Saturday, January 3, 2009

रोगी जीवनका भावनाहरू

बनेपाका महेश्वर थापा पक्षघातका रोगी हुन्। उनको शरीरको बायाँतर्फका कुनै पनि अंग चल्दैन। उपचारको क्रममा उनी वीर, शिक्षण, मोडल लगायतका अस्पतालमा पुगे तर ठीक हुने छाँट देखिएन। अहिले अकुपञ्चर गराइरहेका हुन्छन्। केही कम हुँदै गएको छ। उनी भोटाहिटीमा जुत्ताको व्यापार गर्दै आएका थिए। सात महिनाअघि थला परेका उनी हालसम्म काममा फर्कन सकेका छैनन्।
'बिरामी भएदेखि काम गर्न सकिएको छैन, काम नगरीकन आराम गरेर बसिरहँदा अरुको बोझ मात्र भइरहेको छुजस्तो लाग्छ' निराश हुँदै उनी भन्छन् र लामो सुस्केरा हाल्छन्, 'योभन्दा अर्को उपाय पनि त छैन।'

दावा लामा गोरखाको विद्यालयमा अध्यापन गर्छन्। केही महिना पहिलेदेखि उनी बिरामी परे। उनको फोक्सोमा पानी जमेको छ। परिवारमा उनी बाहेक कसैको आयस्रोत छैन। हाल वीर अस्पतालमा उपचाररत उनको दैनिक रु.५०० बराबरको खर्च भइरहेको छ। एकातिर खराब स्वास्थ्य, अर्कोतर्फ आफ्नो काम, पारिवारिक जिम्मेवारी, दैनिक उपचार खर्च यी सबै सम्झंदा यो जीवन अत्यास लागेर आउँछ। 'कहिले अस्पतालबाट ठीक भएर गाउँ जाने र आफ्नो काम सुचारु गर्ने?' एउटा हतारो उनको मनमा सधैँ भइरहन्छ।

रामेछापका हरि खड्का पत्रिका बिक्री गरेर आफ्नो र परिवारको गुजारा चलाउँथे। अहिले उनी छारे रोगबाट पीडित छन्। टाउकोको सिटीस्क्यान गर्न लाइनमा बसिरहेका उनी निकै निराश देखिन्थे। निराशाको कारण सोध्दा उनले जवाफ दिए, 'पत्रिका बेच्न दिनहूँ तीन घण्टा हिँडेर रत्नपार्कबाट जोरपाटीसम्म पुग्थेँ। छोरे रोग लागिसकेपछि जहाँ पनि बेहोस हुन सक्ने भएकोले डाक्टरले कम्तिमा दुई महिना घरबाट बाहिर ननिस्किकन आराम गर्नू भनेका छन्।' 'के यो रोग निको होला त? अझ कति समय त्यत्तिकै बस्नुपर्ने हो?' प्रत्येक क्षण यस्ता कुराले उनको मन भारी हुन्छ।

यस्तै बिरामीहरूसँगको भलाकुसारीकै क्रममा भेटिइन् कोटेश्वरकी विमला श्रेष्ठ। बिरामी हुनुको उनको कथा छ। नेपालमै भूगोल (zoology)मा स्नातकोत्तर सिध्याई इजरायलमा इकोलोजी (ecology) पढेकी उनले नेपाल फर्केपछि विभिन्न परियोजनामा भाग लिने योजना बनाएकी थिइन्। तर अहिले उनको योजना अवरुद्ध भयो। विदेशमा छँदा केबल पढाइमा धेरै घोटिइएकोले आजभोलि किताब वा पत्रपत्रिका राम्ररी अध्ययन गर्न सक्दिनन्। अक्षर हेरिरहँदा आँखा धमिलो भएर जान्छ, रिँगटा लागेजस्तो, रन्थनिएजस्तो हुन्छ। कुनै मानसिक समस्या भने छैन। उपचारको अतिरिक्त उनको काम केबल आराम गर्नु मात्र भएको छ अहिले।

'आफूलाई यस किसिमको रोगी भएकोमा कस्तो महसुस गरिरहनुभएको छ?' भन्ने प्रश्नमा निकै बेरको शून्यतापछि आएको उनको जवाफ यस्तो थियो–'मानिस दुई किसिमका हुन्छन्। कोही मानिस सामान्य रुघाखोकी लाग्दा वा ज्वरो आउँदा नै 'अब सकिने भइयो' भनेर आत्तिने हुन्छन्, रोइकराइ गर्छन्। अर्कोथरि भने बिरामी हुनुलाई जीवनको कुनै बिन्दुमा हुने सामान्य उतारचढावको रूपमा लिन्छन्, निडर भई उपचारमा ध्यान दिन्छन् र आफ्नो कर्तव्यमा पनि लागीरहन्छन्। म आफूलाई यीमध्ये दोस्रो वर्गमा राख्छु।'

रोग लागिसकेपछि उपचार गर्नुपर्छ। उपचारको लागि खर्च चाहिन्छ। अनि दिनभर काम गरेर पनि दुई छाक टार्न मुस्किल पर्नेहरूको लागि यस्तो अवस्थामा विमलाले भनेजस्तै रोगलाई सामान्य ढंगमा लिन सकिन्छ त? रामेछापका हरि, बनेपाका महेश्वरको लागि त यो रोग ठूलो पहाड बनेर उभिएको छैन र? कुराकानीकै क्रममा अन्तमा विमलाले भनिन्–'म त चाहन्छु सबै मानिस निरोगी भई बाँच्न पाऊन्। स्वास्थ्य रहे जीवन रहन्छ। जीवन रहे जे पनि गर्न सकिन्छ। आत्तिएर मात्र रोग निको हुने हो र? स्वास्थ्य खराब हुँदा आत्तिने होइन, संवेदनशील भएर उपचारमा ध्यान दिऔँ न। सधैँ काम, पैसा र अध्ययनको लागि मात्र कति कुद्ने, स्वस्थ रहन आराम चाहिन्छ भने आराम पनि गरौँ न। अनि पो सुखद भविष्यको कामना सफल हुन्छ, होइन र?'

No comments: