Tuesday, July 6, 2021

कैदीको पछि पछि

 

दृश्यः १

स्थानः पाटन अस्पताल सर्जरी ओ.पि.डि. कोठा नं २८

बाहिर बिरामीहरु आफ्नो नाम बोलाउने आशामा

picture credit: kathmandupati.com


x

आफ्ना पिडाहरु सहेर पर्खिरहेका छन्। पछाडिबाट दुई जना प्रहरि दुईतिर बसेर हट्कडी लगाएका एक जना मानिस लाई अघि लगाउँदै आउँछन् र सरासर डाक्टर जाँच कोठा प्रवेश गर्छन्। तिनले पालो कुर्न नपर्ने Special रहेछन्। यता पालो पर्खिरहेकाहरु त्यो दृश्य हेरि केही भन्‍न सक्दैनन्। मात्र खुइय ss… को भाखामा पूर्वरत तवरले प्रतिक्षा गर्छन्।

देशका ठुला सरकारी अस्पतालहरुमा देखिने एकदमै सामान्य दृश्य रहेछ यो, जुन सधैँ भइरहेको हुन्छ। कैदीहरुलाई लाइन पर्खनै नपर्ने गज्जब रहेछ भन्ने लागेको थियो। यसपाली अलि लामै समय अस्पताल बसाई रह्‍यो। यस क्रममा बिरामी भई उपचारका लागि भर्ना गरिएका कैद भुक्तान गरिरहेका अपराधी र तिनको अपराधका बारेमा र तिनको पालो पहरा बसिरहेका प्रहरी दाजुभाइसँग पनि गफगाफ भयो।

कैद भुक्तान गरिरहेका अपराधीहरुको स्वास्थ्यमा कुनै समस्या भयो भने तुरुन्तै स्वास्थ्य उपचार पाउनु कैदीहरुको मानव अधिकार हो भने सरकारको कर्तव्य। त्यहाँ भेटिएका एक प्रहरीका अनुसार पाटन अस्पतालमा मात्रै दैनिक करिब १०/१२ को संख्यामा कैदीहरू वार्डमा भर्ना भइ उपचार गराइरहेका पाइन्छन्। धेरै जसो लागुपदार्थ बेचबिखन, जक (जवर्जस्ती करणी) मुद्दा लागेकाहरु अहिले कैदमा छन् र यहाँ तिनीहरुको स्वास्थ्यमाथि समस्या भयो भने उपचार गराउने गरि अस्पतालसँग सम्झौता भएको हुन्छ।

दृश्यः २

सघन उपचार कक्ष (ICU) बाहिर

प्रहरी राइफल सहित पहरा दिइरहेका छन्। अलिपर अर्को वार्ड बाहिर फेरी अर्को एकजना त्यसरी नै उभिएका छन्। धेरै बिरामी र कुरुवाले अस्पतालको सुरक्षार्थ प्रहरी बसेको ठान्दा रहेछन् तर उनीहरु त बिरामी भएका कैदी उपचारका क्रममा नभागुन भनेर पहरा दिन बसेका हुँदा रहेछन्। यदि यो बेला कैदी हराए भने जागिर त जान्छ नै पालेपहरा बस्ने प्रहरी नै थुनामा बस्ने सजाय हुन्छ। ICU भित्रबाट बिरामीको नाम लिई कुरुवा बोलाउँछन् त्यहाँ प्रहरी तुरुन्तै हाजिर हुन्छन् अनि भित्रबाट दिइएको list बोकि औषधि लिन कुद्छन्।

त्यहाँ वार्डमा खटिएका एक प्रहरी जवान भन्छन् - मेरो ड्युटी कहिले ६ घण्टा अथवा ८ घण्टामा सकिन्छ त्यसपछि मेरो सट्टामा अर्को साथी यिनको लागि पालो पहरा दिनेछन्। उपचारमा लागेका सबै खर्च सरकारले व्यहोर्ने हो। बरु हामी बिरामी भयो भने उपचार त परको कुरा, टाउको दुख्यो या ज्वरो आयो भने आराम पाउँदैनौ ड्युटीमा खट्नु नै पर्छ तर यिनलाइ मजा छ बिरामी कैदीलाइ देखाउँदै भन्छन्। 'यिनले के अपराध गरेर जेल परेका त?' - ज.क. (जबरजस्ती करणी) मा परेका रे। यिनि जन्म कैद वाला हुन्।

यि बिरामी कैदी भने प्रहरीलाई सलायन पानी झरेन नर्सलाई बोलाइदिनुस भन्दै बाहिर पठाउँछन् र साईडमा राखिएको आफ्नो झोलाबाट सुर्ती निकालेर मुखमा च्याप्छन्। बिरामी भएको समयमा पनि अम्मल लिइनै रहेका छन् - देख्नेहरु कानेखुसी गर्छन्।

केही समयमा बिरामी कैदीको झुण्ड्‍याएको पिसाब फेर्ने थैलोमा पिसाब भरिएपछि नाप्दै फ्याँक्न जान्छन् प्रहरी दाई। हेर्नुस आफ्नो आमाबाबु बिरामी भएपछि स्याहार्न पाइने हो कि होइन अहिले यस्ता अपराधी स्याहार्नुपरेको छ, यस्तो छ ड्‍युटी 'कुनै ठूलो रोग छ, उपचार गराउन सकिएको छैन भने सानोतिनो अपराध गर्ने, धरौटीमा रिहा हुने भए पनि पैसा छैन भनेर धरौटी नतिर्ने पछि रोग बढेर जान्छ अनि जेलभित्र बसेरै सरकारले यिनको उपचार गरिहाल्छ, काइदा छैन त?'

 

No comments: