Tuesday, April 7, 2009

‘अन्नपूर्णपोष्टः गजब छ’

केही समयदेखि अन्नपूर्णपोष्ट पत्रिकाले ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्दै आफ्नो विज्ञापन तिव्र बनाइरहेकैबेला त्यही पत्रिकाको विज्ञापनमा अर्को ‘गजब’ कुरा देख्न पाइएको छ । अन्नपूर्णपोष्टको गजब छ भन्ने विज्ञापनमै झन्डै एक चौथाइ जति भागमा ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं’ भनेर लेखिएको देखियो । कसले किन र केका लागि बहिष्कार ?




जुनबेला भर्खर–भर्खर यो पत्रिका प्रकाशन शुरुवात भएको थियो, त्यतिखेर पनि अरु प्रतिस्पर्धी यो पत्रिका बहिष्कार गर्न पाठकहरुलाई प्रेरित गरिरहेका थिए । त्यसमाथि मिडियामा विदेशीको लागानी भनेर पनि ठाडै विरोध भएको थियो यसको । यी त पुराना कुरा भए । तर अहिलेको यो बहिष्कार किन त ? (हेर्नुहोस् तस्वीर)

यसपल्ट अन्नपूर्णपोष्टको प्रकाशन संस्था आप्का हाउसमा मजदुर आन्दोलन सुरु भएको रहेछ र उनीहरुको आन्दोलनको पहिलो स्वरुप नै ‘अन्नपूर्णपोष्ट बहिष्कार गरौं, नबेचौ, नकिनौं र नपढौं’ भन्दै प्रचार गर्नु रहेछ । पहिला पनि धेरै पटक आप्कामा मजदुर आन्दोलन भएका थिए ।

‘वार्ता गरी सहमती गरेर आन्दोलन तुहाउने, तर कहिल्यै सहमती पालना नगर्ने भएकोले फेरि आन्दोलन गर्नुपरेको’ बताउँछन् त्यहाँका मजदुर आन्दोलनका सहभागी मजदुरहरू । मजदुर युनियनमा सक्रिय भई लागेकैले कर्मचारी माथि विना कुनै कारण निलम्बन गरेको बताउँछन् उनीहरू । पछिल्लो पटक वितरण विभागका बलराम श्रेष्ठ र हरि आचार्य यसगरी निलम्बनमा परे ।

‘आफै कार्यरत पत्रिका बहिष्कार भएमा तपाईहरुको रोजगारी त छुट्ने नै भयो नि हैन?’ भन्ने प्रश्नको जवाफमा दुर्गा नामका एक मजदुर ले भने ‘हेर्नुस, हामीले यहाँ परिश्रम अनुसारको सेवा सुविधा पाएका छैनौं, हामीमाथि शोषण भएको छ । शोषित हुनुभन्दा त बरु बन्दै होस् ।’ कि गर्ने त बहिष्कार अन्नपूर्णलाई ? फ्लेक्समा कारणहरु छनः
१.यो राष्ट्रियता विरोधी छ ।
२.यो मजदुरमारा र उत्पीडक छ ।
३.यो गैर कानुनी ढंगले संचालित छ ।
४.यो मजदुरको आँशु र रगतले लतपतिएको छ ।

यी कारणहरुको प्रमाण दिँदै ती मजदुरहरु भन्छन् ‘ नेपालको कानुन अनुसार संचारमा विदेशी लगानी गर्न पाइन्न तर यो विदेशी लगानीको पत्रिका हो, यहाँको कार्यकारी अधिकृत नै भारतीय नागरिक हुन् । श्रम अदालतले हामी मजदुरको पक्षमा निर्णय गरी संगठन खोल्न पाउँछ भन्छ तर यो प्रशासन विभिन्न बहाना बनाउँदै हामीलाई यो अधिकार दिन चाहँदैन अनि अर्को कुरा यो पत्रिकाले गौतम बुद्ध भारतमा जन्मेको भनेर लेखेको थियो’ उनले पत्रिकाको मिती दिए November 21, 2003 ।

आफ्नो आन्दोलनको स्वरुपबारे बयान गर्दै उनीहरु भन्दैथिएँ ‘पहिले पहिले पत्रिका बाँड्ने साथीहरुले आन्दोलन गर्दा काम बहिष्कार गर्ने गरिएको थियो । जसले गर्दा पाठकले पत्रिका समयमा पढ्न पाउँदैनथे । अनि मजदुरले प्रेस स्वतन्त्रता हनन गर्‍यो भनेर आप्काले प्रचार गर्ने गरेकोले यसपल्ट चाहिँ आफ्नो कामलाई जारी नै राखेर पनि आन्दोलन गर्न सकिन्छ भनेर बहिष्कारको प्रचार गरेका हौं । यो सबैभन्दा शिष्ट आन्दोलन हो । तर यो तरिकाले पनि उनीहरु सहमति पालना गर्दैनन् भने हामी अनसन बस्छौं, आमरण अनसन ।’




आप्का हाउसमा मजदुर र प्रशासनबीच दुरी बढ्दै गएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा जो अन्नपूर्णपोष्टसँग सम्बद्ध पनि छन्, उनले मध्यस्तकर्ता बनी वार्ताको पहल गरिरहेकाछन् तर सम्झौता हुन सकेको छैन । आन्दोलन र वार्ताबारे जिज्ञासा राख्दा उनले ‘यो आन्तरिक कुरा हो’ भनेर पन्छिन खोजे पनि ‘आन्दोलनको अधिकार सबैमा हुन्छ तर उहाँहरुले यसो नगरी अरु नै तरिका अपनाउनुभएको भए राम्रो हुन्थ्यो ।’ भने ।

तर ‘अन्नपूर्णपोष्टः गजब छ’ भन्ने विज्ञापनमै ‘अन्नपूर्णपोष्टः बहिष्कार गरौं भन्ने सुचना देखेर चाहिँ सर्वसाधारण निकै गजब मानिरहेकाछन् ।

Friday, April 3, 2009

‘पढेकाहरू स्वार्थी हुन्छन् ।’

रिक्सा चालकको जीवन कति सहज छ ? कति अप्ठ्यारा छन् यो काममा ? मानिसहरू कस्तो व्यवहार गर्छन् उनीहरूमाथि ? यीनै कुरा बुझ्ने क्रममा गएको शनिबार भेटिए काभ्रेका खड्ग बहादुर मगर, जो वसन्तपूरमा फूर्सदिलो भई यात्रु कुरीरहेका थिए । प्रस्तुत छ पेसागत कुनाको लागि यसपल्ट उनै रिक्सा चालकसँग गरिएको कुराकानी ।


के हो दाई आज शनिबार भएर खाली बस्नुभएको हो की अरुबेला पनि यतिकै सुख्खा हो ?
हामीलाई के शनिबार के को आइतबार नि यस्तै त हो नि कहिले टिप हुन्छ कहिले हुँदैन । फेरी टिप पाए पनि चलाएको चलै त कहाँ गर्न सकिन्छ र यो रिक्सा । एक दुई टिप गरेपछि त आराम गर्नु परिहाल्यो नि ।
आज कति टिप गर्नु भयो त ?
एक टिप मात्र भयो । एउटा कुइरेलाई भिमसेनथान देखि बाङ्गेमूढा सम्म लगियो ।
कति दुरीको कति लिने फिक्स छ की ?
त्यो त मान्छे हेरेर, बोक्नुपर्ने सामान हेरेर हुन्छ । यति नै लिने भन्ने छैन । अलि बुढा बुढि गरिब जस्ता लागे भने २०/३० रुपैयाँ मै पनि लगिन्छ। नभए त सकेसम्म बढि लिइन्छ ।
कति कमाउनु हुन्छ तपाईँ ?
कुनै ठेगान नै हुँदैन भाइ, उस्तै भाग्य पर्यो भने एकै टिपमा पाँच सय पनि हुन्छ । कहिले दिन भरी गर्दा पनि पचास सय पनि हात लाग्दैन । प्रायः कुहिरेहरूलाई उनीहरूको अफिस (ट्राभल एजेन्सी) ले नै यहाँ देखि यहाँ सम्म जाँदा यति डलर तिर्नु भनेर सिकाएका हुन्छन् । तै पनि धेरै जसोले पछि टिप्स पनि दिन्छ । कसैले सय रुपैयाँ, कसैले दुइ तिन सय पनि दिन्छन् । आज एउटा कुइरेले एक डलर र पचास रुपैयाँ दिएर गयो । पचास रुपैयाँ बढि कमाई भयो आज । फेरी लगातार टिप आइराखे पनि राम्रै कमाई हुन्छ । कमल भन्ने एक जना साथि छ , छाउनी बस्ने । उ हरेक दिन बिहान चार बजे रिक्सा निकालेकै हुन्छ । चारबजे कालिमाटिबाट एउटाको तरकारी पसलमा टिप गर्छ । त्यसपछि दुईवटा मासुपसलमा भ्याउँछ । एउटा चुरोट पसलको टिप पनि भ्याउँछ । दिउँसो फेरी सेल्समा लैजान्छ । दिनभरी त्यही गर्छ । अनि बेलुका फेरी ठमेल तिर जान्छ । हामी त की राती मात्र रिक्सा चलाउँछौँ की त दिनमा मात्र , उ त चार बजे निकालेदेखि राती सम्मै चलाउँछ । त्यसरी काम गरियो भने त मरिन्छ ।
कति कमाई हुन्छ त उसको ?
उल्ले महिनामा २० हजार जति त जोगाउँछ होला । हामी जस्तो खाली पनि बस्दैन, लगातार चलाउँछ त्यो । तर हामी बीचमै कोही साथि भने अफिस टाइममा मात्रै काम गर्ने पनि छन् । कोही चाहीँ हातमा एक दुई सय भयो की आज लाई कमाई पुग्यो भनेर काम नगर्नेहरू पनि छन् । मैले चाहीँ डेल्ली दुइसय रुपैयाँ फाइनान्समा राख्ने गरेको छु ।
भने पछि गर्न सक्नेले त राम्रै कमाई गर्दोरहेछन् नि । तपाईलाई थाहा छ दाजु आजभोली पसलमा काम गर्न बस्ने केटालाई महिनामा पच्चिस सय , तिन हजार तलब दिइन्छ । तिनीहरू हेरी त तपाईहरूको कमाई राम्रै हुँदोरहेछ होइन त ?
खै तिनिहरू के खान्छन् , कसरी खान्छन् ? मलाई पनि अचम्म लाग्छ । कसरी पुर्यािउँछन् उनीहरू? खाजा खाने भनेर एक कप चिया खालान् र त्यतिले पुर्याउलान् । आफ्नो त जस्तै थोरै कमाई भएको दिन पनि राँगाकै मासु भए पनि छुट्दैन कुनै छाकमा । फेरी खाजा खान होटल पस्यो डेढ दुई सय त सकिहाल्छ । हुन त पसलमा काम गर्नेको सजिलो छ । दिनभरी एकैठाउँ बस्ने त हो नि । त्यसो भएपछि भोक पनि नलाग्ने हो की ?
यो काम कति गाह्रो छ त दाजु ?
काम त सबै गाह्रै हुन्छ नि । यो पनि त्यस्तै हो ।
पहिला–पहिला तपाईँहरूलाई इन्द्रचोक भित्र रिक्सा लान दिइँदैनथ्यो होइन, वान वे भनेर ?
पहिला–पहिला त के–के हुन्थ्यो, हुन्थ्यो नि । हाम्रो संघ नहुन्जेल त ट्राफिकले टायरको भ्याल्टु निकालेर हावा फूस्काउने, नगर प्रहरी आएर रिक्सा लगेर थानामा हाल्ने , पाँच सय तिरेपछि बल्ल छोड्ने , यता जा यता नजा भनेर दुःख दिने के–के गर्थ्यो । तर अहिले त हामी कमजोर छैनौ भाइ । धेरैलाई तह लगाई सकेका छौँ । ठमेलतिरको मै हूँ भन्ने कति गुण्डालाई त संघमै लगेर धुलाई गरिसकेका छौँ । जनसेवा प्रहरीलाई त हामीले घेरी घेरी नै दोहोलो काढ्या छौँ । सोह्रखुट्टेमा नयाँ इन्सपेक्टर आएको छ । अलि निउँ खोज्ने गरेको छ रे कुन दिन त्यल्ले पनि भेट्छ ।
रिक्सा चालक संघमा सबै रिक्सा चलाउनेहरू छन् त ?
किन नहुनु ? हामी सबै छौँ । हामी दैनिक दश रुपैयाँ वा महिनामा एकै चोटि तिनसय रुपैयाँ दिने गरि लेवि तिरिरहेका हुन्छौँ । प्रत्येक हप्ता मिटिङ हुन्छ । नयाँ रिक्सा चलाउनेहरूलाई प्रत्येक शनिबार संघले प्रशिक्षण दिन्छ ।
किन लिइन्छ त्यो पैसा ?
संघको मान्छे दिनभरी हाम्रै निम्ति खट्छ । जहाँ जे आइपर्योा त्यहाँ उ आइपुगेकै हुन्छ । उनीहरूलाई पनि खानुपर्छ, लाउनुपर्छ नि । वास्तवमा पैसा भएन भने संघ पनि त चल्दैन ।

भनेपछि संघ चाहीँ दरिलै बनेको छ ?
हेर्नुस् भाई अहिले कुनै ठाउँमा रिक्सा चढ्ने मान्छे, बाटोमा चढ्ने मोटरसाइकल, ट्राफिकले नचाहिने कुरामा दुःख दिने भयो भने पुरै काठमाडौं ठप्प हुन्छ । हिजो हामी साहूलाई रिक्साको भाडा दैनिक सय रुपैयाँ तिर्न बाध्य थियौँ । संघले आन्दोलन गरेर आज हामीले पैँसाठ्ठी रुपैयाँ मात्र दिए पुग्ने भएको छ । यस्तो महंगीमा संघले साथ नदिएको भए कसरी बाँच्ने ?
रिक्सा साहूको कुरा आइहाल्यो। एकजना साहूको कति वटा रिक्सा हुन्छ ?
दुइवटा हुने देखि २०/३० वटा सम्म हुने साहूहरू पनि छन् । दैनिक पैँसाठ्ठी रुपैयाँ तिर्नुपर्छ । अनि बिग्रेमा मर्मत खर्च पनि साहुले नै बेहोर्छ ।
काठमाडौँमा अहिले कति रिक्सा गुड्छन् ?
सामान मात्र बोक्ने खालको समेत गर्योम भने बाह्रसय जति होला । यहाँ लगानीका हिसाबले तिन खालका रिक्सा छन् । एउटा साहुले लगानी गरेको रिक्सा , दोस्रो आफ्नै लगानीमा किनेको अनि आफैँले चलाएको रिक्सा , अनि तस्रो चाहिँ संघको रिक्सा । संघको रिक्सा त हाम्रै भै हाल्यो ।
ए संघले पनि रिक्सामा लगानी गरेको छ ?
हो । हामीबाट उठाइएको पैसाबाटै ति किनिएका हुन् । कतिपय साथिहरू संघको सदस्य चाहिँ भएको तर साहूको रिक्सा चलाउन नपाएका छन् भने उनीहरू खाली बस्नुपर्दैन । कहिले घर जाने कहिले यहाँ काम गर्ने अस्थायी साथिहरू पनि खाली बस्नुपर्दैन । साठ्ठीहजारमा एउटा राम्रो कन्डिसनको रिक्सा आउँछ । त्यसैले केही साथिहरूले आफैले किनेर पनि चलाएका हुन् ।
रिक्सा चलाउनेहरू कति शिक्षित हुनुहुन्छ ?
हामीहरू प्रायः जसो साधारण लेखपढ जान्ने नै छौँ । कसैले ठग्न सक्दैन हामीलाई । कोही कोही चाहिँ दश पास गरेर पढिरहेका पनि छन् यो काममा ।
कस्तो व्यवहार गर्छन् त तपार्इँलाई मानिसहरू ?
धेरै जसो त राम्रै छन् । कोही कोही चाहिँ पैसाको मामिलामा साह्रै किचकिचे हुन्छन् । जति दिए पनि हुन्छ भन्ने सोच्छन् । मोटरसाइकल चलाउनेहरू भने अलि हेपेर चलाउँछन् हुलमूलमा ।
आज तपाईँसँग भेट गरी कुरा गर्न पाउँदा रमाइलो लाग्यो । म खासमा नेपालमा पढेका मान्छेहरूले काम नपाइरहेको बेला तपाइँहरूले गरिरहनुभएको कामको पनि सम्मान हुनुपर्छ भनेर नै तपाइँहरूसँग कुरा गर्न आएको हूँ ।
हेर्नुस भाई तपाई मनमा त्यस्तो नलिनुहोला तर मैले देखेको कुरा के हो भने पढेका मान्छे स्वार्थी हुन्छन् । बाटोमा हिँडिरहेका बुढा बुढी अशक्तहरू लड्यो भने बरु हेरेर बस्छन् तर उठाइदिन लाज मान्छन् । हामी भए देखि तुरुन्त उठाइदिन्थ्यौँ । अनि उनीहरूलाई मेचमा बसेर खुट्टा हल्लाएर खाने जागिर चाहिन्छ , त्यसमाथि पनि हप्तामा एक दिन अनिवार्य छुट्टि चाहिने । हेर्नुस भाई हात, पाखुरा बजारेर खाने भए जे काम पनि पाइन्छ । तर यस्तो सुविधाभोगि पाराले काम पाइँदैन ।

Tuesday, March 24, 2009

छुट्टिए युवराज घिमिरे नागरीकबाट

वरिष्ठ पत्रकार युवराज घिमिरे अन्ततः रिपब्लिका पब्लिकेसनबाट अलग्गिएका छन्। कान्तिपूर दैनिकबाट विनोद ज्ञवाली समूह अलग भएपछि पत्रकारको तानातान र लगानीकर्ताहरू बीचका कहिले जोडिने कहिले फूट्ने क्रम जारी रहेकै अवस्थामा उनी छिट्टै प्रकाशन हुन लागेको नागरिक दैनिक बाट अलग भएका हुन्।

पत्रकार घिमिरे कान्तिपूर राष्ट्रिय दैनिकका पूर्व सम्पादक पनि हुन्। यस अघि समय साप्ताहिक का सम्पादक रहेका उनले आफ्नै लगानीमा newsfront साप्ताहिक पनि प्रकाशन गर्दै आएका थिए। कान्तिपूरका लगानीकर्ताहरू कैलाश सिरोहिया र विनोद ज्ञवालीहरू बीच मतभेद भएपछि ज्ञवाली समूह त्यसबाट अलग भए लगतै उनले अर्को राष्ट्रिय दैनिक पत्रिका निकाल्ने घोषणा गरिसकेका थिए। विनोद ज्ञवाली सँगै कान्तिपुर बाट तत्कालिन सम्पादक नारायण वाग्ले पनि आएका थिए। तर पत्रकार नारायण वाग्ले र विनोद ज्ञवाली समूह बीच पनि प्रकाशनको सेयरमा कुरा नमिले पछि वाग्लेले हरि श्रेष्ठ सँग मिली धुम्बाराही प्रकाशन खोले, जसले नेपालीमा दैनिकी र अंग्रेजीमा republica निकाल्ने तयारी गरे। यता ज्ञवाली समूहले भने समय साप्ताहिकको पत्रकारको सम्पूर्ण समूहलाई लिइ नागरिक दैनिक र यसअघि नै प्रकाशन भैरहेको newsfront साप्ताहिकलाई अंग्रेजी दैनिक बनाइ निकाल्ने घोषणा गरे। यस पछि सुरु भयो पत्रकार तानातानको खेल। खास गरी दुवै प्रकाशनले आफ्नो पहिलो तारो बनाए कान्तिपुर दैनिकलाई। त्यहाँका पत्रकारलाई धेरै सूविधा देखाउँदै दुवै प्रकाशनले आफूतिर तान्न कोशिस गरे र दुवैमा नाम चलेका पत्रकारहरू बढ्न पुगे।

यसरी नेपाली पाठकले चारवटा नयाँ राष्ट्रिय दैनिक आउने हल्ला बजारमा पाइएको थियो तर नाटकीय रुपमा करिब दुई साता अगाडि यी दुवै प्रकाशनका लगानीकर्ताहरू बीच एकिकरण भयो। यो एकिकरणले गर्दा पत्रकारिता क्षेत्रमा एउटा तरङ्ग नै फैलियो। अहिले सम्मकै बलियो टिमको रुपमा देखियो यो प्रकाशन अर्थात् रिपब्लिक पब्लिकेसन। तर कुरा यतिमा सिमित भएन। पत्रकार युवराज घिमिरे पुनः छुट्टिए यो समूहबाट। आफूलाई कुनै जानकारी नदिई दुई प्रकाशन एक भएकोले तथा आफैले प्रकाशित गरिरहेको newsfront पत्रिका पनि त्यहाँबाट प्रकाशन नहुने भएपछि उनी त्यहाँ बाट अलग भएका हून। विश्वस्त श्रोतका अनुसार त्यहाँ भित्र पत्रकार नारायण वाग्ले र युवराज घिमिरे बीच वरिष्ठता र वरियता क्रममा विवाद भएकोले पनि उनी त्यसबाट अलग्गिएका हुन्। अब पत्रकार घिमिरे आफ्नो पत्रिका newsfront साप्ताहिक प्रकाशन गर्न नयाँ लगानीकर्ताको खोजीमा रहेको र छिट्टै नै त्यसलाई निरन्तरता दिने सोचमा रहेको बताइन्छ।

Friday, March 20, 2009

चुनाव स्थगित भएपछि ....

'ओहो ६ बजिसकेछ , आज त स्ववियू चूनाव । झन् पो ढिलो उठिएछ । तै पनि ठिकै छ सात बजे मात्र चुनाव सुरु हुने त हो नि । ' मनमा यस्तै हतारो लिएर क्याम्पसतिर हान्निएको थिएँ म । खसिबजार पुगेपछि एक जना परिचित दाईलाई भेटेँ । कहाँ जाँदैछौ भनेर सोध्नुभएपछि ' आज हाम्रो क्याम्पसमा त चुनाव छ नि स्ववियूको ! भोट खसाल्न हिँडेको हो म त ! ' भनिहालेँ । उहाँले “लौ तिम्लाई थाहा छैन चूनाव स्थगित भयो त तिम्रो क्याम्पसमा। सबै बन्द छ नगए हुन्छ त्यतातिर ” भन्नुभयो । त्यसपछि म त छक्क परेँ । किन स्थगित भयो त आर.आर.मा चूनाव ? ल क्याम्पसमा त हिजो विद्यार्थीहरूबीच झडप भएको थियो तर हाम्रोमा त त्यस्तो कुरा पनि त भएको थिएन । हिजो राति निर्वाचन कार्यालयमा आगलागि भए पनि “चुनावी कागजात सुरक्षित छ त्यसैले भोली चुनाव हुन्छ, भोली ढुक्कसँग भोट खसाल्न आउनुहोस ” भनेर त हाम्रै अगाडि क्याम्पस प्रमूखले भनेका थिए नि । तै पनि अचानक यो किन रोकियो ? मोडल अस्पताल अगाडि केही एमाले निकट अनेरास्ववियुका साथिहरू एकले अर्कोलाई सम्झाउँदै थिए –' त्यता (क्याम्पस तिर देखाउँदै) नजाउँ है साथि खतरा छ ।' हँ के को खतरा ? कस्तो खतरा ? मेरो मनमा भने प्रश्न उठ्यो। तर ती साथि त केही नसोधि फरक्कै फर्की पो हाले त ।

म भने मनमा अनेक प्रश्न खेलाउँदै क्याम्पस अगाडि पुगेँ । म भन्दा अघि नै थुप्रै साथिहरू आइरहेका थिए । अखिल क्रान्तिकारीका उमेद्वारहरू पनि उपस्थित थिए त्यहाँ । सबै भन्दा पहिले सूचना नै पढौँ न भनि यसो क्याम्पस गेटमा हेरेँ ।
क्याम्पस प्रमूख गोपालचन्द्र पोखरेलले शान्तिपूर्ण र भयमुक्त वातावरणमा चुनाव सम्पन्न हुने स्थिति नदेखिएकोले पठनपाठन र चूनाव राम्रो वातावरण नबनेसम्मको लागि स्थगित गरिएको सूचना जारी गरेका रहेछन् । हिजो दिउँसोसम्म सामान्य नै थियो क्याम्पसको वातावरण तर राती क्याम्पस प्रमूखले एकतर्फी रुपमा यो सूचना जारी गरे । नजिकै ल क्याम्पसको पनि गेटमा सूचना पढियो । त्यहाँ निर्वाचन अधिकृत र क्याम्पस प्रमूखबीच भएको छलफल पछि चूनाव स्थगित गरीएको भनी दुवैको हस्ताक्षर सहित सूचना टाँसिएको थियो । त्यो क्याम्पसमा त स्थिति तनावपूर्ण नै थियो रे हिजो ।


यता अखिल क्रान्तिकारी निकट विद्यार्थीहरूले यो चुनाव भाँड्ने षडयन्त्र भएको छ भने । यो षडयन्त्रमा क्याम्पस प्रमूख आफैँ संलग्न भएको आरोप पनि लगाए उनिहरूले । उनीहरू भन्दै थिए “ अखिल क्रान्तिकारीले चुनाव जित्ने निश्चित भएपछि अघिल्लो रात १२ बजे क्याम्पसमा आगो लगाए । सो आगलागीका बाबजुद पनि चुनाव हुने भएपछि एमाले अखिल आत्तिए । अनि क्याम्पस प्रमुखलाई नै प्रयोग गरे उनीहरुले । यो क्याम्पस प्रमुख एमालेले नियुक्त गरेको मान्छे हो । यसले पनि हाम्रो विजय भएको देख्न चाहँदैन । त्यसैले विनाकारण आज चुनाव स्थगित गरेको हो । अघिल्लो रात नै पनि बाहिरबाट गेट बन्द हुन्छ तर रातको १२ बजे क्याम्पसको अन्य कोठामा होइन, निर्वाचन कार्यालयबाट आगो लाग्छ ।
यहाँ क्याम्पस प्रशासनकै मिलेमतो छ। ” भोट खसाल्न भनी आएका विद्यार्थीहरु एकाएक भएको चुनाव स्थगनपछि अखिल क्रान्तिकारीको कोणसभाका दर्शक बन्न पुगे । अनि त्यहाँबाट नारा गुन्जिन थाल्यो – ' नालायक क्याम्पस प्रमुख राजिनामा दे ।' अखिल क्रान्तिकारी आर.आर.का अध्यक्ष के.पि. खनालले सोही सभामा उम्मेद्वारी मनोनयन दर्तासँगै पुरानो स्ववियु खारेज भएकोले अब चुनाव स्थगित भएको बेलामा त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने कुरा बताइरहेका थिए । उनी भन्दैथिए–“ अब हामी स्ववियु कब्जा गर्नेछौं । हामी कहिल्यै नहार्ने चुनावमा सामेल भएका छौं । हाम्रो विजय भएको छ । ” त्यसपछि आएका सबै विद्यार्थीहरु त्यही ' विजय ' जुलुसमा जान तम्तयार भए ।म भने वरिपरि हेर्दै थिएँ । त्यहाँ केही प्राध्यापकहरु पनि छेउमा उभिएर के भएको यो ? भन्दै चिन्तित र आश्चार्य मुद्रा बनाएर गफिरहेका थिए । त्यसपछि म जुलुससँगै राष्ट्रिय सभागृह अगाडी पुगेर केही तस्वीर लिएपछि क्याम्पसतिरै फर्कन लाग्दै थिएँ । प्रहरीले रोके, ' चुनाव नै स्थगित भैसक्यो, तपाईहरु किन फेरि आइराख्नु भएको छ , यार ? ' झिन्झ्याट लाग्दो भाषामा उनीहरुले क्याम्पस जान लागेका विद्यार्थीहरुलाई यसो भन्दै फर्काए । त्यसपछि आज भोट खसाल्ने उत्साहले बिहानैक्याम्पस आएको म, त्यसै फकिएँ ।घर आउँदै गर्दा बाटैमा पर्छ विश्वविद्यालय क्याम्पस किर्तिपुर । आफ्नो क्याम्पसमा चुनाव देख्न नपाएपनि कस्तो रहेछ त यहाँको रौनक, मन हौसियो । त्यसपछि बिचबाटै चुनाव भएको ठाउँतिर दोरिएँ । त्यहाँ सोचे जस्तै रौनकता थियो, विद्यार्थीको लामो लाइन अनि आफ्नो प्रतिनिधि चुन्न आतुर ती मनहरु, अघिल्तिर अन्तिम चुनाव प्रचार गर्ने प्रयासमा विद्यार्थी उम्मेदवारहरु, अनि सुरक्षा चेकजाँच गरिरेहका सुरक्षाकर्मीहरु ।
टि.यु.मा दुइवटा बुथमा दुई दुई लागेर उभीएका विद्यार्थीहरुलाई हेरें । दुवैतिर उत्तिकै लामो लाइन थियो । यो उत्साह र रमाइलो हेरेरै भएपनि आफुले भोट खसाल्ने तिर्सना मेटिरहेको थिएँ म ।

दिउँसो नयाँ नेपाल प्रेसमा आफ्ना साथीहरुलाई चुनावी अनुभव बताउँदै थिएँ । त्यही बेलामा भित्रबाटै अपरिचित स्वर सुनियो, 'के भन्दैछौ भाइ ? वरिपरि हेर्नु पर्दैन ? निर्वाचन अधिकृत त यहीँ छन् । तिमीले केही बताउनै पर्दैन । सब थाहा छ हामीलाई ।' उनको कुरा सुनेर यस्सो बाहिर हेरेँ । एक जना अधबैँसे उमेरका मानिस प्रेसबाट भर्खर छापिएको पत्रिका पढ्दै थिए । तैपनि मैले आफ्नो कुरा सुनाउन जारी राखेँ, “हेर्नूस्, ल क्याम्पसमा त भीडन्त भएकोले निर्वाचन अधिकृत र क्याम्पस प्रमुख दुवैको सल्लाह र सहमतिमा संयुक्त सूचना निकालेर चुनाव स्थगित गरे । तर हाम्रो क्याम्पसमा त क्याम्पस प्रमुखको एक्लो निर्णयले स्थगित भयो चुनाव । त्यो पनि मिति नै फागुन ५ लेखिएको छ, तर हिजो त चैत्र ५ पो हो ।” मेरो कुरा जारी रहँदा कतिखेर ती अधबैँसे व्यक्ति नजिक आइपुगेछन् पत्तै भएन । उनले ' तिमी आर आरको विद्यार्थी हौ ? ' भनी सोधे । ' हो, बि.ए. दोश्रो वर्षमा पढिरहेछु । ' उनले भने “ त्यहाँ त एमाले अखिलले हार्ला भनेर नै चुनाव स्थगित गरिएको हो । हिजो आगलागी भएको निहूँ बनाउन खोजेका थिए क्याम्पस प्रमुखले । तर क्याम्पस प्रमुखलाई नै थाहा रहेनछ कि दिउँसो उसको घर्रामा रहेका निर्वाचनका कागजातहरू राति अन्तै राखिँदा रहेछन् । त्यसैले दराजचाहिँ जल्यो तर सबै कागजात बचेछन् । अनि आज चुनावको निम्ति सबै तयारी सिद्धिसकेको थियो । तर हिजो बेलुका क्याम्पस प्रमुखले चुनाव नगर्ने नै रट लगाइरहे भन्या ।” यति सुनिसकेपछि ' तपाईँ आर आरमै कार्यरत हो सर ? ' मैले प्रश्न गरेँ । तर उनी त अक्मकाउन पो थाले । उनले हो पनि भनेनन्, होइन पनि भनेनन् । “अब चुनाव अनिश्चित हुने भयो आर आरमा” यसो भन्दै उनी अपरिचित दाजुसँग हिँडे प्रेसबाट । ला! मैले त्यसरी ठाडै प्रश्न गर्न नहुने पो थियो कि ? उनी त हिँडि पो हाले त । यदि साँच्चै निर्वाचनमा खटिएका थिए भने त उनलाई भित्री कुरा थाहा हुन्छ । आफूले सोधेको एउटै प्रश्नले थकथकी लागिरह्यो मलाई ।

नारावाजी

Thursday, March 12, 2009

पानी हो जिन्दगानी

किर्तिपुरको समलमा देखिएको पानीको अभाव (फोटो र भिडियोमा)
















पानी जात्रा






कहिले आउला मेरो पालो






पर्खाइमा वितिरहेका विहानहरू






गन्तव्य





लाइनको लम्बाइ






पानी विवाद