Saturday, April 16, 2011

म फेरी आउँदैछु

लोडसेडिङ र कामको लोडले गर्दा केही समय ब्लगिङबाट केही टाढा भएको भएपनि मेरो भावनाहरू पोखिने एकमात्र विकल्प त आखिर ब्लग नै हो । अब म पुनः यसलाइ निरन्तरता दिन भरभूर प्रयास गर्नेछु । शुभकामना ब्ल्गर दाइ, दिदिहरू एवं मित्रहरूमा नववर्ष २०६८ को ।

Saturday, November 27, 2010

पैसा भेटियो , के गर्ने ?


एक साँझ म नयाँबजारबाट हिँडेरै घर तिर लम्किरहेको थिएँ । सोह्रखुट्टे पाटीबाट केही अगाडी बढेकोमात्र के थिएँ, भूँइमा मेरै सामुन्ने सय रुपैयाँको नयाँ नोट लम्पसार परेर मैतिर हेरिरहेको देखेँ । एक मनले भन्यो– ′ आहा, आज त राम्रै सञ्जोग जुरेछ । ’ भेट्टाएको पैसा टिपेर खुसुक्क गोजिमा हाल्ने सुर कस्नै लागेको थिएँ । फेरी अर्को मनले भन्यो -′ अहँ, हुँदैन हुँदैन । मान्छेले भुलचुकले पैसा खसाएर गएको होला । पैसा हराएको थाहा पाएर कतै खोज्दै होला , विचरा !! सय रुपैयाँ कमाउन कति दुःख गर्नुपर्छ था’छ ? ’

′ त्यो पैसा कतै कुनै बच्चालाई आमा बुबाले पसलबाट सामान किन्न पठाएको अनि उसले खसाएको पनि त हुन सक्छ । ’ ′‘ बाटोमा कुनै सामान, साँचो, पैसा खसेर हराउँदा कतै भेटि पो हाल्छ की भनेर मैले नै कतिचोटि बाटोभरी खोजेको थिएँ कुनै बेला । हराएको चिज फेरी पाउँदा कति खुसी भइन्छ नि हकी ? यो सय रुपैयाँ खसाउने मान्छे पनि त खोज्दै होला । त्यो मान्छे यहाँ आएर त्यो पैसा पाए ...। ’

दोस्रो मनले यसो भने पछि देखेको पैसा नटिपि म सरासर अघि लम्किन्छु । पर पुगेर यसो फर्केर हेर्छु, म भन्दा पछि–पछि आउने मान्छे दायाँ बायाँ आँखा डुलाउँछन् अनि भुइँको पैसा हत्तनपत्त टिपेर गोजिभित्र राख्छन् , केही चोरे झैँ गरि फटाफट अघि बढ्छन् ।

Friday, May 28, 2010

संविधान एक सपना


त्यसदिन बिहानै देखि जाँगर भरिएको थियो । मनमा उत्साह थियो । अनि उमंग पनि । चैतको महिना घाम बिहानै चर्केजस्तो देखिन्थ्यो , तर पनि मौसमले साथ दिएकै जस्तो लाग्थ्यो ।

हामी जनता, भोट खसाल्न हिँडेका अफ्नो भविष्य आफै कोर्न हिँडेका । यस गैरवले छाती नै फूलेको थियो हाम्रा । लामबद्द भएर सबैजना पालो कुरी बसेका । त्यो थियो संविधानसभाको निर्वाचनको दिन अर्थात् २०६४ चैत्र २८ गते ।

निर्वाचनको परिणाम आयो नयाँ नामहरू राजनैतिक वृतमा सुनिन थालिए । सरकार बन्यो तर निकै समय पछि । बिहानीले दिन बताउँछ भने जस्तै सुरूवातका ति दिनहरूले नै संविधान लाइ समयमा बनाउन सकिएला र ? भन्ने प्रश्न धेरैको मनमा उठीसकेको थियो ।

झन् पछि झन् जनताको आशामा तुसारोपात लाग्दै गएको थियो । संविधानसभाको निर्वाचनको दिन देखि आज सम्म अइपुग्दा हामीमा अब न त केही हुने अशा बाँकी रहेको छ न त सपना नै । पढेको थिएँ सबैभन्दा डरलाग्दो हुन्छ सपनाहरूको मृत्यू । तर नेपालको राजनीतिले हाम्रो सपनालाइ कुन मोडमा ल्याएर लत्याइदियो पत्तै भएन ।

विश्वको सबैभन्दा राम्रो राजनैतिक व्यवस्था लोकतन्त्र democracy हो भनिन्छ । जनताको लागी जनताद्वारा शासन गरिने व्यवस्था रे । तर यहाँ हेर्दा त लाग्छ हामी जनता केवल भर्याङ मात्र हुँदा रहेछैँ जसको कुनै अर्थ नै हुँदैन डेमोक्रेसीमा । बाँकी शासन त अर्कैले गर्दा रहेछन् । संविधान सभाको दुइ वर्षे अवधिले यसैलाइ त पुष्टि गर्दियो नि होइन ? जनताले चुनेकाबाट शासन हुनुपर्नेमा जनताले नचाहेका मानिसले शासन गरे त्यो पनि जिम्मेवारहिन भएर । राजनीतिको यस्तो घृणित चाला देख्दा राजनैतिक सचेतता बेकार भएछ आफूमा भन्ने पनि लाग्छ कहिलेकाहीँ ।

आज जेठ १४ संविधान जारी हुनुपर्ने तर नभएको दिन मेरो निराश मनले अरू बढी केही देख्न सकेन । इतिश्री ।

Wednesday, March 24, 2010

चिर्चिर गर्छ भंगेरा, चिर्चर भंगेरी

एक जना साथीको मोबाइलमा भंगेराको क्रियाकलाप हेर्न पाएँ । तपाइँ पनि यो भिडियो हेर्नुहोस् अनि कस्तो महसुस गर्नुभयो ? लेख्नुहोस् है ।

Friday, February 19, 2010

भारी मन लिएर


“ बुबाले भन्नुभएको सही रहेछ, आज बुबा यो संसारमा हुनुहुन्न तर मैले भोगेको सबै दुःखले मलाई उहाँकै सम्झना गराउँछ । ” कुराकानीको अन्तिमतिर विजय बजगाइँ आफ्ना स्वर्गिय पितालाई सम्झिरहेका थिए ।

विजय बजगाइँको घर बनेपा हो । हाल उनी १९ वर्षका मात्र भए । जीवनको धेरै वसन्त पार गर्नु छ तर उनलाई लाग्छ –‘संसारमा सबैभन्दा बढि दुःख आफैँले पाएका छन् ।’ १५ वर्षको उमेरमा घर परिवार छोडेर उनी यो बिरानो शहर काठमाडौँ पसे । यहाँका मारवाडीहरू र अरुका पसल–पसलमा गएर ‘साहुजी यहाँ काम छ ? मलाई काम दिनुस् न, जे अह्राए पनि म गर्छु’ भन्दै हिँडे । जे–जे भेटिन्छ गर्दै गए । मः मः पसलमा भाँडा माझ्ने, कपडा पसलमा कपडा बेच्ने, गाडीमा खलाँसी बस्ने आदि काम गरे । अहिले तिनवर्ष भयो डेरीमा अडिएको ।

सखारै ४ बजे नै उनको दिन सुरु हुन्छ । प्लाष्टिकमा आधा लिटर , एक लिटरको पोका बनाउँदै साइकलमा झुण्ड्याउने उनी सय लिटर भन्दा बढि दुध लिएर घरका ढोका–ढोकामा पुर्याकउँछन् । बिहान आठ नौ बजे सम्म यसरी नै साइकल ठेल्नुपर्छ । कति कमाउँछन् त उनी यो कामबाट ? –“महिनाको पाँच हजार तलब छ । खाजा खर्च ३० रुपैँयाँ पनि दिन्छ । खाने बस्ने सबै अफिसले नै बेहोर्छ । यति सुविधा भनेको त ठिकै हो नि हैन र ?” उनको प्रतिप्रश्नले मनमा गुन्न थाल्छ – खै कति सुविधालाई ठिक भन्ने ? कतिले मानिसलाई पुग्दो हो ? यहाँ पच्चीस सयमा महिना भर गुजारा चलाउने पनि छन् अनि लाखौँ कमाउने पनि छन् । उनले अझै भने –“म यहाँ काम गर्न आउँदा महिनाको अठार सयमा बसेको थिएँ , अहिले बढेर यति पुगेको छ । यहाँसम्म आउन धेरै मिहिनेत परेको छ तर अहिले त नयाँ काम गर्न आएकाले नै तेँत्तिस सय पाउँछन् , अहिलेकालाई सुख्ख छ ।” पहिला अठार सयमा आउने सामान अहिले तेँत्तिस सयमा आउँछ त ? नसोचेको प्रश्न पाएपछि आफ्नै सूरमा उनले उत्तर दिए –“हेर्नुस्, अहिले पैसा सस्तो भएको छ के, कमाउनेले चाह्यो भने कमाउन सक्छन् तर खर्च गर्दा पनि त्यस्तै छ जून सामान लिँदा पनि कमाइले भ्याउन्न ।”

दिउँसो चाहिँ के गरिन्छ , पढ्दै हो की ? “होइन, पढाई त उहिले नै छोडेको । फेरी डेरीमै काम गर्नुपर्छ नि दिउँसो पनि । बाह्र बजे तिर गाडिले दूध ल्याउँछ । त्यो दूधलाई पकाईवरी दही, पनिर, बटर बनाउनुपर्छ । चार बजे तिर होटेल–होटेलमा दुध, दहीको अर्डर पुर्यारउनुपर्छ । बेलुका सात/आठ बजे मात्र काम सकिन्छ । थकाई लाग्छ, अनि खाना खाएर सुतिहाल्छु ।” पढाई किन छोडेको त ? कति सम्म पढेका छौ ? अनकनाउँदै उनले जवाफ दिए –“आठ कक्षा पढ्दा पढ्दै छोडेको” उनी सुस्तरी बताइरहेका थिए –“साथिभाइको संगतले भनौँ कि मेरै आवारापनले गर्दा हो म ठम्याउन सक्तिन , मैले गाउँकै एउटी केटीलाई प्रेम गरेको थिएँ । उनी पनि त्यही कक्षामा पढ्थिन् । खै त्यसपछि नै पढाइमा कमजोर हुन थालेको पनि थिएँ । पछि बुबाले यो कुरा थाहा पाउनुभयो अनि...।” गालातिर हात लग्दै इशारा गरे “यस्तरी पिट्नुभयो, त्यो पिटाइ सम्झिँदा अझै पनि झसँग हुन्छु । त्यसबेला बुबाले पढ्नुपर्ने बेला प्रेम गर्दै हिँड्ने हो ? भनेर धेरै कुरा भन्नुभएको पनि थियो । तर किन-किन मैले पिटाइ सहनै सकिन , उहाँले के भन्नुभयो त्यो पनि सुनिनँ । बरु तपाइँको घरमा तपाइँ नै बस्नु म गएँ भनेर निस्किएँ घरबाट । यसरी म काठमाडौँ आएँ ।”

घर छोडेको धेरै समयसम्म पनि उनलाई आफूले गल्ती गरे जस्तो लागेन रे । कोटेश्वरमा बस्ने फुपूले पनि ‘ बुबाले गाली गर्दैमा घर छोडिहिँड्ने होइन, त्यो त तेरैलागि पो भनेको ’ भन्नुभएछ । तर “नआउनु आइसकियो अब त्यसै लुरुक्क परेर कसरी घर फर्किने ? म पनि आफैँ कमाउनसक्छु नि” भनेर काम खोज्नतिर लागेछन् । त्यसपछि घर गएकै छैनौ त ? –“जान त गएँ । तर सधैँ बस्ने गरि होइन् , चाडबाडमा मात्र ।” अनि त्यो केटीको कतिको सम्झना आउँछ ? के गर्दै छिन् उनी ? अहिले पनि तिमीहरूको सम्बन्ध उस्तै छ की ? “उनी अहिले गाउँमै बाह्रमा पढ्दैछिन् । गाउँ जाँदा भेट हुन्छ तर अहिले हामी केवल साथी मात्र हौँ , त्यस्तो सम्बन्ध छैन । अहिले म धेरै बुझ्ने भइसकेको छु । दुःख गरेपछि मात्र जीवन बुझ्ने रहेछ दाजु”


आफ्नो दुखको कुरा उनले यसरी सुनाए –“कहिलेकाहीँ यो संसारको सबैभन्दा बढि दुःख पाउने मान्छे मै हूँ जस्तो लाग्छ । काम खोज्न जाँदा काम नपाएर दुःख , भोकभोकै पनि कति दिन त्यसै हिँडेको छु । होटेलमा भाँडा माझ्ने, कपडा पसलमा बस्ने थुप्रै काम गरेँ । अहिलेचाहिँ डेरीमा काम गरिरहेछु । यो काममा पनि त्यतिकै दुख्ख छ । हिउँद, वर्षा केही भन्न पाउँदैनौँ । सधैँ बिहान बिहान सय लिटर भन्दा बढि दूध बोकेर हिँड्नुपर्छ । ओरालोमा साइकलको ब्रेक लागेन भने सिधै एक्सिडेन्ट । न त शनिबार छुट्टी पाइन्छ । न त चाडबाड लाग्छ , न त नेपाल बन्द नै । जहिले पनि खटिनुपर्छ । अझ नेपालबन्द, हड्तालको बेला त दूध राती मात्र आइपुग्छ अनि राती नै उठेर दूध भाग लगाएर पुर्‍याउनुपर्छ घर–घरमा । चाडबाडमा पनि त्यस्तै । गएको दशैँमा काम सकाइवरी टिकाको दिन मात्र घर पुगेको थिएँ । त्यहाँ पुग्दा सबै पाहुनाहरू समेत आइसकेछन् । आमाले ‘किन आज मात्रै आएको ? बरु नआए हुन्थ्यो’ भन्नुभो । साह्रै चित्त दुख्यो । आफ्नो कामै यस्तो छ के गर्ने ?”

“कहिलेकाहीँ लाग्छ, के सोचेर घर छोडेको थिएँ ? के भएँ ? कस्ता–कस्ता सपना थिए मेरा ! सबै उडेर गए । सोचेजस्तो नहुँदो रहेछ ।” सपना ! अँ के थिए त उनको सपना –‘धेरै पैसा कमाउन सकियोस्, बाबुको अगाडि आफ्नो खुट्टामा उभिएर देखाइदिन सकूँ । अनि अनि एउटा गाडि किनेर ड्राइभिङ गर्न सकियोस् ।’ गम्भिर मुद्रामा उनि भन्दै गए–“अहिले भोगेपछि पो थाहा पाएँ, त्यतिबेला बुबाले जे गर्नुभएको थियो त्यो मेरै लागि रहेछ । पढिरहेको भए, गाउँमै केहि गर्नसक्ने हुन्थेँ होला । तर अब न बुबा रहनुभयो न त मेरा सपना नै । यि सबै सम्झेर ल्याउँदा आफूलाई सम्हाल्नै सक्तिन ।” उनको मूहार झन् निन्याउरो हुँदै गयो । उनको सामू अन्तिम प्रश्न तेर्सियो – त्यसो भए तिम्रो सपना सबै सिद्दिए त ? के गर्ने विचारमा छौ त तिमी ? “न्यूरोडमा एउटा मारवाडीले काम गर्न बोलाइरहेको छ तर डेरी(अहिले काम गरिरहेको ठाउँ) मा मैले केही ऋण लिएको थिएँ , त्यो नतिरे सम्म छोड्ने कुरा पनि त आएन् । अर्को मनले सोच्छु , घर गएर तरकारी खेती पो गरुँ की ? अहँ, केही निर्णय नै गर्न सकेको छैन । बरु तपाइँ नै सल्लाह दिनुस् न म के गरुँ ?”