Saturday, October 31, 2009

हरे यस्तो चाला , कहिले पो जाला

बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखे ढुङ्ग्रो नै बाङ्गो । प्रसंग किर्तिपुरमा महिला यात्रुको लागि अलग्गै सञ्चालन गरिएको गाडि सम्बन्धि हो । महिलाहरूलाइ सुविधा होओस् भनेर अलग्गै गाडिको व्यवस्था गरिएको थियो । के गर्ने एउटा गाडि फेला पर्न आधा घण्टा भन्दा बढि कुर्नुपर्छ हाम्रा दिदि बहिनीहरुलाई । अनि हतारो हुने बेला को ,कुरीरहोस् त्यो गाडि ? जून अगाडि आयो , त्यसैमा गइन्छ । अनि केही समय पछि त्यो गाडि आउँछ । महिला यात्रु कुर्छ कुर्छ चढ्नेहरु कोही देखिँदैन । पुरुषहरु पो चढ्न आउँछन् त बाबै । गाडि खालि छ, बस स्टपमा पुरुष यात्रुको विचल्ली छ । खलासी दाजू भाइ पनि मन अमिलो बनाउँदै चढ्न खोज्ने पुरुषहरुलाई झर्न लगाउँछन् । अनि खाली गाडि हुइँकिन्छन् ।

महिला यात्रुको लागि गाडिहरुले पालैपालो समय दिनुपर्ने हुन्छ । सो समयमा भएको टिपले अरुबेलाको भन्दा आधि कमाइ पनि हुँदैन । त्यसैले सकेसम्म यि गाडिहरु आफ्नो पालो नआइदेओस् भनेर सोच्छन् । एक त यात्रुको चाप धेरै भएको किर्तिपुर सडक खण्ड , त्यसमाथि थोरै गाडि मात्र छन् । त्यसैले धेरै प्रशंसा भएको काम भए पनि महिला यात्रु विशेष गाडि सञ्चालन भइरहनेमा भने शंका छ । दुखको कुरा खलासीहरु भने त्यो गाडिमा जान हत्ते गरिरहेको देखिन्छ । पुरुष यात्रुलाइ वर्जित गरिएको सो गाडिमा खलासीहरु भने अलिमाथि ग्यारेज सम्म जाने भन्दै एउटै गाडिमा चारपाँच जना झुण्डिन आइपुग्छन् । यो कस्तो विडम्बना, जसबाट जोगिन/जोगाउन यो व्यवस्था गर्नुपर्‍यो, उनिहरुनै अघि सरिरहेछन् अहिले पनि ।

1 comment:

Ashesh said...

जुनकुकै क्षेत्रमा नयाँ प्रयोग हुनु त राम्रै कुरा हो तर हाम्रो विडम्वना के छ भने ती सवै कुरा यथावत चैँ हुँदैनन् । महिलामात्र चढ्न मिल्ने कीर्तिपूरको माइक्रो त एउटा उदाहरण मात्र हो ।
लेख मनपर्यो मलाई ।