Wednesday, January 28, 2009

देशबासीको नाममा सम्बोधन = .....सम्बोधन ?


माघ १२ गते प्रधानमन्त्री 'प्रचण्ड'ले देशबासीका नाममा सम्बोधन गरे। सो सम्बोधन हुने खबर बिहानै थाहा पाएको थिएँ। त्यसैले दिनभरी जो जतिलाई भेटेँ सबैलाई 'आज बेलुका ७ बजे प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् है नछुटाउनुहोला' भन्दै हिडेँ। तर धेरैले 'लोडसेडिङले गर्दा के सुनिन्छ र? के हेरिन्छ र? ' भन्ने जवाफ पाएँ र नतमस्तक हुन पुगेँ।

मनमा भने अनेक तर्कनाका छालहरू उठ्दै बस्दै उर्लिरहेका थिए। शहर बजारमा फरक–फरक मानिसका फरक–फरक अनुमानहरू अगाडि आइरहेका थिए। 'कतै असफल भएँ भन्दै सरकार छोडेको घोषणा पो गर्ने हुन् की?' 'कतै अधिनायकवाद लागु गर्ने गरी कडा घोषणा गर्ने पो हो की?' मेरो अनुमान भने विलकुल भिन्न थियो। केही समय अघि 'जनआस्था' मा पढेको थिएँ की नयाँ सरकारले उपल्धीमूलक काम गर्न नसक्नुका कारणहरू/अप्ठ्याराहरू, बाह्य वा देश भित्र पनि भएका विभिन्न दबाबहरू बारे स्वेतपत्र जारी गर्ने तयारी यो सरकारले गर्दैछ भनेर। त्यसैले मैले त्यस्तै अपेक्षा पनि गरेको थिएँ। निकै व्यग्रताकासाथ बेलुकीको सात बजेलाई कुरेँ। सात बजेको रेडियो नेपालको समाचार पछि मात्र प्रधानमन्त्रीको सम्बोधन सुरु भयो ―“आदरणीय आमाबुबा, दिदिबहिनी तथा दाजुभाइहरू......।”

सुरुवातमै उनले आफू 'नागरिकको हैसियतले पनि आफ्ना कुरा व्यक्त गर्न गैरहेको छु' भनेपछि म एकछिन पुलकित पनि भएँ। उनले भने―“आज सरकार सञ्चालनको पाँच महिनाको अनुभवपछि मैले स्पष्टसँग भन्नुपर्दर्छ राज्यसत्ताको पूरानो स्वरुप, संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव हुँदो रहेनछ।” उनले लोडसेडिङको समस्या, सामाजिक विभेद, बेरोजगारी समस्या सबैको कुरा उठाए। करिब पौने एक घण्टाको यो सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले झण्डै आधा समय त यस्तै अनुभवहरू सुनाए। यि सुनिरहँदा लाग्थ्यो 'ए यिनले त हाम्रा समस्या बुझेका रहेछन् नि गाँठे'।

सम्बोधनको बिचमा उनले नेपालमा एक हप्ताभित्र दाइजो प्रथा रोक्ने र छोरीलाई छोरा सरह अंश दिनुपर्ने घोषणा समेत गरे। दलित शहिद दिलबहादुर रम्तेलको नाममा छात्रवृत्ति स्थापना गर्ने भने। त्यसपछि उनले कर्मचारीतन्त्रलाई आफ्नो कार्यशैलीमा सुधार ल्याउन मौखिक झापड दिए। कुनै पनि सरकारी कार्यालयमा टोकनप्रथा लागु गरि क्रमैसँग काम गरिदिनुपर्ने, एक दिनमा हुनुपर्ने कुनै काम किन सम्पन्न हुन सकेन भनि सम्बन्धित जनतालाई लिखित जवाफ दिनुपर्नेछ भन्ने घोषणा गरे। यस अघि घुस लिने कर्मचारीलाई मात्र भ्रस्टाचारी भनिन्थ्यो भने अबबाट घुस दिएर काम गराउन खोज्ने व्यक्ति पनि भ्रस्टाचारी घोषित भई कारबाहीको भागिदार हुने भए। यसैगरि मन्त्रीहरूले कार्यक्रमतिर भाषण गर्न छाडेर दश बजेदेखि पाँच बजे सम्म कार्यालयमै रहनुपर्ने, बिहान वा बेलुकी अरु समयमा आउने मानिसहरूले चाकडी गर्ने, अनावश्यक समस्या बनाइदिने जस्ता कार्य गर्ने भएकोले भेट्न आउने मानिसहरूलाई सोहि समयमा मात्रै भेट्नुपर्ने घोषणा गरे।

सोहि सम्बोधनमा प्रधानमन्त्रीले बन्द,हड्ताल जस्ता कुरामा सरकारले कडा निति लिने पनि घोषणा गरे भने यसरी समय बर्बाद गर्ने युवावर्ग अनि भट्टी पसलमा रक्सी खाँदै देश विकास नहुनुको दोष सरकारलाई दिइरहने मानिस प्रति असन्तुष्टी व्यक्त गरे। अनि अचम्मको कुरा उद्योगि व्यापारी
समूदायलाई “अस्पताल,सडक, पुलनिर्माण जस्ता सेवाका काममा पनि तपाईंहरूको नाम आउने कहिले?” भन्ने भावुक कुरा पनि व्यक्त गरे (स्वयंकर घोषणा कार्यक्रमको त विरोध गर्ने नाफामूखि उद्योगि व्यापारीलाई सेवा र त्यागको कुरा?)। मिडियालाई सकारात्मक कुरामात्र लेखेर देश विकासमा योगदान दिन पनि अनुनय विनय गरे प्रधानमन्त्रीले। सम्बोधनको अन्त्य सम्म नै भावुक र यस्तै घोषणा गरीरहे उनले।

यो सम्बोधन भइरहँदा मेरो बुबाको पहिलो प्रतिक्रिया आयो–“ बोल्न चाहिँ कस्तो जानेका छन् त हे यिनले, काम चाहिँ केही गर्ने होइन ”। सम्बोधन सकिएपछि म पनि अलमलमा परेँ। मेरो अपेक्षा के थियो ? सम्बोधनमा के आयो ? यहाँ सम्मकी “हामी सँग सत्ता सञ्चालनको अनुभव पनि त थिएन ” सम्म भनियो। न त्यहाँ बजेट कार्यान्वयन गर्न नसक्नुका पछाडि भएका अदृश्य दबाबको कुरा गरियो न त सरकारको निति तथा कार्यक्रम लागु गर्न नसक्नुका कारण नै खोलियो। बरु फेरी एक पटक पुरानै निति तथा कार्यक्रमको पुनःप्रशारण जस्तो पो भइदियो नयाँ सम्बोधन।

नेपालका अन्तिम राजा ज्ञानेन्द्रले असोज १८ बाट सम्बोधनको नियमित श्रृङ्खला जस्तै चलाएका थिए। उनले नारायणहिटी छोड्ने बेलासम्म धेरै पटक देशबासीको नाममा सम्बोधन गरेका थिए। प्रत्येक पटक सम्बोधन हुने बेला के भन्न लागे त भनेर कान ठाडा हुन्थे , आँखा चनाखा हुन्थे हाम्रा तर सम्बोधन पछि ' फेरी उस्तै कुरा ' भन्दै आ–आफ्नो काममा जान्थ्यौँ। अहिले प्रधानमन्त्री प्रचण्डको देशबासीको नाममा दोस्रो सम्बोधन आयो , झण्डै त्यस्तै प्रतिक्रिया आयो अधिकांश जनताहरूको। आखिर कति भिन्न छ त यी दुई सम्बोधनमा ? ज्ञानेन्द्रले सम्बोधन गर्दा लोडसेडिङ यति विध्न थिएन। मलाई लाग्छ त्यतिखेर अहिले भन्दा धेरैले प्रत्यक्ष सुनेका हेरेका थिए – देशबासीको नामको सम्बोधन। अहिले सात समूहमा बाँडीएको लोडसेडिङ क्षेत्र अनुसार केवल एउटा समूहले मात्र अर्थात् १/७ जनताले मात्र यो सम्बोधन सुने। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा ' लोडसेडिङको यो समस्या तत्काल हल गर्न सकिने कुरा होइन ' भनिरहँदा उनलाई मत दिएर त्यहाँ सम्म पुर्‍याउने मतदाताहरू लोडसेडिङको अँध्यारोमा कतै हराउँदै/विलाउँदै गएको जस्तो लाग्न थालेको छ।

यो सम्बोधन पछि ' फेरी आश्वासनको अर्को पोको आयो ' भन्ने कुराले मन नै गरुङ्गो हुन पुग्यो। राजतन्त्रात्मक नेपालको सबैभन्दा अलोकप्रिय राजा र गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीलाई यसरी दाँज्नु सही या गलत के हो? थाहा छैन। नयाँ सरकारको क्रियाकलाप र देशको दुर्गतीले गर्दा यहि गर्न पुगेँ। अनि मलाई लाग्छ अबको छ महिना पछि फेरि यस्तै भावुक, मन छुने सरल भाषा लिएर प्रधानमन्त्री देशबासीको नाममा सम्बोधन भने गर्ने छन् ,उही आश्वासन र दोषारोपनको भारी विसाउन। मेरो चाहना छ अब अर्को सम्बोधन नआओस् , काम भएर जाओस्। हाम्रा समस्या समाधान हुँदै जाउन्। हाम्रो जीवन सरल बनेर जाओस्। यसो भए कति राम्रो हुन्थ्यो।

No comments: