Tuesday, May 29, 2012

कुन ठूलो कुरा भयो र ?

केही समय अघि एक जना साथीलाई जरुरी पर्‍यो भनि केही रकम दिएको थिएँ । ‘दुइ–चार दिनमा एक ठाउँबाट पैसा आउनेवाला छ , म त्यो आउनेबित्तिकै तपाइँको रकम फर्काउँछु’ भनि दश हजार रुपैयाँ लिएर गएका थिए ।


हुन त उ म भन्दा बढी कमाउने मान्छे, तैपनि अहिले बाइक किन्नलाइ तत्काललाइ पैसा चाहिएकोले मागेको बताए । ‘फेरी त्यो बाइक अहिले सस्तोमा पाइएको छ पछि त्यति सस्तोमा पाइँदैन !’ उसले पटक पटक अनुरोध गर्‍यो । ‘म सँग पनि त पैसा कहाँ छ र ? दाजुलाइ माग्नुपर्छ । अनि फेरी उहाँलाइ त छिटै दिनुपर्छ नि मैले त ।’ मैले यसो भन्दा उसको जवाफ थियो–“त्यो त कुन ठूलो कुरा भयो र ? मेरो काम भैराखेको साइटबाट पैसा आउने वित्तिकै तिम्लाइ फर्काइहाल्छु नि ।” लौ, उसले फेरी साथीलाइ पनि विश्वास गरेन भनेर कतै चित्त दुखाउने पो हो की ? पछि मलाइ पनि आवश्वकता पर्‍यो भने उसले ऋण दिन सक्छ नि ! मेरो मनले यस्तै सोच्यो । अनि दुइ तिन हप्तामा फर्काइदिन्छु पनि त भनेको छ उसले ! यसरी मैले मसँग भएको दशहजार रुपैयाँ उसलाइ दिएको थिएँ ।

उसले पैसा लिएर गएको झण्डै एकमहिना सम्म पनि उसको नाक मूख देखिएन । नियत खराब भएको मान्छे होइन जस्तो लाग्थ्यो । के भएछ त्यस्तो ? गाउँतिर गएको होला ! बेला बेला गैराख्नुपर्छ उसलाइ । फर्केर आएपछि Contact गरिहाल्ला नि ! यस्तो सोचेर मैले पनि उसलाइ call गरिनँ । तर उ त झण्डै तिन चार महिना सम्म पनि सम्पर्कमा आएन त । फेरी म उनलाइ फोन गर्न थालेँ । फेरी पनि उसको उहि जवाफ ‘कुन ठूलो कुरा भयो र ?’ । धेरै पछि फोन गरेर हैरान पार्दा–पार्दा मैले एकैचोटि दिएको दश हजार रुपैयाँ किस्ताबन्दीमा करिब छ महिनामा असुल गरेँ । केही अघि एउटा काम आइलागेको थियो । मलाइ ‘यति काम सिध्याउनुस् , तपाइँलाइ यति पैसा दिन्छु’ भन्दै एकजनाले काम जिम्मा लाएको थियो । मैले जिम्मा लिएको काम पाँच दिनमै पूरा गरेको थिएँ । त्यसपछि मलाइ दिइने भनेको पारिश्रमिक लिनको लागि सम्पर्क गरेँ । उनलाइ जतिचोटि फोन गरेपनि आफू ‘मिटिङमा छु, पछि सम्पर्क गर्नुस्’ मात्र भनिरहन्थे । एक पल्ट उसैले मलाइ फोन गरे । ‘पक्कै अब चाहिँ पैसा देलान् जस्तो छ’ भनि दंग पर्दै कुरा गरेको त चुरो कुरो अर्कै रहेछ । “ हेर्नुस् , वसन्त जी अब फेरी यो काम आएको छ यसको पनि तपाइँलाइ यति दिइन्छ ” भन्दै लोभ मात्र पो देखाउँछन् त ! मलाइ भने जंग चलेको थियो अनि कराइहालेँ “के हो पहिलेको कामकै पैसा पाएको छैन फेरी अर्को काम ? सक्दिन गर्न ।” “हैन वसन्तजी, नरिसाउनुस् न ।

हेर्नुस्, हामीलाइ तपाइँको काम गर्ने तरिका मन पर्‍यो त्यसैले माथि हाम्रो Boss नै तपाइँलाइ नियमित काम दिन चाहनुभएको छ । तपाइँ चाहनुहुन्छ भने कामको लागि Agreement पनि गर्न सकिन्छ ।” ‘अहो नियमित काम पाइने !’ मनमनै दंग परेँ । ‘हुन्छ त्यसो भए Agreement पनि पहिले गरौँ न त ।’ उनी बोले– ‘ त्यो त कुन ठूलो कुरा भयो र ? अहिले Boss बाहिर गइरहनु भएको छ, उहाँ आए पछि त्यो भैहाल्छ ।’ नियमित काम पाउने आशमा म फेरी त्यो काम पनि गर्ने निर्णय गरेँ ।

दोस्रो पल्टको काम सिद्धिएको दश दिन पछि मैले नै सम्पर्क गरेर पैसा आउँदैछ की Agreement भनेर बुझ्ने प्रयास गरेँ । जवाफ उहि आयो –‘त्यो त कुन ठूलो कुरा भयो र ?’ तर यो जवाफ आएको हप्ता दिन पछि मात्र पहिलो कामको पैसा दिइयो तर जतिपल्ट Agreement को कुरा गरे पनि जवाफ भने त्यहि आउने गर्‍यो । त्यसपछि सोध्नै छोडेँ ।

यि र यस्ता भोगाइहरु पछि अब एउटा ज्ञान आएको छ । जसले सिधा जवाफ नदिइ कसैलाइ झुलाउने नियत राखेका हुन्छन् , त्यस्ताले दिने जवाफ यस्तै हुँदोरहेछ । त्यसैले अचेल कसैले मेरो सामु आएर “कुन ठूलो कुरा भयो र ?” भने पछि मेरो पारो तातिहाल्छ ।