Tuesday, November 6, 2018

चलचित्र "जयभोले" आशामा तुसारापात



धेरै समय पछि पत्रकार बन्‍ने भूत चढेपछि यसपाली चलचित्र जय भोलेमाथि समिक्षा तयार गरियो ।

पत्रकार तथा ब्लगर मित्र दिवाकर प्याकुरेलले फेसबुकमा स्टाटस लेख्‍नुभयो –'धेरै आश गर्दा धोका पाइन्छ भन्ने कुरा मायामा मात्र होइन, फिल्म हेर्दा पनि लागू हुने रैछ' चलचित्र "जय भोले" हेरेपछि धेरैको प्रतिक्रिया यस्तै पाइयो। बाह्र वर्षपछि चलचित्र उद्योगमा देखापरेका निर्देशक निर्माता अशोक शर्माको बहुप्रतिक्षित चलचित्र "जय भोले" दशैंको फुलपातीदेखि देशभरका चलचित्र हलहरुमा प्रदर्शन भइरहेको छ । चलचित्रको पटकथा लेखन 'पशुपतिप्रसाद''धनपति' जस्ता चलचित्रबाट वाहवाहि कमाएका कलाकार खगेन्द्र लामिछानेको रहेको छ भने चलचित्रमा सौगात मल्ल विशेष भूमिकामा छन्। चलचित्रमा कलाकार राजाराम पौडेल, लक्ष्मी गिरी, रामचन्द्र अधिकारी, सुरविर पण्डित, सुरेन्द्र केसी,  सलोन बस्नेत, स्वस्तिमा खड्का आदिका साथै निर्देशक स्वयं अशोक शर्मा र खगेन्द्र लामिछानेको अभिनय रहेको छ ।

अधिकांश चलचित्र तयार हुने रेडिमेड फर्मूला छ –नायक/नायिका बिच प्रेम, दुई चारवटा गीत, दुईचारवटा रोनाधोनाका दृश्य अनि भव्य फाइट, ह्‍याप्पी इन्डिङ । पछिल्लो समय यो फर्मुलामा थपिएको एउटा कुरा मनोरञ्‍जन र हाँसोको लागि दुईअर्थी लाग्ने संवाद र दृश्यहरुको फुल प्याकेज । चलचित्र 'जय भोले' हेरेपछि यस पंक्तिकारको निश्कर्ष  थियोनिर्देशक अशोक शर्माको यो चलचित्र यहि फर्मूलाको निरन्तरता सिवाय केही नयाँ बन्‍न सकेन ।

तस्वीर स्रोतःwww.koribati.com
चलचित्रको कथा यस्तो देखिन्थ्यो -
जय गुरागाईँ (खगेन्द्र) र भोले परियार (सौगात) दुई बालसखा हुन् । जय गुरागाई गाउँकै ईँटा भट्टा मालिकका छोरा, जसकी आमाको सानैमा मृत्यु भएकोले भोले परियारकी आमाले दुवैलाई एकैपल्ट स्याहारेकी । सानोमा मिल्ने यी साथीहरु जब ठूलो हुँदै गए तब वैमनश्यता पनि बढ्दै गयो । चलचित्रकी पात्र निशा (नायिका स्वस्तिमा खड्का) ले भोले परियारलाई वर्षौँ देखि भाईटिका लगाएर धर्मदाई बनाएकी हुन्छे । भोले यिनलाई आफ्नै बहिनी मानेर हदैसम्म माया गरेको हुन्छ। जय गुरागाईँ भने निशाप्रति एकतर्फी मायामा पागल छ । निशालाई आफूप्रति आकर्षित गर्न कुनै कसर छोड्दैन, तर निशा भने वेवास्ता गर्छे । 

गाउँमा लोकबाजा प्रशिक्षण केन्द्र खोल्ने कुरामा जय र भोले बीच विवाद हुन्छ, पहिल्यै देखि पनि आपसमा इगो देखिएका साथी जय र भोले बीचको सम्बन्ध झन् बिग्रन पुग्छ। लोकबाजा प्रशिक्षण केन्द्र खोल्ने आफ्नो सपना भत्किएको देखेपछि भोले रिसले आगो हुन्छन् त्यसपछि उनी गाउँबाट बेपत्ता हुन्छन्।

केही समय पछि अचानक गायब भएका भोले गाउँमा बिरामी भएर फर्किएका हुन्छन् । जय फलफुल लिएर बिरामी बालसखा भोले भेट्न पुग्छन् । जयले आफ्नो सपना भत्काएपछि आफैँ पैसा कमाएर मात्र गाउँमा फर्कने अनि लोकबाजा प्रशिक्षण केन्द्र खोल्ने महत्वाकांक्षा बोकी भोले भारतमा कमाइ गर्न गएका रहेछन् । त्यहाँ पैसा पनि कमाए, तर पैसा भन्दा ठूलो रोग बोकी फर्की आएछन्। सानोमा साह्रै मिल्ने यी दुई अहिले नतमस्तक हुन्छन्। भोलेको मृत्यु हुन्छ । साथी भोलेको सपना फेरि पूरा गर्न आफै अग्रसर भई लोकबाजा प्रशिक्षण केन्द्र निर्माणमा जुट्छन् जय।

आफ्नी बहिनीको निम्ति आत्महत्या गर्न तम्सिएका जयलाई बचाउने निशाका दाजुले प्रेमका लागि बलिदान दिने व्यक्ति नै जीवनसाथीका लागि उपयुक्त हुने निशालाई बताउँछन् ।अन्त्यमा आफ्नो बिहेबाट भागेर निशा जयलाई भेट्न पुग्छन् र चलचित्र सकिन्छ ।

"पशुपतिप्रसाद" र "धनपति" जस्तो चलचित्रमा पटकथा रचना गरेका खगेन्द्र लामिछानेबाट यस किसिमको अस्वभाविक कथानकको अपेक्षा गर्न सकिँदैन। चलचित्रमा निर्देशक हाबी हुनु स्वाभाविक हो तर यसमा अशोक शर्मा यसरी हाबी भैदिए कि लेखकको लेखनी नै चलचित्रको पुरानो फर्मूलामा समाहित हुनपुग्यो र अन्त्यमा चलचित्र अर्थहीन बन्‍न पुग्यो । बाह्र वर्ष सम्म चलचित्र निर्माणबाट टाढा रहेका व्यक्तिले यसबीच धेरै अध्ययन गरी नयाँ पुस्तालाई चलचित्रमा लिएका होलान्, यसपाली पक्‍कै केही नयाँ आउने आशा गरी हल सम्म पुगेका दर्शक निराश बनेका छन् । चलचित्रमा नायिकालाई नाचगानको भूमिकामा मात्र सीमित गराइनु अर्को कमजोर पक्ष हो ।

कलाकारको अभिनय राम्रो छ। चलचित्र छायाँकन गरिएको पूर्वी नेपालको दृश्य मन लोभ्याउने छ। कलाकारको संवादमा स्थानीयता झल्कने गरी पूर्वेली लवज, अझ परिस्थिति अनुसार विभिन्‍न गीतको अंश लेखिएका टिसर्ट छनौट चलचित्रका राम्रो पक्ष हो।

सायद चलचित्र समाजमा योगदान गर्न बनाइनुपर्छ भन्‍ने तर्क मनासिब नहोला। यो उद्योग हो, व्यवसाय हो, तर चलचित्र/साहित्य केबल समय कटाउने मेलो मात्र हुनु पनि राम्रो होइन। दर्शकले हल भित्र बिताउने समय र गरेको खर्चको उचित कदर चलचित्रले गर्नुपर्दछ । चलचित्र हेरिसकेपछि कम्तिमा पनि केही क्षण दर्शकले चलचित्रले उठान गरेका कुरामाथि विमर्श गर्न सकुन् या दर्शकको मथिंगलमा केही क्षण एक किसिमले लठ्‍याउने कार्य गर्न सक्यो भने त्यो चलचित्र सफल मान्‍न सकिन्छ । चलचित्र 'जय भोले' यो कुरामा चुकेको छ ।

No comments: