले अर्को राष्ट्रिय दैनिक पत्रिका निकाल्ने घोषणा गरिसकेका थिए। विनोद ज्ञवाली सँगै कान्तिपुर बाट तत्कालिन सम्पादक नारायण वाग्ले पनि आएका थिए। तर पत्रकार नारायण वाग्ले र विनोद ज्ञवाली समूह बीच पनि प्रकाशनको सेयरमा कुरा नमिले पछि वाग्लेले हरि श्रेष्ठ सँग मिली धुम्बाराही प्रकाशन खोले, जसले नेपालीमा दैनिकी र अंग्रेजीमा republica निकाल्ने तयारी गरे। यता ज्ञवाली समूहले भने समय साप्ताहिकको पत्रकारको सम्पूर्ण समूहलाई लिइ नागरिक दैनिक र यसअघि नै प्रकाशन भैरहेको newsfront साप्ताहिकलाई अंग्रेजी दैनिक बनाइ निकाल्ने घोषणा गरे। यस पछि सुरु भयो पत्रकार तानातानको खेल। खास गरी दुवै प्रकाशनले आफ्नो पहिलो तारो बनाए कान्तिपुर दैनिकलाई। त्यहाँका पत्रकारलाई धेरै सूविधा देखाउँदै दुवै प्रकाशनले आफूतिर तान्न कोशिस गरे र दुवैमा नाम चलेका पत्रकारहरू बढ्न पुगे।

यसरी नेपाली पाठकले चारवटा नयाँ राष्ट्रिय दैनिक आउने हल्ला बजारमा पाइएको थियो तर नाटकीय रुपमा करिब दुई साता अगाडि यी दुवै प्रकाशनका लगानीकर्ताहरू बीच एकिकरण भयो। यो एकिकरणले गर्दा पत्रकारिता क्षेत्रमा एउटा तरङ्ग नै फैलियो। अहिले सम्मकै बलियो टिमको रुपमा देखियो यो प्रकाशन अर्थात् रिपब्लिक पब्लिकेसन। तर कुरा यतिमा सिमित भएन। पत्रकार युवराज घिमिरे पुनः छुट्टिए यो समूहबाट। आफूलाई कुनै जानकारी नदिई दुई प्रकाशन एक भएकोले तथा आफैले प्रकाशित गरिरहेको newsfront पत्रिका पनि त्यहाँबाट प्रकाशन नहुने भएपछि उनी त्यहाँ बाट अलग भएका हून। विश्वस्त श्रोतका अनुसार त्यहाँ भित्र पत्रकार नारायण वाग्ले र युवराज घिमिरे बीच वरिष्ठता र वरियता क्रममा विवाद भएकोले पनि उनी त्यसबाट अलग्गिएका हुन्। अब पत्रकार घिमिरे आफ्नो पत्रिका newsfront साप्ताहिक प्रकाशन गर्न नयाँ लगानीकर्ताको खोजीमा रहेको र छिट्टै नै त्यसलाई निरन्तरता दिने सोचमा रहेको बताइन्छ।

1 comment:

Basanta said...

नेपालको पत्रकारिता जगत निकै रोमाञ्चक देखिन्छ यतिखेर। समाचारको लागि धन्यबाद!