आफ्नो काम आफै गरौँ भन्ने भावना मनमा हुँदाहुँदै पनि व्यस्तता, अल्छिपन र आफ्नो निर्णय
आफैँ पूरा गर्न नसक्ने निकम्मापनले गर्दा घरमा मैले लगाएको लुगा पनि आमाले नै फेरी
धुन थाल्नुभएथ्यो । हुन त सानो छँदा आमा नै सबै गर्नुहुन्थ्यो तर पछि आफैले गर्ने सरसल्लाह
भएथ्यो दाजुभाइमा, तर केही समय पछि पुरानै पारा भैहाल्यो ।
केही समय अघि देखि आमाका हातहरु
दुख्न थालेका थिए । आमालाई अस्पताल जान, औषधि खान भनेपछि एकदमै गाह्रो लाग्ने । निकै च्यापेपछि मात्र अस्पताल जान राजी
हुनुभयो । किर्तीपूर अस्पतालकी चिकित्सक डा. निजीना ताम्राकारले आमाको बिमार धेरै चोटि हेर्नुभएकोले म मात्र जाँदा
पनि ‘आमालाई कस्तो छ ’ भनेर सोधिरहनुहुन्थ्यो । यसपल्ट आमा फेरी उहाँकै कक्षमा जानुपर्ने भयो । “आमालाई अब के भयो ? प्रेसरको औषधि त खाइराख्नु भा’छ हैन ?” आमाको जवाफ –“ खै के भयो–भयो ! दाइने हात ह्याँ देखि तल
एकदम दुख्छ, देब्रे हात पनि यतिमा एकदम करकर
खान्छ ” आमाका हातका नाडिलाइ दुवै हातले
समाएर उहाँले प्रेस गर्नुभो । हातका दुखाइले आमा कराउन मात्र सक्नुभएन । त्यसपछि सोध्नुभो– “लुगा धुनेबेला बढी दुख्छ हो ?” “अँ हो” मलाई र्हेर्दै आमाको हातका नाडि देखाउँदै डा.ले भन्नुभो–‘आमालाई यो नशामा दुखेको हो, उहाँलाई सकेसम्म गह्रुँगो कुरा उचाल्न नदिने, अनि धेरै लुगा पनि धुन
नदिने है । यो रोगलाई अहिले चटै ठीक गर्ने उपाय चाहिँ त छैन । यसको अन्तिम विकल्प यो
नशामा सुई लगाउनु हो, तर यसबाट पनि कसैलाई एक वर्षलाई ठिक भएको छ भने कसैलाई
महिना दिनमै फेरी दुखाइ बल्झेको पनि छ, यो सुई बारम्बार लगाउन पनि मिल्दैन
त्यसैले अहिलेलाई आमालाई खाने औषधि दिन्छु अनि हातमा बाँध्नको लागि ब्याण्डेज पनि लेखिदिएको
छु । यतिले कम भएन भने फेरी आउनु ।’ आमा तिर र्हेदै उहाँले आमालाई भन्नुभयो –“आमा अबदेखि धेरै लुगा नधुनुस्, छोराहरूको लुगा आ–आफैलाई नै धुन लगाउनुस्, गह्रुँगो पनि नउचाल्नुस्” तुरुन्तै आमाको जवाफ गैहाल्यो– “भनेर भयो र ! छोराहरूको
राम्ररी बसेर खान त फूर्सद छैन काँ धुन भ्याउँछन् र ?” “अब देखि उनिहरूको लुगा छुँदै नछुने, यत्तिकै राख्ने । अनि आफैले
नधोएर के गरोस् र ? ल अब देखि त्यसै गर्ने है त”– सरल ढंगले कति सहजै आमालाई यसरी
व्यवहार गर्न जानेका डाक्टर्नीले पनि ! म पुलकित भएर आमा र डाक्टरको कुरा सुनिरहेछु
।
अस्पतालबाट बाहिर निस्कँदै आमाले मलाई भन्नु भो –“सुनिस् हैन डाक्टरले के
भन्नु भो” । “अँ” म आफ्नो मुन्टो मात्र हल्लाउँछु
। तर मनमा भने निर्णय लिइसकेको थिएँ ‘अबदेखि आमालाई लुगा धुन नदिने ।’
शनिबारको दिन लुगाधुने योजना आमालाई शुक्रबार नै भनेको थिएँ
। भोलिपल्ट बिहान धुनुपर्ने कपडाको डंगुर देखाउनु भो । खाना खाएर आमा र म दुवै धारातिर
लाग्यौँ । आमा साबुन लगाउन बस्नु भो , म तिनलाई मिच्न थालेँ । जाडोमा
लगाइने लुगा पनि कति बाक्ला–बाक्ला हुन्छन् भने, ओहो मैलो पनि त्यतिकै आउने । लुगा
मिच्दै ,
पानीमा चोबल्दै , निचर्दै लुगा धुने क्रम करिब चार घण्टा चल्यो । अघि खाएको
भात सबै घटेको थियो । ढाडको रोगी म, मेरो ढाड फेरी दुख्न थालेको जस्तो
महसुस हुन थाल्यो । कतिखेर सिद्धिएला र आराम
गर्न पाइएला भन्ने छट्पटी पो हुन थाल्यो बा । पहिला–पहिला आफ्नो मात्र लुगा
धुँदा यति थकान महसूस गरिन । तर आजको लुगाको डंगुर अनि लुगा धुन लागेको समय दुवै एकदम
बढी थियो । यतिका वर्ष सम्म त आमा एक्लैले यो सबै लुगा कसरी धुँदै आउनुभएको थियो ? आज एकदिन कपडा धुँदा थकानले
मेरो यो गति भो आमालाई कति गाह्रो हुन्थ्यो होला ? अझै आमा त ‘झ्यालको पर्दा, सिरकको खोल त अझै बाँकी नै छ अर्को
पाली धोलास्’ भन्दै हुनुहुन्थ्यो ।
म भोक र थकाइले चुर भएको आमाले चाल पाइहाल्नुभो , लुगा सुकाइसकेर आमाले खाजा
अघि सार्दिनु भो । त्यतिबेला आमाको अनुहार एकदम उज्यालो थियो ।
(पुनश्च:– लुगा धोएर साह्रै थाकेँ भनेर फेसबुकमा
लेख्दा एक जना मित्रबाट यस्तो प्रतिक्रिया पाएँ–“अब विवाह गर्ने बेला भयो की वसन्त जी ?” त्यसको जवाफ म यहाँ लेख्दैछु – “के हामी आफ्ना लुगा धोइदिनको लागि
कसैसँग विवाह गर्ने हो र मित्र ?” )
4 comments:
मेरो सोचाइ पनि तपाईँको जस्तै छ । तर लुगा धुन चै अझै पनि सिक्न बाँकी छ है !
स्वभलम्भि व्यक्ति भनेको हजुर जस्तै हुँनु पर्छ हैँ
कता कता मेरो नै कथा भन्नू भए जस्तो लाग्यो। हुन त तपाईंले धोए जसरी कपदा त धुनुपरेको त छैन।।तैपनी मेरो मन छोयो। हाल चाहिँ बिदेश मा भएकोले आफ्नो कपडा आफै नै धुनु पर्छ। नेपाल मा हुदा पनि कहिलेकाही हो नत्र श्रीमती जि ले मौका नै दिदिनन।
This is very good blog. Please post more story.
Post a Comment