Tuesday, October 13, 2009

प्रशिक्षार्थी पत्रकार अलपत्र


स्थान – गोरखापत्र दैनिकको समाचार कक्ष
समय– मध्यान्हको बाह्र बजे
" तपाइँहरु यहाँ आउनु त भयो तर , तपाईहरु पाँचै जनालाई भने लिन सक्दैनौ । तपाइँहरु मध्ये दुई जना लाइ चाहीँ लिन सक्छौं । के गर्ने सबै कलेज बाट आउनेलाई स्थान दिनै पर्‍यो । " समाचार शाखा प्रमूखको यो कुरा सुनेपछि रत्न राज्य क्याम्पसबाट दुइमहिने कार्यमूलक पत्रकारिता (इन्टर्नसिप) का लागि गएका विद्यार्थीहरु आपसमा मुखामूख गर्न थाले । यसवर्ष आर.आर. क्याम्पसमा वि.ए. दोस्रो वर्षका करिब दुइसय विद्यार्थीहरुले प्रयोगात्मक कक्षा अन्तर्गत इन्र्टनसिपको लागि विभिन्न मिडियामा जानुपर्थ्‍यो। सोही अनुरुप पाँच जना विद्यार्थी भने सरकारी संचारमा अरु को जालान् र ? आफ्नो त इन्र्टनसिप राम्रै हुने भयो भन्ने सोच्दै त्यहाँ पुगेका थिए । गोरखापत्रको समाचार शाखा प्रमूखको यस्तो अनपेक्षित जवाफ पाएपछि उनिहरु मध्येकै एक जनाले भने– " सर हामी त धेरै मिडियाहरु भएकोले नाम चलेका ठूला निजि मिडिया हाउसमा अरु साथिहरु जान्छन् होलान् र हामीले चाही त यहीँ गर्न पाइहाल्छौँ भन्ने सोचेका थियौँ । हाम्लाइ त यहाँ आउने पहिलो समूह नै हामी होऔँला भन्ने पो लागेको थियो । हाम्रो क्याम्पसबाट अरु पनि आइसके र सर ? " " होइन, तपाइँको क्याम्पसबाट त अरु आएका छैनन् तर निजि कलेजकाहरु पनि त आउनेछन् नि । सबैलाई त ठाउँ दिनै पर्यो" नि होइन र ? " अब त आफूमध्ये दुइजनाले मात्र इन्टर्नसिप गर्न पाउने भइयो भन्ने कुरा मनमा राख्दै अन्तिममा एक विद्यार्थीले भने फ्याट्ट भनिहाले – " सर हामी पनि सरकारी क्याम्पसका विद्यार्थी, अनि यो पनि सरकारी मिडिया भएकोले सरकारी क्याम्पसलाई त बढि प्राथमिकता दिनुहुन्छ भन्ने सोचेका थियौँ ।" यो कुरा सकिएको मात्र थियो । त्यहाँ उपस्थित पत्रकार मध्येकै पाका व्यक्तिले कडा स्वरमा भने – "आर.आर. क्याम्पसको ठेक्का लिएका छौँ र हामीले ? आए जति सबैलाइ लिनैपर्ने ? " उनि आफ्नै सुरमा बर्बराउन थाले – "यो क्याम्पसले सधैँ यस्तै गर्छ । कुनै पनि साल उसले हामीलाई सोधेर विद्यार्थी पठाएन । भत्ता खाने बेला उनीहरु हामी चाहीँ दुख मात्रै पाउने ? फेरी विद्यार्थीलाई नम्बर दिन पनि कन्जुस्याइँ गर्छ त्यो क्याम्पस ।"

त्यहाँ बाट निस्किएपछि विद्यार्थीहरुको मथिङ्गल घुम्न थाल्यो । साँच्चै क्याम्पस (पत्रकारीता विभाग) ले त उनीहरुसँग त केही कुरा नै गरेको थिएन नि । मिडियाको नाम लेख्ने ठाउँ खाली भएको अग्रिम तयार भइराखेको पत्र फोटोकपि (पसल) मा किन्न लगाएर कुन मिडिया (संचार माध्यम) मा जान मन छ त्यसकै नाम भरेर त पठाइएको थियो नि ।

ति पाँच जनाको मात्र होइन अधिकांश विद्यार्थीको इन्टर्नसिप अनुभव यस्तै रह्यो । यि अनुभव साटासाट गरिरहँदा रामकृष्ण नामका विद्यार्थीले भने –" हेर्नुस् म त अहिले सम्म तिनवटा मिडियामा गइसकेँ । पहिला हिमालय टाइम्स पत्रिकामा गएँ , त्यहाँ चित्त नबुझेर एउटा साप्ताहीक पत्रिकामा गएँ अहिले रेडियो उपत्यकामा गर्दैछु ।" उनले यो पनि भने की कान्तिपुर, अन्नपूर्ण जस्ता ठूला मिडियाले त नजिकका मानिसलाई मात्र इन्टर्नसिपको मौका दिन्छन् रे । अनि राजधानी, समाचारपत्रले चाहिँ विद्यार्थीबाट पाँच पाँच सय रुपैयाँ उठाएर मात्र इन्टर्नसिप गर्न दिन्छन् । उनको कुरामा अर्को एक विद्यार्थीले भने – " हो त नेपाल टेलिभिजनमा त इन्टर्नसिपको लागि झन् एक हजार रुपैँयाँ लिन्छन् रे । हामीले कसैलाई रोजगारी नै त मागेका होइनौ नि, हामी त बेतलबी रुपमा समाचार संकलनमा दुइ महिना काम गर्ने पो भनेको त । हामीलाइ भत्ता दिनु त कता हो कता उल्टै हामी सँग पैसा लिने यो त अति भो नि यार ।" यो कुरा सुनिरहेका प्रमोद दंगालले सुनाए – " हेर्नुस् ,म इन्र्टनसिपको लागि उज्यालो नाइन्टी एफ.एम.मा गएको थिएँ । बिहान टेम्पो चढेर एफ एम को अफिसमा पुगियो । त्यसपछि समाचार संकलन गर्न पठायो । एकै दिनमा मेरो बस भाडामै सय रुपैँयाँ खर्च भयो । त्यसपछि त्यहाँ जानै छोडेँ । दिनको सय रुपैँया खर्च कहाँ बाट पैसा पाउनु ?"

कुरा अब अर्कै प्रसंगमा मोडियो । के स्वतन्त्र रुपले सबैले पत्रकारिता गर्न पाएका थिए त ? खै सोचे भन्दा धेरै नै फरक रहेछ मिडियाका काम त । कतै समाचारलाइ धेरै नै काँटछाँट गर्ने गरेको पाइयो । एउटा एफ एममा त प्रशिक्षार्थी पत्रकारलाई भोलि के बारे रिपोर्ट ल्याउँछौ भनेर सोधेको र भोलिपल्ट अघिल्लोदिन जसले सोध्यो उसले नै सोही विषयमा रिपोर्ट तयार गरेर बजाइसकेको हुन्थ्यो । पत्रकारिताका यि विद्यार्थीलाई त नयाँ विषय पाउन पो प्रयोग गरे त । के यो विद्यार्थीको श्रम शोषण होइन ?

यसवर्ष मात्र होइन प्रत्येक वर्ष पत्रकारिताका विद्यार्थीले भोग्ने गरेको तितो यथार्थ हून् यि घटना । पत्रकारिता पढेर भोलिका दिनमा यसैलाइ पेसा बनाउने सोचेका धेरै विद्यार्थीको दुइ महिने अभ्यास यस्तै अलमलमा वित्ने गरेको छ । यस्तो अनुभवले तिनको भविष्य के हुने हो ? अनि कस्तो हुनेछ नेपाली पत्रकारिताको भविष्य ? संचार माध्यमका साधनको संख्या जति थपिँदा पनि स्तरीय नहुनुको कारण हाम्रो यस्तै सिकाइले गर्दा त हो नि । यसबारे सरकार, सम्बन्धित शैक्षिक संस्था, र नेपाली संचार माध्यमहरूले समयमै ध्यान पुर्‍याउनु जरुरी छ ।

1 comment:

दूर्जेय चेतना said...

बलामीजी तपाईको कुरा पढेर दु:ख लाग्यो। बुझ्नु भएकै होला यहाँ निजी कलेजबाट कमिसनको चक्कर चलेको हुनु पर्छ र तपाई जस्ता सरकारी कलेजका बिधार्थिले यसको मार खेप्नु परेको छ। एक बर्षमा २०० जना बिधार्थीले ईन्ट्रन्सीप कोर्स गर्नु पर्ने हो भने तपाइहरुले नै कलेजको पहल कदमीमा ईन्ट्रन्सीप पत्रिका निकाल्नुस। तपाईहरुमै काम बिभाजन गरेर काम सुरु गर्नुस र रिपोटीङ गर्न आफ्नो आफ्नो जिल्लामा आफ्नै घरको मिठो नमिठो खाएर आफ्नो कोर्स पुरा गर्नुहोस। २०० जना जिल्ला जिल्लामा गएर रिपोर्टिङ गर्ने हो र तपाई जस्ता युवा पत्रकारले काम गर्ने हो भने, यी मै हु भन्ने हरु पनि माथ खान्छन्। तपाईकै पालामा यो काम सम्पन्न नहोला तर कलेजको पहलकदमीमा यो काम भयो भने, भबिष्यमा आउने अरु बिधार्थीलाई सजिलो होला।