Sunday, June 19, 2011

म त काठमाडौँ बस्दिन


सितापाइला बाट छाउनी आइपुगेको मात्र के थिएँ । कसैले “ए दाइ यता हेर्नुहोस् त” भनि बोलाएकोले हेरेँ । एकजना केटा केही पाउने आशामा थिए । “दाइ मलाइ तल सम्म छोडिदिनुहोस् न् । हिँडेर जान अल्छि लाग्यो त्यसैले ।” बिहान मात्र दुइ सय रुपैयाँ खर्च गरेर बनाएको साइकललाई हेरेँ टायरमा हावा कम भएर कमजोर भएको रहेछ । साइकलप्रति दया गर्दै भनेँ -“हुन त हुन्छ तर हावा कम भएकोले राम्रो पिच बाटो भएसम्म मात्र लगिदिन्छु ।”

यिनी रहेछन् एस एल सी को जाँच सकाएर ब्रिचकोर्स पढ्न काठमाडौँ आएका गोर्खार्का विद्यार्थी, विजय रोक्का । उनी बोल्दै गए–“मेरो पनि गेरवाल साइकल थियो । गएको बन्द (क्षेत्री समाजले गरेको हड्तालको दिन) मा ठगिएँ । मेरो साइकल लग्यो ।” “कसरी ? ” “म सितापाइला चोक तिर साइकल चलाउँदै थिएँ , दुई जना केटाहरू आएर भाइ, हिँड्दा हिँड्दा गाह्रो भयो सहयोग गर न भने अनि कलंकी तिर तिनजना सँगै गइयो । पछि एकजना साथी थानकोटबाट आउँदैछ , उसलाइ लिइ आउँछु भनेर दुइ मध्ये एक जनाले साइकल लग्यो । अर्को चाहीँ साथी मसँगै थिए तर बन्दमा कलंकी चोकको मान्छेको हुलमा त्यो मान्छे कता गाएब भयो कता ? त्यसपछि न त साथी लिन गएको मान्छे भेटियो न त साइकल, यसरी म ठगिएँ । नयाँ साइकल थियो त्यो ! ”

मेरो साइकल पनि रोकियो, किनकी पिचबाटो सकिएको थियो , छाउनी देखि छाउनी सम्म । “ल त अब हिँडेर जाऔँ ।” मलाइ पनि हतार नभएकोले उसँग कुरा गर्दै सँगै हिडेँ । उनको काठमाडौँ बसाइ तेस्रो पटकको रहेछ । तर यहाँ आएकैपिच्छे जति सक्यो छिटो घर फर्किने मन मात्रै भइरह्यो । भन्दै थिए- “अहिले पनि दिक्क लाग्यो । उता गोरखामा जता पनि हरियाली डाँडाकाँडा थिए,स्वच्छ हावापानी छ यता हरियाली देख्नै गाह्रो । जता हेरे पनि मोटर र मान्छेको भिडमात्रै । उराठलाग्दो वस्ती, फुंग उडेर तातेको सडक कोठाबाट बाहिर निस्कनै नपरे हुन्थ्यो जस्तो हुन्छ ।” “अनि तिमीलाई यहाँ के चाहिँ मन प¥यो त ? ” “कहाँ र दाजु यहाँ त कसैसँग बोल्दा पनि केही भन्ने हो की भन्ने जस्तो ठूल्ठूलो आँखाले एकले अर्कोलाइ घुरिरहेका मान्छेहरूमात्रै देखिन्छन् ।” लौ ! काठमाडौँको दुर्गुणको लिस्ट त अझै सकिएको रहेनछ । “घरमा आमाले एउटा भैँसी पाल्नु भएको छ । त्यहाँको शुद्ध दुध खान नपाएको पनि दुइ महिना भैसक्यो । यहाँको प्याकेटको दुधको त स्वादै नहुने । होटेलमा खाना खाँदा मासु पकाएको त कस्तो कस्तो आँखाले चाहीँ चिल्लो र मिठो देखिने, तर । म नजानेरै पनि आफैले पकाएको भए त्यो भन्दा मिठो हुन्थ्यो होला ।”

“अनि के चाहीँ राम्रो लाग्यो त तिमीलाई ? ” “गोदावरीमा साथिहरूसँग घुम्न गएको थिएँ । त्यो ठाउँ चाहीँ रमाइलो, शान्त लाग्यो । बाह्रै महिना फुल फूलाइने रहेछ त्यहाँ । त्यहाँको वातावरण चाहीँ राम्रो थियो ।” अनि रसिलो पाराले उनले भन्दै थिए -“भृकुटीमण्डपमा खेलेको रेल चाहीँ साँच्चैको रेल चढेजस्तो रमाइलो भएको थियो ।” उनलाइ सुन्दा लाग्थ्यो, काठमाडौँको इज्जत केवल यहि भृकुटीमण्डपको रेलले बचाएको थियो । अनि काठमाडौँमा खाएको मः मः पनि मिठै लाग्यो रे उसलाई !

“अब एक हप्तामात्र हो काठमाडौँमा बस्ने, त्यसपछि त गाउँ नै फर्कने हो । हुन त स्कूलका सरहरूले काठमाडौँमा प्लस टु पढे राम्रो छ भनेर भनेका हुन तर म यहाँ बस्नै सक्दिन । अब त म पाएसम्म पोखरामा नपाए चितवनमा बसेर पढ्ने हो । अब म त यहाँ कहिल्यै फर्किन्न होला ।”

No comments: