Sunday, January 31, 2010

गुलियोमा भुलियो


केही हप्ता अघिदेखि आमाले मलाइ कराइरहनुभएको थियो । आमाले त्यस दिन चेतावनी नै दिनुभएपछि मन नलाइ-नलाइ पनि म घरबाट बजार निस्केँ । आमाले भन्नुभाथ्यो–‘हेर याँ चिनी एकदम महंगो भयो, सय रुपैयाँ रे ! तँ काठमाडौं गएर चिनी ल्याइदे त । सकिन लाइसक्यो । यो हप्ता भित्र चिनी ल्याइनस् भने हेर्न ।’ मेरी आमालाई चियामा गुलियो अति चाहिन्छ । घरमा मैले पकाएको चिया पिएपछि आमा मलाइ ‘ कन्जुस यतिचा चिनी हाल्छस्, मिठै छैन ।’ भन्ने प्रतिक्रिया दिनुहुन्छ अनि आफै चिनी थपेर खानुहुन्छ । त्यसमा पनि जाडो महिना त बिहानै तिन कप सम्म चिया पिउनुहुन्छ । भान्छामा कुनै कुरा कति स्टक रहँदा आमाले कसरी हतार गराउनु हुन्छ ? त्यो बानी सँग म अभ्यस्त छु । त्यसैले आमाले चिनी ल्याउन भनेको केही हप्ता त त्यसै टारिरहेँ । अनि त्यसदिन चाहिँ ल्याइदिउँ न त भनेर म निस्केँ घरबाट ।

पहिला पहिला चिनी लिन प्राय जसो नेशनल ट्रेडिङमा जाने गर्थेँ । अन्त नपाइँदा त्यहाँ कम्तिमा दुइ किलो भए पनि पाइन्थ्यो । त्यसै दिनको बिहानमात्र एउटा पत्रिकामा पनि ‘नेशनल ट्रेडिङको गोदाममा चिनी ओसार्दै कामदारहरू’ भन्ने लेखेर तस्वीर नै छापेको थियो । यसो सोचेँ –‘ व्यापारीहरू मौका वित्तिकै कालो बजारी गर्न थालिहाल्छन् । याँको पसलेले चिनी किलोको सय रुपैयाँ लिएर के भो ? मैले त झन् होलसेल (नेशनल ट्रेडिङ) नै चिनेको छु त्यहाँ त पैँसाठ्ठी रुपैयाँमा नै दिहाल्छन् नि । ’ अनि सिधैँ हान्निएँ टेकूतिर । टेकू पुगेँ , सुनसान पो छ त । बाहिर सुचना टाँसिएको थियो चिनी छैन भनेर । त्यसलाइ वास्ता नगरि म सिधै भित्र छिरेँ । त्यहाँको कर्मचारीले “चिनी त यहाँबाट नदिएको झण्डै एक महिना भैसक्यो” पो भने त । म त छक्क परेँ ।

“अनि आज बिहान त पत्रिकामा तपाइँहरुको गोदाममा चिनी ओसारिराखेको फोटो छापेको छ नि त ?”

“त्यो त पुरानो फोटो छापेको होला ।”

त्यसपछि सोधेँ–“अनि कहिले देखि दिन्छ चिनी ?”

“पुस देखि सकिएको हो , सायद माघको दोस्रो हप्ता तिर पाइएला कि ।”

जे सोचेर गइयो, ठिक उल्टो भयो । अनि पत्रिकाहरु पनि कति झुठा हुँदा रहेछन् त बाइ । पुरानो फोटो नभनिकन त्यसै छापिदिन्छन् । ”



आमालाइ चिनी ल्याउँछु भनेरै आएको थिएँ , अब के गर्ने ? साल्ट ट्रेडिङ ले पनि पसल पसलमा चिनी दिएको छ क्यारे । अब टेकु देखि कालिमाटि सम्म बाटोमा हेर्दै जाऔँ , जहाँ साल्ट ट्रेडिङको अधिकृत बिक्रेता भनेको हुन्छ त्यहाँ एक दुइकिलो चिनी त कसो नपाइएला ? यस्तै सोचेर हेर्दै गएँ । कतै फेला परेनन् त साल्ट ट्रेडिङको बिक्रेताहरू । के भएको हो ? यो बाटोमा त पहिला पहिला ठूला ठूला ब्यानर नै झुण्ड्याएर राखिएको पसलहरू देखे जस्तो लाग्छ अहिले ती कहाँ हराए ? मनमा अब चाहिँ चिसो पस्यो । कतै आज खाली हात पो फर्कनु पर्ने हो कि ?

कालीमाटीमा पुगेपछि बल्ल एउटा साल्ट ट्रेडिङको अधिकृत बिक्रेता फेला पर्‍यो। ‘चिनी ल्याउनुहोस् न दुइ किलो’ मैले चिनी मागेँ । जवाफमा ‘चिनी सक्यो’ भन्ने पाएँ । अरु अधिकृत बिक्रेताहरू कहाँ होलान् त ? यसो गरौँ - साल्ट ट्रेडिङ नजिकै छ, त्यहाँ गएर चाहिँ दिन्छन् भने त्यहीँबाट चिनी लिउँ । नपाए अधिकृत बिक्रेताहरूको नाम माग्ने, अनि खोज्न जाने । एउटा न एउटामा त कसो नहोला ? साल्ट ट्रेडिङ पुगेर एक चक्कर घुमेँ जताततै नुनै नुनको खात मात्र छ । एउटा ढोकामा चिनीको गोदाम भनेर लेखिएको थियो तर त्यो बन्द थियो । रिसेप्सनमा गएर मैले अधिकृत बिक्रेताको नाम मागेँ । मलाइ दोस्रो तल्लामा जान भनियो । दोस्रो तल्लामा पुगेपछि उनिहरूले मेरो परिचय खोजे मैले पनि अलि जान्ने भएरै ‘म प्रशिक्षार्थी पत्रकार’ भनिदिएँ । ‘ अहिले बजारमा चिनीको अभाव देखिएको छ , तपाइँका डिलरहरू कहाँ–कहाँ छन् ? उनिहरूको नाम र ठाउँको कुनै सूची पाइन्छ की भनेर आएको । ’ लौजा मैले त त्यो नामावली नपाउने भएँ । एकजना हाकिम जस्ता देखिने कर्मचारीले सिधै मलाइ यसै भने –“हेर्नुस् भाइ , हाम्रो काठमाडौँ उपत्यकामा मात्रै पाँच सय भन्दा बढि डिलरहरू छन् । ति सबैको नाम हामीले दिन मिल्दैन । कुनै एउटा एरियामा भएका डिलरहरूको नाम सरर भन्दिन सक्छु त्यति हो । तपाइँलाइ सूची नै चाहिएको हो भने त्यो हामी दिन सक्दैनौ ।”

‘सर मैले त यहाँको डिलरबारे जानकारी सर्वसाधारणलाइ दिन सकेँ भने उनीहरूलाइ पनि चिनी लगायतका दैनिक उपभोग्य सामाग्रीहरू लिन सक्छन् की भनेर मात्र त्यो मागेको हुँ । यदि सूचीकृत छैन, दिन सक्नुहुन्न भने भैगो ।’

“हामीसँग नै चिनी नभएको नै एक महिना भैसक्यो । अनि ति पसलमा त के होलान् र ?”

“ त्यसो भए अहिले कतै पनि चिनी नभएकै हो त ?”

–“हामीले चाहिँ पाएका छैनौ तर बजारमा हुँदै नभएको भने होइन । बजारमा व्यापारीहरूले नेपालकै ठूला चिनी उद्योगहरूबाट सिधै ल्याइरहेका पनि छन् । बजारमा त पुग्दो छ ।”

“अनि किन त चिनीको भाउ चाहिँ यति साह्रो महंगो भएको त ?”

उनको जवाफ यस्तो थियो –“खासमा सरकारले चिनी किनेर हामीलाइ नै बेच्न दिने भनेको हो तर किन हो सरकारले हामीलाइ दिन सकेको छैन । हेर्नुस् भाइ, नेपालमा आयो नूनको एक मात्र आधिकारिक बिक्रेता भनेका हामी हौँ । त्यसैले हामीले यो नूनको मूल्य देश भरि एउटै कायम गर्न सकेका हौँ । चिनीको पनि त्यस्तै हुनेहो भने त भैहाल्यो नि ।” उनी धाराप्रवाह बोलिरहेका थिए । म भने शान्त भइ सुनिरहेको थिएँ । “फेरी चिनी नूनको जस्तो निश्चित प्याकेटमा बेचिने चिज पनि होइन । यो त खुल्ला बेचिन्छ । यदि यसको पनि बिक्रीको सम्र्पूण जिम्मा कुनै एउटै कम्पनिलाइ दिने हो भने भाउ नियन्त्रण भैहाल्छ नि । त्यसमाथि पनि अहिले हामीले आफ्नै डिलरहरूलाइ त चिनी दिन सकेका छैनौ । उनिहरूले चिनी बेचिरहेका भए पनि अन्तै बाट ल्याएर बेचेका हुन्छन् । हामीले चिनी दिँदा उनान्साठ्ठी रुपैयाँ पचास पैसामा दिन्थ्यौँ र एकसाठ्ठी रुपैँयामा उनीहरूले बेच्नु पथ्र्यो । तर अहिले हामीले नदिएको चिनी किन यति रुपैँयाँमा बेचेको भनेर सोध्ने कुरा पनि आएन ।
अब पो बिस्तारै कुरा प्रस्ट हुँदै आयो , नेपालका चिनी उद्योगहरूले सरकारलाइ चिनी नदिएको रहेछ । अनि व्यापारीले पनि मनलाग्दो पैसा लिएको रहेछ । सरकारीकरणको विपरित निजीकरणले ल्याउने समस्या यस्तै त हो नि होइन र ? व्यापारीको यस्तो मनोमानी रोक्ने कुनै निकाय नै छैन त ? “ छ नि वाणिज्य विभागले बजार अनुगमन त गरिरहेकै छ तर त्यो पर्याप्त चाहिँ छैन । ”


सबै कुरा त बुझियो तर पनि आफूले चिनी पाउने कहाँ हो ? त्यसैले कालिमाटी देखि किर्तीपूरसम्मका साल्ट ट्रेडिङका सबै अधिकृत बिक्रेताहरूको नाम सोधेँ । ति नाम लिएर बाट–बाटै हेर्दै आएँ । अघि चिनी सक्यो भनेको पसलमै गएँ । लौ चिनी जोख्दै बेचिरहेका पो छन् त । ‘साहुजी, मलाइ दुइकिलो चिनी दिनुहोस् न ।’ ‘दुइकिलो छैन ,एक किलो मात्र ’ उनले चिनी दिए र असि रुपैयाँ मागे । चिनी किन महँगो भनेर साल्ट ट्रेडिङबाटै जवाफ पाइसकेकोले खुरुक्क पैसा दिएँ र चिनी लिएँ । अब केहि समयलाइ त ढुक्क भइयो भन्ने सोच्दै चिनी लिएर घर फर्केँ ।

4 comments:

Diwakar said...

So long article. Without reading, I found it, it was good. Basanta Ji, as a lesson from you, I too have started blogs. Plz see http://myownsapce-diwakar.blogspot.com/ and have comments.

shambhu dangal said...

Basanta G,aba gulio khane din ta gaihalo ni.

Anonymous said...

बसन्त जी , म त आज भोलि चिनी नै नहालेको चिया खान्छु .

Anonymous said...

पोष्ट घत लाग्यो बसतन्त जी । म पनि चिनीमा कन्जुसी छु, सतर्क छु मलाई चिनी हालेका खानाहरु मन पर्दैन प्रायजसो ।