Tuesday, April 7, 2009

‘अन्नपूर्णपोष्टः गजब छ’

केही समयदेखि अन्नपूर्णपोष्ट पत्रिकाले ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्दै आफ्नो विज्ञापन तिव्र बनाइरहेकैबेला त्यही पत्रिकाको विज्ञापनमा अर्को ‘गजब’ कुरा देख्न पाइएको छ । अन्नपूर्णपोष्टको गजब छ भन्ने विज्ञापनमै झन्डै एक चौथाइ जति भागमा ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं’ भनेर लेखिएको देखियो । कसले किन र केका लागि बहिष्कार ?




जुनबेला भर्खर–भर्खर यो पत्रिका प्रकाशन शुरुवात भएको थियो, त्यतिखेर पनि अरु प्रतिस्पर्धी यो पत्रिका बहिष्कार गर्न पाठकहरुलाई प्रेरित गरिरहेका थिए । त्यसमाथि मिडियामा विदेशीको लागानी भनेर पनि ठाडै विरोध भएको थियो यसको । यी त पुराना कुरा भए । तर अहिलेको यो बहिष्कार किन त ? (हेर्नुहोस् तस्वीर)

यसपल्ट अन्नपूर्णपोष्टको प्रकाशन संस्था आप्का हाउसमा मजदुर आन्दोलन सुरु भएको रहेछ र उनीहरुको आन्दोलनको पहिलो स्वरुप नै ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं, नबेचौ, नकिनौं र नपढौं’ भन्दै प्रचार गर्नु रहेछ । पहिला पनि धेरै पटक आप्कामा मजदुर आन्दोलन भएका थिए ।

‘वार्ता गरी सहमती गरेर आन्दोलन तुहाउने, तर कहिल्यै सहमती पालना नगर्ने भएकोले फेरि आन्दोलन गर्नुपरेको’ बताउँछन् त्यहाँका मजदुर आन्दोलनका सहभागी मजदुरहरू । मजदुर युनियनमा सक्रिय भई लागेकैले कर्मचारी माथि विना कुनै कारण निलम्बन गरेको बताउँछन् उनीहरू । पछिल्लो पटक वितरण विभागका बलराम श्रेष्ठ र हरि आचार्य यसगरी निलम्बनमा परे ।

‘आफै कार्यरत पत्रिका बहिष्कार भएमा तपाईहरुको रोजगारी त छुट्ने नै भयो नि हैन?’ भन्ने प्रश्नको जवाफमा दुर्गा नामका एक मजदुर ले भने ‘हेर्नुस, हामीले यहाँ परिश्रम अनुसारको सेवा सुविधा पाएका छैनौं, हामीमाथि शोषण भएको छ । शोषित हुनुभन्दा त बरु बन्दै होस् ।’ कि गर्ने त बहिष्कार अन्नपूर्णलाई ? फ्लेक्समा कारणहरु छनः
१.यो राष्ट्रियता विरोधी छ ।
२.यो मजदुरमारा र उत्पीडक छ ।
३.यो गैर कानुनी ढंगले संचालित छ ।
४.यो मजदुरको आँशु र रगतले लतपतिएको छ ।

यी कारणहरुको प्रमाण दिँदै ती मजदुरहरु भन्छन् ‘ नेपालको कानुन अनुसार संचारमा विदेशी लगानी गर्न पाइन्न तर यो विदेशी लगानीको पत्रिका हो, यहाँको कार्यकारी अधिकृत नै भारतीय नागरिक हुन् । श्रम अदालतले हामी मजदुरको पक्षमा निर्णय गरी संगठन खोल्न पाउँछ भन्छ तर यो प्रशासन विभिन्न बहाना बनाउँदै हामीलाई यो अधिकार दिन चाहँदैन अनि अर्को कुरा यो पत्रिकाले गौतम बुद्ध भारतमा जन्मेको भनेर लेखेको थियो’ उनले पत्रिकाको मिती दिए November 21, 2003 ।

आफ्नो आन्दोलनको स्वरुपबारे बयान गर्दै उनीहरु भन्दैथिएँ ‘पहिले पहिले पत्रिका बाँड्ने साथीहरुले आन्दोलन गर्दा काम बहिष्कार गर्ने गरिएको थियो । जसले गर्दा पाठकले पत्रिका समयमा पढ्न पाउँदैनथे । अनि मजदुरले प्रेस स्वतन्त्रता हनन गर्‍यो भनेर आप्काले प्रचार गर्ने गरेकोले यसपल्ट चाहिँ आफ्नो कामलाई जारी नै राखेर पनि आन्दोलन गर्न सकिन्छ भनेर बहिष्कारको प्रचार गरेका हौं । यो सबैभन्दा शिष्ट आन्दोलन हो । तर यो तरिकाले पनि उनीहरु सहमति पालना गर्दैनन् भने हामी अनसन बस्छौं, आमरण अनसन ।’




आप्का हाउसमा मजदुर र प्रशासनबीच दुरी बढ्दै गएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा जो अन्नपूर्णपोष्टसँग सम्बद्ध पनि छन्, उनले मध्यस्तकर्ता बनी वार्ताको पहल गरिरहेकाछन् तर सम्झौता हुन सकेको छैन । आन्दोलन र वार्ताबारे जिज्ञासा राख्दा उनले ‘यो आन्तरिक कुरा हो’ भनेर पन्छिन खोजे पनि ‘आन्दोलनको अधिकार सबैमा हुन्छ तर उहाँहरुले यसो नगरी अरु नै तरिका अपनाउनुभएको भए राम्रो हुन्थ्यो ।’ भने ।

तर ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्ने विज्ञापनमै ‘अन्नपूर्णपोष्टः बहिष्कार गरौं भन्ने सुचना देखेर चाहिँ सर्वसाधारण निकै गजब मानिरहेकाछन् ।

1 comment:

Pawan Poudel said...

Khabr ko sirsak gajab chai la badhai cha its my first visit to your bolg
pawan